कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

मुनरोको हुलाक टिकट

एलिस मुनरो भन्थिन्– स्मृति नै हो कथाको स्रोत, तर उनी आफैं विस्मृतिको रोगले ग्रस्त भइन् 

नोवेल पुरस्कार स्थापनाको ११३ औं वर्षमा त्यस पुरस्कारले सम्मानित एलिस मुनरोको १३, मे २०२४ का दिन पोर्ट होप, ओन्टारियो क्यानाडामा देहान्त भयो । उनलाई विगत १२ वर्षदेखि डिमेन्सियाले आक्रान्त पारेको थियो । 

मुनरोको हुलाक टिकट

उनी नोवेल पुरस्कार पाउने १३ औं महिला लेखक थिइन् । उनले ८२ वर्षको उमेरमा सो पुरस्कार पाएकी हुन् । हालसम्म नोवेल पुरस्कार पाउने महिला साहित्यकारको संख्या १७ पुगेको छ, सन् २०२२ मा पुरस्कृत एनी आर्नोक्ससहित ।

एलिस मुनरोलाई कवितामा केन्द्रीकृत गर्दै गद्यको उदात्तता र परिदृश्य बेदखल गर्न सक्षम भएकोमा पुरस्कार प्रदान गरिएको थियो ।

मुनरोको जन्म सन् १९३१ जुलाई १० मा विङ्घम, ओन्टारियोमा भएको थियो । मुनरोका पिता किसान थिए र आमा स्कुलकी शिक्षिका । उनले किशोरावस्थामै लेखन आरम्भ गरेकी थिइन् । उनको पहिलो कथा ‘द डाइमेन्सन्स अफ ए स्याडो’ सन् १९५० मा प्रकाशित भएको थियो । त्यतिबेला उनी वेस्टर्न ओन्टारियो विश्वविद्यालयमा अंग्रेजी र पत्रकारिता पढ्दै थिइन् । त्यो समय उनले अर्थोपार्जनका लागि रेस्टुराँमा वेट्रेसको रूपमा, चुरोट टिप्ने ठाउँमा र पुस्तकालयमा काम गरेकी थिइन् । विश्वविद्यालयमा अध्ययन गर्ने क्रममा पैसाका लागि रगतसमेत बेचेकी थिइन् ।

अध्ययनकै क्रममा मित्रताको सम्बन्धमा गाँसिएका सहपाठी जेम्स मुनरोसँग उनले सन् १९५१ विवाह गरिन् । जेम्सको जागिरका कारण विवाह पश्चात् उनीहरू वेस्ट भ्याङ्कुवरमा सरे । सन् १९६३ मा भिक्टोरिया सरे र त्यहाँ ‘मुनरोज बुक्स’ पुस्तक पसल सुरु गरे, जुन अद्यापि सञ्चालनमा छ ।

मुनरोको पहिलो कथासंग्रह ‘डान्स अफ द ह्याप्पी शेडस्’ सन् १९६८ मा प्रकाशित भयो । पहिलो पुस्तकमै मुनरोले क्यानाडाको सर्वोच्च प्रतिष्ठित पुरस्कार ‘गभर्नर जनरल पुरस्कार’ प्राप्त गरिन् । त्यो पुरस्कार पाएपछि उनलाई उपन्यास लेख्न निकै दबाब आएको थियो । तर, उनका प्रकाशक डग्लस गिब्सनले भनेका थिए, ‘एलिस, तिनीहरू गलत छन् । तिमी एक महान्कथाकार हौ । यदि तिमी पूरै जीवनभर कथा मात्र लेख्छौ भने पनि म प्रकाशित गरिरहन तयार छु ।’ साँच्चै उनले जीवनभर कथा मात्रै लेखिन् ।

मुनरोले सन् १९७९ देखि १९८२ सम्म अस्ट्रेलिया, चीन र स्क्यान्डेनिभियाको व्यापक भ्रमण गर्दै आफ्ना रचना पाठ गरिन् । ‘टू मच ह्याप्पिनेस’ का लागि सन् २००९ को ‘मान बुकर अन्तर्राष्ट्रिय पुरस्कार’ पाएकी थिइन् । पुरस्कार घोषणा गर्दै निर्णायक समूहले पुरस्कृत गर्नुपर्ने कारण यसरी प्रस्ट पारेका थिए, ‘एलिस मुनरोलाई पढ्नु भनेको तिमीले पहिले कहिल्यै पनि नसोचेको विषय सिक्नु हो ।’

एलिस मुनरो आफूले लेखिरहेको रचना कसैलाई देखाउँदैन थिइन् । त्यो उनको स्वभाव थियो । सन् १९९४ मा ‘पेरिस रिभ्यु’ मा प्रकाशित जेन्नी म्याककुलोच र मोना सिम्सनसँगको अन्तर्वार्तामा उनले खुलस्त भनेकी थिइन्, ‘अहँ, म आफूले लेखिरहेको कुरा कसैलाई देखाउँदिनँ ।’ हरेक बिहान ८ बजेदेखि लेख्न थाल्थिन् र ११ बजेतिर विश्राम लिन्थिन् । दिउँसो पनि लेख्थिन्, अलिअलि विश्राम लिँदै । पूरै हप्ता यसरी बित्थ्यो ।

एलिसको कथामा आधारित फिल्महरू पनि बनेका छन् । उनको कथासंग्रह ‘रन अवे’ को कथामा आधारित पेद्रो अल्माडोभारले सन् २०१६ मा ‘जुलिएटा’ बनाएका थिए । ‘मार्था, रुथ एन्ड एडी’ (१९८८), ‘एज अफ म्याडनेस’ (२००२), ‘अवे फ्रम हर’ (२००६), ‘हेटसिप–लभसिप’ (२०१३) उनका कथामा आधारित केही फिल्म हुन् । यसै सन्दर्भमा नोवेल पुरस्कार जितिसकेपछि उनलाई सोधिएको थियो, ‘सानो सहरको क्यानाडेली जीवनको कथामा के रुचिलाग्दो कुरा हुन सक्छ र ?’ जवाफमा उनले भनेकी थिइन्, ‘तिमी त्यहाँ हुनुपर्छ, अनि पो थाहा पाउँछौ ।’ कथा लेख्न लाग्ने समयको विषयमा एलिसको भनाइ थियो, ‘आजकाल त म कम्प्युटरमा लेख्छु, तर म पहिलो वा दोस्रो खेस्रा लेखन हातैले लेख्ने हुँ, बल्ल कम्प्युटरमा उतार्छु । त्यसले पूरा गर्न २ महिनासम्म लाग्न सक्छ ।’

‘द वियर केम ओभर द माउन्टेन’ मुनरोको उत्तम कथा मानिन्छ । यो यस्तो मानिसको कथा हो, जसको श्रीमती अल्जाइमरले ग्रसित हुन्छिन् र अर्को पुरुषसँग सम्बन्ध सुरु गर्छिन् । यो कथाले निकै ख्याति पायो र सन् २००६ मा ओस्कारमा नामाङ्कित फिल्म ‘अवे फ्रम हर’ बन्यो । उनको अन्तिम पुस्तक ‘डियर लाइफ’ सन् २०१२ मा प्रकाशित भएको थियो । ‘डियर लाइफ’ बारे उनले भनेकी थिइन्, ‘म विश्वस्त छु, मैले मेरो जीवनबारे भन्नुपर्ने प्रथम र अन्तिम कुरा यिनै हुन् ।’ ‘डियर लाइफ’ मा १४ कथा छन्, जसले स्मृति, बाल्यकाल, स्वतन्त्रता, समझदारी, सामाजिक अपेक्षा, प्रेम र असन्तुष्टिबीचको सम्बन्ध उजागर गर्छन् ।

सन् २०१३ को सुरुमा विदरिङ वाइपास सर्जरी, क्यान्सरको उपचार तथा दोस्रो पतिको देहान्तपछि मुनरोले लेखनबाट बिदा लिएको घोषणा गरेकी थिइन् र त्यसै साल उनले नोवेल पुरस्कार प्राप्त गरेकी थिइन् ।

स्वास्थ्यका कारण एलिस मुनरो नोवेल पुरस्कार वितरण समारोहमा उपस्थित हुन सकिनन् र लेखकीय प्रवचनको ठाउँमा उनीसँगको रेकर्डेड साहित्यिक संवाद ‘एलिस मुनरो ः इन हर वन वर्डस्’ प्रस्तुत गरिएको थियो ७ डिसेम्बर २०१३ मा, स्टकहोममा ।

एलिस भन्थिन्, ‘स्मृति नै हामीले हाम्रो कथा भन्ने तरिका हो र अरूलाई कथा सुनाउने हो केही भिन्न स्वरूपमा ।’ तर यसो भन्ने लेखिका स्वयम् विस्मृतिको रोग ‘डिमेन्सिया’ ले ग्रसित भइन् । एलिस मुनरो र जेम्स मुनरोबाट ४ छोरीहरूको जन्म भयो, तर जन्मेकै दिन किड्नीको समस्याले क्याथरिनको मृत्यु भएको थियो । एलिस मुनरो र जेम्स मुनरोले सन् १९७२ मा पारपाचुके गरे । पछि सन् १९७६ मा उनले विश्वविद्यालय वर्षहरूमा भेटिएका कार्टोग्राफर तथा जोग्राफर जेराल्ड फ्रेमलिनसँग दोस्रो विवाह गरिन् ।

एलिसकी छोरी शिला मुनरोको बाल्यकालीन संस्मरणको पुस्तक ‘लाइभ्स अफ मदर्स एन्ड डटर्स ः ग्रोइङ अप वीथ एलिस मुनरो’ (२००२) प्रकाशित छ । एलिस मुनरो कथाको विषयमा आफैं भन्थिन्, ‘कथा एउटा बाटो पछ्याउनु जस्तो होइन ....बरु यो घर जस्तो हो । तिमी भित्र पस्छौ र बस्छौ केहीबेर यताउता हेर्दै– नयाँ कोठा, बरन्डा पत्ता लगाउँदै र झ्यालबाहिरको संसारसँग त्यसले कसरी तादात्म्यता राख्छ भन्ने महसुस गर्दै ।’

सन् २००६ मा प्रख्यात क्यानेडेली लेखिका मार्गरेट एटवुडले उनलाई ‘अन्तर्राष्ट्रिय साहित्यिक सन्तत्व’ भनेकी थिइन् । सन् २०१५ मा मुनरोको जन्मथलो विङ्घम, ओन्टारियोमा ‘एलिस मुनरो फेस्टिभल अफ सर्ट स्टोरिज’ आयोजना गरिएको थियो । एलिसले नोवेल पुरस्कार पाएकोमा सम्मान गर्दै क्यानाडा सरकारले उनको नाममा ५ डलरको सिक्का निकाल्यो, जसमा उनको कथा ‘मेसेन्जर’ को दुईवटा पानाको तस्बिर पनि समावेश छ ।

सन् २०१५, १० जुलाईका दिन उनको जन्मोत्सवका अवसर पारेर क्यानाडा सरकारले हुलाक टिकटको प्रकाशन गर्‍यो । यो टिकटमा उनकी छोरीले लिएको मुनरोको तस्बिर छ र फोटोको पृष्ठभूमिमा उनको हस्ताक्षर । र, अग्रभागमा उनको जन्मथलोको तस्बिर पनि ।

प्रकाशित : जेष्ठ १२, २०८१ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×