कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बहिनीलाई सघाउन भारतबाट अाइन नायीका विपना

दैलेख — अरू बेला माइती देश आउन चाडबाड र पारिवारिक जमघट पर्खिनुपथ्र्यो । तर, यस पटक स्थानीय तहको निर्वाचनले नायिका विपना थापालाई भारतको मथुराबाट नेपाल तानेको छ ।

बहिनीलाई सघाउन भारतबाट अाइन नायीका विपना

विपना शनिबार नारायण नगरपालिकामा कांग्रेसका पक्षमा चुनाव प्रचारप्रसार क्रममा देखिइन् । उनी मथुराबाट शुक्रबार मध्यरात दैलेख आइपुगेकी हुन् । बिहान सात बजे हिँडेर राति १० बजे दैलेख बजार पुगेकी उनले शनिबार आराम गरिनन् । बरु बिहानैदेखि कांग्रेसको घरदैलो कार्यक्रममा सहभागी भइन् ।

त्यसो त चुनावी प्रचारप्रसारमा दौडिने कलाकारमा उनी एक्ली छैनन् । थुप्रै गायकगायिका चुनावी गीत गाउनैमा व्यस्त छन् भने नायिका र नायकहरू भोट माग्दै छन् । विपनाले ती कलाकारभन्दा आफू धेरै पहिलेदेखि राजनीतिको नजिक रहेको बताइन् । ‘हाम्रो परिवारै राजनीतिक हो,’ उनले सुनाइन्, ‘म जनआन्दोलनमा लागेकी कलाकार हुँ । त्यो बेला शाही परिवारबाट धम्की आउँदा पनि विचलित भइनँ ।’ अहिले अरू कलाकार पनि राजनीतिप्रति आकर्षित भएकोमा उनले खुसी व्यक्त गरिन् । 

दर्जनौं फिल्मकी यी नायिकाले विवाहपछि अभिनय यात्रा चटक्कै छाडिन् । राजनीतिमा भने रुचि देखाएकी छन् । किनभने, उनी राजनीतिक वातावरणमा हुर्किइन् । उनका हजुरबुवा नरबहादुर थापा २०१५ को आमनिर्वाचनमा कांग्रेसबाट काठमाडौंका सांसद भएका थिए । बुबा ओमविक्रम थापा पञ्चायतकालमा पटकपटक प्रधानपञ्च भए । यस पटक ३६ वर्षीया बहिनी वासना थापा दैलेखको नारायण नगरपालिकामा उपमेयर उठेकी छन् ।

विपनाले तीन दिन नारायण नगरपालिका अन्तर्गतका गाउँबस्ती पुगेर बहिनीका लागि भोट माग्ने बताइन् । त्यसपछि उनी काठमाडौं जानेछिन् । त्यहाँ उनले नागार्जुन नगरपालिकामा उपमेयर उम्मेदवार उठेकी फुपू कल्याणी खडकालाई सघाउनेछिन् । 

वासनालाई चुनाव जित्न भने त्यति सजिलो छैन । अघिल्लो स्थानीय निकाय निर्वाचन एमालेले जितेको नारायण नगरपालिकामा उसले यसपटक अनुभवी नेत्री सावित्री मल्ललाई उठाएको छ । ‘चुनाव भनेको प्रचारप्रसारले मात्रै जितिन्न, संगठन र जनताको साथले जित्ने हो,’ मल्लले भनिन् ।

दैलेखका मुख्य प्रतिस्पर्धी कांग्रेस र एमालेले आआफ्नो जितको दाबी गरे पनि नगरपालिकामा माओवादी केन्द्रकी उम्मेदवार रत्नाकुमारी रेग्मी पनि आफू विपक्षीले ठानेजति कमजोर नभएको बताइरहेकी छन् ।

 

प्रकाशित : वैशाख २५, २०७४ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?