२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

सुवास दाइ सफल वकिल, शिक्षक र सभामुख

अग्नि खरेल

काठमाडौँ — सुवासचन्द्र नेम्वाङको म विद्यार्थी हुँ । २०३८ मा बीएल पढ्न म काठमाडौं आएको थिएँ । त्यसबेला नेम्वाङ नेपाल ल क्याम्पसमा ‘क्रिमिनल ल’ पढाउनुहुन्थ्यो । क्याम्पसका उम्दा ३/४ लेक्चररमध्ये नेम्वाङ पनि एक हुनुहुन्थ्यो ।

सुवास दाइ सफल वकिल, शिक्षक र सभामुख

२०५१ सालको मध्यावधि चुनावपछि मनमोहन अधिकारी नेतृत्वको सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री हुने भएपछि मात्रै उहाँले प्राध्यापन पेसा छाड्नु भयो । प्राध्यापक र वकालतमा उहाँको बढी रुची थियो । मन्त्री नहुने भए सायद उहाँले प्राध्यापन छाड्नु हुँदैनथ्यो । एमालेको पाँचौं महाधिवेशनमा मदन भण्डारीले धेरै अनुरोध गर्दा पनि उहाँ एमालेको केन्द्रीय कमिटीमा आउन मान्नु भएको थिएन ।

'बाहिरै बसेर सहयोग गरिहाल्छु नि' भन्ने उहाँको जवाफ थियो । दुई पटक राष्ट्रिय सभाको सांसद बन्नुभयो । हामीले नै मन्त्री पनि भइसकेको मानिसले प्रत्यक्षबाट चुनाव लड्नुहोस् यसरी नबस्नुस् भनेपछि उहाँ २०५६ सालमा इलाम-२ बाट चुनाव लड्नु भयो । त्यसअघि नै उहाँ २०४१ सालमा बार एसोसिएसनमा केन्द्रीय सदस्य बन्नुभएको थियो । २०४२ को अन्तिममा भएको निर्वाचनमा उहाँ महासचिव निर्वाचित हुनुभयो ।

सुवास दाइ र मबीच मेचीमा हुँदादेखि नै संगत थियो । र राजनीतिक पृष्ठभूमि पनि वामपन्थी भएको कारण शिक्षक-विद्यार्थीको सम्बन्धका अतिरिक्त एक प्रकारको दोस्ती थियो । ल क्याम्पसमा हुने गतिविधिहरुमा प्रत्यक्ष र परोक्ष रुपमा सरसल्लाह दिइरहनुहुन्थ्यो ।

मैले वकालत सुरु गरेपछि हामी पार्टीको एउटै कमिटीमा रह्यौं । वकिलहरुमा काम गर्न पार्टीले भीम रावलको नेतृत्वमा एउटा भूमिगत कमिटी बनाएको थियो । त्यस समयमा सुवास दाइ, विष्णुबहादुर राउत र म एउटै कमिटीमा थियौं । त्यो कमिटीलाई त्यसबेला पोलिटब्युरो सदस्य रहनु भएको माधवकुमार नेपालले सिधै हेर्नुहुन्थ्यो ।

म २०४५ सालमा बारको केन्द्रीय सदस्य निर्वाचित भएको थिएँ । हामी सानो समूह भए पनि पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय व्यवस्था स्थापनाका लागि सक्रिय थियौं । हामीले वकिलहरुको राष्ट्रिय सम्मेलनअघि वामपन्थी पृष्ठभूमिका वकिलहरुको भेला हाम्रै फर्ममा गरेका थियौं । तर नेम्वाङ महाधिवेशनको तयारीमा लाग्नुपर्ने भएकाले आउनु भएको थिएन । तर विषयलाई कसरी अघि बढाउने तयारी गरेका थियौं । बारको सम्मेलनमा पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय व्यवस्थाको स्थापनाको प्रस्ताव लैजाने सहमति भयो । त्यसैको आधारमा कांग्रेस निकट वकिलहरुसँग कुराकानी गर्‍यौं । उहाँहरुलाई मिलेर जाउँ भन्नेमा प्रस्ताव गर्‍यौं । केही विषयमा नमिलेपछि हामीले अघि र अर्को पक्षले पछि प्रस्ताव लग्यो । दुईवटा प्रस्तावलाई नेम्वाङ यस्तो राम्रोसँग मिलाएर राख्नुभयो । कुन प्रस्ताव पहिलो र कुन दोस्रो भन्ने नराखिकन दुवै प्रस्ताव पढेर संयुक्त रुपमा राखिदिनु भयो । त्यो पारित भयो । त्यस समयमा राज्यले अब पक्राउ गर्छ र दमन गर्छ भन्ने व्यापक कुरा आयो ।

नेम्वाङ जे विषयमा जानु भयो त्यसमा सफल हुनुहुन्थ्यो । सफल विद्यार्थी, सफल शिक्षक, सफल सांसद र सफल सभामुखको रुपमा रहनुभयो ।

आफ्ना कुरामात्रै नलाद्ने अर्काको कुरा पनि सुन्ने र सहमतिबाटै आफ्नो प्रक्रियाहरुलाई अघि बढाउन खोज्ने मानिस हो उहाँ । उहाँको आलोचना गर्ने कतिपयले यसले सहमति र सहमति मात्रै भन्छ भन्ने गरे । सहमतिको नाममा सूचना मात्रै निकाल्छसमेत भने । संसद मात्रै स्थगित गर्छ भनेर 'सूचने' भनेर नामै समेत राखेका थिए । सुवासचन्द्र नेम्वाङको छोटकरी नाम त्यही बनाइएको थियो । तर यथार्थ भनेको संसदमा सहमति भएर विवाद गरेर हुन्छ चाहिँ के त ? विवाद बढाएर हुने केही थिएन । सहमतिमा नै उहाँको विचारको दृढ निश्चय थियो । कतिपय अवस्थामा आफ्नै दलका नेताहरु समेत मज्जाले नेम्वाङसँग रिसाएको देखेको छु । नेम्वाङले जे कुरा सोचाइ बनाउनुहुन्छ त्यसमा उहाँ दृढतापूर्वक उभिने व्यक्ति हुनुन्थ्यो । राष्ट्रियता, राष्ट्रिय हितको विषयमा नेम्वाङ कहीँ पनि चुचेको देखिएन ।

फरक फरक उग्रविचार भएका व्यक्तिहरुको निर्वाचित भएर आएको अवस्थामा सबैलाई मिलाउनु पर्ने अवस्था थियो । २०६२-०६३ को आन्दोलनपछि नेम्वाङ पुनर्स्थापित संसदको सभामुख बन्नुभयो । त्यसपछि पहिलो र दोस्र संविधानसभा अध्यक्ष रहनु भयो । संविधानसभामा निर्वाचनपछि आएको परिणामले सबै दलहरुलाई मिलाउनु पर्ने आवश्यक थियो र संसद जतिको उपयुक्त थलो अन्य थिएन । लोकतन्त्र मजबुत नभएको अवस्थामा सहमति नहुँदा समस्या सिर्जना हुनसक्थ्यो । जति सुकै भने पनि हाम्रो लोकतान्त्रिक व्यवस्था अहिले पनि परिपक्क भएको अवस्था छैन । हाम्रो नेताहरुले गरेको कामहरुमा ती विषययहरु छललकिएर बाहिर आउँछन् । त्यसैले अहिले पनि समझदारी अहिले पनि जरुरत छ । अहिले पनि सहमति गर्न सक्ने मानिसको जरुरत हुन्छ । नेम्वाङ अघि आउँदा उहाँको कुरा सुनौ न भन्ने हुन्थ्यो ।

उहाँले पार्टीको विचार छाडेको हुँदैन र लाइन पनि छाडेको अवस्था हुँदैन । तर पार्टीको लाइनलाई कुशलतापूर्वक कति अभिव्यक्त गर्ने विषय अरुको भन्दा अलिकति फरक तरिका थियो । फरक तरिकाले फरक विषय प्रस्तुत गर्ने भएकाहरुले हुनाले सुन्दा पनि मिठो सुनिन्थ्यो । अरुलाई त्यो कुरालाई बिझाउँदैन्थ्यो । नविझाइकन आफ्नो कुरा राख्ने सक्ने कुशलता सबैसँग हुँदैनथ्यो जो उहाँसँग थियो । अब चाहिँ निकै खड्किन्छ भन्ने लाग्छ ।

नेताहरु अहिले पनि हुनुहुन्छ पार्टी अहिले पनि छन् । एउटा नेताको अवसानले सम्पूर्ण प्रक्रिया अवसान हुदैन अघि जान्छन् तर कुनै समयमा कुनै नेताको निकै ठूलो भूमिका हुन्छ । त्यो भूमिका निर्वाह गर्नसक्ने नेता नेम्वाङ हुुनुहन्थ्यो । संसदमा निकै ठूलो विवाद संसदमा हुन्थे । नारावाजी वा जुलुस हुने हुन्थ्यो । राजनीतिक दलको आफ्नो अडान आफ्नो ठाउँमा रहिनै रहन्थ्यो । त्यस अवस्थामा बैठक राख्ने, सहमति खोज्ने र बैठक राख्ने हुन्थ्यो । यति बैठक हुन सकेन भने अलिकति समय लिने गर्नुहुन्थ्यो । अनेक पटकको अनुरोध र आग्रहपछि त्यो ठाउँमा पुर्‍याउनु हुन्थ्यो । उहाँले आफूले कुनै विषयलाई जुन ठाउँमा पुर्‍याउन खोज्नु भएको हो त्यही पुर्‍याउनु हुन्थ्यो। तर समय अलिकति लाग्थ्यो ।

नेम्वाङलाई सबै दलका नेताहरुले विश्वास गर्दथे । तर उहाँमाथि एउटा नमिठो आरोप लगाइयो । मैले यस विषयमा धेरै पटक दाइ यो विषयलाई आफै खण्डन गर्नुहोस न भन्ने भयो । ८-१० वर्षअघि नै भनेको थिए । होइन मानिसलाई भन्न दिउँ र मानिसले आफ्नो लोकतन्त्रको प्रयोग गरोस, म जे छु छदैछु भन्नु हुन्थ्यो ।तर अस्ति आएर खण्डन गर्नुभयो । उहाँलाई क्रिश्चियानिटी आरोप लगाउने काम भयो ।

२०६३ मा संसदबाट धर्मनिरपेक्षताको घोषणा गर्ने विषय आफ्नो ठाउँमा छ । घोषणापत्र कार्यान्वयन समितिमा हुने कुरा आफ्नो ठाउँमा छ । तर त्यो घोषणापत्र मन्त्रिपरिषदले पारित गरेको छ । त्यो गिरिजाप्रसाद कोइराला मन्त्रिपरिषदले पारित गरेको घोषणापत्रमा एक शब्द पनि तलमाथि परेको रहेछ भने मानिसले त्यो कुरा भन्नुन त्यो कुरा । मन्त्रिपरिषदको त्यो घोषणा पत्र सभामुखले पढेको मात्र न हो । धर्मनिरपेक्षता त्यस समयमा लेखिएको विषय हो तर त्यस समयमा पारित गर्ने मन्त्रिपरिषदका प्रधानमन्त्री र अन्य सदस्यहरुलाई केही नहुने तर नेम्वाङमाथि निकै ठूलो सामाजिक आरोप लगाइयो । त्यो यथार्थ थिएन ।

मैले बुझेको धर्मनिरपेक्षता भनेको राज्यको धर्म हुँदैन व्यक्तिको धर्म हुन्छ भन्ने हो र नेम्वाङको बुझेको पनि त्यही हो । म हिन्दु धर्म संस्कार मान्छु तर धर्मनिरपेक्षता किन लेखियो भने धर्मनिरपेक्षताको विषयमा हाम्रो जे बुझाइ छ त्यसअनुसार लेखियो । त्यस विषयमा हाम्रो बुझाई अनुसार लेखियो त्यो लेख्ने नेम्वाङ होइन । मस्यौदा समिति हुनु फरक कुरा हो । त्यसलाई नेताहरुबाट पठाएर बकाइदा पारित गरे पछि व्यवस्थापिका संसदले त्यसलाई अनुमोदन गरेपछि सभामुख हैसियतमा प्रस्तुत गर्नु भएक हो। न भाउजु क्रिश्चिय हो भन्ने गरे । त्यो कुरा होइन । उहाँ हिन्दु धर्मकै अभ्यास गर्नुहुन्थ्यो । त्यसैले सुवास दाइको बारेमा जे कुरा आएको छ त्यो हूँदै नभएको कुरा थियो । मैले यो कुरा किन भनेको हुँ भने जे कुरा हो त्यो मानिसले थाहा पाउनु पर्छ ।

सुवास नेम्वाङले सार्वजनिक जीवनमा कुनै गल्ती गरेको रहेछ भने यो गल्ती हो भनेर भन्न पाइन्छ । जुन कुरा होइन त्यो कुरालाई अनावश्यक प्रचार नगर्नु राम्रो हुन्छ ।

सांसदहरु सिक्न आउँथे सुवास दाइले सिकाउनु पनि हुन्थ्यो । उहाँपछिका प्रत्येक सभामुखहरुले संसदमा देखिएको समस्या समाधान गर्न उहाँको अपनाएको तरिकालाई अनुसरण गर्ने आएको देखिन्छ। संविधान जारी भएपछि उहाँ सार्वजनिक पदमा बस्नु भएन । उपप्रधानमन्त्री तथा मन्त्री हुनका लागि धेरै पटक अनुरोधन गरियो तर उहाँले अस्वीकार गर्नुभयो । मेरो निम्ति सिर्फ दुई पद छन् प्रधानमन्त्री र राष्ट्रपतिमात्रै बन्ने भन्ने उहाँको कुरा थियो । पछिल्लो पटक सभामुख बनाउने कुरामा पनि ध्यान दिनु भएन । सुवास नेम्वाङ एउटा आस्थामा बाँचेको मानिस हो । त्यो समुदायबाट आएर जुन छाप उहाँले मुलुकमा छोड्नु भयो त्यो अनुकरणीय हो ।

(कुराकानीमा आधारित)

प्रकाशित : भाद्र २६, २०८० २२:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?