भारत आएका सांसदहरूको दाबी- ‘हामी विधिसम्मत नै आएका हौं’

‘भ्रमणलाई अनावश्यक विवादमा पार्ने काम भयो’
राजेश मिश्र

नयाँ दिल्ली — भारत भ्रमणमा रहेका प्रतिनिधिसभाका सांसदहरूले आफूहरू विधिसम्मत ढंगले आवश्यक प्रक्रिया पूरा गरेरै भारत आएको बताएका छन् । बिहीबार दिल्लीस्थित नेपाली दूतावासमा अन्तर्क्रियामा सहभागी भएका बेला सांसदहरुले आफूहरूको भ्रमणलाई अनावश्यक ढंगले बदनाम गराउने कोसिस गरिएको दाबी गरेका छन् ।

पूर्वमन्त्रीसमेत रहेका एकीकृत समाजवादी पार्टीका सांसद शेरबहादुर कुँवरले आयोजक संस्थाले परराष्ट्र मन्त्रालयलाई आफूहरूको भ्रमणका बारेमा चिठी लेखेको तथा आफूहरूले संसदीय दल र संसद् सचिवालयलाई जानकारी दिएरै भारत आएको दाबी गरे ।

उनले देश–विदेशका भ्रमणहरू सबै सरकारी तहबाट मात्रै नहुने भन्दै विगतमा पनि गैरसरकारी संस्थाहरूले अध्ययन भ्रमण गराउँदै आएको भन्दै यसको नकारात्मक प्रचार सही नभएको बताए । अयोजक संस्थाले परराष्ट्र मन्त्रालयलाई चिठी लेखेपछि मन्त्रालयमार्फत दूतावासलाई जानकारी आउनुपर्ने उनको भनाइ थियो ।

उनले भ्रमणका क्रममा भएका भेटघाट र अन्तर्क्रियाहरू उपयोगी र महत्त्वपूर्ण भएको बताए । माओवादीका सांसद माधव सापकोटाले संसद् सचिवालयमा जानकारी तथा आ–आफ्ना दलबाट भ्रमण स्वीकृत गराएरै आएको बताए । दिल्ली बसाइको तीन दिनमा ९ स्थानमा भेटघाट र अन्तर्क्रिया भएको उनले जानकारी दिए । सबै कार्यक्रममा भारतीय विदेश मन्त्रालयका अधिकारीको उपस्थिति रहेको उनको भनाइ छ । ‘समग्रतामा संसदीय अभ्यासको अवलोकन भ्रमण सकारात्मक र ज्ञानवर्द्धक भएको छ,’ उनले भने, ‘नेपाल फर्केर यसलाई औपचारिक रुपमा लिपिबद्ध गरेर डकुमेन्ट बनाएरै संसद् सचिवालय र सरकारलाई बुझाउँछौं ।’

राजदूत शंकरप्रसाद शर्मासँगको अन्तर्क्रियामा भ्रमणका क्रममा भएका भेटघाट र अन्तर्क्रियाहरू उपलब्धीमूलक रहेको सबैजसो सांसदले बताएका थिए । राजदूत शर्माले दुई देशबीच रहेका मुद्दाहरूबारे सांसदहरूलाई अवगत गराएका थिए । उनले परराष्ट्र मन्त्रालय, संसद् सचिवालय वा भ्रमण आयोजक संस्था कतैबाट पनि दूतावासलाई सांसदहरूको भ्रमणबारे जानकारी नआउँदा भ्रमण तयारी वा समन्वयमा सन्दर्भमा दूतावास सक्रिय हुन नसकेको उल्लेख गरेका थिए ।

एउटा एनजीओले समन्वय गरेर प्रतिनिधिसभाका १२ जना सदस्य मंगलबार दिल्ली आएका हुन् । स्वतन्त्र युवा प्रजातान्त्रिक संघ, नेपाल नामको संस्थाले समन्वय गरेर सांसदहरूलाई दिल्ली ल्याएको हो । एकै साथ ठूलो संख्यामा सांसदहरू ९ दिनको भारत भ्रमणमा आएका हुन् । संसद चलिहरेका बेला विभिन्न पार्टीका सांसदहरू संसद् सचिवालयलाई जानकारी नगराइकनै भ्रमण आएको र त्यसको जानकारी दिल्लीस्थित नेपाली दूतावासलाई समेत नरहेको कुरा बाहिरिएपछि सांसदहरूको भ्रमण विवादित बन्न पुगेको छ ।

नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यमा मैना कार्की, प्रतिमा गौतम, शान्ति विक र सीता मिजार छन् । एमालेका मेनुका पोखरले, बलराम अधिकारी, नारयाण आचार्य, सराज अहमद फारुक छन् । त्यस्तै, माओवादी केन्द्रका माधव सापकोटा, मिना तामाङ छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका ढककुमार श्रेष्ठ र नेकपा समाजवादीका शेरबहादुर कुँवर भ्रमण टोलीमा सहभागी छन् ।

सांसदहरूले भारतको लोकसभामा भारतको संसदीय व्यवस्था प्रणालीकका सम्बन्धमा छलफल भएको बताएका छन् । त्यसबाहेकको विभिन्न छलफल र अन्तरर्क्रियाहरू पनि दुई देशको सम्बन्धका लागि उपयोगी रहेको बताएका हुन् । एमालेका सांसद बलराम अधिकारीले आफूहरूको भ्रमणबारे केही अस्पष्टता देखिए पनि पार्टीगत रुपमा आधिकारीक जानकारी र बिदा लिएरै आएको बताए । उनले भारतले गरेको विकास र भारतले नेपाललाई कसरी हेर्दै छ भन्नेजस्ता विषयमा भारतीय संसद् र नीति आयोग, उद्योग व्यापारी, ऊर्जा उत्पादनमा जोडिएका संस्थाहरूसँग छलफल गरिएको बताए ।

प्रकाशित : चैत्र १६, २०७९ १८:५८
प्रतिक्रिया
पठाउनुहोस्

मेटाले ल्याएको खुसी

रीना मोक्तान

काठमाडौँ — भारतको प्रतिष्ठित 'महिन्द्रा एक्सिलेन्स इन थिएटर अवार्ड (मेटा)मा मनोनीत भइसकेपछि 'दि डिपार्टेड डन' चैत १० देखि १४ सम्म मञ्चन भयो । निर्देशक विमल सुवेदी अन्तिम मञ्चन हेर्न अघिल्लो दिन दिल्ली पुगेका थिए ।

आफ्नो लेखन र निर्देशन रहेको नाटकको त्यस दिनको प्रस्तुति सोचेजस्तो भएन । नाटक मञ्चमा प्रत्यक्ष प्रस्तुत हुने हुँदा नाटक सँधै एकैनासको हुँदैन । अन्तिम दिनको प्रस्तुति हेरिसकेपछि एउटा अवार्ड त जितिएला भन्ने विमलको आस थियो । तर, हालै सम्पन्न अवार्ड समारोहमा नाटकले तीन अवार्ड उचाल्यो, उत्कृष्ट संगीत, उत्कृष्ट कोरियोग्राफी र उत्कृष्ट अभिनेता ।

यस्तो ठूलो प्लेटफर्ममा आफ्नो कामको चर्चा हुँदा विमल खुसीले गदगद छन् । 'अब हाम्रो टिममा भिक्टर र म मात्र अलि परिपक्वहरु थियौं । धेरै त नयाँ हुनुहुन्थ्यो । त्यसैले पनि तीनवटै अवार्ड त पाउँदैनौं भन्ने सोचें । तर, तीनवटा विधामै हामीले अवार्ड जित्यौं । खुसी भयौं । अवार्ड समारोह नै भव्य थियो । अवार्ड घोषणा हुँदा टिमका अरु साथिहरु स्टेज उक्लनु हुँदा म सँगै जान सकिनँ । नर्भस भएँ, स्टेजमा जाने आँट नै आएन,' उनले भने, 'म खासै यस्तो कुरालाई बाहिर ल्याइरहेको हुँदिनँ । तर, यसपटक अवार्डको समाचार यसरी आइरह्यो कि एउटा पनि जितिएन भने कस्तो नमज्जा हुन्छ होला भनेर सोचेको थिएँ । '

नाटकले दर्शकबाट यति सकारात्मक प्रतिक्रिया बटुल्यो कि मञ्चन सकिनासाथ यूकेको राजदूतावास, एनसिपिए (नेसनल सेन्टर फोर द पर्फमिङ आर्ट) थिएटर, पृथ्वी थिएटर मुम्बईलगायतले 'दि डिपार्टेड डन'लाई नाटक मञ्चनको अफर गरेको छ । उनको टिम अफर आएका यी प्लेटफर्महरुमा पुगेर नाटक मञ्चन गर्ने तयारीमा छ । 'सायद अबको तीन महिनापछि हामी यो नाटकलाई लिएर ती ठाउँहरुमा पुग्ने छौं । खासमा हाम्रो नाटक नै वर्ल्ड टुर गर्ने विषयमाथि बनेको छ,' विमलले खुसी हुँदै सुनाए, 'मणिपुर गएर अझै रिहर्सल गराउँछु अनि टुरमा हिँड्छौं ।'

खासमा 'डिपार्टेड डन' नै अवार्डको खाता खोलेको थियो । सुरुआतमै 'बेस्ट इनोभेटिभ साउन्ड डिजाइन'मा 'दि डिपार्टेड डन'को नाम घोषणा भयो । मनोज बाजपाय, सौरभ शुक्ललगायतका बलिउडका चर्चित कलाकारको उपस्थिति रहेको समारोहमा उनको टिम पछाडिको पंक्तिमा थिए । सुरुमै संगीतमा आफ्नो नाटकको नाम घोषणा हुँदा विमल अन्योलमा परे । 'त्यतिबेला झट्ट मणिपुरको नाममात्र देखें । साथीहरु सबैले ताली बजाउन थालेपछि पो थाहा भो हाम्रै नाटकले जितेछ भन्ने,' विमलले भने ।

नेपाली रंगकर्मीले दर्शक रिझाउने काम छोडेर अन्तर्राष्ट्रिय प्लेटफर्म पुग्न मिहिनेत गर्नुपर्ने पनि विमलको सुझाव छ । 'नेपाली रंगमञ्चको तितो यथार्थ के छ भने हामी दर्शकले रुचाउने/ताली आउने काममात्र धेरै गरिरहेका छौं । नयाँ प्रयोग गर्न डराउँछौं । म कहिल्यै त्यतातिर लागिनँ । तर, मलाई जे कुरामा विश्वास थियो त्यो गरें । तत्काल नतिजा खोज्नु पनि हुँदैन । नेपाल आएर ४/५ वर्ष नाटक गरिरहँदा त्यसको समाचार आउँथेन । तर, म नाटक गरिरहन्थे,' विमलले भने, 'त्यही हो हामीमा निरन्तरता हुनुपर्‍यो । आफूमाथि विश्वास हुनु पर्‍यो । यो नाटकभन्दा पहिला मैले धेरै राम्रा नाटक गरें । तर हामीसँग प्लेटफर्म थिएन । भारतमा मेटाको प्लेटफर्म नभइदिएको भए हाम्रो नाटक यति चर्चा हुन्थेन । अब हामी रंगकर्मीले पनि हाम्रा नाटकलाई अन्तर्राष्ट्रिय प्लेटफर्ममा लैजान त्यही स्तरमा काम गर्न थाल्नुपर्छ ।'

उनी थप्छन्, 'अब नेपाली रंगकर्मी खुम्चिएर बस्नु हुँदैन । पखेटा फैलाउनुपर्छ ।'

प्रकाशित : चैत्र १६, २०७९ १८:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×