कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाली विद्यार्थीमाझ बेलायती सांसदले भने- ‘राजनीतिमा आउनुअघि कन्डक्टर थिएँ’

काठमाडौँ — नेपालका विद्यालयहरु अन्तिम परीक्षाको तयारीमा जुटिरहेका बेला शुक्रबार बेलायती संसद्‌मा नेपालबारेको सर्वदलीय समूहको अध्यक्ष रहेका सांसद वीरेन्द्र शर्मा कलंकीस्थित एलआरआई स्कुल पुगे ।

नेपाली विद्यार्थीमाझ बेलायती सांसदले भने- ‘राजनीतिमा आउनुअघि कन्डक्टर थिएँ’

विद्यालयमा संसदीय व्यवस्थाबारे विद्यार्थीलाई प्रयोगात्मक अध्ययन गराउने नेपालकै पहिलो स्कुल एलआरआई पुगेपछि उनी सोझै स्कुलको संसद् कक्षमा पसे । त्यहाँ उनले विद्यार्थीहरुसँग १ घन्टा साक्षात्कार गरे ।

भारतमा ७५ वर्षअघि जन्मेका सांसद शर्माले विद्यार्थीहरुमाझ भने, ‘म बेलायतको संसद्‌मा चुनिनुअघि लन्डनमा बस कन्डक्टर थिए । त्यो बेला त्यहाँ खुला थियो । कुनै कानुन थिएन । अहिले बेलायतमा धेरै परिवर्तन भइसक्यो ।’ उनको मन्तव्य सुनेर स्कुलको संसद् कक्षमा भेला भएका विद्यार्थीहरु आश्चार्य मान्दै सुनिरहे ।

उनले ५० वर्षअघि भारतको पन्जाब छाड्नुपर्ने बाध्यताबारे भने, ‘त्यसबेला बेलायत खुला थियो । मैले ग्र्‌याजुयसन सकेको थिए । रोजगारी खोजीमा बेलायत पुगेँ ।’ त्यसबेला बेलायती जीवनशैलीबारे आफू जानकार नभएको बताउँदै विद्यार्थीहरुलाई त्यसताका भारत छाड्नुको कारण भने, ‘त्यसबेला बेलायत पुगेर फर्किने भारतीयहरु धेरै पैसा र नाइलन सर्ट लगाएर फर्किन्थे । म पनि उनीहरुजस्तै जीवन राम्रो बनाउने सपना देखेर बेलायत पुगेँ । तर अध्ययन र अधिकारको पक्षमा संघर्ष गरेकै कारण म त्यहाँको तल्लो सदनमा २००७ देखि सांसद छु ।’

बेलायतको संसद्‌का कुल ५ सय ५० मध्येका एक सांसद शर्मा त्यहाँको विपक्षी दल लेबर पार्टीसँग आबद्ध छन् । त्यहाँको संसदीय समितिमा रहेको अन्तर्राष्ट्रिय विकास समितिका सदस्य रहेका उनी अरु केही सांसदसहित केही दिनअघि नेपाल आएका हुन् । स्कुले विद्यार्थीहरुलाई कुनै पनि विषयमा प्रस्ट दृष्टिकोण, कडा मिहिनेत, आफूप्रति बफादारलगायतका गुण हुनुपर्ने उनको भनाइ थियो । उनले भने, ‘समाजका लागि केही गर्न शिक्षा नै सबैभन्दा ठूलो हो । सोचाई फराकिलो बनाउन, परिस्थिति बुझ्न, विश्लेषण गर्न शिक्षा महत्वपूर्ण छ ।’

सांसद शर्माको टोलीले पुस्तकालय, पाठ्यक्रमबाहेकका पुस्तक पढ्ने विषयमा नेपाली स्कुले विद्यार्थीहरुसँग जिज्ञासा राखेको थियो ।

प्रकाशित : चैत्र ३, २०७९ २२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?