नीति तथा कार्यक्रम : कसले के भने ?


काठमाडौँ — सरकारले अधिकांश पुराना र केही नयाँ कार्यक्रम थपेर नीति तथा कार्यक्रम ल्याएको छ । केही कार्यक्रम महत्त्वाकांक्षीसमेत रहेका छन् । प्रमुख राजनीतिक दलले सरकारको नीति तथा कार्यक्रम समस्यामा रहेको अर्थतन्त्रलाई सम्बोधन गर्ने खालको नभएको बताएका छन् ।


सरकारको नीति तथा कार्यक्रमबारे कसले के भने ?
'कार्यक्रम सकारात्मक भए पनि कार्यान्वयनको जोखिम छ'
बाबुराम भट्टराई -पूर्वप्रधानमन्त्री तथा अध्यक्ष, नेकपा समाजवादी
प्राथमिकतामा राखेर ठूलो आयोजनामा केन्द्रित हुनुपर्थ्यो, त्यस्ता आयोजनाले मात्र दीर्घकालीन प्रतिफल दिन सक्छन् । कमजोर धरातलमा आएको कार्यक्रम सकारात्मक भए पनि कार्यान्वयनको जोखिम छ । सबैतिर कनिका छरेजस्ता कार्यक्रम हेर्दा राम्रो तर परिणाम कमजोर निस्कन्छ । एक अंकको आर्थिक वृद्धि भएको ६० वर्ष भइसकेको छ । दुई अंकको आर्थिक वृद्धि गर्न राज्यको संरचनाको आमूल परिवर्तन नगरी हुँदैन ।
'राष्ट्रको संकट समाधान दिने खालको भएन'
विष्णु पौडेल -उपाध्यक्ष, एमाले
सरकारले ल्याएको नीति तथा कार्यक्रम मुलुकको समस्या समाधान गर्ने नभई पुरातन खालको छ । कर्मकाण्डी छ । राष्ट्रको संकट समाधान दिने खालको भएन ।
'विगतको भन्दा फरक छैन'
सन्तोष परियार- प्रमुख सचेतक, रास्वपा
मुलुकको आर्थिक संकट समाधान गर्ने खालको भएन । विगतको भन्दा फरक छैन । खास ठोस कुरा आएन । आर्थिक जटिलतालाई सम्बोधन गरेको छैन ।
'धेरै कुरा छुटेका छन्'
ज्ञानबहादुर शाही -प्रमुख सचेतक, राप्रपा
यसमा धेरै कुरा छुटेका छन् । विदेशका नेपालीले मतदानको अधिकार पाउने गत वर्ष पनि भनिएको थियो, अहिले पनि छ । त्यसैले कार्यक्रम यो लागू हुने पनि देखिन्न । हिमाली क्षेत्रमा सिँचाइ र उत्पादनलाई प्रवर्द्धन गर्ने कुरा आएनन् ।
'सबै पक्षलाई समेटिएको छ'
मोहनबहादुर बस्नेत-मन्त्री, स्वास्थ्य तथा जनसंख्या
मुलुकको विकास गर्न आवश्यक सबै पक्षलाई समेटिएको छ । सर्वपक्षीय रूपमा धेरै कुरा समावेश भएको छ । बजेट पनि यसैगरी बन्नेछ । यसमा आशा गर्ने ठाउँ छ ।
प्रकाशित : जेष्ठ ५, २०८० २२:१४