मुठभेड नै शंकास्पद !

जनकराज सापकोटा, लीला श्रेष्ठ

काठमाडौँ — राजधानीमा ११ वर्षीय बालक निसान खडकालाई अपहरण र हत्या गर्ने दुई युवक प्रहरीसँगको मुठभेडमै मारिएका हुन् या होइनन् भन्नेमा शंका उब्जिएको छ । पेप्सीकोला टाउनबाट आइतबार अपहरणमा परेका निसानको हत्या भएको पुष्टि सोमबार भएको थियो ।

अपहरणपछि हत्या गरिएका निशान खड्काको शव । तस्बिरः स्वरुप आचार्य

त्यसलगत्तै अपहरण र हत्यामा संलग्न भनिएका गोपाल तामाङ र अजय तामाङ प्रहरीसँगको मुठभेडमा मारिएको दाबी गर्दै महानगरीय प्रहरी अपराध महाशाखाले विज्ञप्ति जारी गरेको थियो।

सूर्यविनायक नगरपालिका–८ पाइलट बाबा आश्रम जाने जंगलमा अपहरणकारीले प्रहरी टोलीमाथि गोली प्रहार गर्न लाग्दा आत्मरक्षाका लागि चलाएको गोली लागी उनीहरूको मृत्यु भएको महाशाखाको दाबी छ। तर अपहरणकारीलाई नियन्त्रणमा लिन नसकी गोली नै चलाउनुपर्ने अवस्था कसरी आयो भन्ने प्रश्न अनुत्तरित छ। नगदेशस्थित डेराबाट उनीहरू कसरी त्यहाँसम्म पुगे भन्ने प्रश्नको पनि प्रहरीले उत्तर दिएको छैन।

१. अपहरणकारीलाई नियन्त्रणमा लिन नसकी गोली नै हान्नुपर्ने अवस्था कसरी आयो?
२. नगदेशस्थित डेराबाट अपहरणकारी कसरी पाइलट बाबा आश्रम जाने जंगलसम्म पुगे?
३. प्रहरीले १९ राउन्ड फायर गर्दा अपहरणकारीका तर्फबाट एक गोली पनि फायर भएन?
४. अपहरणकारीलाई पक्राउ र कुटपिट गरेपछि प्रहरीले कहाँ लिएर गयो?
५. कति दूरीबाट गोली हानियो र शरीरको कुन–कुन भागमा लाग्यो?

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार मारिएका अपहरणकारीलाई प्रहरीको ७ गोली लागेको छ। प्रहरीले १९ राउन्ड फायर गरेको थियो भने अपहरणकारीका तर्फबाट कुनै फायर भएको छैन। ठूलो संख्यामा परिचालित प्रहरीले त्यति धेरै गोली फायर गर्नुपर्ने अवस्था आउनुलाई एक पूर्वउच्च प्रहरी अधिकारीले शंकास्पद मानेका छन्।

अपहरणकारीको मृत्युको घटनामा स्वाभाविक नलाग्ने केही तथ्य बाहिर आएको ती अधिकारीले बताए। ‘सार्वजनिक भएको अपहरणकारीको फोटोमा उनीहरूको खुट्टामा चप्पल देखिन्छ। जंगलको बाटो चप्पल लगाएर दौडिनु त्यति सहज हुँदैन,’ उनले भने, ‘त्यस्तो अवस्थामा प्रहरीले उनीहरूलाई सजिलै नियन्त्रणमा लिन सक्थ्यो।’ महाशाखाले भने उनीहरूले प्रहरी टोलीमाथि नै जाइलागेको दाबी गरेको छ। अपहरणकारीले बन्दुक ताकेको तर ट्रिगरमा समस्या देखा परेको अनुसन्धानमा खटिएका एक प्रहरीले दाबी गरे।

महानगरीय अपराध महाशाखाका एक पूर्वअनुसन्धान अधिकारी दुई व्यक्तिलाई समात्न प्रहरीले अरू धेरै उपाय लगाउन सक्ने बताउँछन्। ‘महाशाखाले भनेजस्तै जंगलको बाटो दौडेर भाग्दै गरेका अपहरणकारीले गोली नै प्रहार गरेको भए पनि रुखको बीचमा सही निसान साँध्नु सजिलो होइन,’ उनले भने, ‘महाशाखाले अपहरणकारी व्यावसायिक आपराधिक समूहको व्यक्ति नभएको सूचना बिहानै पाइसकेको थियो। त्यस्तो अवस्थामा प्रहरीले घुँडामुनि गोली हानेर वा अपहरणकारी भाग्ने सम्भावित दिशामा व्यापक जनशक्ति परिचालन गरेर अपहरणकारीलाई सजिलै समात्ने सम्भावना हुन्थ्यो।’

महाशाखाले दाबी गरेजस्तै अपहरणकारीहरू जंगलतर्फ भाग्दै गरेको अवस्थामा मुठभेड नभएको संकेत नगदेशका प्रत्यक्षदर्शी स्थानीयको भनाइले पनि दिन्छ। मंगलबार कान्तिपुरसँगको सम्पर्कमा आएका घटनास्थल क्षेत्रका केही बासिन्दाले महाशाखाको टोलीले दुई अपहरणकारीलाई समातेको र कुटपिट गरेको बताए।

प्रहरीले त्यसपछि ती दुई जनालाई कहाँ लिएर गयो भन्नेबारे केही बताएको छैन। प्रहरीले अपहरणकारी बस्ने घरधनीसँग पनि कुराकानी गरेको देखिन्छ। नगदेशकै एक स्थानीयले प्रहरीले अपहरणकारीबाटै सूचना लिएर बालकको शव फेला पारेको दाबी गरे। ‘यसलाई आधार मान्ने हो भने त महाशाखाको टोलीले नै अपहरणकारीलाई आफूसँगै लिएर गएको संकेत मिल्छ,’ ती अधिकारीले भने।

महाशाखाले अहिलेसम्म अपहरणकारीलाई विशेष सूचनाका आधारमा उक्त क्षेत्रमा पछ्याएको दाबी गरेको छ। तर घटनास्थलनजिकै रहेको डेराबाट अपहरणकारी कुन बाटो हुँदै, कसको सहयोगमा त्यहाँसम्म पुगे भन्ने खुलाइएको छैन। अपहरणकारीको शवको पोस्टमार्टम रिपोर्ट नआइसकेकाले कति दूरीबाट गोली हानियो र शरीरको कुन–कुन भागमा गोली लागेको छ भन्ने तथ्य सार्वजनिक भएको छैन।

आइतबार राति महानगरीय प्रहरी अपराध महाशाखा र प्रहरी परिसर काठमाडौंले एकै समयजसो बालक अपहरणको सूचना पाएका थिए। लगत्तै दुवै टोली अपहरणकारीले गरेको फोनको लोकेसन ट्रेस गर्नतिर लागेका थिए। महाशाखाले सोमबार बिहानमात्रै अपहरणकारीले धम्काउन प्रयोग गरेको नयाँ सिम र नियमित चलाइरहेको सिमको कल डिटेल रेकर्ड (सीडीआर) पाएको थियो। प्रहरी परिसर काठमाडौंले भने त्यतिन्जेलसम्म पनि अपहरणकारीको नियमित फोनको सीडीआर पाइसकेको थिएन। ‘सीडीआरबाट प्राप्त सूचनाकै आधारमा महाशाखाको टोलीले अपहरणकारीको डेरासम्म पुग्ने बाटो पत्ता लगाएको थियो,’ स्रोतले भन्यो।

अपहरणका क्रममा गोपाल तामाङले बोक्ने फोन प्रयोग भएको थियो। गोपालको पुरानो सिमको सीडीआर हेर्दा उनले पछिल्लो एक महिनामा सबभन्दा धेरै ३३ पटक एउटै नम्बरमा फोन गरेको देखिन्छ। अर्को एउटा नम्बरमा भने उनले यही अवधिमा १६ पटक फोन गरेका थिए। अपहरणकारी बारम्बार सम्पर्कमा रहेका विभिन्न नम्बरबाटै महाशाखाले उनीहरू बस्ने डेरा पत्ता लगाएको थियो। बिहान ८ नबज्दै सीडीआर पाएको महाशाखालाई अपहरणकारीको डेरामा पहिल्याउन एक घण्टा जति लागेको थियो।

सीडीआरको अभावमा लोकेसनमात्रै पाएका प्रहरी परिसर काठमाडौं र प्रहरी परिसर भक्तपुरको टोली बिहान अबेरसम्मै अलमलमा परेका थिए। ठूलो संख्यामा प्रहरी टोली मध्यपुर थिमि क्षेत्रमा परिचालन भए पनि महाशाखाको टोलीले आफूले पाएको सूचना आदानप्रदान गरेन।

त्यो एसएमएस !
अपहरणकारीबाट बालकलाई बचाउन भन्दै प्रहरी परिसर काठमाडौंले चालेको एउटा कदम पनि शंकाको घेरामा परेको छ। फिरौती माग्न अपहरणकारीले प्रयोग गरेको मोबाइल नम्बर पाउनेबित्तिकै प्रहरी परिसर काठमाडौंको आधिकारिक नम्बरबाट अपहरणकारीको मोबाइलमा एउटा सन्देश पठाइएको थियो। अपहरणकारीको मोबाइल अफ भएका कारण उक्त एसएमएस टेलिकम सिस्टममा ‘पेन्डिङ’ मा बसेको थियो। सोमबार अपहरणकारी मारिएपछि महाशाखाको टोलीले उनीहरूको साथबाट बरामद गरेको सिमकार्ड मोबाइलमा हाल्दा उक्त सन्देश डेलिभर भएको थियो।

उच्च स्रोतका अनुसार परिसरबाट पठाइएको सन्देशमा ‘बालकलाई तुरुन्त नछाडे जे पनि हुन सक्ने’ आशयको सन्देश थियो। अपहरणकारीलाई धम्काएर बालक छुटाउने रणनीतिअन्तर्गत त्यस्तो सन्देश पठाइएको भए पनि अपहरणकारीले सिम निकालिसकेकाले त्यो पढ्न पाएका थिएनन्। अपहरणजस्तो संवेदनशील घटनामा त्यसरी सन्देश पठाउनु अनुसन्धानका दृष्टिले गलत हुन सक्ने पूर्वप्रहरी अधिकारी बताउँछन्। महाशाखा र परिसरबीच समन्वय नहुँदा समयमै बालकको उद्धार हुन नसकेको र अपहरणकारीसित भएको भनिएको इन्कान्टर समेत सन्देहमा परेको ती अधिकारीले बताए। ‘इन्काउन्टर र एसएमएस प्रकरण दुवैमाथि प्रहरी प्रधान कार्यालयको दृष्टिकोण आउनुपर्छ,’ उनले भने।

‘प्रहरीले नै गाडीमा हालेर लगेका थिए’
‘चैतदेखि गोपाल र अजय हाम्रो घरको भुइँतलामा डेरा गरेर बसेका हुन्। उनीहरू काम नपरेका दिन बिहान ९–१० बजेसम्मै सुत्थे। तर सोमबार बिहानै घर बाहिर देखेपछि मैले कहाँ गएर आएको भनेर सोधेँ। गोपालले फोहोर फालेर आएको बतायो।

रातभर नै हाम्रो घर वरिपरि प्रहरीले छापा मारेको कुरा बिहान थाहा भयो। ९ बजेतिर हाम्रो घरमा ३ गाडी र ४ मोटरसाइकलमा मान्छे आए। पछि पो थाहा भयो तिनीहरू सादा पोसाकका प्रहरी रहेछन्। घरधनीलाई माथिबाट तल झर्न नदिई गोपाल र अजय बस्ने कोठा सर्च गरे। गोपालले शव गाडेको ठाउँ देखाएपछि केही प्रहरी त्यता लागे।

उनीहरूले गोपाल र अजयलाई कोठाभित्र थुनेर कुटेजस्तो लाग्यो। कुटेको आवाज बाहिरसम्मै सुनिएको थियो। एउटाको त हात नै भाँचिएजस्तो लाग्छ। करिब एक घण्टापछि प्रहरीले उनीहरूलाई गाडीमा हालेर लग्यो। प्रहरीले नै ढोका लगाएर साँचो लगेको थियो। त्यसको केहीबेरमा हुलका हुल प्रहरी डयुटी पोसाकमा आए। ती प्रहरी ढोका फोडेर भित्र जान खोजे। कोठाको साँचो सादा पोसाकका प्रहरीले नै लगेको बताएपछि उनीहरूले झ्यालमाथिको खापाबाट मात्रै भित्र नियालेका थिए।
–अपहरणकारी भनिएका अजय र गोपाल डेरा गरी बस्ने घरकै एक सदस्य

‘मारिएकाको खुट्टामा कसरी चप्पल?’
अजय र गोपाल पेन्टरको काम गर्छन् भन्ने सुनेको हो। सोमबार बिहान उनीहरूलाई प्रहरीले लग्यो रे। अपहरण गरी बच्चा मारेछन् रे भन्ने पनि सुनें। उनीहरू सामान्य खालका केटा थिए। पहिले त्यस्तो बदमासी गरेको पनि केही सुनिएको थिएन। पेन्टका गोल्टिन बट्टामा कपडा पट्याएर राख्थे। पछि पो उनीहरू मुठभेडमा मरेको कुरा सुनें। उनीहरूको खुट्टामा चप्पल पनि देखें। घरबाट उनीहरूलाई लैजाँदा उनीहरूका खुट्टामा चप्पल नै थिएन। पछि कसले चप्पल लगाइदियो थाहा भएन।
–अजय र गोपाल डेरा गरी बस्ने घर नजिकैका एक स्थानीय


प्रकाशित : श्रावण २२, २०७५ २२:०२
प्रतिक्रिया
पठाउनुहोस्

रहेनन् करुणानिधि

एजेन्सी

चेन्नाई — तमिलनाडुका पूर्व मुख्यमन्त्री तथा डीएमके पार्टीका अध्यक्ष एम करुणानिधिको मंगलबार मृत्यु भएको हो । चेन्नाईस्थित एक अस्पतालमा उपचाररत करुणानिधिको ९४ वर्षको उमेरमा मृत्यु भएको हो ।

तमिल नाडु सरकारले उनको मृत्युप्रति शोक व्यक्त गर्दै बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गत जुलाई २८ मा उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उनी सन् १९२४ को जुन ३ मा तमिलनाडुको नागापट्टिनम जिल्लामा भएको थियो ।

करुणानिधिको सन् २०१६ देखि स्वास्थ्यमा समस्या देखिएपछि पटकपटक उपचार गराइरहेका थिए । उनी खराब स्वास्थ्यका कारण दुई वर्षयता राजनीतिमा भने निष्क्रिय थिए ।

सन् २०१६ मा उनका छोरा एमके स्टालिनले कार्यकारी अध्यक्षको रूपमा डीएमके पार्टी सञ्चालन गरेका थिए । करुणानिधि सन् १९६९ को जुलाई २७ मा पार्टीको अध्यक्ष बनेका थिए ।

मंगलबार उनको मृत्युको खबर सार्वजनिक भएसँगै अस्पतालबाहिर उनका समर्थकको भीड लागेको थियो ।

करिब ८ दशक राजनीतिमा सक्रिय करुणानिधि ५ पटकसम्म तमिलनाडुको मुख्यमन्त्री भए । १३ पटक विधानसभा निर्वाचनमा प्रतिस्पर्धा गरेका करुणानिधिले कुनै पनि चुनाव हारेनन् । उनी सन् २०१६ को विधानसभा निर्वाचनमा सबैभन्दा बढी मतान्तरले विजयी भएका थिए ।

करुणानिधिले करिब ५० वटा तमिल भाषामा निर्मित फिल्मको पटकथा तथा संवादसमेत लेखका थिए ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले करुणानिधिको निधनप्रति दु:ख व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत ‘भारतले एक वरिष्ठ राजनीतिज्ञ गुमाएको’ जनाए ।

मोदीले भनेका छन्, ‘हामीले भारतको माटोसँग जोडिएका एक असल नेता गुमायौं । उनी एक अत्यन्त सफल लेखक थिए र उनले आफ्नो सम्पूर्ण जीवन गरिबको सेवामा समर्पित गरे ।’

प्रकाशित : श्रावण २२, २०७५ २१:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्