२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८७

केदारनाथका शोकसन्तप्त नेपाली काममा फर्किँदै

बेपत्ता अझै फेला परेनन्

कञ्चनपुर — गत बिहीबार सल्यानका भीम प्रकाश केसी केदारनाथस्थित आफ्नै होटेलमा सुतिरहेका थिए । दिउँसैदेखि भारी वर्षा भइरहेको थियो । राति पनि ठूलो पानी परिरहेकाले उनले समयमै होटेल बन्द गरे । बिहान उठ्नेबितिक्कै नजिकै पहिरो गएको देखे । विस्तृतमा बुझ्दा नेपालीले नै सञ्चालन गरेको होटेल पहिरोले बगाएको जानकारी पाए । होटेल सञ्चालकको परिवारै बेपत्ता भएको खबरले उनी झनै आत्तिए ।

केदारनाथका शोकसन्तप्त नेपाली काममा फर्किँदै

भारत उत्तराखण्डको केदारनाथ मार्गमा पर्ने गौरीकुण्डमा पहिरोले १६ नेपाली बगाएको ठाउँबाट ३ सय मिटरको दूरीमा मात्रै केसीको होटेल छ । जुम्लाको पातारासी गाउँपालिका ३ चौरगाउँका अमर बोहराले चलाएको होटेल पहिरोले बगाएको थियो । होटेलसँगै उनको ७ जनाको परिवार नै बेपत्ता भएको छ ।

गंगाको सहायक नदी मंदाकिनी किनारमै रहेका तीनवटा होटेल र पसल बगाएर नदीमै मिसाएको केसीले बताए । डाटपुल छेउमै सडक किनारमा बोहरा परिवारले पनि घर भाडामा लिएर होटेल चलाएका थिए ।

पहिरोमा उनको परिवारका ७ सहित १६ नेपाली र अन्य भारतीय गरी कम्तीमा २० जना बेपत्ता भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । जसमध्ये कालीकोटका ३ जनाको मात्रै शव भेटिएको छ । उनीहरुको पहिचान पनि भइसकेको र आइतबार अन्त्येष्टि गरिएको गौरीकुण्डमा रहेका नेपाली कामदारहरुले बताए ।

घटना सुन्ने बितिक्कै केसीसहित धेरै नेपाली बिहानै घटनास्थलमा पुगेका थिए । नजिकै बसोबास गर्नेहरुलाई फेरि पहिरो जाने हो कि भन्ने चिन्ता पनि भयो । एकातिर सँगै काम गर्ने साथी बेपत्ता भएको पीडा छ भने अर्कोतिर निरन्तर वर्षाले फेरि पहिरो आउनसक्ने चिन्ता ।

‘त्यस दिन त सबै काम बन्द भयो, केदारनाथ जाने मार्ग नै बन्द रह्यो,’ केसीले टेलिफोनमा भने, ‘एक/दुई दिन काम गर्ने मनै लागेन, परदेशमा काम नगरी पनि सुख छैन, अहिले चाहिँ सबै काममा फर्किन थाले ।’ पहिरोका कारण बन्द रहेको केदारनाथ तीर्थयात्रा पनि सुरु भएको केसीले बताए । उनी सन २००७ देखि गौरीकुण्डमै होटेल सञ्चालन गरेर बसेका छन् ।

केसीका अनुसार गौरीकुण्डमै रहेका बेपत्ताका आफन्तहरु अहिले सुरक्षाकर्मीसँगै खोजीमा जुटेका छन् । भेटिएका शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको थियो । पछिल्लो जानकारी अनुसार मृतकहरुको आइतबार अन्त्येष्टि गरिएको हो ।

हाल गौरीकुण्डमा होटेल व्यवसाय गरिरहेका केसीका अनुसार बोहरा परिवारले केदारनाथको तीर्थयात्राको सिजन सुरु हुनेबेला वैशाखमा होटेल सञ्चालन गरेका थिए । त्यही होटेलमा अन्य नेपाली पनि बसोबास गर्थे । काठले बनाइएको घरको तल्लो तलामा सुत्ने र माथिल्लो तलामा खानपान गर्ने गरिन्थ्यो । सडकमाथिको सानो ढिस्को खसेर ठूलो क्षति गरेको छ ।

‘गौरीकुण्डको घटनापछि यहाँ धेरै नेपालीहरु डराएका छन्, कतिपय त घर पनि फर्किसके,’ गौरीकुण्डमै होटेलमा काम गर्ने बाजुराको खप्तड छेडेदहका ज्ञानेन्द्र बुढाले भने, ‘गएको हिउँदमा त्यो घर बनेको थियो, अहिले बगाएर लग्यो ।’ घटनामा धेरै नेपालीहरु परेका कारण अरुमा पनि चिन्ता बढेको छ । नेपाली बस्ने र खाना खाने ठाउँ भएका कारण बोहरा परिवारसँग धेरैको चिनजान थियो । त्यही भएर अहिले धेरैलाई काममा फर्किन समेत समस्या भइरहेको छ ।

घटनाको भोलिपल्ट उक्त क्षेत्रमा भएका धेरैजसो नेपाली घटनास्थलमा पुगेका थिए । उनीहरु सबै खोज उद्धारबारे चासो राखिरहेका थिए । ‘सबै जना दु:खी भएर आइरहेका थिए, सोधपुछ पनि गरिरहेका थिए,’ बुढाले भने, ‘बेपत्ताको अवस्था र खोजीबारे पनि धेरैले सोधिरहेका थिए ।’ गौरीकुण्ड क्षेत्रमा अधिकांश जुम्ला, हुम्ला, कालीकोट, बाजुरा, सल्यान, बाँके र बर्दियाका कामदारहरु छन् ।

बुढा घटनास्थलबाट दुई किलोमिटरको दूरीमा बस्छन् । घटना भएको भोलिपल्ट उनी स्वयं पनि घटनास्थलमा पुगेका थिए । उनले टेलिफोन सम्पर्कमा मंदाकिनी नदीमा ठूलो बाढी आएको र पहिरोले बगाएर बोहराको होटेलको नामनिशान नै नरहेको तथा खोजी गर्न पनि निकै समस्या भइरहेको जानकारी दिए । ‘खोजीको काम अहिले पनि चलिरहेकै छ, बेला बेलामा वर्षाले समस्या भइरहेको छ,’ बुढाले भने, ‘आफन्त र सुरक्षाकर्मी खोजी कार्यमा जुटेकै छन् ।’

केदारनाथ क्षेत्रमा व्यवसाय गर्नेहरूका अनुसार केदारनाथमा २० देखि २५ हजार नेपालीहरु विभिन्न काम गरेर बस्दै आएका छन् । अधिकांशले होटेल नै चलाएका छन् । धेरैजसोले स्थानीयका घर भाडामा लिएर होटेल चलाएको केसी बताउँछन् । त्यसपछि घोडा र खच्चडबाट सामान ढुवानी गर्ने, डोली बोक्ने र कण्डी (डोकोमा मान्छे बोक्ने) बोक्ने काम गर्छन् । यसबाहेक कतिपयले पिठ्यूँमै पनि भारी बोक्ने काम गर्छन् ।

यहाँ हरेक वर्ष वैशाखदेखि कात्तिकसम्म सिजन चल्छ र केदारनाथ आसपासको क्षेत्र नेपाली कामदारहरुका लागि रोजगार गन्तव्य बन्न पुग्छ । यस अवधिमा केदारनाथ जाने यात्रुको संख्या धेरै हुन्छ । केसीका अनुसार यस वर्ष कण्डी बोक्नका लागि मात्रै ५७ सय नेपालीले टोकन लिएका छन् । कण्डी बोक्नका लागि टोकन अनिवार्य हुन्छ । गौरीकुण्डदेखि डोकोमा मान्छे वा अन्य सामान केदारनाथसम्म पुर्‍याउनुपर्छ । साथै केदारनाथबाट फेरि गौरीकुण्डमै झार्नुपर्छ । गौरीकुण्डबाट केदारनाथको दूरी १६ किलोमिटर छ । सामानको तौल अनुसार ५ देखि १० हजारसम्म ज्याला पाइन्छ ।

यसैगरी घोडा खच्चड डोर्‍याउने, डोली बोक्ने, पिठ्यूँमा भारी बोक्ने र होटेल तथा पसल चलाउने अधिकांश नेपाली नै छन् । गौरीकुण्ड क्षेत्रमा सञ्चालनमा रहेका अधिकांश होटेल नेपालीकै रहेको केसी बताउँछन् ।

‘घोडा र खच्चडबाट पनि सामान ढुवानी हुन्छ, घोडा खच्चडबाट तीर्थयात्री बोक्ने र सामान ढुवानी गर्ने काममा पनि नेपाली नै हुन्छन्,’ बुढाले भने, ‘घोडा खच्चडको दानादेखि होटेल र पसलको रासन र अन्य सामान पनि नेपालीले नै बोक्छन् ।’ साउनमा वर्षातका कारण यहाँ यात्रुको भीड कम हुन्छ । वर्षात कम भएपछि भदौदेखि फेरि भीड बढ्न थाल्छ ।

अहिले भीड कम हुने भएकाले कतिपय कामदार घर फर्किने पनि गर्छन् । उनीहरु भदौमा फेरि गौरीकुण्ड फर्कन्छन् ।

यसअघि सन् २०१३ मा पनि भीषण वर्षापछिको बाढी र पहिरोले केदारनाथमा ठूलो क्षति पुर्‍याएको थियो । त्यसबेला ठूलो संख्यामा नेपालीहरु हताहत भएका थिए । यद्यपि कतिको मृत्यु भयो भन्ने यकिन छैन । १० वर्षपछि गौरीकुण्डमा भएको घटनाले एकपटक फेरि ठूलो पीडा दिएको छ । घटना भएको तीन दिनसम्म पनि बेपत्ताहरुको कुनै अत्तोपत्तो लाग्न सकेको छैन । यसले समेत उक्त क्षेत्रमा काम गर्ने नेपालीहरुलाई थप निराश बनाएको छ ।

यसैबीच, दिल्लीस्थित नेपाली राजदूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बेपत्ता नेपाली कामदारहरुको खोजी कार्य जारी रहेको बताए । ‘भारतीय सुरक्षाकर्मीहरुको आपदा कन्ट्रोल रुमबाट खोजी कार्यको खटनपटन तथा उद्धारका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको दूतावासलाई जानकारी प्राप्त भएको छ,’ एसएसपी चतुर्वेदीले भने ।

खोजीको क्रममा ड्रोन क्यामेरा तथा गोताखोरहरूको समेत प्रयोग गरिएको बताइएको छ । चतुर्वेदीका अनुसार उत्तराखण्ड सरकारका उच्च पदस्थ सुरक्षा अधिकारी घटनास्थल पुगेका छन् ।

प्रकाशित : श्रावण २१, २०८० १९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?