कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९३

हिजोको बाइस्कोप दुनियाँ

अब मेकअप दलेर कलाकारलाई बूढो बनाउनु जरुरी छैन, न कुनै पुरुष नै महिला बन्नुपर्छ
त्यतिबेला भूमिका सुहाउँदा कलाकार फेला पार्न कठिन थियो । त्यस जमानामा समाजले तिनलाई हेर्ने दृष्टिकोण पनि सकारात्मक थिएन ।

दृश्य : एक
नायक बन्ने सपनामा फिल्म उद्योगमा प्रवेश गरेको एउटा १८–२० वर्षे युवकले कलाकार हुने चाहना पूरा गर्न निकै ठूलो योगदान दिनुपर्‍यो । कलाकार बन्ने धोको त पूरा भयो, तर उनी नायकको बाबु बन्नुपर्‍यो ।

हिजोको बाइस्कोप दुनियाँ

कारण त्यो भूमिका निर्वाह गर्ने कलाकारको अभाव । त्यसपछि मेकअप गरेर उसलाई बूढो बनाइयो, कपाल फुलाइयो र त्यसबेलाको गर्जो टारियो । अब नायकभन्दा कम उमेरको व्यक्ति उसको बाबु बन्दा कस्तो देखियो होला ? तर, त्यो त्यतिबेलाको बाध्यता थियो ।

दृश्य : दुई

नायिका बन्न आएकी युवतीलाई भर्खरै सन्तान जन्माएकी नायिकाकी दिदी, ठूलीआमा फुपू या पाको उमेरको भूमिका गर्नुपर्‍यो । कि त कलाकार बन्ने मोह तत्कालका लागि त्याग्नुपर्थ्यो कि त्यो रोल स्वीकार्नुपर्थ्यो । उनले स्वीकारिन् । किनकि तत्कालका लागि त्यो रोलमा अभिनय गर्ने कलाकारको अभाव थियो । एक त भर्खरकी किशोरी, त्यसमा पनि बच्चाकी आमा ! अझ उनको वर्णसँग मिल्ने सन्तान पाउन त अर्को महाभारत ।

दृश्य : तीन

बल्लतल्ल पैसा र समय निकालेर साथीसँग चलचित्र हेर्न पुगेको एकजना युवक हलबाट बाहिर निस्कँदा पाइन्ट पछाडिको भाग पूरै च्यातिएको थियो । हलको सिटबाट बाहिर निस्केको किलाले पाइन्ट च्यातिएपछि उसलाई लाज बचाएर घर पुग्न धौधौ भयो ।

६ दशक लामो नेपाली चलचित्र उद्योगले अहिलेसम्म आइपुग्दा यस्ता अनेकौं आरोह अवरोह पार गरेको छ । सतही रूपमा हेर्ने र बुझ्नेहरूले यसलाई सामान्य रूपमा हेरे पनि यो क्षेत्रप्रति वास्तवमै दत्तचित्त भएर विगतदेखि लागिपरेको अग्रज पुस्ताले धेरै ठूलो योगदान दिएर यस्ता समस्याको समाधान गरिदिएको छ । चाहे त्यो चलचित्रका विषयमा समाजमा सकारात्मक सोच विकास गराउने सवालमा होस्, प्रविधि भित्र्याउने विषयमा होस्, नयाँ र परिपक्व कलाकार जन्माउने विषयमै होस् वा लगानी र व्यापारकै विषयमा किन नहोस्, अघिल्लो पुस्ताको योगदान र समर्पणलाई कम आँक्न मिल्दैन । त्यसैले अहिले नेपाली चलचित्र उद्योग धेरै हिसाबले समृद्ध बनेको छ ।

कोलकातामा छायांकन गरिएको डीबी परियारको ‘सत्य हरिशचन्द्र’ हुँदै नेपालमै छायांकन भएको ‘आमा’ बाट सुरु भएको नेपाली चलचित्र उद्योग अहिलेको अवस्थासम्म आइपुग्नुमा धेरै अग्रज, लगनशील र पेसाप्रति इमानदार चलचित्रकर्मीको धेरै ठूलो मिहिनेत र परिश्रम खर्च भएको छ । त्यतिबेला न चलचित्रबारे सिक्ने, पढ्ने वा जान्ने कुनै ठाउँ थियो, न हामीसँग प्रविधि नै उपलब्ध थियो, न त स्वदेशी प्राविधिक नै थिए । त्यसमाथि पनि चलचित्रमा अभिनय गर्ने कलाकारलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनु अझै ठूलो चुनौती थियो । एकातिर प्रविधिमैत्री वा क्यामरा फेस गर्न जान्ने कलाकार उपलब्ध थिएनन् भने अर्कोतर्फ प्राविधिक रूपमा पूर्ण रूपमा भारतमा निर्भर हुनुपर्थ्यो । गीत रेकर्डिङदेखि सानातिना प्राविधिक कामका लागि पनि बम्बई धाउनुपर्ने बाध्यता थियो । एक हिसाबले भन्नुपर्दा नेपाली चलचित्रकर्मीले सिक्ने पाठशाला भनेकै भारतीय चलचित्र उद्योग थियो । त्यस्तो अवस्थामा पनि त्यस समयमा लागिपरेका चलचित्रकर्मीले उपलब्ध स्रोतसाधनलाई प्रयोग गरेर गर्जो टार्ने मात्र नभई, भावी पुस्ताका लागि बलियो आधारशिला पनि तयार पारिदिए ।

पहिलो नेपाली चलचित्र ‘आमा’ तत्कालीन श्री ५ को सरकार सूचना विभागले निर्माण गरेको थियो । निजी क्षेत्रको लगानीमा निर्माण भएको पहिलो नेपाली चलचित्र ‘माइतीघर’ सम्म आइपुग्दा पनि हाम्रो निर्भरता पूर्ण रूपमा भारतमै थियो । वास्तवमै भन्नुपर्दा निजी क्षेत्रको लगानी भित्रिन थालेपछि मात्रै नेपाली चलचित्रले व्यावसायिक स्वरूप धारण गरेको हो । तर, कलाकारको अभाव भने त्यत्तिकै थियो । किनकि भूमिका सुहाउँदो र प्रविधिमैत्री कलाकार फेला पार्न कठिन थियो । एक त यसैलाई पेसा बनाएर बाँच्न कठिन थियो भने अर्को कलाकारलाई समाजले हेर्न दृष्टिकोण सकारात्मक थिएन । त्यसमाथि पनि वर्षौं कुरेपछि एकाध चलचित्र बन्थे । त्यसैले उपलब्ध भएका कलाकारबाटै काम लिनुपर्ने बाध्यता थियो । कहिले नायक–नायिकाका बाबुआमाको रोलमा खेलाउन उमेर नै नपुगेको व्यक्तिलाई मेकअप गरेर बूढो बनाउनुपर्ने हुन्थ्यो कहिले कोरस नाच्ने महिला कलाकार नपुगेर पुरुषलाई नै महिला बनाउनुपर्ने हुन्थ्यो । अस्वाभाविक मेकअपका कारण पछि चलचित्र हेर्दा नायक–नायिकाको बाबुआमा नै नायक–नायिकाभन्दा कलिला देखिन्थे । जबर्जस्ती कपाल फुलाउँदा निकै अस्वाभाविक देखिन्थ्यो । तर, त्यो बाध्यता थियो किनकि जेजति स्रोतसाधन उपलब्ध थिए, त्यसैलाई प्रयोग गरेर काम पूरा गर्नुपर्ने अवस्था थियो ।

२०४६ मा प्रजातन्त्र स्थापना पछि मात्रै नेपाली चलचित्र उद्योगले पनि लामै फड्को मार्‍यो । वर्षमा दुई, चारवटा चलचित्र बन्ने गरेकामा तीन वर्षको अन्तरालमा करिब एक सय ४० भन्दा धेरै चलचित्र निर्माण भए । चलचित्र मात्रै नभएर चलचित्र प्रदर्शन गर्ने हल पनि तीन सयको हाराहारीमा पुगे । थोत्रा र बस्नै नसकिने फिल्म हलहरूको निकै स्तरोन्नति भयो । वातानुकूलित र सुविधासम्पन्न हलहरूको निर्माणले पनि चलचित्रको उन्नतिमा धेरै टेवा पुग्यो ।

एक हिसाबले त्यतिबेला नेपाली चलचित्र उद्योग स्वर्णयुगमा प्रवेश गर्‍यो । त्यसपछि हिन्दी चलचित्रको दबदबा केही हदसम्म कम भयो भने प्राविधिक रूपमा पनि नेपालमै धेरै काम हुन थाल्यो । प्राविधिक रूपमा पनि चलचित्रको स्तर माथि उठ्न थाल्यो ।

नेपाली चलचित्र निर्माण र प्रदर्शनको यो गतिमा २०५२ सालमा सुरु भएको माओवादी द्वन्द्वले ठूलो असर पार्‍यो । यो १० वर्षमा नेपाली चलचित्र निर्माण निकै खुम्चिन पुग्यो । २०६२–६३ को जनआन्दोलन पछि नेपाली चलचित्र उद्योगले अर्को कोल्टे फेर्‍यो । चलचित्र निर्माणका विषयवस्तुमा धेरै विविधता आउन थाल्यो भने लाखभित्रै निर्माण हुने नेपाली चलचित्रमा पनि करोडौंको लगानी हुन थाल्यो । कलाकारको पारिश्रमिकदेखि सम्पूर्ण कुराले व्यावसायिक रूप लिन थाल्यो । भलै निर्माताले लगानी उठाउने सवालमा धेरै चलचित्रले ठूलो लगानी डुबाइरहेका छन्, तर पनि नेपाली चलचित्र अहिले नेपालमा मात्रै सीमित नभएर नेपालीहरू रहेका विश्वका विभिन्न स्थानसम्म पुग्न थालेका छन् ।

खाडी हुँदै जापान, कोरिया, युरोप, अमेरिका, क्यानडा र अस्ट्रेलियासम्मका नेपालीमाझ चलचित्रको बजार विस्तार भएको छ । यसले धेरै हदसम्म निर्मातालाई मात्र नभई यसमा काम गर्ने कलाकार र प्राविधिकलाई समेत फाइदा पुगेको छ । कतिपय नेपाली चलचित्र विदेशमा समेत छायांकन हुन थालेका छन् । विदेशमै बस्ने नेपाली लगानीकर्तासमेत यसमा आकर्षित हुनुले नेपाली चलचित्र उद्योगको विस्तारमा निकै सहयोग पुर्‍याउँछ । विश्वव्यापीकरणको युगमा नेपाली भूमिभन्दा बाहिर रहेका कलाकार, निर्माता, निर्देशक र प्राविधिक मिलेर नेपाली चलचित्र निर्माण गर्न थाले भने त्यसले नयाँ स्वाद दिन सक्छ र व्यापारको नयाँ ढोका पनि खोल्न सक्छ । विश्वका विभिन्न कुनामा सक्षम नेपाली कलाकार, निर्देशक तथा प्राविधिकहरूको पहुँच बढ्दै गएको छ ।

यसरी सबै पक्षबाट नेपाली चलचित्र उद्योग सक्षम बन्दै जानुमा सुरुवाती दिनमा दुःख गरेर अनेक प्रकारका जोहो गर्दै चलचित्र निर्माण, निर्देशन तथा अभिनयमा लागिपरेका चलचित्रकर्मीहरूको महत्त्वपूर्ण भूमिका छ । किनकि त्यतिबेला कुनै पनि कुरा सहज उपलब्ध हुँदैनथ्यो । र, जेजति उपलब्ध थिए, त्यसैलाई व्यवस्थापन गरेर चलचित्र निर्माण गर्नुपर्ने बाध्यता थियो । यस्तो अवस्था नेपाली चलचित्र उद्योगमा लामो समयसम्म रहिरह्यो । केही अपवाद छोडेर अस्वाभाविक मेकअप दलेर कलाकारको गर्जो टार्ने काम लामो समयसम्म चल्यो ।

तर, अहिले नेपाली चलचित्र उद्योग निकै परिपक्व र समृद्ध भएको छ । उद्योगमा अहिले जस्तो भन्यो त्यस्तै भूमिकाका लागि अभिनयको ज्ञान र सीप भएका कलाकार तयार छन् । उनीहरूलाई क्यामरा एंगलदेखि अभिनयको राम्रो ज्ञान छ । उद्योगले सयौं बाबुआमा र हजुरआमाहरू जन्माइसकेको छ, जसलाई त्यो भूमिका निर्वाह गर्न कुनै मेकअप नै गर्नु पर्दैन । कलाकार मात्रै नभई सम्बन्धित क्षेत्रका सक्षम प्राविधिकहरू पनि तयार भएका छन् ।

त्यसैले यो पुस्तालाई चलचित्र निर्माण गर्न सजिलो छ । भनेजस्ता कलाकार उद्योगमा उपलब्ध छन् । त्यतिबेला उनीहरूले कति दुःख–पीडा सहेर अनि कति मिहिनेत गरेर ती कलाकार जन्माए/जन्मिए होलान् ?

हिजोको पुस्ताले आजका चित्रकर्मीहरूलाई धेरै सहज बनाइदिएको छ । हिजो प्राविधिक रूपमा कति राम्रा चलचित्र बने वा बनेनन् ? त्यो छुट्टै बहसको पाटो हो, तर हिजोले आजलाई धेरै कुरा दिएको छ । त्यसकारण अहिलेको पुस्ताले पनि उनीहरूको त्यो सीप र ज्ञान प्रयोग गर्न सक्नुपर्छ, उनीहरूलाई सम्मान गर्न जान्नुपर्छ । यस्तो भयो भने मात्रै भावी पुस्ताले अहिलेको पुस्तालाई त्यही अनुसारको सम्मान दिन र उनीहरूबाट सहयोग लिन सक्छ । यस्तो हुन सक्यो भने मात्रै नेपाली चलचित्र उद्योग निरन्तर अघि बढ्न सक्छ र एकले अर्कालाई सम्मान गर्ने प्रवृत्तिको विकास हुँदै जान्छ । हिजोले आजलाई सक्षम बनायो भने आजले भोलिलाई त्योभन्दा पनि परिस्कृत र समुन्नत बनाउन सक्नुपर्छ ।

अहिले नेपालमा मात्रै नभई विश्वका विभिन्न कुनामा छरिएर रहेका नेपाली कलाकार विभिन्न प्रकारका भूमिका निर्वाह गर्न तयार भएर बसेका छन् । लामो समयसम्म नायक, नायिका भएर काम गरेका कलाकार अब पाका बाबुआमाको उमेर सुहाउँदो भूमिका गर्ने लायक भएका छन् । न उनीहरूलाई क्यामरा फेस कसरी गर्नुपर्छ भनेर सिकाउनुपर्छ न त्यसका लागि अस्वाभाविक मेकअप नै । अहिले अमेरिकामा नेपाली चलचित्रको छायांकन गर्नुपर्ने भयो भने पनि सबै भूमिकामा अभिनय गराउन नेपालबाट कलाकार झिकाउनुपर्ने अवस्था छैन । सबै प्रकारका रोलमा अभिनय गर्न सक्षम कलाकार उपलब्ध छन् ।

कलाकारलाई परिपक्व बनाउन नेपाली रंगमञ्च र २०४२ सालमा स्थापना भएको नेपाल टेलिभिजनको भूमिका बहुतै सारगर्भित छ ।

(लामिछाने ‘बोक्सी’, ‘किन लाग्छ माया’, ‘द मिरर’, ‘ओ माइ म्यान’, ‘लम्फू’ लगायत फिल्मका निर्देशक हुन्)

प्रकाशित : जेष्ठ १२, २०८१ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?