कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

सडक मर्मत नगरेको भन्दै लिखु आयोजनाका सवारी साधन रोक्ने चेतावनी

टीकाप्रसाद भट्ट

रामेछाप — कच्ची सडक जर्जर बनाएको तर मर्मतका लागि चासो नदिएपछि रामेछापको उमाकुण्ड गाउँपालिकाले लिखु जलविद्युत् आयोजनाका मेसिन औजार बोकेर गुड्ने सवारी साधन रोक्ने चेतावनी दिएको छ । 

सडक मर्मत नगरेको भन्दै लिखु आयोजनाका सवारी साधन रोक्ने चेतावनी

आयोजना निर्माणको सुरुआती चरणदेखि नै स्थानीयको मागलाई अटेर गर्दै आएको गुडग समूहको लिखु जलविद्युत् आयोजनाका कारण गाउँपालिका जोड्ने मुख्य सडक जर्जर बनाएको तर मर्मतका लागि कुनै काम नगरेकोले बाध्य भएर आयोजनाका ढुवानी साधन रोक्न लागेको उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले जनाएका छन् ।

‘बिग्रिएको सडक पालिकाले नै बनाउँछ तर आयोनजाको गाडी अब गुड्न पाउँदैनन्,’ सुनुवारले भने, ‘लिखु आयोजनाको अत्याचारको सीमा नाघेको छ ।’

सरकारले बनाएको सडकमा अत्यधिक भारवहन बोकेर गुड्ने साधनले सडक छियाछिया बनाएकाले साना सवारी साधन गुड्न नसक्ने अवस्था छ । ‘हामीले पटक–पटक आयोजनालाई सडक सुधार गर्नका लागि आग्रह गर्‍यौं,’ सुनुवारले भने, ‘आयोजनाका सञ्चालक वार्तामा बस्दा सबै हुन्छ भनेर सहमतिमा दस्तखत गर्ने तर मर्मतको काम नगरी अटेरीपन देखाउँदै आएका छन् । सधैँ अटेर गर्दा गाउँपालिकाका बासिन्दाले सडक यात्रामा सास्ती भोग्नुपरेको उनले गुनासो गरे ।

‘हिउँदयाममा खाडल छलेर गुड्न समस्या छ, वर्षामा कुनै पनि साधन चल्न नसक्ने गरी सडक बिगार्दै आएका छन्,’ सुनुवारले भने, ‘आयोजनाले आफ्ना साधनलाई मेसिनले तानेर पनि चलाउँछ, नागरिक कठिन पैदल यात्रा गर्न बाध्य हुन्छन्, यो अवस्थाको अन्त्य हुनुपर्छ भन्ने कुरा हाम्रो हो ।’

चुचुरेको शिवालयदेखि बाम्ती हुँदै गुम्देलको ठाडो खोलासम्मको करिब २० किलोमिटर सडक जर्जर रहेको छ । यता गोकुलगंगा गाउँपालिकाको रस्नालु सडकखण्ड पनि आयोजनाकै ठूला भारवहन साधनका कारण लथालिङ्ग बनेको गुनासो स्थानीयको छ । केहीले सडकमा गह्रौं भारी बोकेर आउने साधनलाई रोकेर रोष पोख्न थालेका छन् ।

स्थानीय र जनप्रतिनिधिको गुनासो बढेपछि रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले माघ १८ गते जलविद्युत् आयोजनाका सञ्चालक र जनप्रतिनिधि राखेर समन्वय बैठक गराएका थिए । उक्त बैठकमा लिखु आयोजना र नुम्चे हाइड्रोपावर लिमिटेडले तत्काल सडक मर्मत सुरु गर्ने सहमति गर्दै जिम्मेवारी लिएका थिए । आफैंले गरेको सहमतिबमोजिम लिखु जलविद्युत् आयोजनाले हालसम्म सडक मर्मतको काम सुरु नगरेको प्रजिअ रेग्मीले बताएका छन् ।

‘नुप्चे हाइड्रोले काम थालेको सूचना पाएको छु । स्थानीयको नुप्चेप्रति त्यति धेरै गुनासो पनि छैन,’ रेग्मीले भने, ‘लिखु आयोजनाले भने अझै टेरेको छैन, हामी सहमति कार्यान्वयनका लागि पहल गरिरहेका छौं ।’

रामेछापबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद पूर्णबहादुर तामाङ (कान्छाराम)ले समेत उमाकुण्डतर्फको सडक लिखु जलविद्युत् आयोजनाका कारण क्षतिग्रस्त भएको दाबी गरे । आयोजनाले स्थानीय नागरिकको कुनै पनि माग सम्बोधन नगरेको, जनप्रतिनिधिको कुरा अटेर गर्दै दादागिरी गर्दै आएको उनले बताए । ‘अब आयोजनाले सुधार हुने बेला भएको छ,’ तामाङले भने, ‘यो बेला कसैले पनि जबरजस्ती पेलेर आफ्नो मात्र स्वार्थ पूरा गर्ने कुरा सह्य हुँदैन ।’

मोतिलाल दुगड समूहले रामेछापको पूर्वी सीमावर्ती नदी लिखुमा ३ वटा जलविद्युत् आयोजना निर्माणमा लगानी गरेको छ । तीमध्ये २९ मेघावाटको लिखु ए जलविद्युतले व्यावसायिक उत्पादन थालिसकेको छ भने ७७ मेगावाटको लिखु एक र ५५ मेघावाटको लिखु दुई आयोजना निर्माणको अन्तिम चरणमा छन् । उक्त आयोजनामा पहुँच मार्ग सबै रामेछाप जिल्लामा पर्छ । लिखु एकभन्दा माथिल्लो क्षेत्रमा पर्ने नुम्चे हाइड्रोसमेतले सोही मार्ग प्रयोग गर्ने गरेको छ ।

लिखु आयोजनाका सञ्चालक राजन खत्री अब सडक सुधारको सामान्य कामबाहेक आयोजनाले ठूलो मर्मत सम्भारको काम गर्न नसक्ने बताउँछन् । ‘हाम्रो काम सकियो, सुरुको लागत अनुमानभन्दा धेरै ठूलो लगानी सडक निर्माण र मर्मतमा हामीले खर्च गरिसकेका छौं,’ खत्रीले भने, ‘अहिले आयोजनामा पैसा छैन, रकम अभावले गर्दा ठूलो मर्मत सम्भारको काम गर्न सकिँदैन । उनले शिवालयदेखि उमाकुण्ड सडक खण्डको ट्य्राक ओपनदेखि ७ वर्षसम्म निरन्तर सुधार गर्दै आएको दाबी गरे । गोकुलगंगाको रस्नालुदेखि शिवालयको खण्डमा समेत मर्मतमा आयोजनाले सहयोग गरेको बताए । ‘अब हामीले मात्र सडक मर्मत गर्न कुराभन्दा पनि त्यस क्षेत्रमा सञ्चालनमा आएका अन्य आयोजना र पालिका मिलेर मर्मत सम्भार गर्ने कुरा हामीले अघि सारेको हो,’ खत्रीले भने ।

प्रकाशित : फाल्गुन २६, २०७९ १४:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतिप्रति तपाईंको के टिप्पणी छ ?