२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५५

अझै भेटिएनन् सुनकोशीमा बेपत्ता भएका सीटीईभीटीका अधिकारीहरू

राजकुमार कार्की

खुर्कोट (सिन्धुली) — सुनकोशी नदीको बहावलाई आधा फर्काएर खोजबिन गर्दा समेत बेपत्ता जिप तथा सीटीईभीटीका तीन जना अधिकारीहरु फेला परेका छैनन् । सशस्त्र प्रहरी, सेनाको गोताखोर र जनपथ प्रहरीको विपद् व्यवस्थान समेत चार वटा टोलीले सुनकोशी नदीमा चार दिनअघि जिप खस्दा बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का दुई निर्देशक र एक अधिकृतलाई फेला पार्न सकेका छैनन् ।

अझै भेटिएनन् सुनकोशीमा बेपत्ता भएका सीटीईभीटीका अधिकारीहरू

सशस्त्र प्रहरीको उपत्यका टोलीले शुक्रबारदेखि खोजी गरिरहेकोमा सशस्त्र प्रहरीकै कुरिनटार र सेनाको सुन्दरीजलबाट गोताखोर टोली आएर खोजी गरेको सिन्धुली प्रहरीका एसपी राजकुमार सिलवालले जानकारी दिए । जनपथ प्रहरीको विपद् व्यवस्थापन टोली पनि थपिएकाले चार वटा टोलीले मिहिन ढंगले खोजी गर्दा समेत बेपत्ताहरु फेला पर्न नसकेको प्रहरीले जनाएको छ । एकातर्फ सुनकोशीको पानीको बहावलाई फर्काउने काम भइरहेको छ भने अर्कोतर्फ दर्जनौंको संख्यामा रहेका गोताखोरहरुले चुम्बकको समेत प्रयोग गरी गहिराईमा पुगेर खोजी गरिरहेका छन् ।

सुनकोशीको पानीको बहाव भरदिन मेसन लगाएर आइतबार आधा फर्काएकोले सोमबार ८० प्रतिशत फर्काउन सके बेपत्ताहरु फेला पर्न सक्ने तीन दिनदेखि खोजीमा संलग्न वाग्मती प्रदेशका पूर्वस्वास्थ्यमन्त्री प्रदीप कटुवालले बताए । उनी भन्छन्, ‘आइतबार धेरै प्रयास भयो । चारवटा एक्सकाभेटर, दुइटा डोजर र केही ड्रम ट्रक लगाएर पानीको बहाव अर्कोतर्फबाट लगाउन थालिएको छ । सोमबारको प्रयासले घटनास्थलको पाँच सय मिटर पेरीफेरीमा बेपत्ता भए भेटिने छ ।’ आधा पानी फर्काउँदा समेत करेन्ट प्रवाह नघटेकाले खोजीकार्यमा असहजता भएको गोताखोर टोलीले जनाएको छ ।

गोताखोर केशव महतका अनुसार सुनकोशी नदीको पानीमा अत्यधिक करेन्ट भएकाले नदीको तल्लो भागसम्म पुग्ने गरी ५० केजी वजन जीउमा बाँधेर खोजी कार्य सुरु भए पनि धमिलो पानी भएकाले भित्र नदेखिँदा समस्या भएको छ । गहिराईमा पुग्दा समेत केही देखिँदैन्,' उनले भने, ‘पानी कञ्चन भइदिएको भए यति ठूलो समस्या हुने थिएन ।’

भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सीटीईभीटीको बा १ झ ७४६७ नम्बरको स्कार्पियो जिप शुक्रबार मध्याह्न मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनमा दुर्घटना भइ सुनकोशी नदीमा खस्दा प्रशासन शाखाका निर्देशक तनहुँ भानु नगरपालिका–९ का ५७ वर्षीय कृष्ण केसी, पूर्वी नवलपरासी प्रगती नगरपालिका–७ घर भएका योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्त्तेल र इलामका ३२ वर्षीय विद्युत् प्राविधिक अधिकृत भानु पौडेल बेपत्ता रहेका छन् । चालक दाङ घर भएका कृष्ण चौधरी पौडिएर बाँच्न सफल भएका थिए ।

प्रकाशित : जेष्ठ २२, २०८० ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?