कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दाहाललाई २ महिनामा दोस्रोपटक विश्वास

मकर श्रेष्ठ

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिनिधिसभा बैठकमा सोमबार उपस्थित झन्डै दुई तिहाइ सांसदले विश्वासको मत दिएका छन् । प्रतिनिधिसभामा २ सय ६२ सांसद उपस्थित भएकामा माओवादीसहित ९ दलका र स्वतन्त्रसहित १ सय ७२ सांसदले दाहालको पक्षमा मत दिएका हुन् । विपक्षमा एमाले र राप्रपा रहे भने नेमकिपा तटस्थ बस्यो । बैठकमा उपस्थित सांसदको दुई तिहाइ १ सय ७५ हुन्छ ।

दाहाललाई २ महिनामा दोस्रोपटक विश्वास

दाहाललाई कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, जनमत, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदले विश्वासको मत दिएका हुन् । यसअघि पुस २६ मा विश्वासको मत लिएका दाहालले ६९ औं दिनमा सोमबार दोस्रो पटक विश्वासको मत लिएका हुन् । त्यतिबेला सत्तामा एमाले, चौथो ठूलो दल रास्वपा, राप्रपा, जनमत पार्टी पनि थिए ।

विश्वासको मत नदिने सांसदहरूको संख्या २ मात्रै थियो । गत फागुन १३ मा राप्रपा र फागुन १५ मा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएका कारण दाहालले पुनः विश्वासको मत लिएका हुन् । राष्ट्रपति निर्वाचनको सम्मुखमा माओवादीले कांग्रेससँग गठबन्धन बनाएपछि एमाले र राप्रपा सरकारबाट बाहिरिएका थिए ।

प्रधानमन्त्रीले कुनै पनि बखत आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक वा उपयुक्त ठानेमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सरकारमा रहेका राजनीतिक दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र पुनः विश्वासको मत लिनुपर्ने प्रावधान भएकाले दाहालले सोमबार विश्वासको मत लिएका हुन् । सत्तारूढ गठबन्धनका राजनीतिक दलहरू एजेन्डाका हिसाबले एकै स्थानमा रहेकाले अब फेरि तत्काल विश्वासको मत लिनुपर्ने अवस्था नआउने प्रधानमन्त्री दाहालको भनाइ छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभामा एउटा मात्रै राजनीतिक दलको बहुमत आउने अवस्था नरहेकाले गठबन्धनको अभ्यास गर्नॅपर्ने अवस्था आएको प्रस्ट्याए । ‘राजनीतिक गठबन्धन आत्मकेन्द्रित, स्वार्थ प्रेरित, क्षणिक र अस्थिरता ल्याउने हुनुहुँदैन । देश र जनताको पक्षमा संविधानको रक्षा गर्ने, देशमा स्थिरता, अमनचयन, शान्ति र विकासका लागि गठबन्धन हुन आवश्यक छ,’ उनले भने । सरकारले अब आरोप–प्रत्यारोपमा मात्रै नलागेर शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुर्‍याउने, विकास निर्माण र सुशासनका काम गर्नॅपर्ने देउवाको भनाइ थियो ।

दाहालले विश्वासको मतको प्रस्ताव राखेपछि नेताहरूले फेरि विश्वासको मत लिनुपर्ने अवस्था आउन सक्ने भएकाले सरकार अस्थिर हुने आशंका गरेका थिए । ‘प्रधानमन्त्रीलाई अर्को यात्राका लागि शुभकामना छ । तपाईंले बिनाकारण बाटो फेर्नॅभयो, जुहारी चलाउने मन छैन । भाग्यमानी प्रधानमन्त्री हुनुहुन्छ । दुई महिनामा २ पटक विश्वासको मत लिनुभएको छ । वैशाख १५ भित्र फेरि विश्वासको मत लिनुपर्ने अवस्था नआओस्,’ राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन भने ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी वैशाख दोस्रो साता प्रधानमन्त्री दाहालले फेरि विश्वासको मत लिनुपर्ने अवस्था आउने सक्नेमा आशंका व्यक्त गरे । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकार ढाल्ने खेलले लोकतन्त्र र गणतन्त्र दुवैलाई धरापमा पारेको बताए । ‘दुई महिनाभित्रै अर्को खेल भयो । यो खेल हेर्दा नेपाली जनताले हामीलाई के भन्दा हुन्,’ उनले भने, ‘निर्वाचन प्रणालीका कारण बहुमत कुनै पनि दलको आउन नसक्ने अवस्था छ । २–२ महिनामा सरकार बदल्ने काम गर्दा लोकतन्त्रलाई बचाउन सक्छौं ?’ प्रधानमन्त्री दाहालले तत्काल पुनः विश्वासको मत लिने अवस्था नआउने दाबी गरे ।

प्रतिनिधिसभा निर्वाचनबाट कांग्रेस ठूलो पार्टी बनेको थियो । उसले प्रधानमन्त्री दाबी गरिरहेका बेला दाहाल गत पुस १० मा एमालेसँग मिलेर आफैं प्रधानमन्त्री बने । पुस २६ मा दाहाललाई कांग्रेसले पनि विश्वासको मत दिएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दुई पटक प्रधानमन्त्री बनाएकाले आफूलाई अझै एक पटक प्रधानमन्त्री बनाउन बाँकी रहेको दाहालले बताए । ‘मलाई ब्याज तिर्नॅपर्ने थियो । ऋण तिर्नॅपर्ने थियो । अझै एक पटक बाँकी छ । हिसाब राख्नुहोला,’ उनले भने ।

एमाले उपाध्यक्ष विष्णु पौडेलले सहयात्री दललाई सरकारबाट घोक्य्राएर निकालिएको आरोप लगाए । एमालेलाई बाहिर राखेर राष्ट्रिय सहमति हुनै नसक्ने उनको भनाइ थियो । ‘प्रधानमन्त्रीले कस्तो राष्ट्रिय सहमति खोज्नुभएको हो ? जनमतको हिसाबले देशको सबैभन्दा ठूलो दल एमालेसहितको राजनीतिक दलबिनाको सहमति कस्तो राष्ट्रिय सहमति हो ?’ उनले भने, ‘एमालेबिनाको राष्ट्रिय सहमतिको कुरा गरेको भए त्यसको सख्त विरोधमा एमाले रहेको छ । जनता र मुलुकले त्यस्तो राष्ट्रिय सहमति चाहेका होइनन् ।’

प्रकाशित : चैत्र ७, २०७९ ०६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?