कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२४

केटीहरू कस्ता कुरा गर्छन् ? 

केटीहरूलाई नै सोधौं– तपाईंहरू आपसमा कस्तो वार्तालाप गर्नुहुन्छ ? केटा र केटीका कुराकानीका विषय उस्तै हुन्छन् कि फरक ?

एउटा परिहास 
‘तिमीहरू केटी–मान्छे मात्रै भेट हुँदा आपसमा कस्ता कुरा गर्छौ ?’– केटा ।
‘केटा–मान्छेले जस्तो कुरा गर्छन्, त्यस्तै त हो नि ।’ – केटी ।

केटीहरू कस्ता कुरा गर्छन् ? 

‘केटीहरू त्यस्तो छाडा हुन्छन् ? छ्या !’ – केटा ।

यो त एक सामान्य ठट्टा हो संवादको । तर, धेरैमा खुल्दुली जिउँदै छ– साँच्चै भेट हुँदा आपसमा केटीहरू कस्ता कुरा गर्छन् ? के केटा–मान्छेका कुराकानीका विषय र केटी–मान्छेका कुराकानीका विषय उस्तै हुन्छन् ? कि फरक ?

एक वर्षअघि तीजका बेला नायिका रेखा थापासँग लिइएको अन्तर्वार्तामा उनले भनेकी थिइन्, ‘पुरुषहरू भेट्दा उनीहरूबीच आर्थिक अवस्था कसरी बलियो बनाउने, अबको बिजनेस के र कसरी गर्ने, लोन कसरी तिर्ने, घर कसरी किन्ने जस्ता विषयमा कुरा गर्छन् । तर, केटीहरू आपसमा भेट्दा गहना कहाँ किनेको ? सारी कतिमा किनेको ? तिमीले पोहोरकै लुगा लगाएको ? जस्ता कुरा हुन्छन् ।’ रेखा थप्छिन्, ‘यो चेतनाबाट उठेपछि मात्रै समानताको कुरा हुन्छ ।’ रेखाको तर्कसँग असहमति राख्नुपर्दैन । तर, उनले भनेझैं केटीहरू आपसमा केवल गहना वा सारीकै कुरा गर्छन् ? के उनको यो बुझाइ सबै केटी–मान्छेमा लागू हुन्छ ? आउनुस्, एकछिन केटीहरूलाई नै सोधौं– तपाईंहरू आपसमा कस्तो वार्तालाप गर्नुहुन्छ ? तपाईंहरूका गफगाफका विषय के हुन्छन् ?

के पुरुषहरूले झैं व्यवसाय, आर्थिक समृद्धि, नयाँ–नयाँ प्रविधि, विश्व राजनीतिक परिवेश जस्ता ‘गह्रौं’ विषयमा महिलाहरू कुरा गर्दैनन् ? वा उनीहरू ती विषयमा प्रवेश नै गर्न चाहँदैनन् ? कि ती विषयमा कुरै गर्न सक्दैनन् त ? यी सबैका पछाडि कुनै आधार त अवश्य छ ।

यी प्रश्नका उत्तर खोजी गर्नुअघि मान्छेले कस्ता विषयमा कुराकानी गर्छन् भन्ने खोज्नुपर्छ । त्यसो त कुराकानीको विषय समय, स्थान र मान्छेबीच फरक हुन्छ नै । सामान्यत: मानिसहरू आफ्ना आधारभूत चासो, सरोकार, प्राथमिकता र रुचिका विषयमा कुरा गर्छन् । यी विषय सम्बोधन भएको अवस्थामा चाहिँ अरू नै कुरा गर्लान् । यदि केटा–मान्छे वा केटी–मान्छे दुवैको चासो, सरोकार र रुचिका विषय साझा छन् भने कुराकानीका विषय पनि साझा हुन्छन्, नत्र फरक ।

रुचि त व्यक्तिअनुसार फरक हुनु स्वाभाविक भइहाल्यो । तर, के समयको एउटै कालखण्डमा बाँचेका मान्छेहरूको चासो, सरोकार वा प्राथमिकता समान हुन सक्छ ? स्पष्ट उत्तर हो– हुनै सक्दैन । किनभने व्यक्तिअनुसार चासो, सरोकार र आवश्यकताका निर्धारक फरक हुन्छन् । समाजमा लैंगिक विभेद छ, वर्गीय विभेद छ, जातीय विभेद छ । त्यसैले त कुराकानीका विषय पनि फरक हुन्छन् नि, होइन र ? कुराकानीका विषय लैंगिक हुन्छन्, वर्गीय हुन्छन् । व्यक्तिअनुसार अनुभव र अनुभूति फरक हुन्छन् र त कुराकानीका विषयहरू पनि फरक हुन्छन् । ‘टाइम एन्ड स्पेस’ ले विषय फरक पर्नु स्वाभाविक भइहाल्यो ।

कुनै निश्चित उमेर समूहका केटी–मान्छेका कुराकानीका विषयबारे के लेख्ने ? घोत्लिँदा लागिरह्यो– अंकले नै उमेर समूह नछुट्टिने रहेछ ! विगतमा भेटेका केही अनुहार सम्झिएँ– चालीस वर्षका अल्लारेहरू, सत्र वर्षमै अनुभवको भारीले चाउरिएकाहरू ! तर, यहाँ मैले हालै र पहिल्यै भटेका अनि थुप्रै विषयमा कुरा गरेका १६ देखि २५ वर्ष उमेर–समूहका केटी–मान्छेका कुराकानीका विषयमाथि लेख्नेछु ।

११ कक्षा पढ्ने १७ वर्षकी दीपिका काठमाडौंमै जन्मिइन्, हुर्किइन् । एन्जेलिना, प्राप्ति, आरुसी उनीसँगै पढ्ने र मिल्ने साथी हुन् । उनीहरू सँगै हुँदा प्राय: अनलाइन सपिङ, चाइनिज ड्रामा, म्युजिक, सोसल मिडिया (मुख्यत: इन्स्टा र अलिअलि टिकटक), पहिरन र कलेजको ‘असाइन्मेन्ट’ बारे कुराकानी हुँदोरहेछ । विभिन्न सेलिब्रिटी र सोसल मिडियामा उनीहरूका फलोअरका कुरा हुन्छन् । कहिलेकाहीं भविष्यका कुरा पनि हुन्छन् रे ! तर, त्यस्तो भविष्यका कुरामा अमेरिका र अस्ट्रेलिया मात्रै हुन्छ रे ! कहिले १२ कक्षा सकौं र त्यता गइहालौं लाग्छ रे ! विदेश नै किन ? दीपिका तत्काल भन्छिन्, ‘फ्रिडमका लागि ।’ कस्तो ‘फ्रिडम’ ? ‘मन पराएको मान्छेबारे मैले सबैभन्दा विश्वास गर्ने आफ्नै आमाबुबालाई पनि भन्न सक्दिनँ भने यस्तो ठाउँमा कसरी बस्ने ? मैले लगाएको लुगा, मेरा साथीबारे मलाईभन्दा बढी मेरी आमालाई र मेरी आमालाई भन्दा बढी छिमेकीलाई चासो हुन्छ भने यस्तो सोसाइटीमा के बस्नु ?’ उनको उत्तर ।

‘अनि विदेश गएर के गर्ने त ?’ यसबारे भने साथीहरूबीच छलफल हुँदैन । विदेश गएपछिको करिअरबारे होइन ‘फ्री लाइफ’ बारे आपसमा गफिन्छन् उनीहरू । अनि ‘फ्री लाइफ’ माथिको छलफलमा प्रेम जीवनको काल्पनिक कुरा हुन्छ ।

चाइनिज ड्रामाको नायकजस्तै अग्लो र पातलो प्रेमी अनि उसँगको रोमान्सको गफ हुन्छ । तर, देशभित्रका विषयमा उनीहरूबीच खासै कुरा हुँदैन । उनीहरूको समूहमा कहिलेकाहीं गुल्मीकी सुमिना पनि हुन्छिन् । सुमिनाको भने सरकारी जागिरे हुने लक्ष्य छ रे ! त्यसैले त उनीहरू सुमिनालाई खासै रुचाउँदैनन् । सरकारी जागिरे बाबुकी छोरी दीपिका भन्छिन्, ‘आई हेट गभर्मेन्ट एन्ड गभर्मेन्ट जब !’

गाउँका केटी–मान्छेका कुरा

डोल्पा, मुड्केचुलाकी १७ वर्षे मनिता विश्वकर्माको (नाम परिर्वतन) कुरा–कन्टेन्ट अलि फरक छ । रुकुमको आठबिसकोटबाट जाजरकोट हुँदै डोल्पाको त्रिपुरासुन्दरीतर्फ जाँदै गर्दा बाटोमा भेट भएकी थिइन् मनिता । उनी पनि जाजरकोटबाट डोल्पा जाँदै रहिछन्, जिपमा सँगै पर्‍यौं । जिप ड्राइभरले ‘भरे सँगै बसौंला’ भन्दै मनितासँग भाडा लिएनन् । म अवाक् भएँ, केही बोल्न सकिनँ । खासमा मैले कुरै बुझिनँ । उनले रातो अनुहार बनाएर भुइँतिर हेरिरहिन् । जिपले हामीलाई जाने ठाउँसम्म पुर्‍यायो, ड्राइभरले मनितासँग खासखुस गरी जिप फर्कायो ।

मैले मनितालाई पछ्याएँ, कर गरेपछि मसँगै चिया–खाजा खान उनले स्वीकारिन् । पहिलोपल्ट डोल्पा गएकी थिएँ र मलाई एकजना यात्रा सहयोगी चाहिएको थियो, मैले मनितालाई गुहारें । उनी एकछिन घर गएर आइन्, सायद परिवारबाट स्वीकृति लिएर ।

जिप ड्राइभरसँगको कुरा सोधें, उनी लजाइन् । ड्राइभरसँग मायाप्रीति हो ? उनले स्पष्ट भनिन् ‘होइन’ । खासमा उनी विवाहित रहिछन्, दुई वर्षअघि नै बिहे भएको रे । तर, बिहेको दुई महिनामै कामका लागि इन्डिया गएका उनका श्रीमान् अहिलेसम्म फर्किएका छैनन् । ‘अहिले त ड्राइभर–खलासी सबैकी भएकी छु,’ यो उनकै भनाइ हो । किन त ? ‘पोइ सँगै नभाकी हामी जस्ता गरिब आइमाईलाई कसले छोड्छ र ? हामीले भनेर हुने केइ नाइँ ।’

उनको जस्तै भोगाइ भएका उनका अरू साथी पनि छन् ?

‘धनीमानीको कुरा बेग्लै अरूको उस्तै त हो नि,’ उनले भनिन् ।

६ दिनसम्म डोल्पामा सँगै हिँड्दा मैले उनको प्रेम, रहर आदिबारे कुरा गरेकी थिएँ ।

‘छाती टुसाउन नपाउँदै कसै न कसैले चिमोटिहाल्छ, अनि सुताइहाल्छ । हामी जस्ता आइमाईलाई त लोग्नेमान्छे देख्नेबित्तिकै डर लाग्छ । डर लागे पनि भाग्ने ठाउँ नाइँ ।’ उनले भनेकी थिइन् ।

अनि जीवनको रहर ?

‘पोइ आइदिए हुन्थ्यो, सबैले हेप्न त पाउँथेनन् । खोरमा बाख्रा, गोठमा भैंसी भए हुन्थ्यो, घाँस त जंगलमा छँदै छ । अनि काम गर्‍यो खायो ।’

अनि विदेश जान मन लाग्दैन ?

‘नाइँ, डर लाग्छ । फिलिममा देखेको कति धेरै मान्छे, कति धेरै गाडी, म त हराउँछु होला । त्यै पनि हामी जस्तालाई कसले लान्छ र विदेश ?’

र, यो दुई वर्षअघिको कथा हो ।

समाज वर्गीय छ । व्यक्तिका आवश्यकता, चासो र सरोकार पनि वर्गीय छन् । त्यसैले त कुराकानीका विषय पनि वर्गीय हुने रहेछन् ।

एउटै उमेरका दीपिका र मनिताका कुराकानीका विषय समानान्तर रेखाजस्तै अगाडि बढ्ने रहेछन् कहिल्यै नभेटिने गरी । एउटै उमेर–समूहले नसक्ने रहेछ भेट्टाउन ।

अब अर्को कथा

शीताष्मा १३ वर्षकी छँदा सात कक्षामा पढ्थिन् काठमाडौंको नाम चलेको विद्यालयमा । कुनै दिन कक्षामा प्रजनन प्रणाली र परिवार नियोजनका साधनबारे पढाइ भयो । महिला पुरुषका सम्बन्ध, यौनाङ्गको विकास र परिवार नियोजनका साधनका प्रकारहरू, यसको उपयोगिता, प्रयोगका फाइदा आदिबारे शिक्षिकाले धेरै कुरा खुलेर बताइन् । शीताष्मालाई ‘यो लाज मान्न नहुने विषय रहेछ’ भन्ने लाग्यो । त्यसो त केही वर्षअघि भाइ जन्मिँदा आमासँग उनले केही जिज्ञासा राखेकी थिइन् । तर, आमाले ‘यस्तो लाजमर्दो कुरा कहिल्यै नगर्नू’ भन्दै चेतावनी दिइन् । त्यस दिन उनले आमासँग राखेका जिज्ञासासँग मिल्दाजुल्दा विषय शिक्षिकाले नलजाई बताइन् । उनमा थोरै साहस बढ्यो । साँझमा उनले आमाबुवा दुवै भएको बेला प्रश्न गरिन्, ‘हजुरहरू परिवार नियोजनको कुन अस्थायी साधन प्रयोग गर्नुहुन्छ ?’ उच्च सरकारी पदमा कार्यरत उनका बुवा रिसले आगो भए । उनले छोरीलाई भन्दा आमालाई बढी गाली गरे । पढेलेखेकी आमाले पनि ‘उम्रँदैका तीन पात’ र ‘कसैलाई नआएको बैंस’ भन्दै छोरीलाई एक चड्कन लगाइन् ।

कक्षामा परिवार नियोजनबारे पढाइ भएको एकाध दिनमै स्कुल बसमा केही केटाहरूले रहस्यमयी खासखुस गरे । कुनै केटाले ‘कन्डोम’ लिएर आएछ । केहीबेरमा त्यो उनको हातमा पनि पर्‍यो । सबैजना गलल्ल हाँसे । तिनै दिनहरूमा त हो उनले यौन सम्बन्ध र यौनाङ्गका ‘अश्लील’ भनिने केही शब्दहरू सुनेकी/जानेकी । त्यसबेला उनलाई ‘आफू ठूली भएझैं’ लागेको थियो । पढाइ र करिअरबारे हरेक साँझ–बिहान प्रवचन दिने आमाबुवाले उनलाई यौनबारे केही बताएनन् । अरू विषयको पढाइ त स्कुलमा दिनहुँ हुन्थ्यो, तर यौनबारे कक्षामा थप पढाइ भएन । यौनबारे उनको जिज्ञासा अधुरै रह्यो ।

भविष्यमा बिहेपछि छोरी जन्मे आफूले समयमै जान्न नपाएका सबै विषयबारे छोरीलाई बेलैमा सिकाउने उनको इच्छा छ । १९ वर्षे शीताष्मा अहिले स्नातक पढ्दै छिन् ।

सहरका केटीहरू

भोगाइ र अनुभूतिले कुराकानीका विषय छुट्याउने रहेछ । शीताष्मा र म एउटै टोलमा बस्ने भए पनि कुराकानी हुँदैनथ्यो । पछि सोसल मिडियामा जोडियौं । अहिले उनमा भएका यौन जिज्ञासाबारे उनी र मबीच प्रशस्तै कुराकानी हुन्छ । उनी मसँग यौनिकता, शक्ति सम्बन्ध, सामाजिक मनोविज्ञान, बलात्कार सम्बन्धमा कानुनी प्रावधान आदि विषयमा छलफल गर्न रुचाउँछिन् । उमेरमा फासला ठूलो भए पनि हामी दुवैको चासो र सरोकार सायद समान छ ।

झन्डै पाँच वर्षअघि त हो ‘प्लस टु’ सकेर स्नातक पढ्न दाइकी छोरी काठमाडौं आएकी थिई । उसका केही साथीहरू घरमा आउँथे । त्यतिबेला छोरी र उनका साथीहरूसँग समाज, साहित्य, पढाइका कुरा हुन्थे, आदर्श व्यक्तिका कुरा हुन्थे । त्यतिखेरै हो, पलेंटी शृंखलामा भूषिता वशिष्ठको छन्द कवितावाचन सुन्दै छोरीहरूले वाचन अभ्यास गरेका थिए । तिनै अठार/बीस वर्षका छोरीहरूले विभिन्न पत्रपत्रिकामा छापिएका लेखकका लेख छानीछानी पढेर छलफल गरेका थिए । कस्तो जिज्ञासा थियो ! तिनै छोरीहरूको समूहले हो पारिजात, बीपी कोइराला, मदनमणि दीक्षित, सिमोन द वाउवर, टोनी मरिसन, ड्यारिन स्ट्राअस जस्ता लेखक र योगमाया, साहना प्रधान, शैलजा आचार्य, उमा भुजेल, रोजा लक्जम्वर्ग, जेनी मार्क्स जस्ता व्यक्तित्वबारे जिज्ञासा राखेका थिए । त्यतिबेला उनीहरू दोभान राई, सुमना श्रेष्ठ (वर्तमान शिक्षामन्त्री) जस्ता विदेश पढेर फर्किएकालाई ‘आदर्श व्यक्ति’ सोच्थे ।

तर, के सधैं यस्तो छलफल मात्रै हुन्थ्यो ? होइन । हँसीमजाक र ठट्टा पनि चल्थे । छोरीहरू मेरो प्रेम, बिहे र बिहेपछिका गुलाबी रोमान्सका कथा सुन्न खोज्थे ।

आफ्ना साथीका कुरा काट्थे । रजस्वलापछिको पीडा, भविष्यमा आफूसँग बिहे हुने सम्भावित केटाको रूपरंग र बानीब्यहोराको कुरा पनि गर्थे । समाचारमा आइरहने बलात्कारका कुरा गर्थे । बलात्कारी जन्माउने र बलात्कारीको पक्षपोषण गर्ने समाजप्रति घृणा ओकल्थे । महँगी, समसामयिक राजनीतिबारे छलफल–विमर्श गर्थे ।

विगत केही वर्षदेखि विश्वविद्यालय पढाइरहेकी छु म । त्यसैले युवापुस्तासँग निरन्तर अन्तर्क्रियाको अवसर छ मलाई । सामाजिक समावेशिता विषय पढाउँछु । समाजमा विद्यमान विभेद र असमानता, सीमान्तकृत र बहिष्करण, राजनीतिक आन्दोलन र त्यसले ल्याएका परिवर्तन जस्ता विषयमा छलफल हुन्छ । यस्ता विषयमा युवा पुस्ताको विचार सुन्न पाउँछु, उनीहरूलाई सुनाउन पनि पाउँछु । युवा पुस्ता विदेशिन खुट्टा उचालेर मात्रै बसेका छैनन् । देशमा सकारात्मक परिवर्तनका लागि के गर्न सकिन्छ ? त्यो हुटहुटी पनि छ उनीहरूमा ।

झन्डै एक महिनाअघि हो, म ‘मासिन्या’ नाटक हेर्न विद्यार्थीहरूसँगै पुगेकी थिएँ, थिएटर । नाटकपछिको उनीहरूको प्रतिक्रियाले म चकित भएकी थिएँ । नेपाली राजनीति र आन्दोलनलाई निरपेक्ष आलोचना गर्ने ती युवाहरूले ‘पटक–पटकका राजनीतिक आन्दोलनबाट यो पुस्ताले के पायो ? ती कसरी प्रयोग भए ?’ त्यो बुझेको प्रतिक्रिया दिएका थिए । नयाँ पुस्ताका केटीहरू (विद्यार्थीहरू) सँग निरन्तर अन्तर्क्रिया हुने भएकाले पनि म त्यो पुस्तालाई अलि नजिकबाट चिन्छु । आजका नयाँ पुस्ताका केटीहरूले भोग्ने र मेरो समयका केटी–मान्छेले भोग्ने कतिपय समस्याहरू साझा छन् । त्यतिखेरका हाम्रा चासो–सरोकार र आजका केटीहरूले भोग्ने समस्या एउटै प्रवृत्तिका, तर अझ विस्तार भएको पाउँछु । प्रविधिको तीव्र विकासले उनीहरूको जीवन सहज मात्रै बनाएको छैन, अझै चुनौती थपिएको छ । प्रतिस्पर्धाको क्षेत्र अझ पेचिलो बनेको छ । यस्तै विषयले नयाँ पुस्तालाई अझ परिपक्व बनाएको छ । सहरी र पढेलेखेको समूहमा लैंगिक विभेद कम हुँदै गएको छ । देशभित्रै पनि उच्च ओहोदामा महिलाको उपस्थिति बढ्नुले नयाँ पुस्ताका केटी–मान्छेलाई सपना देख्न र योजना बुन्न सिकाएको छ । त्यसैले त उनीहरूका कुराकानीका विषयहरू अझ खारिएका हुन्छन् ।

एउटा फरक प्रसंग

प्रशस्तै विविधता छ समाजमा । ‘निम्फोमेनिया’ का धेरै लक्षण मिल्ने एउटी बहिनी छे । कुनै पुरुष भेटेको एक हप्तामै ऊसँग सम्बन्धको गहिराइमै पुग्छे, नाइट स्टे गर्छे । तर, त्यसलाई ऊ ‘प्रेम’ भन्न रुचाउँछे । त्यो सम्बन्धसँगै सपिङ, पैसा सापटी सबै सुरु हुन्छ । बहुप्रेमी व्यवस्थापनमा माहिर छे । अपवादबाहेक अधिकांश उसका सम्बन्ध नाइट स्टेबाट सुरु हुन्छ र सापटीको पैसा फिर्ता नगरेरै टुंगिन्छ । प्रेम सम्बन्धमा संकट वा बहुप्रेमी व्यवस्थापनमा जटिलता आएका बेला ऊ मलाई सम्झन्छे । आँसु व्यवस्थापनमा माहिर छे, चाहेका बेला निस्किन्छ, तुरुन्तै रोकिन पनि सक्छ । आफूलाई अप्ठ्यारो पर्दा पितृसत्ता, महिला हिंसा, लैंगिक विभेद जस्ता शब्दहरू प्रयोग गर्छे । अरू बेला भने ‘अदालतले सन्दीपलाई अन्याय गरेको’, ‘समीक्षाले पल शाहलाई पैसाका लागि फसाएको’ जस्ता झुर कुरा गर्छे । उसका कुरा सुन्दा र केही सम्बन्ध नजिकैबाट देख्दा मलाई विश्वास हुन्छ– यो समाजमा पीडक महिला र पीडित पुरुष पनि छन् । संख्या कम होला, अनुपात न्यून होला, तर उत्पीडनको दुष्चक्रमा पुरुष पनि छन् ।

अब आफ्नै कुरा

मेरी एक साथी छे, मलाई असाध्यै माया गर्छे । भेटमा हामी बेलाबेला आँसु झार्दै पनि आफ्ना कुरा सेयर गर्छौं । हामीबीच समाज, राजनीति, पढाइ, करिअर, खाना, गाना, विगत, आगत, विपना, सपना, अभाव, दु:ख–सुखका कुरा हुन्छन् । तनका, मनका, हाँसोका, ठट्टाका, कमाइका, आफन्तका, छोराछोरीका अनि कहिलेकाहीं पराइका पनि कुरा हुन्छन्, पराइका कुरा काट्छौं पनि । प्रेमका, प्रेमिका, जीवनका, श्रीमान्सँगको निजी सम्बन्धका, सम्बन्धमा आउने जटिलताका, लुकाइएका र पछि खुलाइएका, नभनेका अनि भने सम्बन्ध बिग्रिने विषयका, तनाव र तनाव व्यवस्थापनका, श्रीमान्–श्रीमतीबीच बेलाबेला हुने ठुस्काठुस्कीका, ठूलै र साना झगडाका पनि गफ हुन्छन् । खासमा सबै–सबै विषयका कुरा हुन्छन् । यति नजिककी साथी, प्राय: ऊ मलाई मेरो विगत सम्झाउँदै भन्छे, ‘तिमी यस्ती मोटी थियौ यार !’

‘हो त, त्यसैले त आज यस्ती हुन सकें’, म वर्तमानको परिवर्तनमा गर्व गर्दै भन्छु ।

‘होइन यार तिमी यस्ती थियौ’, ऊ गाला सकेसम्म फुलाउँदै मोबाइलमा म मोटी छँदाको फोटो खोज्न थाल्छे । पुँजीवाद हाम्रो नसानसामा छ । हामीमा रूपमा गर्व छ, रूपमा पीडा छ । ऊ म मोटी हुँदाको फोटो हेरेर मुस्कुराउँछे । मलाई भित्र कतै चसक्क दुख्छ ।

यी केही प्रतिनिधि पात्र र प्रसंग हुन् । विद्यमान समाज व्यवस्थामा धेरै केटी–मान्छे पीडित छन् । त्यसैले त केटी–मान्छेका कुराकानीका विषय लैंगिक विभेद, पितृसत्ता, घरेलु तथा यौन हिंसा आदिबारे हुन्छन् । यसबाट बचेको थोरै समय पढाइ, करिअर, फेसन, मनोरञ्जन आदि विषयमा पनि गफिन्छन् केटीहरू । विपरीत लिंगी (कतिपयको हकमा समलिंगी पनि) प्रतिको आकर्षण जति प्राकृतिक र स्वाभाविक हो, यस विषयमा हुने कुराकानी पनि उति नै स्वाभाविक हो ।

र अन्त्यमा, नायिका रेखा थापाले भनेजस्तो आजका महिला सारी र गहनाको घेरोमा मात्रै अल्झिएका छैनन् । सयौं वर्षदेखिको लैंगिक विभेदका कडा बन्धनले प्रभाव नपार्ने होइन, तर यस्ता बन्धनसँग जुध्दै अघि बढेको केटी–मान्छेको नयाँ पुस्ता केटा–मान्छेकै हाराहारीमा छ ।

प्रकाशित : चैत्र ३, २०८० ११:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?