कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जयवागेश्वरी मुख्य पुजारीविहीन

संस्कृत र नेवारी भाषा जानेको हुनुपर्ने योग्यता मापदण्ड राखेको कोषले ८ वर्षयता नयाँ नियुक्ति गरेको छैन
दामोदर न्यौपाने

काठमाडौँ — पशुपति क्षेत्रको मुख्य शक्तिपीठमध्येको जयवागेश्वरी मन्दिर ८ वर्षदेखि मुख्य पुजारीविहीन छ । मुख्य पुजारी मृत्युञ्जय कर्माचार्यको उमेर हदका कारण पशुपति क्षेत्र विकास कोषले अवकाश दिएयता मन्दिरमा मुख्य पुजारी नियुक्त भएका छैनन् ।

जयवागेश्वरी मुख्य पुजारीविहीन

कर्माचार्यले २०७१ मंसिर १४ गते अवकाश पाएका थिए । २०६८ सालमा कोषले भेटीघाटी व्यवस्थापन नियमावली बनाउँदा कर्मचारीलगायत पुजारी समेतको उमेर हद तोकेको थियो । नियमावलीले पुजारीलाई पूर्णकालीन र आंशिक गरी दुई वर्गमा छुट्याएको छ । पूर्णकालीनको उमेर हद ६० वर्ष तोकिएको छ भने आंशिकको ६५ वर्ष । ६० वर्षमा अवकाश पाउनुपर्ने भए पनि कर्माचार्यको सेवा अवधि ५ वर्ष सेवा थपियो । ६५ वर्ष भएपछि भने नियमअनुसार उनी बस्न नपाउने भए । ‘६५ वर्षपछि थप्नै नपाउने नियम बनाएकाले म अनिवार्य अवकाशमा परें । त्यही बेलादेखि मुख्य पुजारीविहीन हुनु दुःखलाग्दो कुरा हो,’ कर्माचार्यले भने, ‘यो धर्म, संस्कृतिप्रति गरिएको गैरजिम्मेवारी पनि हो ।’

मन्दिरमा मुख्य पुजारीसहित चार जना पुजारी हुन्छन् । पुजारी नै मुख्य पुजारी हुन पाउने परम्परा छैन । पूर्वमुख्य पुजारी कर्माचार्यका अनुसार मुख्य पुजारी हुन बेग्लै योग्यता हुनुपर्छ । ‘तीन जना पुजारीबाट क्रमशः बढुवा हुने भन्ने हुँदैन,’ कर्माचार्यले भने, ‘मुख्य पुजारी बेग्लै नियुक्त हुने परम्परा छ ।’ मुख्य पुजारी हुन मुख्य योग्यता भनेको संस्कृत भाषा जानेको हुनुपर्छ । व्याकरण जान्नुपर्छ । कौमती, अमरकोश जानेको हुनुपर्छ । संस्कृत मात्र जानेर पनि भएन नेवारी पनि जान्नुपर्छ । नेवारी जान्नेको कमी नभए पनि संस्कृत पढ्नेको संख्या भने घट्दै गएको छ । ‘संस्कृत पढेको मान्छे नै पाइँदैनन् नेवारी समुदायमा,’ कर्माचार्यले भने, ‘त्यही भएर पनि मुख्य पुजारी पाउन मुस्किल छ ।’

कोषले भने गर्ने तयारी गरिरहेको बताएको छ । कोषका प्रवक्ता रेवतीरमण अधिकारीले भने, ‘भएका पुजारीमध्येबाट नियुक्ति गर्न योग्यता नपुग्ने भएकाले नयाँ खोज्नुपर्ने अवस्था छ ।’ कोषले गर्दै छौं भनेको

भने वर्षौं भएको गुनासो छ । जयवागेश्वरीको प्रशासन हेर्दै आएको जयवागेश्वरी भण्डार तहबिलले पनि पटकपटक मुख्य पुजारी नियुक्त गर्न माग गर्दै आएको छ । ‘टेरपुच्छर लगाएको छैन,’ कर्माचार्यले भने, ‘सधैं गर्दै छु मात्रै भन्दै आएको छ । गर्दै छु भन्दाभन्दै आठ वर्ष बितिसक्यो ।’

पर्व परम्परा सञ्चालन गर्न उमेरको हदबन्दी तोक्न नहुने माग मुख्य पुजारी, पुजारीलगायतले गर्दै आएका छन् । मृत्युञ्जय कर्माचार्य हट्टाकट्टा छउन्जेल आफूले गर्नुपर्ने माग राखेका थिए । तर कोषले दिएन । लालमोहरमा जहिलेसम्म चन्द्र र सूर्य रहन्छन्, तबसम्म पूजा परम्परा रोकिने छैन भनेर लेखिएको कर्माचार्यले जानकारी दिए । ‘उमेरको केको हद ? सकुन्जेल गर्नुपर्छ । सक्ने नसक्ने उमेरले होइन । कोहीले चाँडै नसक्लान्, कोहीले ढिलासम्म सक्लान्,’ कर्माचार्यले भने, ‘म अहिलेसम्म गर्न सक्थें ।’ कर्माचार्य ७९ वर्ष भए पनि मन्दिरका पुजारीलाई सघाउन र सिकाउन आइराख्छन् । अहिले भने उनी उपचारका लागि अस्ट्रेलिया गएका छन् । ‘अबचाहिँ शरीरले साथ देलाजस्तो छैन,’ अस्ट्रेलिया जानुअघि कर्माचार्यले भने ।

मन्दिरमा देवपतन, भक्तपुर, ललितपुर वसन्तपुरका गरी चारवटा कबलका पुजारी हुन्छन् । प्रत्येक पुजारीको महिना दिनमा पालो आउँछ । चार कबलमध्ये भक्तपुर कबलका पुजारी पनि उमेर हदले सेवा निवृत्त भएका छन् । भक्तपुर कबलका पुजारी श्रीकृष्ण कर्माचार्य गत जेठ १२ गते बिदा भएका छन् । उनको सट्टा पनि पुजारी नियुक्त भएका छैनन् । अहिले महेशराज कर्माचार्य र रमेश कर्माचार्य मात्र बाँकी छन् । यसरी एउटा गयो, अर्को गयो तर नियुक्तिमा ध्यान दिइएन भने कसरी चल्छ परम्परा ?,’ श्रीकृष्णले प्रश्न गरे ।

पुजारी नियुक्तिमा वास्ता नगरेर मात्र होइन, सेवा सुविधासमेत न्यून दिएर धर्म, संस्कृतिलाई बेवास्ता गरेको पुजारीले गुनासो गरे । कोषका कर्मचारी जस्तै गरी सेवासुविधा तोके पनि कर्मचारीलाई भन्दा पुजारीलाई नगन्य सुविधा दिएको कर्माचार्यले गुनासो गरे । कर्मचारीले अवकाश पाउँदा करोडसम्म लाने गरेकामा पुजारीले त्योभन्दा निकै कम पाउने गरेको श्रीकृष्णले गुनासो गरे । ‘मैले बिदा हुँदा ९ लाख रुपैयाँ पाएँ । कहाँ कर्मचारीको करोडको हाराहारी, कहाँ हामीले पाउने केही लाख,’ कर्माचार्यले भने, ‘मन्दिरबाट हुने आम्दानी कोषको मुख्य आम्दानी हो । तर त्यही मन्दिरका पुजारीलाई विभेद गरिएको छ ।’ मुख्य पुजारी मृत्युञ्जयले त श्रीकृष्णको जति पनि पाएनन् । ४४ वर्ष काम गरेको ठाउँबाट चार लाख रुपैयाँ मात्र लिएर बिदा भए उनी ।

पुजारीको सेवासुविधाबापत पहिला अन्न नै पाउँथे । २०४६ सालबाट नगद पनि दिन थालियो । २०६९ सालबाट भने तलबै तोकिएको हो । पूर्णकालीन र अल्पकालीन दुवैको तलब तोकिएको थियो । मुख्य पुजारीको तलब २२ हजार रुपैयाँ तोकिएको थियो । मुख्य पुजारीको र पुजारीको फरकफरक हुन्छ तलब । अन्न पाउने बेलामा मुख्य पुजारीको ४४ मुरी धान तोकिएको थियो । पुजारीको भने १८ मुरी तोकिएको थियो । बाली उठाउन बौद्ध, महांकाल, तीनधारा, पाटन, सिफल, बानेश्वर, कालीमाटीसम्म जानुपर्थ्यो । बाली उठाउन पनि मुस्किल हुन्थ्यो । कोहीले ४ पाथी, कोहीले ५ पाथी दिन्थे । कोहीले दिँदैदिँदैनथे । कोहीले यति हो भन्दै ४/५ रुपैयाँसम्म दिन्थे । ‘भगवतीको नाममा यति दुःख पनि गरियो,’ कर्माचार्यले भने, ‘वर्षमा चानचुन ५ हजारजति हात पर्थ्यो । यतिले कसरी पाल्नु परिवार ?’

बुबाको दुःख देखेर नयाँ पुस्ताले भने पूजा गर्न नखोजेको मृत्युञ्जयले गुनासो गरे । ‘हाम्रै बिजोग देखे छोराछोरीले,’ उनले भने, ‘बुबाले दुःख पाएको पेसा छोराछोरीले किन अपनाउँथे ? यही कारण परम्परा लोप हुने खतरा छ ।’ पुर्खाबाट सर्दै आएको परम्परा मृत्युञ्जयको पुस्तामा आएपछि अन्त्य भएको छ । मृत्युञ्जयले घरमै सिके संस्कृत । हजुरबुबा टुटुमान र बुबा पूर्णमानले कालोपाटीमा लेखेर संस्कृतको कौमती, अमरकोश, व्याकरण सिकाएको सम्झन्छन् मृत्युञ्जय । उनका हजुरबाबाट पशुपतिकै अर्को शक्तिपीठ बत्स्लेश्वरीको पनि पुजारी थिए । हजुरबाले पनि जिजुबाबाट सिकेका थिए । ‘संस्कृत पुर्खाबाटै सर्दै आएको ज्ञान हो,’ कर्माचार्यले भने, ‘मसम्म पुर्खाले सारिदिए तर मैले आउँदो पुस्तालाई सार्न सकिनँ । यो पुस्ताले चासै दिएन ।’ तान्त्रिक विधिबाट हुने पूजाविधि नेवारी भाषाको ठ्यासफु र संस्कृत भाषामा छन् । ‘त्यही भएर मुख्य पुजारीले यी भाषा जान्नैपर्छ,’ कर्माचार्यले भने ।

देवमाला वंशावलीका अनुसार जयवागेश्वरीको नित्य पूजा परम्परा सूर्यवंशी राजा नरेन्द्रदेवले सुरु गरेका हुन् । भाषा वंशावलीका अनुसार नरेन्द्रदेवले एक योगीलाई खुसी गराई जयवागेश्वरीमा चित्रकारिता गराएको उल्लेख छ । ती योगीले आफूलाई दुर्वासा ऋषिको वंश दाबी गरेर त्यहाँ भैरवी, नौलिङ्ग र गजकर्णको मूर्ति स्थापना गरेको संस्कृतिविद् गोविन्द टण्डनले पशुपति क्षेत्रको सांस्कृतिक अध्ययनमा उल्लेख गरेका छन् ।

प्रकाशित : चैत्र ६, २०७९ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?