कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मतदाताको ‘ब्यालेट विद्रोह’

पुराना दलको कार्यशैलीप्रति बढ्दो वितृष्णा र युवाले नेतृत्व गरेको राजनीतिप्रतिको आशा र अपेक्षाले मत परिवर्तन

तनहुँ,चितवन — २०६२/६३ को जनआन्दोलनपछि राजनीतिक दलबाट मतदाताले ठूलो अपेक्षा गरेका थिए । त्यही अपेक्षा पूरा हुने आशाका साथ २०६४ मा १० वर्षे सशस्त्र विद्रोहबाट आएको माओवादीलाई सबभन्दा ठूलो पार्टी बनाए । माओवादी पनि कांग्रेस र एमालेभन्दा तात्त्विक रूपमा फरक नभएपछि उनीहरू वैकल्पिक राजनीतिक शक्तिको खोजीमा थिए । गत आम निर्वाचन र यो उपनिर्वाचनमा मतदाताले परम्परागत दलको कार्यशैलीबाट उत्पन्न निराशालाई सांकेतिक रूपमा ‘ब्यालेट विद्रोह’ मा बदलेका छन् । त्यसैको संकेत हो, तनहुँ–१ र चितवन–२ उपनिर्वाचनको मतपरिणाम ।

मतदाताको ‘ब्यालेट विद्रोह’

तनहुँ–१ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले अत्यधिक मतले निर्वाचित भए । उनले ३४ हजार ९ सय १९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका गोविन्द भट्टराईले २० हजार १ सय २२ मत ल्याए ।

स्थानीय राधा थापाले अहिलेसम्मका निर्वाचनमा एउटै चुनाव चिह्नमा मात्रै मतदान गरे पनि यस पटक जनताले मत फेरेको बताइन् । ‘यसअघिका जनप्रतिनिधिले जिल्लावासीका आवश्यकताको ख्याल गरेनन्, त्यसैले यसपालि पार्टी नफेरे पनि मत फेरें,’ उनले भनिन्, ‘यो निर्वाचन रास्वपाको परीक्षणकाल हो । अबको ५ वर्षमा राम्रो गर्दै गए पार्टी रहन्छ, नत्र हाम्रो पुरानो पार्टी छँदै छ ।’

पुराना दलका नेतृत्वप्रति बढ्दो वितृष्णा र युवाले नेतृत्व गरेको राजनीतिप्रति सर्वसाधारणको आशा र अपेक्षा बढेका कारण मत परिवर्तन गरेको व्यास–२ की साजिया बानु मियाँले बताइन् । ‘व्यक्ति मात्र ठीक भएर नहुने रहेछ, नेतृत्व गर्ने मान्छे पनि इमानदार हुनुपर्छ,’ उनले भनिन्, ‘गोविन्द भट्टराई नराम्रा उम्मेदवार होइनन् तर पार्टीको छविले गर्दा असल व्यक्तिले मत पाउन सकेनन् ।’ अझै पनि पुराना दललाई सच्चिन समय बाँकी रहेको उनको भनाइ छ । जस्तो मान्छे उठाए पनि जित हाम्रै हो भन्ने कांग्रेसको घमण्ड यसपालि तोडिएको उनले बताइन् । ‘कहिले यो दलसँग कहिले त्यो दलसँग गठबन्धन गर्ने तर जनताको चाहना बेवास्ता गरी आफ्नो स्वार्थ मात्रै हेर्ने काम भयो,’उनले भनिन्, ‘त्यसैले जनताले नयाँ आशा खोजेका हुन् ।’


२०४८ पछिका निर्वाचनमा ५ पटकसम्म नेपाली कांग्रेसले तनहुँ–१ मा जित हासिल गर्दै आएको थियो । २०४८, २०५१ र २०५६ सालमा लगातार ३ पटक चुनाव जित्दै कांग्रेस उम्मेदवारले ह्याट्रिक गरे । २०६४ को निर्वाचनमा भने शान्ति प्रक्रियामा आएको माओवादी हाबी भयो । २०७० मा फेरि कांग्रेसले निर्वाचन जितेर आफ्नो गढलाई सुरक्षित बनायो । मुलुक संघीय संरचना गएपछि ३ क्षेत्रलाई २ वटामा कायम गरियो । २०७४ मा तनहुँ–१ मा नेकपा एमालेका कृष्णकुमार श्रेष्ठ (किसान) निर्वाचित भए । वाम गठबन्धन गरेको एमालेका लागि त्यो जित इतिहासमै पहिलो जित थियो । २०७९ मंसिरको निर्वाचनमा यो क्षेत्रमा फेरि कांग्रेसले नै जित्यो । प्रतिनिधिसभामा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि आइतबार उपनिर्वाचन भएको हो । कांग्रेस छाडेर रास्वपा प्रवेश गरी चुनाव लड्न आएका वाग्लेले कांग्रेसको विरासतलाई छोटो समयमै तोडिदिए ।

दुई नगरपालिका र ३ गाउँपालिका रहेको यस निर्वाचन क्षेत्रमा उपनिर्वाचनका लागि १ लाख २३ हजार ३ सय ५ मतदाता थए । मंसिर ४ को निर्वाचनमा ६६ हजार ९ सय ६५ मत खसेको थियो भने यस पटक ६५ हजार ३ सय १६ मत खसेको निर्वाचन कार्यालय तनहुँले जनाएको छ । चुनावी प्रतिस्पर्धामा होमिएका ९ राजनीतिक दलमध्ये एमालेका सर्वेन्द्र खनालले ८ हजार ४ सय ८८, राष्ट्रिय प्रजातन्त्र पार्टीका शोभा गुरुङले २ सय १८ मत प्राप्त गरिन् ।

पुराना दल र तिनका नेता समय अनुकूल परिवर्तन हुन नसक्दा मतदाताले नयाँ दल खोजेको वरिष्ठ पत्रकार विश्वबन्धु भण्डारीले बताए । ‘मुलुकमा विकास पनि भइरहेको छ । व्यवस्था परिवर्तनअनुरूप दलको शैली फेरिएन,’ उनले भने, ‘हिजो २० वर्ष अगाडि चाहिएको विकासले अहिले पुग्दैन ।’ नेताहरूले तल्लो तहका मानिसलाई दास सम्झने, पटकपटक एउटै मान्छे उम्मेदवार दोहोर्‍याउने, जनतालाई नयाँ आवास दिन नसक्दाको परिणाम यो निर्वाचनले संकेत गरेको उनले बताए । ‘अहिले मतदाताले एक प्रकारको शान्तिपूर्ण विद्रोह गरेका छन्, दललाई सुध्रिने र सच्चिने मौका दिएका छन्,’ उनले भने ।


यो मतपरिणामले एमाले, कांग्रेसलगायत पुराना पार्टीलाई कमजोरीको समीक्षा गर्नुपर्ने अवस्था बनेको एमाले नेता केदार सिग्देल बताउँछन् । ‘पुराना दलका कामबाट जनतामा सन्तुष्टि मिल्न नसकेको संकेत रास्वपाको विजय हो भन्न सकिन्छ,’ उनले भने, ‘तर दशकौंदेखि नेतृत्व गरेका, निरंकुशताका विरुद्ध लडेका र बहुदलपश्चात् विभिन्न समयमा सरकारको नेतृत्व गरेका वा प्रतिपक्षको भूमिका निर्वाह गरेका दल निकम्मा भए भन्ने निष्कर्ष निकाल्न मिल्दैन ।’ कांग्रेसका नेता रामचन्द्र पोख्रेल वाग्लेले छोटो समयमा गरेको प्रगतिले नयाँ सन्देश दिएको बताउँछन् । अहिलेको गठबन्धनलाई जनताले नरुचाएको हो कि भन्ने संकेत गरेको उनको भनाइ छ ।

मंसिर ४ मा सम्पन्न आमनिर्वाचनमा चितवन–२ मा भारी मतान्तरले विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने पाँच महिनापछि सोही क्षेत्रमा भएको उपनिर्वाचनमा झनै धेरै मतान्तरले विजयी भएका छन् । नागरिकता विवादमा सर्वोच्च अदालतको आदेशपछि उनको सासंद पद खारेज भएको थियो । पछि प्रक्रिया पुर्‍याएर पुनः नागरिकता कायम गरेपछि लामिछाने नै उम्मेदवार बनेका हुन् । उनी ४२ हजार ९ सय ६२ मतान्तरले विजयी भए । उनले ५४ हजार १ सय ७६ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका जितनारायण श्रेष्ठ ११ हजार २ सय १४ मै खुम्चिए । एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९ सय ३६ मतसहित तेस्रो भए । यसपालि कांग्रेस र एमालेका उम्मेदवारले मंसिरको आमनिर्वाचनभन्दा कम मत ल्याए ।


एक लाख २४ हजार ६ सय ९५ मतदाता रहेको चितवन–२ मा ७८ हजार ६ सय ६४ मत खसेको थियो । जसमध्ये ७७ हजार ४ सय ६६ मत सदर भएको थियो । लामिछानेले सदरमतको झन्डै ७० प्रतिशत मत ल्याएका छन् । मतगणनास्थल चितवन उद्योग संघको भरतपुरमा रहेको प्रदर्शनी केन्द्रमा पत्रकारसँग कुरा गर्दै लामिछानेले सरकारलाई दिएको समर्थनका विषयमा छिट्टै पार्टीले समीक्षा गर्ने बताए । ‘सरकारलाई गरेको समर्थनको औचित्य नदेखिए जस्तो पाएका छौं । हामी अब छलफल गर्नेछौं,’ उनले भने, ‘निर्वाचनअघि नै यो बारेमा भनेका थियौं, अहिले निर्वाचनमा व्यस्त भयौं । अब पार्टीमा समीक्षा गरेर समर्थनका बारेमा निर्णय लिन्छौं ।’ भ्रष्टाचार नियन्त्रण र सुशासनको बारेमा मतदाताले सबैभन्दा बढी आशा गरेर आफूलाई निर्वाचित गरेको उनको भनाइ छ । ‘यो देशमा मौलाएको भ्रष्टाचार नियन्त्रण गरेर सुशासनको एजेन्डामा टेकेर हामीले समृद्धिको बाटो तय गर्ने हो, यही नै हाम्रो एजेन्डा हो,’ उनले भने, ‘मतदाताले यसलाई अनुमोदन गरे ।’ राजनीतिक यात्रामा कम अनुभवका कारण आफ्ना कैयौं कमजोरी पनि देखेको उनको भनाइ छ । ‘यसलाई सुधार गर्दै अगाडि जाने अवसर मिलेको छ,’ उनले भने । मंसिर ४ मा रास्वपाले प्रत्यक्ष र समानुपातिक गरी २० सिट जितेको थियो ।

प्रकाशित : वैशाख १३, २०८० ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?