कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९९

अब हरेक युवाले घरमा बसेर गुनासोमात्रै गरिरहन मिल्दैन : महामन्त्री शर्मा

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब हरेक युवाले घरमा बसेर गुनासोमात्रै गरिरहन नमिल्ने बताएका छन् । उनले मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस आजको युवाको विचार, अवधारणा र नीति सुनेर त्यसलाई अवलम्बन गर्न तयार रहेको बताए । 

अब हरेक युवाले घरमा बसेर गुनासोमात्रै गरिरहन मिल्दैन : महामन्त्री शर्मा

सानेपास्थित केन्द्रीय कार्यालयमा पोलिसी हृयाकाथनको कार्यक्रममा महामन्त्री शर्माले कांग्रेसले नयाँ पुस्ताको विश्वास जोड्न नवनिर्माणको यात्रा प्रारम्भ गरेको दाबी गरे ।

‘विगतमा हामीले निर्वाचनमा मतपत्र थमायौँ, र भन्यौँ, हामीलाई मत देऊ, हामी देश बनाउँछौँ । तर अब हामीले त्यतिमात्रै भनेर नपुग्ने बुझ्यौँ, र भनिरहेका छौँ कि अब मतमात्रै होइन, तिमी देशमा कस्तो नीति चाहन्छौ ? त्यो पनि देऊ भनेर मागिरहेका छौँ,’ उनले अघि भने, ‘त्यसैले अब हरेक युवाले घरमा बसेर गुनासो गरिरहन मिल्दैन, एउटा पूरानो दल आएर ती नै युवाहरूलाई देश कस्तो बनाउने भनेर सोधिरहेको छ ?’

उनले युवामा देश बनाउन सकिन्छ भन्ने मनोवज्ञिानको सञ्चार हुनुपर्ने बताए । 'देशमा केही छैन, केही सम्भव छैन, बनेनँ भन्ने कुरा सत्य होइन, कनिभने देशमा सबै कुरा छैन, तर केही न केही भएको छ, हामीले बनाएका छौँ,’ उनले भने, 'आधा गलिास पानी हुनु भनेको भरी होइन, तर खाली पनि होइन । त्यसैले आधा हुनु भनेको भरी पार्ने अवसर पनि हो । हामीले त्यहीनेर सम्भावनाको खोजी गर्ने हो ।’

महामन्त्री शर्माले कांग्रेस अब नागरिकबाट नयाँ विश्वास प्राप्त गरेर अघि बढ्न चाहेको बताए । ‘कांग्रेस जुन बेला स्थापित भयो, त्योबेलाको नेतृत्व अहिले कांग्रेसमा कोही पनि छैन । तर कांग्रेसले बेला–बेलामा आफूलाई नागरिकको विश्वाससँग गाँस्दै आएको छ,’ उनले भने, ‘कुनै बेला स्वतन्त्रताको सपना थियो, कांग्रेसले त्यसमा विश्वास दिलायो, र नेतृत्व गर्‍यो । प्रजातन्त्रको सपना थियो, त्यहाँ पनि विश्वास जित्यो । फेरि देशमा यति धेरै हिंसा भयो कि सबैको सपना शान्ति थियो, त्यसमा पनि कांग्रेसले नागरिकको विश्वास पायो । त्यसपछि संविधान बनाउने कुरा थियो, तर त्यो असफल भयो । फेरि कांग्रेस नै आयो, र नागरिकको विश्वाससँग गाँसियो । अहिले फेरि नयाँ विश्वास गाँस्नुपर्नेछ । यो पोलिसी हृयाकाथन त्यसैको एउटा सुरूआत हो ।’

महामन्त्री शर्माले राजनीतिमा चासो छैन भनेर कसैले पनि निर्धक्क बन्नु नहुने बताए । राजनीति फोहोर भए सबैतिर त्यसको असर पर्ने उनको भनाइ थियो । ‘राजनीति बिग्रियो भने क्षति सबैलाई हुन्छ, सबैलाई हानी हुन्छ । राजनीति राम्रो बन्यो भने हरेकको भविष्य राम्रो हुन्छ,’ उनले भने, ‘त्यसकारण राजनीतिमा सबै आउनुपर्छ, त्यो जरुरी छैन । तर राजनीतिलाई सही ठाउँमा राख्नु सबैको दायित्व हुन्छ ।’

प्रकाशित : भाद्र ९, २०८० १६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?