२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

उहिले र अहिलेको आदर्श

‘पहिला हाम्रो अभियान सुनेर हामीलाई हाँसेर उडाउने अभिभावकहरू पनि यसबेला आफ्ना बालबालिकाको भर्नाका लागि विद्यालय प्रशासनलाई दबाब दिन्छन् ।’

विराटनगर — विश्वराज पाण्डे १० वर्षको हुँदा यहाँको आर्दश स्कुलको कक्षा ३ मा भर्ना भए । कुरो २००३ सालको हो । ८६ वर्षीय पाण्डे उबेलाको आफनो विद्यालय जीवन सम्झँदै भन्छन्,‘बिहान सुकिलोमुकिलो भएर स्कुल गइन्थो, बेलुका धुलाम्मे भएर फर्कंदा घरकालाई पनि चिन्न गाह्रो हुन्थ्यो ।’

उहिले र अहिलेको आदर्श

कक्षा ७ सम्म यो विद्यालयमा पढेका पाण्डे आफूसहित विश्वमोहन अधिकारी, मुकुन्द नेपाल, राजकुमार पोखरेल, श्याम घिमिरेसहितका सहपाठी एक दिन पनि बिहान स्कूल जाँदा जस्तो रूपमा फर्केनन् । भन्छन्,‘स्कुलमा डेस्क–बेन्च थियो, तर कोठाभित्र घुँडाघुँडा धुलो हुन्थ्यो, दिनभर बेस्सरी हावा चल्थ्यो, धुलोले पूरै शरीर छोपिन्थ्यो, हावा र धुलोले घरबाट लगेको टिफिन पनि स्कुलमा खान पाइँदैन्थ्यो ।’

बाँसको टाटीले घेरिएको विद्यालयको छानो फुस्को थियो । कोठाको अभाव थियो । कक्षा ६ सम्म बरन्डामा बसेर पढनुपर्थ्यो । कक्षा ७ पुगेपछि मात्र कक्षाकोठामा बस्न पाइन्थ्यो । अहिले पनि विराटनगर–७ मा रहेको यो विद्यालयको सुविधा सम्पन्न भवन र अन्य पूर्वाधार देख्दा पाण्डे अचम्मित हुन्छन् । भन्छन्,‘कहाँको उसबेलाको त्यो आर्दश स्कुल र अहिलेको यो आर्दश स्कुल, अहिले यो विद्यालयमा पढ्ने विद्यार्थी साह्रै भाग्यमानी ।’

झन्डै सय वर्ष पुरानो यो विद्यालय जनताका छोराछोरी पढने पहिलो विद्यालयका नामले चिनिन्छ । पिताजी कृष्णप्रसाद कोइरालाले भारतमा निर्वासित जीवन बिताउँदा १९८१ सालमा भारतको विहारस्थित सहर्सा टेडीमा स्थापना गरेर आममाफीपछि १९८६ मा विराटनगर फर्कंदा सँगै ल्याएर ६ वर्षसम्म आफनै निवासमा सञ्चालन गरेको विद्यालय हो यो ।

यो विद्यालय खुल्दा विराटनगरमा विद्यार्थीको अभाव थिएन । अन्य शिक्षण संस्था खुल्ने तयारीमा थियो । ‘२०२० सालसम्म यो विद्यालय अब्बल थियो,’पाण्डेले भने,‘त्यसपछि यो विद्यालय खस्किन थालेको थियो ।’ पाण्डेका अनुसार प्रायः सबै बालबालिका यही विद्यालयमा पढ्थे । २००५ मा हालको जलजला चोकको उत्तरमा व्यवसायी ईश्वरचन्द्र धाडेवाको गोठघरमा मारवाडी समाजका बालबालिकालाई प्रतापसिंह राठौर नाम गरेका शिक्षकले ट्युसन पढाउँथे । उक्त ट्युसन कक्षालाई त्यसबेला स्थानीय बोलीचालीमा महावीर पाठशाला भन्ने गरिएको उनले बताए ।

स्थापना कालमा मुलुकका आधादर्जन बढी पूर्वप्रधानमन्त्रीहरू पढेको अभिलेख रहेको आदर्श विद्यालयको स्थिति खस्केर एक दशक पहिला विद्यार्थी अभावमा झन्डै सुनसानझैं थियो । समयअनुरूप अघि बढ्न पछिल्लो समय कक्षा १ देखि १२ सम्म अंग्रेजी माध्यमबाट पढाइ सुरु गरेपछि विद्यालयले विद्यार्थीको संकट भोग्नु परेको छैन । यसबेला यो विद्यालयमा भर्ना हुन निजी विद्यालय छाडेर आउनेको लर्को लागेको छ ।

अधिकांशले आफनो बालबालिका भर्ना गराउन मन्त्री र पहुँचवालालाई विद्यालय प्रशासनमा फोन गराउँछन् । पहुँचवालाले पनि आफ्ना केटाकेटी भर्ना गराउन विद्यालय प्रशासनलाई दबाब दिन्छन् । ‘हामीसँग सबै विषयका विज्ञ शिक्षक थिए, स्रोत साधन थियो,’प्रधानाध्यापक सन्तोष पोखरेल भन्छन्,‘योजनाबद्ध ढंगले एउटै छानामुनि नेपालीसँगै अंग्रेजी माध्यममा पढाइ सुरु गर्यौं, अभिभावकको अभूतपूर्व सहयोग रह्यो, सफल भयौं ।’ यो विद्यालयमा कक्षा १ देखि १२ सम्मै अहिले अंग्रेजी माध्यममा पढाइ हुन्छ । तर वरिपरि सञ्चालित सरकारी आधारभूत विद्यालयका अंग्रेजीमा कमजोर नानीबाबुलाई समेत समेट्ने गरी कक्षा ६ देखि १२ सम्म नेपाली माध्यमबाट समेत यहाँ शिक्षा दिने गरिएको छ ।

विराटनगरको आदर्श विद्यालयमा प्रार्थना गर्दै विद्यार्थी ।

अझ एसईई २०७६ मा १६ जना र २०७७ मा १२ जनाले ४ जीपीए ल्याएर उत्तीर्ण भएपछि यो विद्यालयमा बोर्डिङ स्कुल छाडेर विद्यार्थी भर्ना हुन आउने क्रम बढ्दो छ । गत वर्षको एसईईमा यस विद्यालयका हितेन्द्र यादवले ३ दशमलव ९५ जीपीए ल्याएर जिल्ला टप गरे । अहिले यो विद्यालयमा कक्षा १ देखि कक्षा १२ सम्म २ हजार ७ सय १४ जना अध्ययनरत छन् । शिशु कक्षा, विभिन्न प्राविधिक विषय र विशेष कक्षामा समेत गरी उक्त विद्यालयमा कुल ३ हजार २ सय ६० जना पढ्छन् ।

विराटनगर–१ का गोविन्द गजुरेलले घरनजिकको निजी जेम्स बोर्डिङ स्कुलमा पढ्दै गरेका छोरा एलसनलाई झिकेर आर्दशमा कक्षा ८ मा भर्ना गराए । उनका छोरा अहिले आर्दशमै विज्ञान संकायको कक्षा ११ मा अध्ययनरत छन् । उनले चाहेमा छोरालाई जुनसुकै महँगा निजी स्कुल र कलेजमा पढाउन सक्छन् । तर उनले ऐतिहासिक गरिमा बोकेको आर्दश स्कुलले अंग्रेजी माध्यमबाट अध्यापन सुरु गरेर गुणस्तरीय शिक्षा दिन थालेपछि महँगा निजी शिक्षण संस्थाको मोह छाडेको बताए ।

आर्दशले जनसहयोगमा अंग्रेजी माध्यमबाट गुणस्तरीय शिक्षा दिएपछि विपन्न परिवारका नानीबाबुका लागि वरदान सावित भएको विराटनगर–८ का इन्द्रजीत लिम्बूको भनाइ छ । उनको छोरी इक्षिन्वा सुब्बा यही स्कुलको कक्षा १० मा अंग्रेजी माध्यमबाट पढ्दै छिन् । ‘निजी स्कुलमा पढाउने आर्थिक हैसियत छैन,’उनले भने,‘ आर्दशले निजीसरह अंग्रेजी माध्यमबाट गुणस्तरीय शिक्षा दिएर आफू जस्तालाई उपकार नै गरेको छ ।’ सहायक प्रधानध्यापक इन्द्रबहादुर चौहानका अनुसार कार्यरत सबै शिक्षक र कर्मचारीका छोराछोरी पनि आर्दश विद्यालयमै पढ्छन् ।

तत्कालीन राणा शासक चन्द्र शमशेरसँग विद्रोह गरेर १९७६ सालमा भारत प्रवासी भएका शिक्षाप्रेमी कोइराला ४५ जना परिवारसहित भारतको सहर्सा पुगे र आफनो छोराछोरीसँगै त्यहाँ पुगेका अन्य बालबालिकाको अध्ययनका लागि १९८१ सालमा त्यही यो विद्यालयको विजारोपण गरेको इतिहास छ ।

यो विद्यालय भारतमा रहँदा मातृकाप्रसाद कोइराला, बीपी कोइराला, ढुण्डिराज कोइराला, दीर्घराज कोइराला, नरोत्तम अधिकारी, विश्वबन्धु थापा, चन्द्रजंग थापा र कुमोदिनीलगायतले अध्ययन गरेको विद्यालयको अभिलेख छ । चन्द्र शमशेरको निधनपछि १९८६ सालमा कोइराला स्वदेश फर्कंदा विद्यालय र संस्थापक प्रधानाध्यापक रघुनन्दनलाल दासलाई सँगै ल्याएर हालको कोइराला निवासमा टहरो बनाएर यो विद्यालय सञ्चालन गरेको इतिहास छ ।

कोइरालाले चार वर्षसम्म निवासको टहरामा सञ्चालन गरेको यो विद्यालयलाई स्वर्गीय सूर्यनारायाण श्रेष्ठ र रामलाल गोल्छाले १ बिघा १६ कठ्ठा ९ धुर जमिन उपलब्ध गराए । १९९२ सालमा हालको स्थानमा सामान्य टहरा बनाएर विद्यालय सारेको अभिलेख भएको विद्यालयका प्राचार्य पोखरेलले बताए ।

कोइराला निवासबाट अहिलेको स्थानमा सारेपछि विद्यालयमा पूर्वप्रधानमन्त्रीहरू गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, सूर्यबहादुर थापा, नरेन्द्रप्रसाद रिजालसहित पूर्वप्रधानन्यायाधीश विश्वनाथ उपाध्याय, नारायणप्रसाद कोइराला र भूपालमानसिंह कार्कीले कक्षा १० सम्म अध्ययन गरेको विद्यालयको अभिलेखमा देखिन्छ ।

अहिलेको स्थानमा विद्यालय सारेपछि १९९६ वैशाख २ मा गोरखापत्रमा ‘श्री ३ जुद्ध स्कुल खुल्यो’ शीर्षकमा समाचार छापिएको थियो । ‘विराटनगरमा १९९२ सालदेखि एउटा फुसको घरमा आर्दश विद्यालय स्थापना भइ चन्दाबाट लडकालडकीलाई पढाइँदै छ र यो विद्यालयमा पढेर घेरै विद्यार्थी पारंगत पनि भए’ भन्ने समाचारमा उल्लेख थियो । ‘श्री ३ जुद्ध शमशेरले पक्की स्कुल बनाइ मास्टर खर्चसमेत दिनु भन्ने हुकुम भएकाले १९९५ चैत २६ गते श्री ३ जुद्ध शमशेरको जन्मदिनका अवसरमा स्कुल तयारी गरी श्री ३ जुद्ध हाईस्कुलका नाममा उद्घाटित भएको’ विद्यालयको स्मारिकामा उल्लेख छ ।

राणा सरकारले त्यसबेला विद्यालयको भवन निर्माण एवं शिक्षक खर्चबापत १२ हजार उपलब्ध गराएको अभिलेख छ । २००७ को क्रान्तिपछि यो विद्यालयको नाम पुनः आर्दश विद्यालयमा परिणत भएको पाइन्छ ।

गिरिजाप्रसाद कोइराला १७ वर्षको उमेरमा १९९८ मा कक्षा १० मा रोल नम्बर १ मा भर्ना भएको विद्यालयको अभिलेख छ । कोइरालाले दोस्रो पटकमा मेट्रिक उत्तीर्ण गरेको प्रसंग रहे पनि उनले यस विद्यालयबाट मेट्रिक परीक्षा दिएको अभिलेख विद्यालयमा छैन । २००१ देखि यो विद्यालयमा पढने विद्यार्थीले एसएलसी दिन सुरु गरेको इतिहास छ । सुरुवाती एसएलसीमा यो विद्यालयबाट विश्ववन्धु थापा र तीर्थप्रसाद नेपाल तृतीय श्रेणीमा, महेद्रप्रसाद, माधवप्रसाद काफ्ले, नारायण कोइराला, विश्वनाथ उपाध्याय र भुवनेश्वर शाह द्वितीय श्रेणीमा मेट्रिक उत्तीर्ण गरेको अभिलेख विद्यालयमा सुरक्षित छ ।

स्थापनाकालमा मुलुकका आधा दर्जन पूर्वप्रधानमन्त्री, मन्त्री, राजनीतिज्ञ र यहाँका त्यसबेलाका सम्पन्न परिवारका छोराछोरीले अध्ययन गरेको इतिहास बोकेको यो विद्यालय २०४६ को परिवर्तनसँगै मौलाएको निजी विद्यालयप्रतिको अभिभावकको अथाह आकर्षणले ओझेलमा पर्‍यो ।

हुनेखाने परिवारका निजी विद्यालयमा भर्ना हुने क्रम अत्यधिक बढेसँगै यो विद्यालयमा हुँदा खाने परिवारका मात्र पढन आउन थाले । विद्यालयका पूर्वप्राचार्य रमानाथ भट्टराईले भने,‘एकताका यो विद्यालयलाई गरिब र मजदुरका बालबालिका पढने विद्यालय भनिन थाल्यो, त्यो छवि मेटाउँदै सबै वर्गका बालबालिकालाई एउटै छानामुनि ल्याउन हाम्रा गुरुगुरुमाले निकै संघर्ष गर्नुभयो ।’

राणाकालमा वनाइएका जीर्ण भवन भत्काएर नोना कोइरालाको पहलमा २०५७ मा सरकारको ३५ लाख ५० हजार, विभिन्न दाताको ४४ लाख र तत्कालीन विराटनगर उपमहानगरपालिकाको ७ लाख ५० हजार रुपैयाँको सहयोगमा विद्यालयको हालको भव्य भवन निर्माण भयो । तर विद्यार्थी सख्या न्यून हुँदा विद्यालय भवनको उपयोग नै हुन नपाउँदा त्यसबेला दाताहरु निराश बनेको भट्टराईको अनुभव छ ।

२०५६ देखि २०६९ सम्म प्राचार्य रहेका भट्टराईका अनुसार आफू यो विद्यालयमा आउँदा जम्मा दुई सय विद्यार्थी थिए । विद्यालय परिवार र अभिभावकको प्रयासमा विद्यार्थी संख्या क्रमिक रूपमा बढदै गएर २०६९ सालमा करिब डेढ हजार पुगेपछि विद्यालयको भौतिक पूर्वाधार विकास भएको उनको भनाइ छ । उक्त विद्यालयका लागि भारतीय दुतावासले तीन करोडको लागतमा अर्को भव्य भवन पनि निर्माण गरेको छ ।

विराटनगरस्थित ऐतिहासिक आदर्श विद्यालयमा अभिभावक भेला ।

२०७२ मा कक्षा १ देखि १० सम्म अंग्रेजी माध्यमबाट पढाइ सुरु गरे पछि विद्यार्थी ह्वात्तै बढेको हो । ‘सुरुवाती दिन सहज थिएन, बोर्डिङभन्दा राम्रो पढाइ गराउने अभिभावकलाई विश्वास दिलाउन घरदैलो गर्यौं, नानाथरिका टिकाटिप्पणी भए, रिजल्ट राम्रो आउन थालेपछि स्वतः विद्यार्थी बढ्दै गए,’तत्कालीन प्राचार्य दुर्गाप्रसाद चुडालले भने । बोर्डिङसँग प्रतिस्पर्धा गर्न अंग्रेजी विषयका प्राध्यापक चुडालकै परिकल्पना र योजनामा २०७२ मा विद्यालय अघि बढ्यो । त्यसपछि पछिल्तिर फर्केर हेर्नु परेन ।

‘वर्तमान प्राचार्य पोखरेलका अनुसार त्यो बेला अंग्रेजी माध्यमबाट पढाउँछौँ, बालबालिकालाई हाम्रो विद्यालयमा पठाइ दिनु भन्दा अधिकांश अविभावकले हामीलाई हाँसेर उडाउँथे,’ पोखरेलले भने,‘अभिभावकलाई आकर्षित गर्न त्यसबेला विद्यालय प्रशासनले अंग्रेजी माध्यमबाट पढने बालबालिकालाई नेपाली माध्यमकासँग हेलमेल नगराउने, विद्यालय भवन र कोठा अलग्गै गर्ने, प्रार्थना अलग्गै गराउने, क्यान्टिनको व्यवस्था अलग्गै गर्ने, छुट्टै शिक्षक, पोसाकको व्यवस्था बेग्लै गर्नेलगायतका प्रतिबद्धता गरेका थियौं ।’

विद्यालयले एक वर्षसम्म अंग्रेजी र नेपाली माध्यममा पढ्ने विद्यार्थीबीच आपसमा हेलमेल हुन दिएन । विद्यालयमा डोरी नै टाँगेर उनीहरू आउनेजाने लाइन नै बेग्लै बनाइएको थियो । पोखरेलले भने,‘दुवैतिरको पढाइ उत्तिकै राम्रो भएको अभिभावकले बुझ्न थालेकाले एक वर्षपछि त्यस्तो समस्या भएन, सबै विद्यार्थी हेलमेल भएर एक खाले वर्गविभेद हट्यो ।’

अंग्रेजी माध्यबाट पढाइ थाल्दा सुरुका दिनमा अभिभावकलाई आकर्षित गर्न खेपेको सास्ती पछिल्लो पाँच वर्षयता शिक्षकले खेप्नु परेको छैन । अहिले यो विद्यालयमा आफ्ना छोराछोरीलाई भर्ना गर्न सम्पन्न परिवारका अविभावकले पहुँचवाला र प्रदेशका मन्त्रीलाई समेत फोन गर्न लगाउँदै आएको प्राचार्य पोखरेलले अनुभव सुनाए ।

भर्नाका लागि विद्यालयले प्रवेश परीक्षाको व्यवस्था गरेको छ । निजी विद्यालय छाडेर यहाँ भर्ना हुनका लागि प्रवेश परीक्षा दिनेको लर्को हुन्छ । उनले भने,‘पहिला हाम्रो अभियान सुनेर हामीलाई हाँसेर उडाउने अभिभावकहरू पनि यसबेला आफ्ना बालबालिकाको भर्नाका लागि विद्यालय प्रशासनलाई दबाब दिन्छन् ।’

कोइराला निवासमा छाप्रो हालेर सञ्चालन सुरु गरेको यो विद्यालयको अहिले भौतिक पूर्वाधार भव्य छ । करिब ४ करोडको लागतमा ७५ वटा कक्षा कोठा भएको विद्यालय भवन छ । कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र शिक्षा विषयको पढाइ हुन्छ । कक्षा १ देखि १० सम्म अंग्रेजी र नेपाली माध्यममा पढने विद्यार्थीको संख्या २ हजार ७ सय १४ छ ।

त्यसैगरी सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, सूचना प्रविधि तालिम र विशेष कक्षासमेत गरी प्राविधिकतर्फ ५ सय २ जना अध्ययनरत छन् । विद्यालयले समावेशी रूपमा पढाउँदै आएको छ । यसमा ९२ जना अपाङ्गता भएका अध्ययनरत छन् । अपाङ्गता भएकालाई ओसारपसार गर्न विद्यालयले विराटनगर महानगरपालिका, सामाजिक विकास मन्त्रालय र करुणा फाउन्डेसनको करिब ६० लाख सहयोगमा अपाङ्गमैत्री स्कुलबस खरिद सम्झौता गरेको पोखरेलले बताए ।

‘अपाङ्गता भएकाले समेत पढ्ने यो उत्कृष्ट विद्यालय हो भन्दा गर्व लाग्छ,’सहायक प्रधानाध्यापक चौहानले भने,‘अपाङ्गता भएकालाई पढाउने स्पिच थेरापिस्टलगायत उत्कृष्ट प्राविधिक शिक्षकको विद्यालयले सदैव स्वागत गर्छ ।’ यसबाहेक विद्यालयले अन्य विद्यार्थी ओसारपसारका लागि दुइटा स्कुल बस सञ्चालन गरेको छ ।

यो विद्यालयमा ४ कम्प्युटर ल्याब, ३ साइन्स ल्याब र एक पुस्तकालय छ । हरेक कक्षामा प्रोजेक्टरको व्यवस्था छ । प्राचार्य पोखरेलका अुनसार चार कोठामा स्मार्टबोर्डको व्यवस्था छ । यो विद्यालयमा सरकारी दरबन्दीका २६, राहत दरबन्दीका १३ र विद्यालयको आन्तरिक स्रोतबाट तलब खाने ५६ गरी ९५ जना शिक्षक र १५ कर्मचारी छन् । उनीहरूका छोराछोरी पनि यही विद्यालयमा पढ्छन् ।

शिक्षक र कर्मचारीको तलब तथा प्रशासनिक बन्दोबस्तीमा वार्षिक सरदर ९ करोड ७९ लाख रुपैयाँ खर्च हुँदै आएको प्राचार्य पोखरेलले बताए । सरकारी दरबन्दीका २६ र राहत दरबन्दीका १३ शिक्षक तथा केही कर्मचारीलाई राज्यकोषबाट तलब उपलब्ध हुन्छ । उनका अनुसार निजी स्रोतका ५६ शिक्षक र केही कर्मचारीलाई विद्यालयले आन्तरिक आम्दानीबाट तलब भत्ता उपलब्ध गर्दै आएको छ । यो विद्यालयमा ३२ शिक्षिका छन् ।

विद्यालयको नाममा मोरङको धनपालथान गाउँपालिकामा १८ बिघा खेती छ । त्यो खेतीबाट वार्षिक सरदर साढे तीन लाख र सटर भाडाबापत वार्षिक सात लाख रुपैयाँ आम्दानी हुन्छ । त्यसैगरी दाताले विद्यालयको नाममा १ करोड २५ लाखको मुद्दती खाता खोलिदिएका छन् । पोखरेलका अनुसार जग्गाको आम्दानी, सटर भाडा र मुद्दतीबाट आउने ब्याज एवं दाताको सहयोगले विद्यालयले आन्तरिक स्रोतका शिक्षक तथा कर्मचारीलाई तलब दिइन्छ ।

यो विद्यालयमा दाताहरूको पहलमा विभिन्न १३ वटा छात्रवृत्ति अक्षय कोष स्थापना भएको छ । त्यो कोषमा ३० लाख रुपैयाँ जम्मा छ । त्यसबाट वार्षिक ३ लाख ब्याज आउँछ । विद्यालयले सरकारी छात्रवृत्तिबाहेक हरेक वर्ष तीन लाख रुपैयाँको छात्रवृत्ति वितरण गर्दै आएको छ ।

यो विद्यालय परिसरनजिक उसबेला नरनाथ गौतम (बाजे) को पत्रिका र पुस्तक पसल थियो । गौतम परिवारले पनि नरनाथको नाममा ५ लाख अक्षय कोषको छात्रवृत्ति स्थापना गरेको प्राचार्य पोखरेलले बताए । विद्यालयले हरेक माघ १३ को वार्षिकोत्सवमा छात्रवृति र पुरस्कार वितरण गर्छ । ‘विद्यालयलाई माया गर्ने सहयोगी हातहरू बर्सेनि थपिँदैछन्,’ प्राचार्य पोखरेलले भने ।

प्रकाशित : जेष्ठ २५, २०८० १६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?