कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कान्तिपुर मिडिया ग्रुपको प्रबन्ध निर्देशकमा सम्भव सिरोहिया 

कान्तिपुर संवाददाता

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपको प्रबन्ध निर्देशकमा सम्भव सिरोहिया नियुक्त भएका छन् । सञ्चालक समितिको सोमबारको बैठकले नियुक्तिको निर्णय गरेको हो । उनी कान्तिपुर मिडिया ग्रुपका पूर्वसीईओसमेत हुन् । 

कान्तिपुर मिडिया ग्रुपको प्रबन्ध निर्देशकमा सम्भव सिरोहिया 

यसअघि अध्यक्ष कैलाश सिरोहियाले नै प्रबन्ध निर्देशकको समेत जिम्मेवारी सम्हाल्दै आएका थिए । नवनियुक्त प्रबन्ध निर्देशकलाई शुभकामना दिँदै अध्यक्ष सिरोहियाले ‘टिम स्पिरिट’ मा काम गर्दा कान्तिपुर देशको अग्रणी सञ्चारगृह बनेकाले आगामी दिनमा पनि त्यही परम्परा पछ्याउने बताए ।

उनले संस्थाको अभिभावकको रुपमा आफू सँगै रहने उल्लेख गर्दै नयाँ नेतृत्वले चुनौतीबीच नयाँ योजनाका साथ काम गर्ने विश्वास व्यक्त गरे । ‘३१ वर्षसम्म निरन्तर कार्यकारी नेतृत्वमा रहनु पक्कै पनि चुनौतीपूर्ण थियो, तर टिमको सक्रिय सहकार्यले कान्तिपुरले यो उचाई प्राप्त गरेको हो । नयाँ नेतृत्वले पनि सबैको साथ पाउनेमा म विश्वस्त छु ।’

नवनियुक्त प्रबन्ध निर्देशक सिरोहियाले कान्तिपुरले तीन दशकसम्म अभ्यास गरेको सम्पादकीय स्वतन्त्रतालाई सम्मान गर्दै पत्रकारितालाई अझ बलियो बनाउने आफ्नो उद्देश्य रहेको बताए । ‘सम्पादकीय स्वतन्त्रता कान्तिपुरको डीएनएमा छ, त्यो कान्तिपुरको आत्मा हो । ३१ वर्ष कान्तिपुरकै परिवारमा बिताएको हुनाले मलाई थाहा छ कि, कान्तिपुर यो स्थानमा हुनुमा सबैभन्दा ठूलो भूमिका सम्पादकीय स्वतन्त्रताले खेलेको छ‚’ उनले भने, ‘यो प्रतिबद्धतामा कहिँ कतै सम्झौता हुनेछैन ।’

उनले अहिले संसारभर मिडिया उद्योगहरूमा चुनौती आइरहेकाले पत्रकारितालाई जोगाउने जिम्मेवारी आफूहरूले स्विकारेको बताए । ‘अहिले हाम्रो समूहका पत्रिका, रेडियो, अनलाइन र टीभीमात्र होइन, समग्र पत्रकारिता नै जोगाउनु पर्नेछ, तर हामी यो सबै सामना गरेर नयाँ उचाइमा लैजान चाहन्छौं‚’ उनले भने, ‘यसका लागि पत्रकारिताको मूल धर्म कायम राख्दै त्यसलाई अझ प्रविधिमैत्री पनि बनाउँछौं ।’

अहिले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नै आर्थिक संकट बढेको र त्यो संकटले मिडियालाई पनि छोएको उनले बताए । तर यही चुनौतीबीच नै सम्भावना खोजेर अघि बढ्ने प्रतिबद्धता उनले जनाए ।

प्रकाशित : आश्विन १, २०८० १५:५६
प्रतिक्रिया
पठाउनुहोस्