२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

एक गाग्रो पानी भर्न रातभर जाग्राम

‘हामी जनताको समस्यामाथि नेताहरूले राजनीति गर्दा साँढेको जुधाइ बाच्छाको मिचाइ भएको छ । हामीलाई खानेपानीको कति समस्या छ भन्ने सबैलाई थाहा छ तर यति संवेदनशील विषयमा त राजनीति गर्छन् भने यिनीहरूबाट हामीले के आश गर्ने ?’
गगनशिला खड्का

गुल्मी — रातको ३ बजे, सारा गाउँ मस्त निद्रामा हुन्छ । तर इश्मा गाउँपालिका–४ पैयुँपाटाका ७६ वर्षीय झपिन्द्र कार्कीको भने पानी भर्ने पालो पर्छ । बुढेसकालको तन त्यसमाथि पुस माघको कठ्याँग्रिदो जाडो ।  एक दिन होइन, दुईदिन होइन, कार्कीलाई वर्षौदेखि न चिसोबाट जोगिनु छ न आराम नै ।  

एक गाग्रो पानी भर्न रातभर जाग्राम

‘आज त सकिनँ भनेर राति नउठ्ने हो भने दबाइ खाने पानी हुन्न,’ कार्की भन्छन्, ‘बिहान ४ बजे पालो पर्छ, तीनै बजे उठेर पानी फर्काउन जानुपर्छ ।’ रातको समयमा पानी जोड्न जाँदा चितुवाको समेत डर हुने उनी बताउँछन् । ‘अरु मस्त निद्रामा हुन्छन्, म बूढो पानीका लागि किरो (गाउँमा चितुवालाई किरो भन्छन्) सँग जम्काभेट हुनुपर्छ,’ कार्कीले दुःखेसो पोखे ।

पैयुँपाटाकै ५३ वर्षीया तुल्सा कार्कीको पालो रातिको २ बजे पर्छ । मध्यरातमा नब्युँझिएला र पानी नै भर्न नपाइएला भन्ने डरले उनी रातभर जाग्राम बस्छिन् । पैयुँपाटा गाउँमा १८ घरधुरी छन् । दिउँको पानी भर्ने पालो बिहान ४ बजेदेखि सुरु भएर रातिको १० बजेसम्म निर्धारण गरिएको छ । प्रत्येक घरधुरीले एक घण्टा मात्रै पानी थाप्न पाउने नियम बनाइएको छ । राति ९ बजेपछि बिहान ४ बजेसम्म रातिको पालो पर्छ । त्यो ७ घण्टामा एक परिवारले आधा घण्टा पनि पानी भर्न पाउँदैन । ‘हामीले पालो बानेर पानी थाप्न लागेको ९/१० वर्ष भयो, दिउँसोको १/१ घण्टा पर्छ, रातिको आधा घण्टा पनि भर्न पाइँदैन,’ कार्की भन्छिन् ‘राति पानी थाप्नका लागि पाइप तानातान हुन्छ, कसैले भर्न पाउँछन्, कसैले पाउन्नन् ।’

गाउँभन्दा टाढा मालिका गाउँपालिका वडा नम्बर–५ छापहिलेको रंग मुहानबाट पाइपमा पानी ल्याइएको छ । तर पानी संकलन गर्ने ट्यांकी नहुँदा पालो बाँडेर पानी भर्नुपर्ने बाध्यता भएको हो । ‘पाइपमा पानी आउनुभन्दा पहिला एक घण्टा टाढाको रानीको पँधेरोबाट बोकेर पानी ल्याउनुपर्थ्यो,’ देवकला महतारा भन्छिन्, ‘अलि सजिलो होला कि भनेर हरेक घर कुरियाबाट पैसा उठाएर पाइप त ल्याइयो, ट्यांकी बनाउने पैसा नहुँदा दिनरात पालो बाँडेर भर्नुपर्छ ।’

पैयुँपाटा मात्र होइन, सो वडाका खब्रेटा,हुल,चैया,भना,मड्किना,दमी,रुमीलगायतका करिब ७ सय घरधुरीमा खानेपानीको उस्तै समस्या छ । फरक यति हो, ती गाउँमा पानी भर्ने पालो बाँडिएको छैन् । आएको पानी स–साना ट्यांकीमा जम्मा गरिन्छ ।

दिनको एक घण्टा सबै घरमा पुग्नेगरी धारा खोलिन्छ । ‘हाम्रो टोलमा पालो त छैन तर पनि खोलेको समयमा भरिहाल्यो भने २/४ गाग्रो भरिन्छ, भर्न पाइएन वा सकिएन भने पिउने पानी पनि छरछिमेकमा माग्न जानुपर्छ, कि त २ घण्टा टाढा खोल्सीबाट गाग्रोमा बोकेर ल्याउनुपर्छ,’ मर्‍यानकी तारा कार्कीले भनिन् । छिमेकी वडाहरूमा एकघर एकधारा छन् । मासिक शुल्क तिरेपछि घरघरमै धारामा पानी आउँछ । र दोहोलीका जनताले भने पानी भर्नकै लागि छिमेकीसँग रातदिन झगडासमेत गर्नुपर्छ ।

पानीको अभाव भएको इश्मा–४ को खब्रेटा, मर्‍यान, मड्किना गाउँ । तस्बिर : गगनशिला खड्का/कान्तिपुर ।

‘अरु वडाबासीका कुरा सुन्दा पनि रहर लाग्छ, घरघरै धारा छन्, तर हाम्रोमा पानीका लागि दिनहुँ छिमेकी छिमेकीको झगडा हुन्छ,’ ओमबहादुर कार्की भन्छन् । ती गाउँमा पानी पुर्‍याउन २०७०/०७१ मा जिल्लास्थित खानेपानी कार्यालयमार्फत ६ करोड ९ लाख लागत इस्टिमेटको अँधेरीखोला दोहोली लिफ्टिङ खानेपानी योजना सुरु पनि भएको हो । तर ६ करोड खर्च गरिसकेको उपभोक्ता समितिले जनताका घरमा खानेपानी पुर्‍याउन भने सकेको छैन ।

उपभोक्ता समितिका अध्यक्ष मनबहादुर दर्लामी करिब ६ करोड खर्च भएको र अब १ वर्षमा योजना सम्पन्न हुने बताउँछन् । ‘अहिलेसम्म आएको रकमबाट ३ वटा मूल ट्यांकी, ४ वटा शाखा ट्यांकी निर्माण गरी त्यसहाँसम्म पाइपलाइन विस्तार, पानी तान्ने मोटर जडान गर्ने काम सम्पन्न भएको छ,’ उनले भने, ‘अब ट्यांकीबाट ६ सय घरमा धारा जडान, मिटर जडानलगायतको काम बाँकी छ ।’

स्थानीयका अनुसार उक्त उपभोक्ता समितिले ९ वर्षसम्म न काम सम्पन्न गरेको छ, न ६ सय घरधुरी उपभोक्तालाई हिसाबकिताब नै सार्वजनिक गरेको छ ।अँधेरी खोलास्थित मुहानमा निर्माण भएको मूल ट्यांकीमा रुखका जरा पसेर कामै नलाग्ने गरी चुहिने भएको छ । ८/९ वर्षअघि बनेका अन्य ट्यांकी फुट्न थालेका छन् ।

उक्त समितिले योजना सम्पन्न गर्नेमा स्थानीयको आशंका छ । ‘न समिति गठन गर्दा हामीलाई थाहा भयो, न अहिलेसम्मको आम्दानी खर्च र कामका बारेमा जानकारी दिन्छन,’ स्थानीय गुमानसिं बस्नेत भन्छन्, ‘बनेका ट्यांकी फुटेका छन्, भिरकान्लामा पाइपका मुठा अलपत्र छन्, पानी आउँछ कि भन्ने आश त हरायो ।’

राजनीतिक दाउपेचका कारण खानेपानी योजना अलपत्र परेको जानकार बताउँछन् । समिति गठन हुने बेला कांग्रेसनिकटको मात्र गठन भएको र अन्य पार्टीका जनप्रतिनिधिले असहयोग गरेका कारण योजना समयमै सम्पन्न हुन नसकेको उनीहरूको भनाइ छ ।

‘सुरुमा कांग्रेसपक्षको समिति गठन भयो र केही काम गर्‍यो तर समितिले न नेकपा पक्षधरलाई सोधखोज गर्‍यो न उनीहरूले समितिलाई सहयोग गरे,’ स्थानीय तहका एकजना जनप्रतिनिधि भन्छन्, ‘यतिसम्म कि यसअघिको इश्मा गाउँ कार्यपालिकाले उक्त योजनाको बारेमा कुनै चासो पनि राखेन, बजेट पनि छुट्याएन ।’

योजना सुरु हुने बेला ४ सय ४५ घरधुरी उपभोक्ता अहिले करिब ६०० घरधुरी पुगेका छन् । जनसंख्या बढेसँगै खानेपानीको समस्या समेत थपिएको छ । तर राजनीतिक खिचातानीले गर्दा आफूहरूल् खानेपानीको संकट भोग्नुपर्नेर् अवस्था आएको लंकबहादुर बस्नेतको गुनासो छ । ‘हामी जनताको समस्यामाथि नेताहरूले राजनीति गर्दा साँढेको जुधाइ बाच्छाको मिचाइ भएको छ,’ उनले भने, ‘हामीलाई खानेपानीको कति समस्या छ भन्ने सबैलाई थाहा छ तर यति संवेदनशील विषयमा त राजनीति गर्छन् भने यिनीहरूबाट हामीले के आश गर्ने ?’

गाउँपालिका उपाध्यक्ष पार्वती कुँवर सो क्षेत्रका जनताका खानेपानीको समस्या समाधान गर्नका लागि अलपत्र योजना प्राथमिकतामा राखेर सम्पन्न गर्ने बताउँछिन् । ‘हामीभन्दा अघिल्लो गाउँकार्यपालिकाले बेवास्ता गरेको कारण योजना पूरा हुन सकेको रहेनछ,’ उनले भनिन्, ‘अहिले हामीले एकघर एकधाराका लागि २० लाख छुट्याएका छौं, त्यसमध्ये अँधेरीखोला लिफ्टिङ खानेपानी योजना पूरा गर्नेगरी काम अगाडि बढाउँछौं ।’

प्रकाशित : माघ १२, २०७९ १३:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी स्थापनाकालदेखि निरन्तर अध्यक्ष रहेका जसपा नेपालका उपेन्द्र यादव महाधिवेशनबाट फेरि आफैं नेतृत्वमा आएका छन् । पटक-पटक एउटै व्यक्ति नेतृत्वमा रहिरहनुलाई के भन्नुहुन्छ ?