कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

प्रचण्डजीले प्रितम सिंहलाई पनि बेकारमा मुछ्नुभयो : ओली

'प्रितम सिंहलाई पनि उहाँले बेकारमा मुछ्नुभयो । प्रितम सिंह दिल्ली नै जानुभएको छैन, तर मलाई प्रधानमन्त्री बनाउन जानुभयो भनेर उहाँले झुट बोल्नुभयो ।'

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवसायी प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन दिल्ली गएको भनेर बेकारमा मुछेको बताएका छन् ।

प्रचण्डजीले प्रितम सिंहलाई पनि बेकारमा मुछ्नुभयो : ओली

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाली जनतामा रहेको सार्वभौमसत्ताको मजाक गर्न नमिल्ने भन्दै प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने र सत्तापक्षसँग कुनै पनि स्थानमा भेट्न तयार रहेको बताएका हुन् ।

सत्तापक्षले घमण्ड देखाएर संसदमा भेट्ने भनेको उल्लेख गर्दै सत्तापक्षसँग यसबारेमा कुनै पनि ठाउँमा भेट्न आफूहरू तयार रहेको उनको भनाइ छ । भारतले केही नभन्दा पनि नेपालबाट प्रधानमन्त्री बन्न भारतको सहयोग रहेको भन्नु गलत भएको पनि ओलीले बताए । 'अस्ति प्रधानमन्त्री आफैंले एउटा प्रमाण बल्ल पेस गर्नुभएको छ, कति प्रमाण छन् छन् यस्ता । कति कुदेका छन् छन्, दिल्ली, कति उडेका छन् दिल्ली । तर उहाँले एउटा मित्रराष्ट्रलाई, दिल्लीले हामीकहाँ कोही आएको भनेको छैन,' ओलीले भने, 'प्रितम सिंहले प्रेस कन्फ्रेन्स गरीगरी भन्नुहुन्छ म प्रचण्डलाई प्रधानमन्त्री बनाउन म दिल्ली गएको होइन, गएको छैन भनेर । उहाँले किन भन्नुहुन्छ, उहाँले जान्नुहुन्छ । प्रितम सिंहलाई पनि उहाँ(प्रधानमन्त्री)ले बेकार मुछ्नुभयो । प्रितम सिंह दिल्ली नै जानुभएको छैन, तर मलाई बनाउन जानुभयो भनेर उहाँले झुट बोल्नुभयो ।'

नेपालमा पहिलो पटक ट्रक ल्याएका सरदार समुदायका प्रितम सिंहमाथि किरणदीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्याली : द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ विमोचन कार्यक्रममा दाहालले विवादास्पद अभिव्यक्ति दिएका थिए । ‘उहाँ (सिंह) ले एक पटक मलाई प्रधानमन्त्री बनाउन धेरै मिहिनेत गर्नुभयो । धेरैचोटि दिल्ली जानु पनि भयो । काठमाडौंमा नेताहरू–साथीहरूसँग लगातार छलफल गर्नुभयो,’ दाहालको भनाइ थियो ।

भारतले अहिलेसम्म नेपालमा सरकार बनाउँछु पनि नभनेको एमाले अध्यक्ष ओलीको भनाइ छ । 'मित्रराष्ट्र भारतले नेपालमा सरकार बनाउँछु, अहिलेसम्म भनेको छैन, त्यो भन्नु नेपालको सार्वभौमसत्ताविपरीत हुन्छ, त्यो भारतलाई पनि थाहा छ । भारत भन्दैन तर नेपालको प्रधानमन्त्री भनिरहेका छन्, नेपालको सार्वभौमसत्ता नेपालको संसद्मा छैन, नेपाली जनतामा छैन, नेपालका सांसद, संसद्ले सरकार बनाउने होइन, दिल्ली दौडिएर सरकार बन्छ ?,' उनले प्रश्न गरे।

पछिल्लो समय सत्तागठबन्धनले राष्ट्रियता र सार्वभौमसत्तामाथि मजाक उडाइएको पनि ओलीको भनाइ छ । 'यो अति भयो, संसदको अपमान भयो, संविधानको बर्खिलाप भयो, लोकतन्त्रको उपहास भयो । नेपाली जनतामा रहेको सार्वभौम सत्ताको मजाक उडाइयो । यो मामुली कुरा होइन, प्रधानमन्त्रीले राजीनामा गर्नुपर्छ । हिजो बिहान गठबन्धनको बैठक बस्यो, हिजो बिहान मसल देखाएर आह्वान गरे, संसद्मै भेटौँला । आउ । प्रतिपक्षले के गर्ने, भेटौँला भनेपछि भेट्नुपर्छ,' उनले भने । अध्यक्ष ओलीले सत्ता गठबन्धनले देशका हितहरूलाई जन्मदिनको केक झैँ काटेको बताए । उनले राष्ट्रपतिबाट संविधान विपरित नागरिकता विधेयक प्रमाणीकरण भएकोसमेत बताए ।

प्रकाशित : असार २२, २०८० १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतिप्रति तपाईंको के टिप्पणी छ ?