कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७२

थला परे पुतली बाजे

पोखरा — नेपालमा पाइने पुतलीहरूको अभिलेखीकरण गर्नेमा कोलिन स्मिथको नाम पहिलो नम्बरमा आउँछ । पुतली बाजे भनिने स्मिथले पुतलीको खोजीमा ५० वर्ष बिताए । उनी केही २ वर्षयता बिरामी छन् । स्वास्थ्य बिग्रँदै गएपछि पोखराको हरियोखर्क अस्पताल धाइरहेका छन् । स्मरण शक्ति घटेको छ । बोलेको कुरा एकै क्षणमा बिर्सन्छन् । 

थला परे पुतली बाजे

८६ वर्षीय स्मिथ २०२२ सालमा नेपालमा नेपाल आएका थिए । युनिभर्सिटी अफ लन्डनबाट एमएस्सी सकेर त्यहींको विश्वविद्यालय अध्यापन गराउने क्रममा उनी युनाइटेड मिसन टू नेपालमार्फत पढाउनका लागि भनेर आएका थिए । गोरखाको अमरज्योतिमा पढाएका थिए । सानैदेखि पुतली संकलन गरेर जम्मा गरेका स्मिथले डोरोथी मिरोकोसँग सहकार्य गरेर पुतली संग्रहालयका लागि पुतली संकलन गरेका थिए । स्मिथले नेपालको प्राकृतिक विज्ञान संग्रहालयमा राखिएको पुतली उनले संकलन गरेका हुन् । उक्त संग्रहालय स्थापनाका लागि उनले २५ हजारभन्दा बढी पुतली संकलन गरिदिए । त्यही मेसोमा मुलुकका ४० भन्दा बढी जिल्लाहरू घुमे । स्मिथले लामो समय पुतलीको अध्ययन र अनुसन्धानमै बिताए ।

‘चार महिनायता झन् गाह्रो हुन थालेको छ । मुत्र नलीमा पाइप राखेर पिसाब संकलन गर्नुपर्छ । उहाँ अब सधैंलाई ओछ्यानमै बस्नुपर्ने बाध्यता छ,’ उनका सहयोगी मीनबहादुर परियारले भने । बुढ्योलीसँगै स्मिथको स्वास्थ्य कमजोर भएको छ । पुतली खोज्दै जीवन बिताएका कोलिनले बिहे गरेनन् । आफन्तसँग बेलाबेला कुराकानी हुने मीनबहादुरले बताए । कोलिनका दाजुका नातिहरूले बेलाबेला फोन गर्छन् । एक नातिले उनको नेपाल र बेलायत बसाइका बारेमा जीवनी लेख्दै छन् । हजुरबा भेट्न ती नाति केही महिनाअघि भेट्न नेपाल आएका थिए । परियार ३५ वर्षदेखि स्मिथसँगै छन् ।

जीवनको ऊर्जाशील समय नेपालमा खर्चेका स्मिथ नेपाली नागरिकता चाहन्थे । योगदानको कदर गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीले २०७६ मंसिर १६ मा मानार्थ नेपाली नागरिकता प्रदान गर्दा उनी औधी खुसी भएका थिए । नेपाल सरकारले मानार्थ नागरिकता प्रदान गरेको उनी तेस्रो व्यक्ति हुन् । त्यसअघि अन्वेषक एवं भूगोलविद् टोनी हेगन र पर्वतारोही एडमन्ड हिलारीलाई नेपाल सरकारले मानार्थ नागरिकता दिएको थियो ।

प्रकाशित : वैशाख ३, २०८० ११:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?