२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

सरकारले राष्ट्रिय पुँजीपतिहरूलाई छानीछानी लखेटिरहेको छ : ओली

'सरकारले राष्ट्रिय उद्योगपति छानीछानी लखेट्छ । त्यो मिनबहादुर गुरुङलाई किन समातेको ? किन कारबाही गरेको ? ५/६ जनाले किनिसकेको जमिन, उसले धनीपूर्जा हेर्‍यो, भएको मान्छेसँग किन्यो ।'

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले राष्ट्रिय पुँजीपतिहरुलाई छानीछानी लखेटिरहेको आरोप लगाएका छन् ।

सरकारले राष्ट्रिय पुँजीपतिहरूलाई छानीछानी लखेटिरहेको छ : ओली

मिनबहादुर गुरुङ र यति होल्डिङ्सले राष्ट्रिय पुँजी निर्माणमा योगदान गरिरहेको भन्दै उनीहरुमाथि सरकारले छानीछानी दुःख दिने काम गरेको ओलीको असन्तुष्टि थियो ।

पार्टीको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागले आइतबार च्यासलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सरकारले नेतृत्व गरिरहेको माओवादी केन्द्रले राष्ट्रिय पुँजी निर्माणमा योगदान दिइरहेका गुरुङ र यति होल्डिङ्सविरुद्ध गायत्री मन्त्र जपेजस्तो गर्दै लखेट्ने काम गरिरहेको आरोप लगाए । यति होल्डिङ्सलाई खेद्नेहरु दलाल पुँजीवादीहरु भएको ओलीको जिकिर थियो ।

सरकारको गलत कार्यको विरुद्ध बोल्दा सांसदसमेत समातिनु परेको उल्लेख गर्दै उनले भ्रष्टाचार नियन्त्रण गर्ने नाममा दलाल पुँजीवादीहरुले मुलुकमा तमासा देखाइरहेको बताए । उनले 'धनीपूर्जाको आधारमा जग्गा खरिद गर्ने गुरुङलाई किन समातेको ?' भनी सरकारलाई प्रश्नसमेत गरेका थिए ।

‘अहिलेको सरकारले राष्ट्रिय उद्योगपति छानीछानी लखेट्छ । त्यो मिनबहादुर गुरुङलाई किन समातेको, किन कारबाही गरेको ? ५/६ जनाले किनिसकेको जमिन, उसले धनीपूर्जा हेर्‍यो, भएको मान्छेसँग किन्यो त । अनि, सरकारी जमिनलाई आफ्नो बनाउने, आफ्नो बनाउन लाग्ने, आफ्नो बनाउन लगाउने भ्रष्टाचार गर्नेहरु त तिनीहरु हुन नि ! ती ठूला कुरा गरेर हिँड्ने !,' उनले भने, 'अर्कोसँग धनीपूर्जा हेरेर मालमा गएर, भूमिसुधारमा गएर पास गरेको होला नि ! सरकारी अड्डामा गएर पास गरेको होइन ? त्यसरी पास गरेर जग्गा किनेको मान्छेलाई किन त्यस्तो ? अनि, के मिनबहादुर गुरुङ भागेर हिँड्थ्यो ? यो राष्ट्रिय पुँजीपतिलाई खेद्ने कुरा हो । यति होल्डिङ्सलाई किन खेदेको ? यति होल्डिङ्सलाई खेद्नेहरु दलाल पुँजीवादी हुन् । त्यसकारण उनीहरु खेद्छन् ।'

अध्यक्ष ओलीले कांग्रेस र माओवादी केन्द्रलाई सहकारीको अर्थ नै थाहा नभएको टिप्पणीसमेत गरे । कांग्रेस सहकारीको पक्षमा नरहेको र माओवादी केन्द्र सुनजस्तो मोटो रकम जम्मा गर्ने धन्दामा रहेकाले उसलाई त्यसबारे कुनै मतलब नै नभएको ओलीको भनाइ थियो ।

प्रकाशित : भाद्र २४, २०८० १९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?