कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९९

शुक्लाफाँटाका नेचर गाइड

आम्दानी हुने र संरक्षणमा पनि योगदान पुग्ने भएकाले पछिल्लो समय शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्न आउने विदेशी पर्यटक घुमाउने युवाको संख्या बढेको छ
भवानी भट्ट

कञ्चनपुर — केही दिनअघि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्न आएका बेलायती दम्पतीलाई बाघको आकर्षक तस्बिर लिने ठूलो धोको थियो । यति मात्रै होइन चितुवा पनि हेर्न लालायित थिए । चार दिनको प्याकेज बनाएर आएका उनीहरूले दुई दिन ३०/४० मिटरको दूरीमा बाघ देखे ।

शुक्लाफाँटाका नेचर गाइड

चाहेअनुसारको फोटो लिन पाउँदा निकै खुसी भए । त्यतिबेला उनीहरूका गाइड थिए २५ वर्षीय दीपेन्द्र भट्ट । बेलायती पाहुनाले खुसी भएर गाइड भट्टलाई पनि धन्यवाद दिए । शुक्लाफाँटा घुम्न आउने प्रतिबद्धता पनि जनाए ।

शुक्लाफाँटामा ८ वर्षदेखि नेचर गाइडको काम गरिरहेका भट्टलाई यस्तै घटनाले उत्साहित बनाइराख्छ । घाँटीमा बाइनाकुलर झुन्ड्याएर पाहुनासँगै हिँड्ने उनलाई बाघ देखाउन पाए निकै आनन्द आउँछ । निकुञ्ज प्रवेश गरेदेखि नै बाघको पाइला पछ्याउँदै जाँदा कैयौं दिन पाहुनालाई देखाउन नपाएर आफैं खल्लो महसुस पनि गरेका छन् । सुदूरपश्चिम विश्वविद्यालयमा व्यवस्थापन संकायमा स्नातक तहमा अध्ययनरत उनी ८ वर्षदेखि निकुञ्जमा नेचर गाइडको काम गरिरहेका छन् । निकुञ्ज छेउमै घर भएका उनलाई सानैदेखि विदेशीहरूसँग हिँड्ने र बोल्ने हुटहुटी थियो । यसका साथै बेलाबेलामा भइरहने विभिन्न कार्यक्रमले संरक्षणमा समेत उनी सचेत थिए । त्यही बाल्यकालको हुटहुटी र सचेतनाले नै उनलाई गाइड बन्न लोभ्याएको हो ।

‘एकातिर आम्दानी पनि हुने, अर्कोतिर संरक्षणमा पनि योगदान पुग्ने, दुवै काम सँगसँगै हुने भएर यसमा लागेका हौं,’ भट्टले भने, ‘पढाइ र पाहुना घुमाउने काम सँगसँगै चलिरहेको छ ।’ उनका अनुसार पाहुना घुमाएर सिजनमा मासिक २५/३० हजार र बेसिजनमा १०/१५ हजारसम्म आम्दानी गर्न सकिन्छ । निकुञ्जमा पाहुना घुमाउनका लागि माघदेखि जेठसम्मको समयलाई सिजन मानिन्छ । यही बेला वन्यजन्तु राम्ररी देख्न सकिन्छ । असारदेखि असोजसम्म निकुञ्ज बन्द हुन्छ ।


शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटक घुमाउने नेचर गाइडहरू ।

यसबाहेक निकुञ्ज प्रशासनले गर्ने विभिन्न गतिविधिहरू बाघ गणना, चरा गणना, बाह्रसिंगा गणनालगायतमा खटिँदा पनि केही आम्दानी हुने गरेको छ । एक पटक पाहुना घुमाए एक हजारसम्म शुल्क तोकिएको छ । पाहुनाले खुसी भएर पुरस्कारका रूपमा पनि रुपैयाँ दिने गरेका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा नेचर गाइडले व्यावसायिकता पाएको धेरै भएको छैन । स्वदेशी र विदेशी पाहुना बढेसँगै यहाँ गाइडको काम गरेर पनि आम्दानी गर्न सकिन्छ भन्ने संस्कारको सुरुवात भएको डेढ दशक मात्रै भएको छ । औपाचारिक रूपमा २००४ मा शुक्लाफाँटा नेचर गाइड एसोसिएसन नामक संस्था खोलेर यसको सुरुवात भएको हो । त्यसपछि मात्रै गाइडको तालिम दिएर पाहुना घुमाउन सकिने भएको थियो । भट्टजस्तै पाहुनालाई बाघ देखाउन एक दर्जन हाराहारी युवाहरू तल्लीन छन् । उनीहरू पाहुनालाई कसरी खुसी पार्न सकिन्छ भन्नेमा लागि पर्छन् । यति मात्रै होइन निकुञ्जका बारेमा र यहाँ पाइने वन्यजन्तुका बारेमा समेत उनीहरूले निकै अध्ययन गर्छन् । त्यही कुरा पाहुनालाई बताएर उत्साहित बनाउँछन् । अझ कतिपय गाइडले सामाजिक सञ्जालमा बाघ र बाह्रसिंगाका आकर्षक तस्बिर राखेरसमेत पाहुनालई निकुञ्ज घुम्न लोभ्याइरहेका छन् ।

हरियो ड्रेस, घाँटीमा बाइनाकुलर र क्यामेरा झुन्ड्याएर पाहुनासँगै सफारी गर्दै बाघ, बाह्रसिंगा र चराहरूका तस्बिर लिन जहिल्यै उत्साहित हुने अर्का तन्नेरी गाइड हुन् कुम ठाकुर । रानाथारू समुदायका उनी पनि विगत ८ वर्षदेखि यो पेसामा लागेका छन् । ३२ वर्षीय उनले पाहुना घुमाउने र वन्यजन्तुतको फोटो संकलनलाई प्यासन नै बनाएका छन् । चरा देख्नेबितिक्कै फोटो खिचिहाल्ने, बाघ, गैंडा, हात्ती, गोही, अजिंगरलगायतका तस्बिर त उनले कैयौं संकलन गरेका छन् । निकुञ्जको विशाल घाँसेमैदानमा हजारौंको बथानमा पाइने बाह्रसिंगाको तस्बिर उनलाई जति पटक लिए पनि नयाँ नै लाग्छ । हरेक पटक–फरक फरक पोजमा देखिने बाह्रसिंगाले उनलाई जहिल्यै लोभ्याइरहन्छ ।

बाघ, गैंडा र चितुवाजस्ता आकर्षक वन्यजन्तुभन्दा पनि पाहुनालाई देखाउनेमध्ये बाह्रसिंगा पहिलो रोजाइमा पर्छ । ‘शुक्लाफाँटाको ब्रान्ड नै बाह्रसिंगा हो, यसको परिचय नै त्यही हो,’ ठाकुर भन्छन्, ‘त्यही भएर पाहुनालाई जति बढी बाह्रसिंगा देखाउन सक्यो त्यति नै आनन्द आउँछ ।’ जर्मनीका ७४ वर्षीय एक पाहुनाले बाघ देख्दा भएको खुसी उनका लागि अविस्मरणीय क्षण बनेको छ । एक वर्षअघि ६ दिनको प्याकेज बनाएर घुम्न आएका जर्मन नागरिकले बाघ हेर्न निकै रहर गरेका थिए । चितवन, बर्दियामा घुमेर बाघ नदेखेपछि यहाँ पुगेका उनले ५ दिनसम्म पनि बाघ देखेनन् । अन्तिम दिन निराश भएर सफारीमा निस्किए । बिहान ६ बजे निस्किेर साँझ ६/७ बजे फर्किने क्रम चलिरहेको थियो ।

छैटौं दिन पनि साँझ पर्नै लागेको थियो । निकुञ्जबाट फर्किने तयारी भइरहेको थियो । बाघ देखाउन नसकेकोमा ठाकुर निराश थिए । पाहुनालाई कुन विषयले खुसी पार्ने भन्ने उनको मनमा सुरुदेखि नै खेलिरहेको थियो । तर अन्तिममा निराश भई फर्किंदा उनी आफैं अनुत्तरित थिए । अन्तिम समयमा फर्किने तयारी गरिरहेकै बेला २०/२५ मिटरको दूरीमा वयस्क बाघ देखेपछि जर्मन पाहुना खुसीले उफ्रिँदै नाच्न थाले । उनलाई पनि अँगालो मारेर धन्यवाद दिए । यस्ता कैयौं खुसीका क्षण उनले मस्तिष्कमै सजाएका छन् । ती क्षणहरू कुनै बेला पाहुनाहरूलाई नै सुनाउँछन् । यसले समेत पाहुनालाई उत्साहित बनाउने गरेको उनी बताउँछन् ।

रानाथारू समुदायका ठाकुरको घर निकुञ्जसँगै जोडिएको भीमदत्त नगरपालिका–१६ नयाँ कटानको बस्तीमा हो । निकुञ्जको पूर्वी क्षेत्र विस्तारका क्रममा विस्थापित भएका उनको परिवारले सट्टाभर्नाका रूपमा नयाँ कटानमा जमिन पाएर बसोबास थालेका हुन् । जंगल किनारमै घर भएकाले वन्यजन्तुले बालीनाली नोक्सान गर्ने र स्थानीयले वन्यजन्तुमाथि आक्रमण गरेको सानैदेखि देखेका उनलाई स्कुले जीवनदेखि नै वन र वन्यजन्तुबारे निकै रुचि थियो । त्यसपछि बेलाबेलामा अवलोकन भ्रमणका रूपमा निकुञ्जभित्रै जाने भएकाले यसप्रतिको लगाव अझ बढ्यो । मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने उनी पनि सानैदेखिको लगावका कारण नेचर गाइड भए ।

निकुञ्जमा पाहुना घुमाउन तल्लीन अर्का तन्नेरी गाइड हुन् ३२ वर्षीय गोविन्दराज पण्डित । उनलाई कोरोना संक्रमणका बेला भएको लकडाउनले गाइड बनाएको हो । भारतको गोवामा क्यासिनोमा काम गर्न उनी लकडाउनका बेला घर फर्केपछि नेचर गाइडको तालिम लिएर पाहुना घुमाउन थालेका हुन् । शुक्लाफाँटा नेचर गाइड एसोसिएसनका अध्यक्षसमेत रहेका उनी पनि पाहुनालाई खुसी राख्न तल्लीन रहन्छन् । उनको पनि पहिलो लक्ष्य बाह्रसिंगाको ठूलो बथान देखाउने नै हुन्छ । पछिल्लो समय निकुञ्जमा बाघको संख्या वृद्धिसँगै पाहुनाले दिनहुँ देख्न पाएका छन् । कतिपयले त एकै पटक सफारीमा दुई/तीन बाघसमेत देखेका छन् । यसले गाइडसँगै पाहुना दुवैलाई उत्साहित बनाइरहेको छ ।

‘अहिले त हरेक पाहुनाले बाघ देखिरहेका छन्,’ पण्डितले भने, ‘निकुञ्ज घुम्न र बाघ हेर्न आएको पाहुन सन्तुष्ट भएर फर्किन्छन्, कतिपय र प्रचारप्रसार नै नभएको रहेछ, बाह्रसिंगा र बाघ त सहजै देखिने रहेछ भनेर फर्किन्छन् ।’ उनी पनि संरक्षण र आम्दानी सँगै हुने भएकाले गाइडको काममा लागेका हुन् । सुदूरपश्चिम विश्वविद्यालयमै स्नातक तहमा अध्ययनरत भीमदत्त नगरपालिका १६ का २१ वर्षीय डम्बवर पैतोला पनि ४ वर्षदेखि गाइडको काम गरिरहेका छन् । अध्ययनसँगै पाहुना घुमाउने काम गरिरहेका उनलाई यही पेसाले पढाइ खर्च जुटाउन सघाएको छ ।

‘घर आँगनमै निकुञ्ज भएपछि यसतर्फ आकर्षित भएको हुँ,’ पैतोला भन्छन्, ‘वन्यजन्तुले बालीनालीको नोक्सान गरेर हैरान मात्रै बनाएको छैन, रोजगारी पनि दिएको छ ।’ उनी पाहुना घुमाउनेसँगै निकुञ्जका विभिन्न अनुगमन तथा गणना र संरक्षणसम्बन्धी अभियानमा पनि सहभागी हुने गरेका छन् । यसले सिकाइसँगै रोजगारसमेत बनाएको उनी बताउँछन् ।

२३ वर्षीय दिनेश महरा पनि ४ वर्षदेखि स्वदेशी र विदेशी पाहुना घुमाइरहेका छन् । अधिकांश पाहुनाले बाघ हेर्ने रहर गर्ने गरेको उनी बताउँछन् । चरा अवलोकनका लागि आउने पाहुना बाघ देख्दा पनि खासै उत्साहित नहुने उनी बताउँछन् । ‘विदेशी पाहुनाहरू चरा हेर्नकै लागि पनि यहाँ आउँछन्, दिनभरि चरा हेरेर पनि अघाउँदैनन्,’ उनले भने, ‘उनीहरू बाघ, गैंडाभन्दा पनि चरामै बढी रमाउँछन् ।’ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकलाई अहिले गाइड अनिवार्य गरिएको छ । पाहुनाहरूले वन्यजन्तु लखेट्ने तथा निषेधित कार्यहरू गर्ने भएकाले कोरोना संक्रमणपछि निकुञ्ज खुला भएदेखि गाइड अनिवार्य गरिएको हो । ‘जथाभावी फोहोर गर्ने तथा सेल्फी लिनका लागि वन्यजन्तु लखेट्ने काम बढेपछि गाइड अनिवार्य गरिएको हो,’ नेचर गाइड एसोसिएसनका अध्यक्ष पण्डितले भने, ‘यो पाहुना, गाइड र निकुञ्ज सबैका लागि उपयुक्त छ ।’

प्रकाशित : वैशाख १०, २०८० ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?