नेपाली बजारमा आयो साओमी-१३ लाइट  

कान्तिपुर संवाददाता

काठमाडौँ — स्मार्टफोन साओमी– १३ लाइट नेपाली बजारमा सार्वजनिक भएको छ । डुअल फ्रन्ट क्यामेरासहितको फ्ल्यागसिप फोन नेपाली बजारमा आएको हो ।  साओमी नेपालका कन्ट्री जेनरल म्यानेजर अमित कुमार पंडाका अनुसार तीन वटा क्यामेरा रहेको फोनमा मुख्य क्यामेरा ५० एमपीको छ ।

जसले गर्दा उत्कृष्ट फोटोका लागि फोन उपयुक्त रहेको उनले दाबी गरे । फोन डुअल फ्रन्ट क्यामेराका साथ उपलब्ध छ । सेल्फीका लागि मुख्य फ्रन्ट क्यामेरा ३२ एमपीको छ । यसमा ४ हजार ५ सय एमएच पावरको ब्याट्री छ । ६७ वाट वायर्ड टर्बो चार्जिङले प्रयोगकर्ताहरुलाई लामो समयसम्म फोन प्रयोग गर्न मद्दत पुग्ने कम्पनीको दाबी छ । कम्पनीका अनुसार लाइट ब्लू र लाइट पिंक गरी फोन दुई रंगमा उपलब्ध छ । ८ र १२८ जीबी क्षमतामा फोनको मूल्य ५४ हजार ९९९ रुपैयाँ तोकिएको छ भने ८ र २५६ जीबी फोनमा ५७ हजार ९९९ रुपैयाँ तोकिएको छ ।



प्रकाशित : चैत्र १३, २०७९ १९:२६
प्रतिक्रिया
पठाउनुहोस्

मनाङ खप्तड गोल्डकपको सेमिफाइनलमा

कान्तिपुर संवाददाता

धनगढी — मनाङ मर्स्याङ्दी क्लब छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा सोमबार भएको खेलमा वाग्मती क्लबलाई २–१ गोल अन्तरले हराउँदै मनाङले अन्तिम चारमा स्थान बनाएको हो । 

मनाङलाई जित दिलाउन तिमोथे कोडु र साइजमोलले एक–एक गोल गरे । यता वाग्मतीका लागि सृजन गौतमले एक गोल फर्काए । खेलको ३७औं मिनेटमा तिमाथेले गोल गर्दै मनाङलाई सुरुवाती अग्रता दिलाए । वाग्मतीले खेलको ४१ औं मिनेटमा बराबरी गोल फर्कायो ।

वाग्मतीका लागि सृजन गौतमले बराबरी गोल फर्काए । पहिलो हाफमा १–१ गोलको बराबरी खेलेको मनाङले दोस्रो हाफमा थप एक गोल गर्‍यो । मनाङका लागि खेलको ६६ औं मिनेटमा साइजमोलले गोल गर्दै टिमलाई २–१ गोलको जित दिलाए ।

जितसँगै मनाङले सेमिफाइनलमा स्थान बनाएको छ । अब मनाङले विदेशी टोली एभिनिर फुटबल क्लब क्यामरुनसाग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । उक्त खेल चैत १५ गते हुनेछ ।

प्रतियोगिताअन्तर्गत मंगलबार आयोजक सुदूरपश्चिम–११ र विभागीय टोली नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन् । खेल दिउसो ३:३० बजे सुरु हुनेछ । मोफसलको सर्वाधिक पुरस्कार राशिको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रवर्द्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो ।

प्रतियोगितामा आयोजकसहित ‘ए’ डिभिजन ६, विदेशी टोली २ र मोफसलको एक गरी १० टोलीको सहभागिता रहेको छ । चैत ९ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल १८ गते हुनेछ ।

प्रकाशित : चैत्र १३, २०७९ १९:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×