कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

कार्लेश्वर मार्क्सहादेव – एक लोककथा

सोल्टी होटलको मेघामल्हार हलमा पुस्तक विमोचन भइरहेको रहेछ– ‘मार्क्सवाद : कहिले दायाँ, कहिले बायाँ त कहिले अघि र पछि गर्दै बढ्छ’ । पुस्तकको शीर्षक रे ! हाँसो उठेर झन्डै मार्क्सको खित्का छुटेन । तर, सबै गम्भीर मुद्रामा थिए । 

म के हुँ भनेर हामीलाई थाहा हुन्छ । तर हामीलाई थाहा हुँदैन, ‘म कस्तो हुने हुँ’ भनेर– शेक्सपियर (ह्याम्लेट)

कार्लेश्वर मार्क्सहादेव – एक लोककथा

कार्ल मार्क्सको गालामा नमिठो चड्कन पर्‍यो– चड्याम्म ! ! ! निराशाले भरिएको एक्काइसौं शताब्दीको नेपाले चड्कन । राजनीति र राजनेताप्रति घृणाले भरिएको चड्कन । देशबाट आस मरेको चित्त दुखाइमा चड्किन पुगेको चड्कन । आफ्नो परिस्थितिदेखि दिक्दार भएर रिस उठ्दाको फलामे चड्कन ।

‘फेरि भन्नुस् त मिस्टर...तपाईं को रे ?’ वैदेशिक श्रम विभागको गेटमा उभिएको अधबैंसेले सोध्यो । ऊ श्रमस्वीकृति लिन यहाँ धाइरहेको थियो ।

‘भने त...कार्ल मार्क्स ।’ रनन्न भएको गाला मुसार्दै भलादमी देखिने मान्छेले जवाफ फर्काए ।

अधबैंसे घुरेर हेर्‍यो । पोस्टर, पर्चा, पम्प्लेटमा देखिने जस्तो कार्ल मार्क्सलाई । नदेखुन् पनि किन ! किनभने उनी १९औं शताब्दीका कार्ल मार्क्स नै थिए, साँच्चैका । पितृलोकबाट आएका । कन्चटदेखि कन्चटसम्म फैलिएको खरको झारजस्तो दाह्री लिएर । कपाल सक्केर दाह्री सुरु भएको हो कि दाह्री सक्केर कपाल ! दुई सिमानालाई छुट्याउने दशगजा नै नभएको– केशफयल साम्राज्यवादजस्तो ।

सोह्रश्राद्धको बेला उनी पितृलोकबाट यसरी अवतरण गर्लान् भनेर कसरी पत्याउनु । त्यसैले अधबैंसेले नपत्याउनु जायज नै थियो । तैपनि कार्ल मार्क्सजस्तो हुलिया बनाएर कोही घुमिरहेको छ भने कम्तीमा नेपालीलाई यतिसाह्रो रिस नउठ्नुपर्ने हो । आखिर उनी हाम्रा पितृजस्ता भइसके । पितृको हुलिया बनाएर आएकोलाई एकछिन श्रद्धावश सहिदिए पनि त हुन्थ्यो । जस्तो हुन्छ नि पशुपतिमा शिवरात्रिको दिन । शिवको आवरणमा ‘महादेव’ बनेर घुमिरहेकालाई रमितेहरूले ख्यालख्यालै मानिदिए जस्तो ।

उसो त विक्रम संवत् पचासको दशक भइदिएको भए यहाँ कुरो अर्कै हुनेथियो । कि उनलाई मान्छेले पक्क परेर हेर्ने थिए । कि उनले स्वप्नशील आदर्शवादीहरूबाट कस्सिएको मुट्ठीको अभिवादन पाउने थिए । तर, यो अस्सी साल हो । कार्ल मार्क्स, मार्क्सवादी समाजवाद, प्रजातान्त्रिक समाजवाद, फलानो समाजवाद, ढिस्कानो समाजवाद सुन्दासुन्दा सबै कर्कश लाग्ने भइसके । अब त यहाँ कसैले मार्क्स भन्यो भने अंग्रेजीको ‘मास्क’ जस्तो सुनिन्छ । ‘मास्क’ अर्थात् मुकुन्डो । मुकुन्डो पछाडि को छ, को छैन । के थाहा ? अनि राम्ररी नचिनेपछि रिस उठ्दैन त !

त्यसैले अधबैंसेले झर्किंदै सोध्यो, ‘जिस्काको ?...अघिदेखि सिरियस भएर सोधिरा’छु । तपाईं को भनेर । नौटंकी गरेको गरै छ । कार्ल मार्क्स, कार्ल मार्क्स । साला यस्तै नक्कली मार्क्सहरूको बिगबिगी छ यो देशमा । ल बस यो देशाँ’ र दौडाउ कागजको घोडा । हामी गयौं विदेश आफ्नो वर्तमानलाई गधाको

जुनीसित साट्न । फर्केर आएपछि हामी फेरि क्रान्तिमा उर्लनेछौं । तिमीहरू जस्तासित एकएक हिसाब लिनेछौं । त्यतिबेला यत्राको कार्ल मार्क्स !’ कस्तो विरोधाभास !

कार्ल आफ्नो अग्लो ललाट मुजा पारेर अधबैंसेलाई हेरिरहे । तर, उनको ध्यान न अधबैंसे त्यसरी रिसाएकोमा थियो न

उसले ओकलिरहेको ताता कुराहरूमा । यो त हुनु नै थियो ! उनले सोचे । अर्को मनले उनी सोच्न थाले– यहाँ रूपरूपका कार्ल मार्क्स रहेछन् ! उसोभए यिनैमध्येका एक कार्लेश्वर मार्क्सहादेवलाई चाहिँ कहाँ खोज्ने होला ?

तर, उनलाई एउटै कुरामा शंका उठ्यो । ‘मेरो विचारको डीएनए के कार्लेश्वर मार्क्सहादेवले फिर्ता गर्ला ?’

उता भने अधबैंसेको चिडचिडाहट बढ्दै गइरहेको थियो, आफूलाई ‘कार्ल मार्क्स हुँ’ भनेर ‘नौटंकी’ गरिरहेको मान्छेको पारा देखेर । झापट खाएपछि खुरुखुरु आफ्नो बाटो नाप्नु नि । ऊ त चिउँडो उचालेर ऊतिर नै हेरिरहेको थियो । मानौं ऊ मञ्चमा उभिएको छ । एउटा लामो मौन पछि खतरै ‘डायलाग’ बोल्लाझैं गर्दै छ । त्यो पनि ‘विश्वका मजदुर एक हौं’ टाइपको डायलाग होला । सम्झेरै अधबैंसेको दिमाग सनक्क भयो । ऊ ‘तथाकथित’ मार्क्सतिर पाखुरा सुर्किंदै अघि बढ्यो । ‘महोदय’ को नाट्य रूपान्तरणको झारफुक गर्न । अब के हुने हो !

कार्लले सुइँको पाइहाले । उनी फनक्क फर्के र त्यहाँबाट छिट्छिटो पाइला चाले । फटाफट हिँडिरहँदा सोल्टीमोडबाट एकपटक पछाडि फर्के । अधबैंसेबाट पिछा छुट्यो कि भनेर । अधबैंसे आउँदाआउँदै बाटोमै रोकिएको रहेछ । तर, रोकिएकै ठाउँबाट ऊ चोरऔंला तिखार्दै फतफताइरहेको थियो । बिनसित्ती सरापिरहेको थियो ।

अब चाहिँ उनलाई पनि रिस उठ्यो । ‘टु हेल विथ ट्वान्टी फर्स्ट सेन्चुरी ! भर्सेला परोस् ।’ अगाडि पछाडि विचारै नपुर्‍याई उनी सरासर हिँड्न थाले । हराए हराउँछु भन्ने तालमा बेमतलब बाटो नाप्न थाले । ‘गुरु कता...?,’ पछाडिबाट कसैले उनलाई आवाज दियो । उनले सुने पनि नसुने झैं गरी अघि बढे । आफूलाई यहाँ ठीकसित कसले चिन्ने ।

‘मार्क्स गुरु...कता भनेको ?’

‘हा !...’ झस्किएर उनले यताउति हेरे । आफूलाई नै बोलाइरहेको कसैलाई देखेनन् । उनले माथि आकाशमा पनि हेरे । ठीक साठी डिग्रीको कोणमा, पितृलोकतिर । त्यहाँ त झन् मैलोधैलो धूँवास्सिएको आकाशबाहेक केही देखेनन् ।

‘गुरु यता के यता...तल्तिर हेर्नु न ।’ उनले भुइँतिर हेरे ।

‘ओई !’ झसंगिएर झन्डै लडेनन् । हुन पनि एउटा खैरो मैलो खुइलिएको कुकुर उनलाई हेरेर हाँसिरहेथ्यो, ङिच्च ङिच्च ।

उनी फुटपाथको बीचमा ठिङ्ग उभिएको देखेर कुकुरले सडकको नियम सम्झायो । ‘गुरु छेउ लाग्नुस् । हिँड्नेलाई अवरोध होला ।’ ज्ञानी बालक झैं उनी किनार लागे । तर, कुकुर उभिएको छेउतिर होइन । त्यसको विपरीत किनारमा । यहाँ कसैको भर छैन । अघि भेटेको अधबैंसे मान्छे कुकुर झैं उनलाई भुकिरहेको थियो । यो कुकुर मान्छे झैं शिष्ट भएर बोलिरहेछ । कसले सोचेको थियो एक्काइसौं शताब्दीमा ठीक उल्टो हुनेछ भनेर । उनका आँखा फारेका फारै थिए र मुख अधखुलाका अधखुला ।

‘कता जान ला’ भनेको क्या ।’ कुकुरले सोध्यो ।

‘म...?,’ हराएको बालक झैं उनले चारै दिशा पल्याकपुलुक हेरे । अनि सतर्क हुँदै भने, ‘म...खासमा यसो एकछिन ध्यानस्त भएर चार्ज हुन खोजेको । त्यसका लागि ऐतिहासिक संग्रहालय खोजिरहेको थिएँ । यता हुँदो कतै छ कि भनेर एउटालाई सोधेको...त्यो मान्छे त्यत्तिकै सनक्यो ।’ आफू यहाँ आउनुको उद्देश्य उनले लुकाए । बाँचुन्जेल तीन–तीनटा देशबाट निकाला गरिएका कार्ल त्यत्तिकै जोसित पनि खुल्न सक्दैनथे ।

‘कुन संग्रहालय ?’

‘कुनै पनि । मलाई संग्रहालयको ऐतिहासिकतामा एकछिन आँखा चिम्म गर्नुछ । इतिहासले नै मलाई ऊर्जा दिने भएकाले भूलोकमा ऐतिहासिक संग्रहालय नै मेरो चार्जिङ स्टेसन हो । कर्कश ध्वनिले अहिले म बिल्कुल आत्तिएको छु, हडबडाएको छु ।’

‘यहाँ छाउनीमा राष्ट्रिय संग्रहालय छ । यो सोल्टीमोडबाट नजिकै पर्छ । हिँड्नुस् म देखाउँछु ।’ कार्ल अनकनाए कुकुरसित सँगसँगै जान । यो बुझेर कुकुरले सुझायो । ‘नत्र तपाई‌ आफ‌ै सोध्दै गए पनि भो ।’ नजिकै हो । पुगिहाल्नुहुन्छ ।’

कार्लले अघिको झापट सम्झे । आम्मै ! त्यो जोखिम अब उनी मोल्न चाहँदैनथे । हत्त न पत्त उनले भने, ‘भैगो डगी ! माफ गर्नुस् के भनी बोलाउँ ?...तिमीलाई ?’

‘बा.१.घ मेरो नाम । मेरो मतलब मलाई भिराइएको नाम । ममाथि घटित यो नाम मलाई मन नपरे पनि च–के, च–गर, च–नु । यही मेरो चिनारी भइसक्यो ।’

‘ओह...,’ कार्लले भने, ‘बा.१.घ प्लिज मलाई तिमीले नै लगिदेऊ । यहाँ मान्छेहरू मेरो हुलिया देखेर परिचय माग्छन् । नाम सुन्नेबित्तिकै टोक्न आउँछन् ।’ यति भन्नु के थियो खैरे बा.१.घ–ले आँखा ठूलो बनायो, पुच्छर यताउति डोलायो । ‘चरैवेती, चरैवेती’ भन्दै ऊ खुसीखुसी अघि लाग्यो । ऊ हिँड्दा पो तिनले मेसो पाए । कुकुर एउटो खुट्टोले लङ्गडो रहेछ । खन्च्याङ खन्च्याङ गर्दै ऊ हिँडिरहेको थियो । उनलाई बा.१.घ–माथि दया लाग्यो ।

उनीहरू दुवै अपत्यारिला आँखाले एकअर्कालाई हेरिरहेका थिए । कार्लले बा.१.घ–लाई लुकीलुकी हेरिरहँदा यही सोचिरहेका थिए । यसले कसरी मलाई ठ्याक्कै चिन्यो ? र, यो भुक्दा यसको भाषा बुझ्ने मै मात्र हो कि अरूले पनि बुझ्छन् ?

बा.१.घ–ले पनि कार्लको आँखा छलेर उनैलाई घरिघरि नियालिरहेको थियो । र, दाँजिरहेको थियो उसले देखेको फ्लेक्सको फुल साइज कार्ल मार्क्ससित । जुन फ्लेक्स राजनीतिक पार्टीका ‘कार्ल मार्क्स फ्यान क्लब’ ले उनको द्विशतवार्षिकीको उत्सवमा झुन्ड्याएका थिए । जतिबेला दसौं हजारलाई उनीहरूले ‘मार्क्सवाद’ पढाएका थिए । ऊ पनि एकलब्य झैं हाताको छेउकुनामा छेलिएर सुनिरहेको थियो । तर, त्यो प्रशिक्षणपछि सबै टाउको कनाउँदै बाहिर निस्किएका थिए । आधी बुझे आधी भोक लागिरहेकाले बुझ्दै बुझेनन् । भए पनि आ–आफ्नो भागको कार्ल मार्क्स लिएर उनीहरू फर्केका थिए ।

यही अर्ध बुझाइमा थियो बा.१.घ पनि । उनी नबुझिएरै उनको ‘ग्ल्यामर’ चुलिएको थियो । तर, फ्लेक्समा देखिएका बौद्धिक सेलिब्रेटी कार्ल मार्क्स र साँच्चैका कार्लमा निकै अन्तर थियो । के नपुग्या के नपुग्या जस्तो । जस्तो हुन्छ नि सेलिब्रेटीहरूलाई आम्नेसाम्ने देख्दा । खल्लो । लम्बाइ कम भएर हो कि ? बा.१.घ–ले उनलाई काल्पनिक मार्क्ससित नाप्यो । १९, २० मिलेन । अनुहार पनि हजुरबाहरूमा हुने नरमाइलोपनको आभास दिने खालको । लालसिङ क्रान्तिकारीका असुराचार्य शुक्रजस्तो कतै नलाग्ने । लुगा पनि त्यस्तै मामुली । लुगा ? अँ त साँच्ची ! फ्लेक्समा देखिएको उनको आवरण सम्झँदै बा.१.घ–ले सोध्यो । ‘तपाईंको ओभरकोट कहाँ गयो गुरु ?’

‘ओभरकोट ? ला ! ! ! ओभरकोट त !’ कार्ल हिँड्दाहिँड्दै टक्क अडिए । ‘गल्ती गरेछु कि क्यो हो ? ऊ बेलाको ‘ब्रिटिस म्युजियम रिडिङ रुम’ मा चाहिएजस्तै यहाँको म्युजियममा पनि ओभरकोट चाहिन्छ र ?’ बा.१.घ खिसिक्क हाँस्यो । ‘हैन गुरु । यहाँ ‘इज्जतिलो’ देखिन खासै ओभरकोट लाइराख्न पर्दैन । ती वर्ग व्यवस्थाका आडम्बर हुन् । यहाँ कोट हैन कास्टले मान्छेको उच्चता र नीचता नापिन्छ । र, त्यो म्युजियममा हैन मन्दिरमा अनिवार्य छ ।’

‘ओह...त्यसोभए मेरो ओभरकोटको बारेमा किन सोध्यौ त ?’

‘हिँड्दै गरौं गुरु ।’ बा.१.घ–ले ताहाचलको उकालो खन्च्याङखन्च्याङ उक्लिँदै भन्यो । ‘यस्तो नि गुरु...तपाईंका सबै फोटाहरू ओभरकोट लगाएका मात्र छन् । युगौंदेखि ओभरकोट लगाएको फोटो हेर्दाहेर्दा यस्तो लाग्निक्या, तपाईं जन्मिँदै ओभरकोट लगाएर जन्म्या होला । त्यो ओभरकोट तपाईंको पहिचानको एउटा चिनारी भइसक्यो । अब हाम्रा आदिकवि भानुभक्त आचार्य बिर्खे टोपीबिना ‘अपला चपला’ गर्दै काठमान्डु आउन् त । कसले चिन्ने ? बिर्खे टोपी नलगाएका, हातमा रामायण लिएका उनलाई अहिले कसैले देख्यो भने च्चच्च नै गर्ला । बिचरा प्रकाशक नपाएर पाण्डुलिपि बोकीबोकी भौंतारिरहेको दु:खी कविजस्तो देखेर । हेहेहे ।’ उसले भन्यो, ‘अनि तपाईंलाई पनि ओभरकोटबिना देख्दा खल्लोखल्लो लाएर सोधेको नि ।’

उकालो छिचोल्दै कार्लले लामो सास फेरे । ‘ठीक भन्यौ । त्यो ओभरकोट फगत एउटा ओभरकोट मात्र थिएन । मेरो प्रेरणाको स्रोत पनि थियो । खर्च रित्तिएको बेला मैले आफ्नो ओभरकोटलाई साहुकहाँ बन्धकी राख्थें । त्यसबाट आएको पैसाले केही दिन घर चल्थ्यो । हो यही अन्तरालमा मलाई श्रमिकले उत्पादन गरेको वस्तुको ‘विनिमय मूल्य’ को विचार फुरेको थियो, ऐक्सचेन्ज भ्यालु । त्यसैले ‘दास क्यापिटल’ को पहिलो खण्डमा मैले मान्छेले लगाउने कोटकै उदाहरणबाट सुरु गरेको छु । अमूर्त कुरा नगरी मूर्त कुरा गर्दा आफूमा लागू गरेर हेर्न सजिलो हुन्छ भनेर । एउटा कोट बनाउने, बेच्ने र किन्ने प्रक्रियामा मैले पुँजीवादी व्यवस्थाको उत्पादित वस्तुको सूक्ष्म विश्लेषणबाट सुरु गरेको छु ।’

ज्या है ! यहीबेला बा.१.घ–लाई लामो हाई आउनु थियो ।

व्याख्यानमा पूर्णविराम लगाए कार्लले । अनि आफैंमा हराउँदै भने, ‘त्यो पुरानो ओभरकोटलाई बन्धकी राख्दाराख्दा एक दिन म छुटाउनै गइनँ । यो मेरी पत्नी जेनी मरेपछिको कुरा हो । मलाई कुनै पनि कुरासित लगाब हुन छाडेको थियो । आफ्नो प्रिय मान्छेले छोडेर गएपछिको रिक्ततामा जस्तो हुन्छ नि । हो त्यस्तै । म पनि त्यो ओभरकोट छुटाउन गइनँ । त्यो साहुसितै रह्यो । आफूसित भने त्यसबाट आउने सिगारको सुगन्ध र पकेटमा बोकिहिँड्ने पेन्सिलको इनामेलीय बास्नाको सम्झना मात्र रहिरह्यो ।’ त्यसपछि उनले तिक्ततासहित भने, ‘अब संसारको कुनै पनि ओभरकोट मलाई लगाउनु छैन ।’ बा.१.घ–ले कार्लतिर हेर्‍यो । लाइलनको पातलो सेतो कमिज लगाएका कार्ल शिर ठाडो पारेर लुइँलुइँ हिँडिरहेका थिए । बा.१.घ–का दुइटै कान लुरुक्क तल झरे, ठुल्ठूला आँखा भावुकतामा मसिना भए । कार्लको गरिबी फेरि पनि ‘रोमान्टीसाइज’ भयो । जसरी ‘रोमान्टीसाइज’ गरिइँदै आइएको छ विद्यार्थी नेताहरूद्वारा । उनको गरिबीलाई रोमाञ्चक भावुकतामा महसुस गर्नेहरू खै किन देख्दैनन् हरेक गरिबमा कार्ल ?

कार्लले सोधे, ‘त्यसोभए ओभरकोटबिना तिमीले मलाई कसरी चिन्यौ त ? ठ्याक्कै ?’

‘कुकुरीय घ्राणचक्षुको कमाल,’ बा.१.घ–ले आफ्नो खस्रो नाकको गन्न मिल्ने जुंगा फरफराउँदै भन्यो । कार्लले अलिअलि पत्याए, अलिअलि नपत्याए जसरी ऊतिर हेरे ।

‘म त भएकै कुरा गर्छु गुरु । यहाँ भुस्याहा बन्धुबान्धवहरूले पत्याइदिँदैनन् र पो,’ उसले भन्यो, ‘सत्य कुरा के हो भने यहाँ दुई वर्षअघि कोरोना भाइरसको महाव्याधि फैलिएको थियो । मान्छेहरूलाई लागेको थियो उनीहरू मात्र संक्रमित भए । तर, तिनीहरूले गर्दा हामीमा पनि सरेको थियो । त्यतिबेला मिल्काइएका मास्क र पन्जा राम्ररी व्यवस्थापन नगरेर । तिनै फोहरलाई खोस्रिन जाँदा हामी पनि संक्रमित भयौं । मर्न चाहिँ मरिहालेनौं, तर हाम्रो सुघ्न सक्ने शक्ति केही समयका लागि चेट भयो । फर्कंदा पुरै गोलमाल भएर फर्कियो । अझ मेरो नाक त खुराफाती भएर फर्कियो । म अब राजनीति र त्यसबाट आउने शक्तिको गन्ध सुघ्न सक्ने भएको छु । नेता र तिनबाट आउने आशक्तिको गन्ध टाढैबाट गनाउँछ ।’ त्यसपछि बा.१.घ फुर्किंदै भन्यो, ‘हुँदाहुँदा आज इ यस्तो पनि भयो । पितृलोकबाट आएका कार्ल मार्क्सलाई धरि सुँघेर चिन्न भ्याएँ । साम्यवादको राजनीतिक परिकथा कल्पिने मार्क्सलाई बाबै !’

उस्स ! परिकथा अरे ! मुख अमिलो पार्दै मनमनै कार्लले भने, ‘कुकुर’ । बा.१.घ–ले भन्दै गयो, ‘त्यति मात्र हो र ! जताजता राजनीति घुसेको हुन्छ, मेरो नाकले त्यसको तिखो गन्ध स्वाट्ट टिपिहाल्छ । त्यसैले अघि तपाईंलाई झापट हान्ने झोकीलाई पनि मैले चिनिहालें ।’

‘हँ...?’ अर्को पटक तिरमिर हुँदै कार्लले सोधे, ‘ऊ पनि नेता परेछ ?’

‘नेता चाहिँ हैनन् । राजनीतिबाट पीडित भने हुन् । व्यापारीहरूको राजनीतिलाई के भन्छन् अरे...हत्तेरिका ! अंग्रेजीमा थियो...बिर्सी पो हालेछु ।’ बा.१.घ–ले आफ्नो लङ्गडो छोटो खुट्टो उचालेर सोधे झैं गर्‍यो । कार्लले मेसो पाएनन् । उल्टै दङ्ग पर्दै हेरे ।

‘कार्टेलिङ्ग !’ बा.१.घ–लाई कसले सक्नु ! ‘हो कार्टेलिङ्गबाट पीडित अन्डा व्यापारी हुन् तिनी ।’ कार्ल जिल्ल परे । बा.१.घ–लाई पछ्याउँदै हिँडिरहे ।

‘हाँसो उठ्छ,’ बा.१.घ व्यंग्यात्मक पाराले कुँइकियो । ‘७७ सालमा सरकारको क्याल्कुलेटरले हरेक नेपालीलाई बर्सेनि ६१ गोटा अन्डा भागमा पर्ने भयो भनेर हिसाब देखाएछ ।

ढ्यानटरयान पाराले सरकारले घोषणा गर्‍यो– नेपाल अन्डा उत्पादनमा आत्मनिर्भर भयो । त्यसपछि ठुल्ठूला व्यापारी मिलेर के गरे ? अन्डाको भाउ रसातल पुर्‍याए । यति सस्तिएर बेचे कि साना किसानहरूको लागत पनि नउठ्ने भयो । त्यसपछि साना किसानहरू पलायन भए । कोही ऋण तिर्न नसकेर बिदेसिए । यता उत्पादन घटेपछि अन्डाको माग बढ्यो । त्यसपछि गुरुलाई के भनिराख्नुपर्‍यो र ! उही डिमान्ड र सप्लाईका कुरा त हुन् । साना किसानहरूलाई मारेर अहिले चाहिँ ठूला व्यापारीहरूले अन्डाको भाउ ह्वात्तै बढाए । भालेभाले मिलेर अन्डालाई छुनै नसकिने बनाए ।’

कार्लले अघिको अधबैंसेलाई सहानुभूतिपूर्वक सम्झे ।

‘यस्तै उठीबास भएका साना किसान हुन् तिनी । ऋण तिर्न नसकेर बहिराइन जाँदै छन् । यिनलाई तपाईंको नाम सुनेर रिस उठ्नु स्वाभाविक हो । सरकारमा जो आए पनि रातदिन समाजवाद समाजवाद भनी जपिरहन्छन् । अर्थतन्त्र भने तिमी खाम म खाम चारैतिर हामहाम । कम्तीमा बजारका एकलौटी लुटाहाहरूलाई डन्डा ला’उनु पर्दैन ?’ कार्ल मनमनै मुरमुरिए । अनि कठोर भएर सोचे– त्यही भएर म मेरो विचारको डीएनए फिर्ता लिन आएको छु । ‘लास्टमा घाटा भनेको उही पिँधका हामीजस्तालाई हुने त हो नि । घरमा पुलपुलिइएका टमी, लक्की र सुइटीहरूले पाइपनि हाल्दा हुन् । हामीजस्ता खैरे, भैरे, काली र लालीहरूले जात्रा नै कुर्नुपर्छ । नत्र मन्दिरहरूमा चढाउँदा हामीले यदाकदा खान पाइरहन्थ्यौं‌ । अहिले महँगिएर कम चढाउन थाले । र, त्यसको मार हाम्रो पेटमा नि पर्न गयो । हैन कसैले सोचेको छ हाम्रो बारेमा पनि ? भन मुला हो !’ भन्दै बम्कियो बा.१.घ । ऊ बम्किँदा छेउछाउका बटुवारेहरू तर्से । हुन पनि ऊ टोकुँला झैं गरी कस्तरी एक्कासि भुक्न थालेको ।

कार्ललाई फेरि पनि बा.१.घ देखेर दया जाग्यो । यही मौकामा कार्लले सोधिहाले, ‘तिमी भुक्दा तिम्रो भाषा बुझ्ने मै मात्र हो कि अरूले पनि बुझ्न सक्छन् बा.१.घ ?’

एकछिन त केही बोलेन ऊ । खन्च्याङ खन्च्याङ हिँडिरह्यो । ताहाचल हुँदै छाउनीतिर । अचानक खिस्स हाँस्दै भन्यो, ‘मान्छेजस्तै हामी कुकुरका तीनचार’टा भाषा छैनन् गुरु । मनका कुरा लुकाउने भाषा । मनमा नभएको कुरो देखाउने भाषा । पेट भर्ने भाषा, पाखुरा सुर्किने भाषा, पित्तको तीतो निकाल्ने भाषा । हामीसित एउटै मात्र भाषा छ, आत्माको । जो मान्छे आत्मैदेखि हरेक जीवसँग जोडिने सामर्थ्य राख्छन् तिनले हाम्रो भाषा मोटामोटी बुझिहाल्छन् । त्यस्ता मान्छेहरूलाई नमन ! अब तपाईं मानवजातिका पितृ भइसक्नुभयो । पितृहरू आत्माको भाषा सजिलै बुझ्छन् । मेरो भाषा त्यसैले तपाईंले बुझ्न सक्नुभएको । पत्याउनु हुन्न भने यसो कान लाएर सुन्नुस् त । तपाईंले प्रकृतिको भाषा पनि सजिलै बुझ्न सक्नुहुन्छ ।’

हो त नि ! भन्ने लाग्यो कार्ललाई । पृथ्वी र सूर्यको बीचमा पर्ने पितृलोकबाट काठमान्डुमा अवतरण गर्दा उनलाई आभास भएको थियो । जब देखिएको थियो बादललाई छेडेर अग्लिएका पर्वत शिखर शिवपुरी, फुल्चोकी, चन्द्रागिरि र नागार्जुन । तिनले फेरिरहेको गहिरो स्वाँफ्वाँ कति टड्कारै सुनिएको थियो । तलतल आउँदै गर्दा उपत्यकाका चार दिशाका चार भन्ज्याङबाट त्यो लय धीमा हुँदै गएको थियो । अनि चार भन्ज्याङभित्रको काठमान्डु खाल्डोमा फेरि अर्को ध्वनि सुनिएको थियो, पृथ्वी ढुकढुकाएको । भूकम्पको फल्टलाइनका चिराबाट उनले सुनेका थिए, पृथ्वीको ढुकढुकी । त्यसपछि सुनिएको थियो काठमान्डु तल भासिएको ऐतिहासिक लिच्छविकालीन सभ्यता । जो मन्द रूपमा सास फेरिरहेको थियो । कति विचित्र ! मास्तिर एक्काइसौ‌ शताब्दीको काठमान्डु फोनमाथि घोप्टिएको थियो । दाँज्दा दुवै सभ्यता अर्कैअर्कै ग्रहका जस्ता लागेका थिए । लागे पनि नेपालीहरू एउटै ऐतिहासिकतामा उनिएका थिए । एउटै निरन्तरतामा बाँधिएका थिए । त्यसबेला उनलाई जान्न मन लागेको थियो– के नेपालीहरू उनीजस्तै प्राचीनकालदेखि गणतन्त्रकालसम्मको निरन्तरताबोध गर्छन् ? कसरी गर्छन् ? बोध नै गर्छन् कि गर्दैनन् ?

तर, जसै उनी काठमान्डु भीडमा घुलमिलिए, पृथ्वीको पञ्चतात्त्विक यथार्थसित उनको कनेक्सन टुट्यो । त्यसको सट्टा मोबाइलदेखि मोबाइलसम्म तरंगिने रेडियो वेभको फ्रिक्वेन्सीमा उनी जेलिए । कतिसम्म जेलिए भने उनका जरखरिएका दाह्री र कपाल त्यस्मै अल्झेर जिङरिङ्ग भए । त्यसपछि उनले सुन्न थाले त्यही तरङ्गमा बहिरहेका गपडसपड शब्द– ‘ल्याङल्याङ’, ‘लास्टै’, ‘फ्रस्टु क्वाँक’, ‘पप्पु वाङ’, ‘झारे’, ‘चैते’ आदि । एकाएक तरङ्गले अर्कै सिग्नल समात्यो । सुनिन थाले उनका आफ्नै शब्द– ‘बुर्जुवा’, ‘सर्वहारा’, ‘समाजवाद’ । सँगसँगै सुनिँदै गए सोभियतकालीन ‘जनशत्रु’ सित मिल्दाजुल्दा शास्त्रीय लाञ्छनाहरू– ‘वर्गशत्रु’, ‘प्रतिक्रियावादी’, ‘संशोधनवादी’ ‘नोकरशाही’ आदि आदि ।

उफ ! कस्तो हावाहावा सुनिएको । प्रहसन जस्तो । ती शब्दमा गुदी थिएनन् । सार नभएको छोक्रे आकार र उकार जस्ता । छोक्रे हतियारले वर्तमान संकटसित जुध्न सकिँदैनथ्यो । त्यसैले त्यो लुले हतियार एकअर्कालाई प्रहार गर्न प्रयोग भइरहेको थियो । आममान्छेका लागि भने बडो उट्पट्याङ सुनिएको थियो । उनीहरू हाँसिरहेका थिए, उडाइरहेका थिए । ती शब्दहरू अब प्यारोडी बनेका थिए । राजनीतिक सर्कसमा देखाइने प्यारोडी जस्तो । सुन्दा कार्ललाई लाज लागेर आयो । त्यसमा आफ्नो पनि नाम फुत्तफुत्त आइरहने भएकोले बेइज्जत जस्तो भयो ।

तर, यसमा उनलाई भयंकर आश्चर्य चाहिँ भएन । उनलाई पितृलोकमै भनिएको थियो उनको विचारको खाँटी डीएनए कार्लेश्वर मार्क्सहादेवले आफ्नो कब्जामा राखेको छ । त्यसपछि जस्तो मार्क्सवाद बच्यो त्यसको मूल्यमान्यतामा पानी घोलीघोली पन्यालो बनाइँदै छ । त्यही पन्यालो मिलावटलाई खाँटी देखाएर सपनाका बिचौलियाहरूले चुनावी घोषणापत्रमा ठग्दै छन् । अर्थात् नेपालीहरूका स्मृतिमा बाँकी भएको मार्क्सवाद सबैले आफ्नै ताल र तरजमा बजाइरहेका छन् । तर, मार्क्सले कल्पना गरेका थिएनन् परिस्थिति यतिसम्मको प्यारोडीमय होला । उनी एउटा कान थुनेर ती आवाजलाई पछ्याउँदै गए, खोज्दै गए । उनी आइपुगे एउटा पाँच तारे होटल अगाडि । नाम पढे– सोल्टी होटल । अचम्म ! आवाजहरू सोल्टी होटलबाट आइरहेका थिए । सोल्टी होटलको मेघामल्हार हलमा पुस्तक विमोचन भइरहेको रहेछ ।

‘मार्क्सवाद : कहिले दायाँ, कहिले बायाँ त कहिले अघि र पछि गर्दै बढ्छ’ । पुस्तकको शीर्षक रे ! हाँसो उठेर झन्डै खित्का छुटेन । तर, सबैजना गम्भीर मुद्रामा थिए ।

कार्ललाई के थाहा यो शीर्षक लेखकको आफ्नै शीर्षक थिएन । देशका प्रधानमन्त्रीले ‘पारदर्शी साहित्यिक पुरस्कार’ घोषणाको कार्यक्रममा भाषण गर्दाको उद्गार थियो । सिद्धान्तको भोटोलाई यथार्थको आङमा लगाएर हेर्दा सायद उनले पाएको त्यो दिव्य ज्ञान थियो । र, लेख्नेले यही ‘दिव्य ज्ञान’माथि किताब रचिदिएछ ।

त्यहाँ उपस्थित थिए राजनीतिक वादमा दायाँ फर्केका, बायाँ फर्केका बुद्धिजीवी । आमन्त्रित थिए उत्तर ढल्केका, दक्षिण ढल्केका नेताजी । मञ्चमा ६ जनालाई आसनग्रहण गराइएको थियो । आसनग्रहणेहरू अधीर छटपटीमा थिए । किनकि माइकमा तीमध्येका एकजना बोल्दै थिए जससित सायद कोही पनि सहमत थिएनन् । भन्ने हो भने ती ६ नै जना एकअर्कासित असहमत थिए ।

हल भरिएको थियो । यहाँ कार्लेश्वर मार्क्सहादेव पक्कै आएको हुनुपर्छ । कार्लले सोचे । नत्र आवाजहरूद्वारा यहाँसम्म खिचिँदै आइपुग्नुको उद्देश्य अरू के हुन सक्छ ? ढोकानिरको एउटा खाली कुर्सीमा सुटुक्क बस्दै उनले विचार गरे । तर, कसरी खोज्ने होला ? उनले आजसम्म कार्लेश्वर मार्क्सहादेवलाई न देखेका थिए न चिनेका ।

कार्लले आएका हरेकमा आँखा डुलाउन थाले ।

कार्यक्रममा तालतालका मनुक्खे आएका थिए । आएकामध्ये पुस्तक प्रेमी, बौद्धिक र लेखकहरू मुख ठुस्स बनाएर बसेका थिए । अंगरक्षकसहितका पावरदारहरूलाई चाहिँ किन बोलाउनु परेको होला भन्ने असन्तुष्टिमा । तिनै पावरदारका चाकडेहरू पनि आएका थिए, जो तिनलाई हेरेर मुग्ध थिए । बीचबीचमा थिए चुनावमा चन्दा दिने व्यापारी, जो कुटिल मुस्कानमा व्यंग्य छेडिरहेका थिए । ‘च्यानल’ मिलाउने बिचौलिया पनि थिए, जो हाइहाई काढ्दै बसेका थिए । ‘परसेन्टेज’ मा बेइमानी नगर्ने ठेकेदार पनि थिए, जो ताकिरहेका थिए भविष्यमा आफूलाई कामलाग्ने नेतामन्त्री ।

हेर्दै जाँदा कार्लको आँखा मञ्चको पृष्ठभागमा पर्‍यो । त्यहाँ कार्लको पोस्टर र किताबको आवरण चित्र सजाइएको थियो । ताज्जुब ! पोस्टरको कार्ल मार्क्स निधार खुम्च्याउँदै सम्याउँदै उनैलाई हेरिरहेको थियो । अचम्भित हुँदै कार्लले आफ्नो छेउछाउकालाई हेरे । सबै सामान्य भएर सुनिरहेका थिए । पोस्टरले बुझ्यो । उसले टाउको नकारमा हल्लायो । मानौं भनिरहेछ – ‘हैन हैन उनीहरूका लागि म पोस्टरै हुँ ।’ कार्लले आँखा झिमिकझिमिक गरी पोस्टरलाई गढेर हेरे । त्यसपछि पोस्टरले सकारमा टाउको हल्लायो । मानौं भनिरहेछ– ‘हो मलाई तिमीले मात्र हलचल गरेको हेर्न सक्छौ ।’

कार्ल तीनछक्क परे । तर, मार्क्सको पोस्टर भने सामान्य भएर प्रतिक्रिया दिइरहेको थियो । मानौं यतिन्जेल ऊ कार्लकै प्रतीक्षामा थियो । तर, बेलाबेला पोस्टरको मुहार सकस र पीडामा विकृत हुन्थ्यो । यतिसाह्रो पीडा किन भइरहेछ पोस्टरलाई । कार्ल मनैमन खुल्दुलिए । यति सोच्नु के थियो ढोकानिरको भित्तामा टाँसिएको मार्क्सको पोस्टर फ्यात्त तल झर्‍यो । पोस्टरलाई घरि वेटरले टाँसेर जान्थ्यो, घरि म्यानेजरले, घरि किताबको प्रकाशकले । त्यो एकछिन टाँसिन मान्थ्यो । फेरि चारकुनामध्ये एक न एक कुना उप्किरहन्थ्यो । त्यसपछि लुलिएर तुर्लुङ्ग झुन्डिबस्थ्यो । ओइलाएको ज्यान जस्तो ।

ओह ! कार्लले बुझे । पोस्टरको मुहार बेलाबेला विकृत हुनुको कारण । पोस्टर अर्धमृत अवस्थामा निस्सासिएको थियो । यस्तै खोक्रा मञ्चले उसको आत्मा कुटुकुटु खाइरहेको थियो । दिनानुदिन उसको ऊर्जा सक्किँदै थियो । सक्किएर अस्तित्वहीन हुनु अगावै ऊ जीवन्त हुन चाहन्थ्यो । त्यसका लागि ऊ पितृलोकबाट आएका कार्ललाई आफूमा समाहित गर्न चाहन्थ्यो ।

ओहो नो ! कार्लले अर्को कुरो पनि बुझे । पोस्टरले भएभरको ऊर्जा लगाएर उनलाई त्यहाँसम्म तानेर ल्याएको रहेछ । कुरो बुझ्नेबित्तिकै कार्ल बाहिरिन खोजे । कहाँ हुनु ! हलभरिको पोस्टरहरू मिलेर कार्लको ऊर्जा सोस्न थाले । जति उठ्न खोजे पनि कुनै शक्तिले अँठ्याएर कुर्सीमै जकडबन्ध गरिराख्यो । बस्दाबस्दै उनलाई ऐंठन भयो । उनी बेचैन भए । पोस्टरको फन्दाबाट फुत्किन खोजे । उनलाई त्यहाँबाट जसरी नि भाग्नु थियो ।

कार्ल पोस्टरमा अलप हुन चाहँदैनथे । उनी पोस्टरमा समाहित हुन पृथ्वीमा झरेका थिएनन् । उनी एउटै मिसनमा आएका थिए । ‘मार्क्सवाद’ को डीएनए फिर्ता लिएर पितृलोकमा फर्किने । विचारको डीएनए नै नभएपछि त्यो बिस्तारै नेपालीका स्मृतिबाट हराउनेछ । उनीहरूका लागि त्यसको सान्दर्भिकता सक्किनेछ । मार्क्सवादको राजनीतिक दुरुपयोग हुनुको सट्टा बरु असान्दर्भिक भएर जाओस् । उनले कठोर निर्णय गरिसकेका थिए । हो ! उनी त्यति क्रुद्ध भएर आएका थिए ।

आफ्नो पुरै बल लगाएर उनी कुर्सीबाट उठे । सकीनसकी हलबाट बाहिरिए । बाहिर आउँदा अलि हल्का भयो । तर, उनी कमजोरी महसुस गरिरहेका थिए । फेरि लयमा आउन ऐतिहासिक संग्रहालय नगई हुँदैनथ्यो । उनी हतारहतार त्यहाँबाट बाहिर आए ।

सोल्टी होटलको गल्ली उँभोउँभो लाग्दै गर्दा उनी वैदेशिक श्रम विभाग अघिल्तिर रोकिए । विभागको गेटमा उभिएको अधबैंसेले कसैलाई देखाइदिँदै थियो गरिबी निवारणको कार्यालय । उसैलाई सोध्दा हुन्छ भनेर उनी पनि उसको सामु पुगेर संग्रहालयको ठेगान सोधेका थिए । उसले हावामा हात घुमाएर यताउति भनेर देखायो । उनले कहाँबाट मेसो पाउनु । उनी वाल्लिएको देख्दा उसले कार्ललाई कहाँबाट आएको भनेर सोध्यो । यही किन, कहाँ, कसरी, के, सोध्दै जाँदा उनले आफू कार्ल मार्क्स हुँ भन्नुपरेको थियो । त्यसपछि अधबैंसे बिच्किनु बिच्केको थियो । बिच्किएर चड्कन लगाएको कुरो कार्ल अब सोच्न पनि चाहँदैनथे ।

अहिले यो बा.१.घ भेटिएको छ । जो अघिदेखि उकालो हिँडाएको हिँडायै छ । भन्न पनि नसकिने पोस्टरले आधी ऊर्जा सोसेर पहिल्यै थिलथिलो बनाइसक्यो । ‘के भो गुरु ? चुप लाग्नुभयो त निकैबेर,’ बा.१.घ–ले फर्केर भन्यो ।

‘थाक्यो नि । नजिकै हो भनेको हैन ?’

‘अब आइसक्यो गुरु । ऊ अगाडि नै छ ।’

कार्लले अगाडि भनेको ठाउँतिर हेरे । भीडभाड नभएको फुटपाथ मात्र सीधा देखे । दायाँबायाँ हेर्दा सैनिकको छाउनी पनि देखियो । अग्लाअग्ला बलिया पर्खाल, पर्खालमाथि काँडेतार र काँडेतार माथिमाथि सैनिक सेन्ट्री । कार्ल झल्याँस्स भए । बाँचुन्जेल जुनै देश पुगे पनि प्रुसियाली जासुसबाट छेल्दैबच्दै टाउको लुकाउनु परेको दिनहरू सम्झे । लन्डनमा शरणार्थी भएर बस्दा नयाँनयाँ नामहरू फेर्दै डेरा लिनु परेको सम्झे । सम्झिनु के थियो ती दिनहरूमा गुज्रिनुपरेको झसङ्गझसङ्गले फेरि पनि चिसो बनायो ।

उनलाई अघि अँठ्याएको पोस्टरको डरडर लाग्न थाल्यो । पोस्टरले फेरि पनि जालमा पार्ने हो कि । उनलाई शंका लाग्यो । के थाहा ? मलाई पछ्याउन कुकुरलाई पठाइएको पो हो कि ? नाम पनि कोड शब्द झैं सांकेतिक पाराको छ । त्यसैले सतर्क हुँदै उनले केरे, ‘बा.१.घ । प्रेमले बोलाउने सम्बोधनभन्दा पनि बडो रोलकलवाला नाम छ । एकदम ऐजेन्टीय टाइपको । कसले राखिदियो यस्तो नाम ?’

‘को हुनु नि । सहिदगेटे भुसेहरूले ।’

‘भुसे ?’

‘भुस्याहा कुकुर भनेको । भुस्याहा त म पनि हुँ । तर, तपाईं यो शब्द आफ्नो मुखबाट ननिकाल्नु होला, बिन्ती । हामी झोंकमा एकअर्कालाई भुसे भन्छौं । तर, मान्छेहरूले भुसियासुसिया भनेको फिटिक्कै मन पर्दैन ।’

‘किन यो नाम राखे त अरू भुस्...आइ मिन तिम्रा बन्धुहरूले ?’ ‘गुरु कथा लामो छ । र, यसबेला इन्टरभ्यु मेरो हैन तपाईंको हुनुपर्ने हो । म त यही लोकको हुँ । अचम्म यसमा केही छैन । छक्क पर्ने कुरा भनेको तपाईं किन यहाँ पधार्नु भो भन्नेमा छ ।’ बा.१.घ–ले लागेको कुरो भन्यो, ‘साँच्चै भन्नुस् त । तपार्इंका दिव्य पाइला ‘रङ टर्न’ लिएर यता किन आइपुग्यो ?’

कार्ल जरखरिएका दाह्री सम्याउँदै मुसुमुसु हाँसे । सोचे लटरपटर कुरा गरेर कसरी टार्नु यो छट्टेललाई । यत्तिकैमा बा.१.घ रोकियो । कार्लले थाहा पाएनन् । पछाडिबाट ऊ करायो, ‘गुरु यतै हो । संग्रहालय आइसक्यो ।’ कार्लले फर्केर आफ्नो बायाँतिर हेरे । ए साँच्ची ! आइ पो सकेछ । थकानको लामो नि:श्वास छोडे । बेस भो ! उनले उम्किने दाउ पाए । बा.१.घ–लाई जवाफ दिनु परेन । उनले हतरपतर भने, ‘लौ त...बा.१.घ म गएँ । हाम्रो भेट यतिसम्म नै रहेछ । तिमीलाई धेरैधेरै धन्यवाद ।’

‘तर गुरु भन्दै भन्नु भएन । के कति कारणले तपाईं यहाँ आउनुभएको ? कुनै जरुरी काम थियो भने...मेरो सहायता...।’ ‘यहाँसम्म ल्याइदियौ । यसमै म धन्य छु । बाँकी रह्यो तिमीले जान्न खोजेको कुरो । अब यत्ति बुझ...मान्छेहरूलाई ‘म के हुँ’ भनेर थाहा हुन्छ । तर, उसलाई थाहा हुँदैन, ऊ कस्तो हुनेछ भनेर । त्यस्तै म के थिएँ भन्ने मलाई थाहा थियो । समयक्रममा म कस्तो बनाइनेछु भन्ने थाहा थिएन । म त्यही थाहा पाउन आएको । यहाँ म कस्तो बनाइएछु ।’

बा.१.घ–ले के भनोस् । अलमल्ल पर्दै टाउको एकातिर ढल्कायो । योभन्दा बेसी जान्न उसले जिद्दी गरेन । कस्ताकस्ता माधवदासले त कार्ल मार्क्सलाई बुझ्न सकेका छैनन् भने ऊ किन जान्ने हुनुपर्‍यो ।

उसले कार्लको एक फन्को मार्‍यो र उनलाई हेर्दै भन्यो । ‘चरैवेती चरैवेती गुरु । हाम्रो साथ यति नै रहेछ.....।’

(‘कार्लेश्वर मार्क्सहादेव – एक लोककथा’ को पहिलो भाग)

प्रकाशित : चैत्र १०, २०८० १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको मौद्रिक नीति किन रोकिएको होला ?

×