कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

टर्की भूकम्पको इपिसेन्टरमा फसेका नेपाली भन्छन् : भित्र बस्दा डर, बाहिर हिउँपानी

'अहिलेसम्म सर्म्पकमा आएका सबै नेपाली सुरक्षित छन् ।'
होम कार्की

काठमाडौँ — सोमबार बिहान टर्कीको गाजियान्टेपलाई इपिसेन्टर बनाएर आएको ७.८ म्याग्निच्युडको भूकम्पमा परी टर्की र सिरियामा गरी मृत्यु हुनेको संख्या ५ हजार नाघेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

टर्की भूकम्पको इपिसेन्टरमा फसेका नेपाली भन्छन् : भित्र बस्दा डर, बाहिर हिउँपानी

गार्डियनका अनुसार भूकम्पमा ५ हजार ७ सयभन्दा बढी भवन भत्किएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार करिब १४ लाख बालबालिका प्रभावित हुने भएका छन् । १७.९ किमि गहिराइसम्म पुगेको भूकम्पको धक्का सिरिया र लेबनानसम्म पुगेको छ । अदाना, मलातिए, ओसमानिया, एस्केमदेरन, किलिस, साम्ले उर्फासहित १० क्षेत्रमा असर पुगेको छ ।

टर्कीमा तेस्रो बाटो प्रयोग गरी जाने भएकाले कति नेपाली छन् भन्ने यकिन विवरण कसैसँग छैन । घरेलु कामदारमा भने म्यानपावर ब्यवसायीले श्रम स्वीकृति लिई पठाइरहेका छन् । कान्तिपुरसँगको सम्पर्कमा आएका नेपालीहरूले भने अहिलेसम्म सबै सुरक्षित रहेको खबर पठाएका छन् ।

गाजियान्टेपमा रहेकी भारती श्रेष्ठको अनुभव

मसहित ५ जना नेपाली महिला एकैठाँउमा छौं । भूकम्प गएको बेला सोमबार बिहान ४ बजेर १७ मिनेटमा हामी काम गर्ने कुले होटलको कोठामा नै सुतिरहेका थियौं । यो ठाँउ टर्कीको गाजियान्टेप हो । जुन ठाँउलाई केन्द्रविन्दु वनाएर ७.८ म्याग्निच्युडको भूकम्प गयो । हामीलाई यही होटलभित्रै बस्ने व्यवस्था मिलाइएको थियो । सुरुमा आएको भूकम्प थाहा नै भएन । त्यसपछि आएको भूकम्पले होटललाई पिङजस्तै हल्लाइदियो । नेपालमा पनि भूकम्प भोगिसकेकी थिएँ । हत्तपत्त सबै कोठाबाट बाहिर निस्कियौं । कोही नाइट ड्रेसमा थियौं । कसैको खुट्टा खाली थियो । कसैले मोजा मात्रै लगाएको थियौं । हामी होटलको २०औं तलामा बस्थ्यौं । होटलमा पहुना पनि धेरै थिए । लिफ्ट बन्द भइसकेको थियो । सबै भर्‍याङबाट नै तल ओर्लियौं । भर्‍याङबाट हस्याङफस्याङ गर्दा धेरै लडे । कतिको हातमा चोट लाग्न पुग्यो । तल रिसेप्सनमा भीड थियो । परकम्प आउनेक्रम रोकिएको थिएन ।

सबैजना जसोतसो होटलबाहिर निस्कियौं । बाहिर हिउँ पानी परिरहेको थियौं। होटल भत्के थिच्छ भनेर रोडपारि रेलवेको लिकमा गएर बस्यौं । हिउँ पानीमा भिज्दै उभिरह्यौं । १५–२० मिनेट जति भिजेपछि रिसेप्सनभित्र गयौं । सेक्युरिटी गार्डले कोठामा गएर लुगा ल्याइदिए । पाहुनासँग नै रिसेप्सनमा बस्यौं । होटलमा ठूलो क्षति नभए पनि भित्र बस्न डरले दिएन । भित्र बस्दा होटेलले थिचिन्छ भन्ने डर, बाहिर जाँदा हिउँपानीको डर । सोमबार दिनभर डरैडरमा बित्यो ।

पाहुना धेरै भएकाले होटलमा उनीहरूको लगेज तल झार्नुपर्दथ्यो । यस्तो काम होटलले विदेशी भएकोले हामीलाई काममा लगाएन । स्थानीयलाई लगायो । छिनछिनमा परकम्प आइरहन्थ्यो । हल्लाउनेबित्तिकै दौडिँदै बाहिर आयो । रोकिएपछि फेरि होटलभित्र छिर्थ्यौं ।

होटेलले साँझतिर एउटा स्विमिङ पुलसहितको क्लब (टर्की हमाम)मा ल्याएर राखिदियो । यहाँ ५० जनाभन्दा बढी छौं । रोडबाट अन्डरग्राउन्डजस्तो छ । तर तल गएपछि बाहिर बगैंचामा निस्कन मिल्छ । यहाँ सोफाहरू राखिएको छ । सोफा नपाउने भुइँमा नै बस्छौं । साथी सबै सोफामा आलोपालो सुतिरहेका छौं । आधा घण्टाको फरकमा परकम्प आइरहेको छ । परकम्प आउनेबित्तिकै बाहिर निस्कन्छौं । भित्र आउँदा सोफामा अर्को नै बसिसक्छ । पार्कमा जाँदा हिउँपानीले लुगा भिजिहाल्छ ।

भिजेको लुगा लगाएर भित्र बस्नुपर्छ । मंगलबार बिहानदेखि भने अलि मौसम सफा हुँदै आइरहेको छ । मौसम सफा भएर हिउँ नझर्ने र पानी मात्रै रोकिदिए पनि अलि सहज हुने थियो । टर्किस खाना र पानीको समस्या छैन । होटलले नै व्यवस्था गरिदिएको छ । यहाँ बाहिरको अवस्था निकै नाजुक छ । कतिठाँउमा सडक चिरा परेका छन्, भवन धसिएका छन् । सबैजसो भवन २० तलामाथिकै छन् । कतिपय भवनहरुको तला त जमिनमुनि नै धसिरहेको छ । एउटा तलमा ८ वटा परिवार बस्थे । धेरैको हताहत भइसकेको छ । टर्कीमा मात्रै ३ हजार ३ सय ८१ जनाको शव भेटिइसकेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

हामीसँग यो क्षेत्रमा २०/२५ जना पहिलेदेखि सर्म्पकमा थियौं । अहिले सबै एकअर्कासँग सर्म्पकमा नै छौं । अलि ग्रामीण भेगमा नेपाली महिला घरमा काम गर्छन् । उनीहरू पनि सर्म्पकमा आइरहेकै छन् । कतिपय ठाँउमा बिजुली काटिएको छ । मोबाइल चार्ज हुन सकेको छैन । जसले गर्दा कतिपयसँग सर्म्पक हुन सकेको छैन । अहिलेसम्म नेपालीहरुको मानवीय क्षति वा भवनमा परेको वा नपरेको केही खबर भने छैन । जो जति सर्म्पकमा आएका छन्, सबै सुरक्षित नै छन् ।

सम्बन्धित समाचार

प्रकाशित : माघ २४, २०७९ १६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?