रास्वपाको 'मन्त्री बन्न ३ करोड माग र कोर टीम' विवाद बल्झियो

केन्द्रीय अनुशासन आयोगका प्रमुखसमेतको उपस्थितिमा सोमबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा यस विषयमा छलफल, केन्द्रीय अनुशासन आयोगबाट केन्द्रीय सदस्य मोहनजंग थापालाई सोधपुछ तथा अनुसन्धानको प्रक्रिया अगाडि बढाइयो

काठमाडौँ — प्रतिनिधिसभाको चौथो ठूलो दल रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा तत्कालीन सांसद डा. ढाकाकुमार श्रेष्ठ मुछिएको मन्त्री बन्नका लागि २ करोड रुपैयाँ मागेको अडियो र कोर टिम प्रकरण बल्झिएको छ ।

रास्वपाको 'मन्त्री बन्न ३ करोड माग र कोर टीम' विवाद बल्झियो

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री हुँदा स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्नका लागि पार्टी नेतृत्वको कोर टिमबाट २ करोड माग भएको भन्दै श्रेष्ठले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग कुराकानी गरेको अडियो सार्वजनिक भएको थियो । उक्त अडियो सार्वजनिक भएपछि चितवन-२ लगायतका निर्वाचन क्षेत्रमा भएको उपनिर्वाचनको मुखमा डा. श्रेष्ठलाई सांसदबाट रास्वपाले निष्कासन गरेको थियो ।

उक्त प्रकरणका विषयमा पछिल्लो दिनमा श्रेष्ठले अन्तर्वार्ता दिँदै रास्वपाका नेताबारे आफूलाई थाहा भएका कुरा सार्वजनिक गर्ने चेतावनी दिँदै मिडियाका अन्तर्वार्ता र सामाजिक संजालबाट दिँदै आएका छन् । जसलाई लिएर रास्वपाका महामन्त्री डा. मुकुल ढकालले विज्ञप्ति जारी गरेका छन् ।

डा. श्रेष्ठले आधार प्रमाणबिना पार्टीको छविमा आँच पुर्‍याउन अभिव्यक्ति दिइरहेको रास्वपा महामन्त्रीको विज्ञप्तिमा उल्लेख छ । 'राष्ट्रिय स्वतन्त्र पार्टी पारदर्शिता, जवाफदेहिता र भ्रष्ट्राचारप्रति शून्य सहनशीलताको नीति अनुशरण गर्ने पार्टी भएकाले यस प्रकरणमा अझै पनि पार्टीका कुनै पनि तहको पदाधिकारी वा केन्द्रीय सदस्यले पार्टीको नाम प्रयोग गरी कसैसँग पैसा मागेको ठोस प्रमाण लिएर डा. श्रेष्ठ वा जोकोही आउनुभएको अवस्थामा पार्टीले त्यस्ता सदस्य जोकोही भए पनि प्रमाण पेश भएको ७२ घण्टाभित्र कारबाही गरिने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदछौं,' डा. ढकालको विज्ञप्तिमा उल्लेख छ ।

पार्टीका केन्द्रीय सदस्य मोहनजंग थापाले मन्त्री बनाउनका लागि ३ करोड माग गरिएको डा. श्रेष्ठले अन्तर्वार्ताहरूमा बताउँदै आएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पार्टीको भागमा नपरे अर्को कुनै मन्त्री बनाउने पनि 'कोर टिम'बाट आश्वासन आएको डा. श्रेष्ठले दाबी गर्दै आएका छन् । उनले तत्कालीन उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पार्टीको भागमा पार्नका लागि आग्रह गरेको पनि उनले बताउँदै आएका छन् ।

नागरिकता मुद्दामा लामिछानेको सांसद पद खारेज भएपछि २०८० वैशाख १० मा चितवन निर्वाचन क्षेत्र नम्बर २ मा उपनिर्वाचन भएको थियो । उक्त उपनिर्वाचनमा रास्वपाबाट लामिछाने उम्मेदवार थिए । उपनिर्वाचनको मुखमा सार्वजनिक मन्त्री बन्न पार्टी नेतृत्वको कोर टिमले ३ करोड मागेको र २ करोडमा मान्ने अवस्था आएको भन्ने अडियो सार्वजनिक भएपछि श्रेष्ठलाई पार्टीले सांसदबाट बर्खास्त गरेको थियो । उनी समानुपातिक तर्फबाट प्रतिनिधिसभामा सांसद थिए । रास्वपाले उनलाई गत चैत २९ मा बर्खास्त गरेको थियो ।

महामन्त्री ढकालले जारी गरेको विज्ञप्तिमा डा. श्रेष्ठले नाम लिएका केन्द्रीय सदस्य थापामाथि सोधपुछ तथा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको उल्लेख छ । 'केन्द्रीय अनुशासन आयोगका प्रमुखसमेतको उपस्थितिमा हिजो बसेका पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा यस विषयमा छलफल भएको थियो । यस सम्बन्धमा केन्द्रीय अनुशासन आयोगबाट केन्द्रीय सदस्य मोहनजंग थापालाई सोधपुछ तथा अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको छ,' विज्ञप्तिमा उल्लेख छ ।

तत्कालीन सांसद डा. श्रेष्ठले मन्त्री बन्नका लागि २ करोड रुपैयाँ माग भएको भन्ने अडियो सार्वजनिक हुँदा पनि राज्यका निकायहरूले भने अनुसन्धान गरेका थिएनन् । रास्वपाको केन्द्रीय अनुशासन आयोगको छानबिनबाटै उनलाई दोषी करार गरिएको थियो भने त्यसमा अन्य क-कसको संलग्नता रहेको भन्ने खुलाइएको थिएन । रास्वापले थालेको केन्द्रीय सदस्य थापामाथिको सोधपुछ र अनुसन्धानको निष्कर्ष कहिलेसम्म आउने भने विज्ञप्तिमा उल्लेख छैन ।

रास्वपा महामन्त्री डा. ढकालको विज्ञप्ति


प्रकाशित : भाद्र २७, २०८० १९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्थानीय तहको २६ प्रतिशत वित्तीय अनुदान कटौती गर्ने सरकारको निर्णयबारे तपाईं के धारणा छ ?