२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

जुम्लामा भएको जातीय विभेद र आगजनीविरुद्ध जसपाको विरोध प्रदर्शन

काठमाडौँ — जुम्लामा अन्तरजातीय विवाह गर्दा दलित समुदायका युवकको घरमा आगजनी गरिएको र दाङमा जातीय भेदभाव गरी डेराबाट निकालिएको घटनाको विरोधमा बुधबार काठमाडौंमा प्रदर्शन भएको छ । जनता समाजवादी पार्टीनिकट समाजवादी दलित मुक्ति संगठनले जुम्ला र दाङमा भएका घटनासहित देशैभरि भइरहेका जातीय भेदभावका घटनाको विरोधमा विरोध प्रदर्शन र खबरदारी गरेको हो । 

जुम्लामा भएको जातीय विभेद र आगजनीविरुद्ध जसपाको विरोध प्रदर्शन

प्रदर्शनमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित पार्टीका नेता र सांसदहरु समेत माइतीघर पुगेका थिए ।

कार्यक्रममा बोल्दै जसपाका अध्यक्ष यादवले वर्णाश्रमवादी जात व्यवस्थाको अन्त्य नभएसम्म यस्ता विभेद र जघन्य अपराधका घटना भइरहने बताए । उनले जात व्यवस्था रहेसम्म समस्याको समाधान नहुने बताए ।

अध्यक्ष यादवले जातीय विभेदलाई संवैधानिक रुपले दण्डनीय र अन्तर्राष्ट्रिय कानुनले पनि अमानवीय, मानवताविरोधी अपराधको रुपमा लिएको स्मरण गर्दै विभेदविरुद्ध कानुन मात्र बनाएर नहुने बताए । उनले जातीय भेदभाव र छुवाछुतलाई निर्मूल पार्न देशभरिबाट सर्वसाधारण नागरिकहरू समेत सजग भएर प्रतिरोधमा उत्रिनुपर्ने आवश्यकता रहेको बताए ।

प्रदर्शनमा उत्रिएका दलित अधिकारकर्मी र नेताहरूले सरकारले जातीय भेदभाव र छुवाछुत हटाउन लगानी नगरेको र छुवाछुत अन्त्य गर्ने कानुनको प्रभावकारी कार्यान्वयनमा समेत चासो नदिएको गुनासो गरेका छन् ।

No description available.

उनीहरूले जातीय भेदभाव र छुवाछुतजस्तो कुप्रथा अन्त्य गर्न सरकारले सचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने माग गरे ।

कार्यक्रममा दलित अधिकारकर्मी एवं लेखक मित्र परियारले संविधानले जातीय भेदभाव र छुवाछुतको अन्त्यको परिकल्पना गरे पनि व्यवहारमा सरकार, राजनीतिक दल र समाजका बुद्धिजीवीहरुले नै त्यसको अन्त्य गर्न नचाहेको यथार्थ रहेको टिप्पणी गरे । उनले समाजमा व्याप्त जातीय भेदभाव अन्त्यका लागि दलित समुदाय एकताबद्ध भएर प्रतिरोधमा उत्रनुपर्ने आवश्यक रहेको बताए ।

कार्यक्रममा जसपाका राजनीतिक समिति सदस्य दलमर्दन कामी, संविधानसभा सदस्य कमला विक, पूर्वराजदूत निर्मल विश्वकर्मालगायतले धारणा राखेका थिए । जुम्लामा आइतबार बिहान दलित समुदायका युवाको घरमा गरिएको आगजनी ज्यान मार्ने उद्देश्यबाट प्रेरित रहेको भन्दै उनीहरुले दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् ।

जुम्लाको तातोपानी गाउँपालिका ४ का हिम्मत गिरीले स्थानीय मुकुन्द नेपालीले आफ्नी बहिनीलाई भगाएर विवाह गरेको भन्दै आइतबार बिहान ४ बजे उनको घरमा आगजनी गराएका थिए । तर भागेर विवाह गरेर केटाकेटी भने गाउँमा छैनन् ।

प्रकाशित : असार २०, २०८० १९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?