२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८७

राहदानीको समस्या हल गर्न फ्रान्सबाट प्राविधिक टोली आउँदै

जगदीश्वर पाण्डे

काठमाडौँ — विद्युतीय राहदानीको सर्बरमा देखिएको समस्या हल गर्न फ्रान्सबाट आइडिमीयाको प्राविधिक टोली नेपाल आउने भएको छ । राहदानी विभागका महानिर्देशक सुरेन्द्र यादवका अनुसार फ्रान्सबाट आडिमीयाको एक प्राविधिक टोली सोमबार काठमाडौं आइपुग्ने छ ।

राहदानीको समस्या हल गर्न फ्रान्सबाट प्राविधिक टोली आउँदै

नेपालले विद्युतीय राहदानीको सुरुआत गरेपछि पहिलो पटक ‘स्टोरेज’ मा समस्या भएको हो । नेपाल सरकारले २०७८ को मंसिर १५ देखि विद्युतीय राहदानी जारी गर्न सुरु गरेको थियो । जसको सम्पूर्ण जिम्मेवारी फ्रान्सेली कम्पनी आइडिमीयाले पाएको हो ।

‘पहिले–पहिले कुनै पनि व्यक्तिको फोटो, इ–हस्ताक्षर र हातको बायोमेट्रिक्स लिँदा करिब दुईदेखि तीन सेकेन्डमै मुख्य सर्बरमा गएर स्टोरेज (जम्मा) हुन्थ्यो,’ महानिर्देशक यादवले भने,‘तर अहिले सर्बरमा देखिएको समस्याको कारण एक व्यक्ति फोटो, इहस्ताक्षर र हातको बायोमेट्रिक्स लिएपछि सर्बरमा स्टोरेज हुन करिब ३ देखि ५ मिनेट लाग्छ । जसले गर्दा काम गर्न ढिलाइ भइरहेको र सेवाग्राहीले सास्ती पाएका छन् ।’

आइतबारदेखि लगातार रुपमा सर्बरले नियमितभन्दा ढिलो काम गर्न थालेपछि विद्युतीय राहदानी लिन थप समय लाग्ने भएको हो । विभागकी प्रवक्ता तथा निर्देशक दुरपदा सापकोटाले सूचना जारी गर्दै विभागको सिस्टममा समस्या आई राहदानी छपाइ तथा वितरण कार्य अवरुद्ध हुन गएको उल्लेख गरेकी थिइन् । ‘विभागले सो समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको र सिस्टम पूर्ण रुपमा सुचारु हुन केही समय लाग्ने भएकाले राहदानीका लागि आवेदन दिएका आवेदकहरुले आफ्नो मोबाइलमा म्यासेज आएपछि मात्र विभागमा आउनु हुन अनुरोध छ,’ सापकोटाद्धारा जारी विज्ञप्तिमा भनिएको थियो,‘साथै, नियमित रुपमा राहदानी आवेदनका लागि अपोइन्टमेन्ट डेट बुक गर्नुभएका सेवाग्राहीहरु बुक गरेको मिति र समयमा बायोमेट्रिकको लागि विभागमा उपस्थित भइदिन हुन समेत अनुरोध छ ।’

त्यसपछि विभागले फेरि मंगलबार अर्को सूचना जारी गर्दै राहदानी विभाग, जिल्ला प्रशासन कार्यालयहरु, इलाका प्रशासन कार्यालयहरु र विदेशस्थित नेपाली नियोगहरुमा अपोइन्टमेन्टको लागि मिति र समय प्राप्त गर्ने सेवाग्राहीहरुको सोही दिन विवरण रुजु गर्ने, राजस्व दाखिला गर्ने र लाइफ इनरोलमेन्ट गर्ने सेवा नियमित सञ्चालयन भएको उल्लेख गरेको थियो । विभागकी प्रवक्ता सापकोटाद्वारा जारी विज्ञप्तिमा थप भनिएको थियो, ‘सम्पूर्ण सिस्टमको एउटा कम्पोनेन्ट (भ्यालिडेसन) मा प्राविधिक समस्याका कारण डाटा प्रोसेसिङमा सुस्तता देखिएको हुँदा राहदानी वितरणमा मात्र केही ढिलाइ हुने जानकारी गराउन चाहन्छौं ।’

विभागले उक्त समस्या समाधान गर्न प्राविधिक टोली प्रयासरत रहेको दाबी गरेको छ । साथै, नेपालमै भएका आइडिमीयाका प्राविधिकहरुबाट समस्या समाधान नभएपछि शुक्रबार सिंगापुर र बेंग्लोरमा रहेका आइडिमीयाका प्राविधिक नेपाल आएका छन् भने फ्रान्सबाट सोमबार आउने तय भएको छ । विभागका अनुसार पहिलेको तुलनामा अहिले ६० प्रतिशत मात्र काम भएको छ ।

प्रकाशित : पुस २२, २०७९ १४:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?