१७ करोडको कोकिनसहित दुई महिला पक्राउ

रासस

काठमाडौँ — १७ करोड मूल्य बराबरको भएको झण्डै आठ किलो कोकिनसहित दुई भारतीय महिलालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत लैजान लागिएको उक्त परिमाणको कोकिन बरामद गरी भारत घर भएका भल्लालोमी र इस्थर ललिमपुईलाई पक्राउ गरिएको लागूऔषध नियन्त्रण ब्यूरोका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । उनका अनुसार त्यसको अवैध बजार मूल्य अहिले १७ करोड रुपैयाँभन्दा बढी छ ।

दुई जनाले फरक-फरक झोलामा फरक-फरक समयमा हवाइमार्ग हुँदै कोकिन निकासी गर्न लागेको पनि ब्युरोले जानकारी गराएको छ । उनीहरूले लगेजमा फल्सबटम बनाएर अवैध लागूऔषध कोकिन भारत लैजान लागेका थिए । विमानस्थल सुरक्षा कार्यालय र लागूऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले इन्डिगो विमानबाट भारत जान लागेका बेला भाल्लालोमीको लगेज शंका लागि जाँच गर्ने क्रममा कोकिन फेला परेपछि विमानस्थलको प्रस्थान कक्षबाट उनलाई पक्राउ गरिएको हो ।

उनको लगेजभित्र चार वटा लेडिज ब्याग फेला परेको र ती ब्यागमा फल्सबटम बनाई भारतको नयाँ दिल्लीतर्फ तीन किलो कोकिन निकासी गर्न लागिएको फेला परेको थियो । उनको बयानका आधारमा ठमेलस्थित एक होटलमा अनुसन्धान गर्दा पाँच किलो कोकिनसहित ललिमपुईलाई पनि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

उनले पनि भारत निकासीका लागि तयारी अवस्थामा सुटकेसभित्र फल्सबटम बनाई कोकिन राखेका पाइएको छ । आज सार्वजनिक विवरणअनुसार दुवै जनामाथि लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको ब्युरोका प्रहरी उपरीक्षक जोशीले जानकारी दिए ।

प्रकाशित : चैत्र १६, २०७९ १८:४२
प्रतिक्रिया
पठाउनुहोस्

अनुगमन टोली आएपछि पसलका सटर बन्द गरेर भागे व्यापारी 

अनिश तिवारी

सिन्धुपाल्चोक — जिल्ला बजार अनुगमन समितिको टोली बिहीबार बाह्रबिसे बजार आइपुग्यो । जिल्ला प्रशासन, घरेलु, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, उपभोक्ता र जनप्रतिनिधिको १४ जनाको टोली ७/७ जनामा बाँडिएर बजार अनुगमन थाल्यो । अनुगमन सुरु भएलगत्तै केहीबाहेक अधिकांश हार्डवेयर, मेडिकल, खाद्यसहित अन्य व्यापारी पसलका सटर धमाधम बन्द गरेर भाग्न थाले ।

अनुगमन टोली आएको हल्ला फैलिएपछि व्यापारीहरुले पसलहरु बन्द गरे । यो दृृष्य देखेर बजार अनुगमन टोलीका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठसहितको टोली चकित पर्‍यो । ‘बजार अनुगमन हुने थाहा पाएपछि सबै पसल धमाधम बन्द भएका भेटिए, यी व्यापारीलाई सम्पर्कमा ल्याउन जनप्रतिनिधिसँग समन्वय गरेका छौं,’ सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भने । घरेलु तथा साना उद्योगका प्रमुख विश्व काफ्लेका अनुसार बन्द भएका दुई दर्जनभन्दा बढी हार्डवेयर, मेडिकल तथा अन्य व्यवसायीलाई सम्पर्कमा ल्याउन ताकेता गरिएको छ ।

बाह्रबिसे नगरपालिकाभर मेडिकल, हार्डवेयर, खाद्य स्टोर, किराना पसललगायतका २१ वटा व्यवसायको भने अनुमगन गरिएको थियो । जसमा दुईमा कानुनसम्मत नदेखिएपछि १० हजार रुपैयाँका दरले जरिवाना गरिएको छ । बिहीबार अनुमगन गरिएका पसलबाट म्याद गुज्रिएका चलकेट, बिस्कुट, जुस, आचार, चाउचाउजस्ता अन्य २० हजार बराबरको खाद्य सामाग्री बरामद गरिएको छ । जसमा कानुनी प्रकृति हेरेर १० हजार रुपैयाँसम्मका दरले जरिवाना गरिएको छ ।

पसलमा पुगेर व्यवसाय दर्ता, राजस्व र अन्य प्रक्रियाबारे आवश्यक जानकारी दिएर सचेत गराइएको काफ्लेले बताए । खाद्य स्टोर र अन्य पसलबाट अनुगमन र परीक्षणको क्रममा बरामद सामाग्री संकलन चौतारा लगिने र त्यहाँ सबैको उपस्थितिमा नष्ट गरिने उनले बताए । ‘यी बरामद भएका अखाद्य र मिति सकिएका सामग्री कानुनी प्रक्रिया पालन गरेर सबैको रोहबरमा गाड्ने या जलाएर नष्ट गर्नेछौं’ उनले भने । जिल्लाको तीन नगर र नौ गाउँपालिकाभरका मुख्य बजारमा मूल्यसूची नराख्ने, म्याद गुज्रिएका सामाग्री, मिति नभएका उत्पादनजस्ता अनेक समस्या देखिएपछि अनुमगन गरिएको जिल्ला बजार अनुगमन समितिले जनाएको छ । यसअघि जिल्लाभर व्यवसायीले मनपरी मूल्य राखेकाले उपभोक्ता ठगिएको गुनासो आएपछि जनप्रतिनिधिले स्थानीयस्तरमा अनुमगन गर्ने कार्ययोजना बनाएका थिए ।


प्रकाशित : चैत्र १६, २०७९ १८:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×