कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३०६

पीपलको त्यो ठूलो रूख 

जीवनमा तीन अभिन्न मित्र हुन्छन्– पहिलो धनसम्पत्ति, जसले बाँचुन्जेल साथ दिन्छन् । दोस्रो घरपरिवार–इष्टमित्र, जसले मृत्युपछि घाटसम्म पुर्‍याउँछन् । तेस्रो सिर्जना हुन्, जसले मृत्युपर्यन्त साथ दिइरहन्छन् । 
गणेश रसिक

केपी जोशी, मैले उहाँलाई पहिलो पटक यही नामले एउटा दाजुका रूपमा चिनेँ । भोजपुर बजारको भोटे पसल उहाँको घर थियो । उहाँकै घरमुन्तिर बग्ने तीनधारामा हरेक बिहान हामी अम्खोरा बोकेर मुख धुन जान्थ्यौँ, घर फर्कंदा एउटा–एउटा भरिएका अम्खोरा हुन्थे हाम्रा हातहातमा । म त्यसताका उहाँकै छिमेकी साथी डम्बर तामाङ दाइको घरमा डेरा गरेर बस्थेँ । छ कक्षाको विद्यार्थी म, डम्बर दाइकै भाइ गणेश र कुशलसँगै स्कुल जान्थेँ ।

पीपलको त्यो ठूलो रूख 

साढे छ दशकअगाडिका यी कुराहरू अहिले सम्झँदा सपनाजस्तै लाग्छ । केपी जोशीदेखि कृष्ण जोशीसम्मको उहाँको जीवनयात्राको सानो अंशको साक्षी म पनि रहन पाएको थिएँ ।

गत साल मंसिरमा म आफ्नो उपचारको क्रममा नयाँ दिल्लीमा थिएँ । एक दिन जोशी दाइको फोन आयो, “भाइ, तपाईं काठमाडौँ कहिले फर्कनुहुन्छ ? फर्केपछि तपाईं, म, श्याम प्रधान र प्रद्युम्न जोशी भाइ कतै टाढा गाडीमा जाऔँला । दिनभरि बसेर फर्कौंला ।”

“दाजु, म पर्सि फर्कंदै छु ।”

“त्यसो भए झन् राम्रो । तपाईंको स्वास्थ्य कस्तो छ ?”

“ठीकै छ दाजु । नेपालमै उपचार गराए पनि हुन्छ भनिएकोले फर्कंदै छु ।”

दुई दिनपछि बिहानै फेसबुक हेर्दै थिएँ, प्रद्युम्नजीको ‘साहित्यकार कृष्ण जोशी रहनुभएन’ भन्ने पोस्ट देखेर म स्तब्ध भएँ ।

म आफ्नो समयमा नेपाल फर्किएँ, र प्रद्युम्नजी र म सरस्वती भाउजू (जोशीपत्नी) लाई भेट्न गयौँ । घट्टेकुलो चोक, बाटोमा पर्ने ‘सीजी इलेभेन बेकरी क्याफे’, जहाँ बेतको कुर्सीमा बसेर जोशी दाइले हामीलाई पर्खिरहनुभएको झझल्को आइरह्यो । त्योभन्दा अगाडि, व्यापार तथा निकासी प्रबन्ध केन्द्रमा प्रद्युम्नजीको जागिर हुन्जेल, हाम्रो जम्ने अड्डा प्रद्युम्नजीकै कार्यालय बबरमहलमा हुन्थ्यो । त्यही क्याफेमा जोशी दाजु, प्रद्युम्नजी, म प्रायः हप्तादिनमा एक पटकजसो भेटघाट र चिया गफ गर्थ्यौं । त्यहाँ बसेर घण्टौँ दुःखसुखको कुरा गरेको सम्झेर मन भारी भएर आयो ।

घरमै हुनुहुँदो रहेछ भाउजू ।

घर पहिलेजस्तै । कुनै परिवर्तन थिएन । साधारण बैठककोठा, भुइँमा चकटीहरू, सोफाका रूपमा प्रयोग गरिने लो बेड, छेउमा एउटा टेबल । टेबलमा फ्रेममा सजिनुभएको थियो जोशी दाइ । तस्बिरमा दाइ, अहिले नै बोल्नुहोला जस्तो । तस्बिरमा उहाँ राष्ट्रिय पोसाकमा हुनुहुन्छ, छातीभरि विभिन्न तक्मा र विभूषण झुन्डिएका छन् । यो बैठक श्री ५ को सरकारमा जागिर सुरु गरेर नेपाल सरकारको पालामा अवकाशप्राप्त उपसचिव स्व. कृष्णप्रसाद जोशीको ।

भर्खरै खाना खाएर पुगेका थियौँ हामी । भाउजूको भने खाजा ख्वाउने जोड । हामीले पर्दैन भनिरह्यौँ तर उहाँले मान्नुभएन । साह्रै जिद्दी गर्नुभयो । उहाँले फलफूल ल्याएर दिनुभयो । तैपनि के दिऊँ, कसो गरूँ भनेर हडबडाउँदै छिनमा बाहिर, छिनमा भान्सातिर, छिनमा बेडरुमतिर गरिरहनुभयो । जोशी दाइले हामी भाइहरूलाई जसरी माया गर्नुहुन्थ्यो, त्यो माया र अपनत्व सर्लक्कै भाउजूमा सरेको पाएँ ।

खाजा खाँदै धेरै कुरा गर्‍यौँ । केही गुनासा थिए सरस्वती भाउजूका, केही हाम्रा पनि । केही इच्छा भाउजूका थिए, जो जोशी दाइलाई भन्न सक्नुभएको थिएन ।

भाउजू भन्दै हुनुहुन्थ्यो, ‘केही वर्षयता कोठामा एक्लै बस्ने, धुमधुम्ती बसेर पिउन मन पराउने । मनको कुरो यसो भनेर कहिल्यै नखोल्ने, साह्रै गोप्य मान्छे, तपाईंहरूको दाजु । तर अहिले लाग्दै छ, उहाँ सधैँ परिवारको, मेरो, छोराबुहारी र नातिनातिनाहरूको चिन्ता लिनुहुने रहेछ । अब त हिँड्न पनि गाह्रो हुन थाल्यो, एउटा गाडी किनौँ, ड्राइभर राखौँ पनि भनेँ मैले, तर उहाँले त्यस्तो सोख कहिल्यै गर्नुभएन । घर थोत्रो भइसक्यो, अलिक मर्मत गरौँ भन्यो, मान्दै नमान्ने । एक पटक उहाँ नहुनुभएको बेला मैले घर रङ्ग्याए, मर्मत गरेँ, आउनासाथ किन वाहियात खर्च गरेको भनेर मसँग रिसाउनुभयो । बिरामी छु भनेर कसैलाई देखाउन नचाहने तर स्वास्थ्य भने त्यति राम्रो थिएन । अस्पताल जाऔँ भन्यो भने डराउने, मान्दै नमान्ने । अचम्मैको स्वभाव । एकपटक हर्नियाको व्यथाले निक्कै च्यापेपछि बाध्य भएर अस्पताल जान मान्नुभयो । डाक्टरले तुरुन्त अपरेसन गर्नुपर्छ भने, उहाँ बल्लबल्ल तयार हुनुभयो ।’ अपरेसनको दिन भाउजू र उहाँका छोराहरूसँगै हामी पनि अस्पताल पुगेका थियौँ । अपरेसन गर्नुअगाडि जोशी दाइले हामीलाई हेर्दै भन्नुभयो, ‘भाइ प्लिज, मलाई अपरेसन सकेर बाहिर नल्याइन्जेल तपाईंहरू घर नजानुहोला है ।’ अनि मायालाग्दो अनुहार पारेर हात हल्लाउँदै भित्र जानुभएको थियो ।

अपरेसन गरेर बाहिर निकाल्दा उहाँलाई राम्रो होस आइसकेको थिएन । तैपनि हामीले बोलायौँ । उहाँले यसो दुई आँखा खोलेर बिस्तारै हात हल्लाउनुभयो । उहाँलाई क्याबिनतिर लगेको केही बेरपछि हामी घर फर्कियौँ । म घर पुग्दा रातको झन्डै एक बजिसकेको थियो ।

भाउजू भन्दै हुनुहुन्थ्यो, ‘बाबु, दाजुको साह्रै ठूलो इच्छा थियो, त्यो चाहिँ पुर्‍याउन नसकेकोमा पछुतो छ । भन्नुहुन्थ्यो— तिमीसँगै भोजपुर जाने साह्रै मन छ, जहाँ म जन्में, हुर्कें, बढें र तिम्रो माइतीघर चैनपुर पनि पुग्ने, जहाँ हाम्रो विवाह भयो, हाम्रा छोराहरू जन्मिए, हुर्किए । जाऔँ भन्दाभन्दै यही घरपरिवारको व्यवहारले समय कटिहालेछ ।

खै के भनूँ बाबु, चित्तै बुझ्दैन । हामीलाई केही नभनी जानुभयो ।’ भाउजूको गला अवरुद्ध भयो । बोल्न गाह्रो भयो । प्रद्युम्नजी र मेरो अवस्था पनि त्यस्तै भइसकेको थियो ।

मलाई सम्झना भइरहेको थियो, जोशी दाइले त्यो क्याफेमा बसेका बेला एक पटक म र प्रद्युम्नजीसामु भन्नुभएको कुरा, ‘मलाई त कहिलेकहिले कसैलाई थाहै नदिईकन भोजपुरको तल बग्ने हाम्रो पिखुवा खोलामा जाने र झ्वाम्म हाम फालेर आत्महत्या गर्ने मन हुन्छ होउ भाइ !’ भाउजूसँग भोजपुर जान चाहनुमा आत्महत्या गर्ने मनसाय त थिएन ? नत्र कसको मायाले भोजपुर जान चाहनुभएको थियो ? आफू जन्मेको घर छैन, दाजुभाइ–नरनाता–जग्गाजमिन पनि केही छैनन्, साथीभाइ छैनन् !

भोजपुरमा जोशी दाइको घरअगाडि फराकिलो ठाउँ थियो । जात्राको समयमा त्यहाँ पाल टाँगेर मैन्टोलको उज्यालोमा ‘वीर कुश’ नाटक कैयौँ दिन देखाएका दृश्यहरू अझै मेरा आँखामा झलझली छन् । त्यहीताका सायद ‘ऊ मरेकी छैन’ नाटक पनि आफ्नै लेखन, निर्देशनमा जोशी दाइले देखाउनुभएको थियो । अभिनेत्रीको भूमिका उहाँले नै खेल्नुभएको थियो । अहिलेको गेस्ट हाउस, पहिलाको धनसारमा पाल टाँगेर बनाइएको हलमा मञ्चन गरिएको थियो त्यो नाटक । प्रेममा असफल भएकी युवतीले आत्महत्या गर्नुअगाडि रुँदै टेबलमा घोप्टो परेर बसेर पत्र लेख्दै गरेको दृश्यले दर्शकहरूलाई बढी भावविह्वल बनाएको थियो ।

जति बेला जोशी दाइहरू स्कुल पढ्नुहुन्थ्यो, उहाँका मिल्ने साथी थिए— डम्बर तामाङ, पदम राई, बलबहादुर सुन्दास र परशु प्रधान । तर बलबहादुर सुन्दास, परशु प्रधान र जोशी दाइ तीन जनाको आत्मीयता बेग्लै थियो । जब उहाँहरू तीन जना बजारमा ओहोरदोहोर गर्नुहुन्थ्यो, तब बजारका केही युवतीका मातापिताहरू सशंकित हुन्थे अरे ! मैले एक दिन बलबहादुर दाइसँग त्यो विगत कोट्याएको थिएँ । उहाँ भन्नुहुन्थ्यो, ‘भाइ, बडो रमाइलो समय थियो त्यो ! परशु र कृष्णले मन पराएका केही मनचरीहरू थिए बजारमा, जसलाई एक झलक देख्दा खुसीका कविता र नदेख्दा भने पीडा र बिछोडका कविता लेख्थे उनीहरू । ती कविताको सिर्जनास्थल थियो माथि सिद्धकाली डाँडा, जहाँ हामी जान्थ्यौं । त्यहीँ दुई भाइ कविता लेख्थे । म भने दुवैको श्रोता ।’

त्यसपछि जोशी दाइसँग मेरो भेट एकैचोटि २०२८ सालमा भोजपुरमै भयो । मेरा पिताजी भर्खरै स्वर्गे हुनुभएकाले म उतै पुगेको थिएँ । जोशी दाइकै घरअगाडिको बाटो भएर जानुपर्थ्यो हाम्रो गाउँ । जोशी दाइ पनि आमाको शोक बार्न घरै आउनुभएको खबर सुनेँ । भेट्न मन लागिहाल्यो । उहाँको घर पुगेँ । उहाँ कोरामा बस्नुभएको रहेछ । धेरै कुरा भए । त्यही सिलसिलामा उहाँले भन्नुभयो, ‘भाइ, तपाईंको ‘धेरै सम्झे धेरै हुन्छ, थोरै सम्झे थोरै हुन्छ’ भन्ने गीत मास्टरपिस हो ।’

मैले पनि थपिहालेँ, ‘दाजु, बच्चुकैलाश दाइले पनि यसै भन्नुभएको थियो ।’

जोशी दाइले गीतहरू पनि धेरै लेख्नुभयो । तीन वटाजति गीत रेकर्ड भएका छन्, सुक्मित गुरुङ र ममता दीपबिमको स्वरमा । सुक्मितले गाएको ‘धेरै नजिक नहुनु है, टाढाको घामले पनि पोल्न सक्छ’ कुनै बेला चर्चित थियो ।

२०४०–४१ सालतिर म सांस्कृतिक संस्थानको महाप्रबन्धक थिएँ । लामो अन्तरालपछि जोशी दाइसँग मेरो भेट सिफलको मेरै घरमा भयो । यो भेट जुराउने संयोग थियो, २००७ सालमा पूर्वी पहाडमा एकतन्त्रीय राणा शासनविरुद्ध भएको क्रान्तिका नायक नारदमुनि थुलुङका नाममा ‘नारदमुनि थुलुङ स्मृति परिषद्’ को गठन । स्वयं नारदमुनि थुलुङले खोल्नुभएको र पढाउनुभएको विद्यालयको विद्यार्थी हुनुहुन्थ्यो जोशी दाइ, त्यस नाताले संस्थाको उपाध्यक्ष बनाइनुभएको थियो । अध्यक्षमा पूर्वसीडीओ प्रेमकुमार वान्तवा, कोषाध्यक्षमा सुधा जोशी र सदस्यहरूमा कमला भट्टराई, ध्रुवदेव राई, बलबहादुर सुन्दास र म । सो संस्थामा दुई पदावधि काम गरेर उहाँले छोड्नुभयो ।

त्यसपछि एकैचोटी २०४५ सालमा जोमसोममा भयो हाम्रो भेट, राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको ‘राष्ट्रव्यापी लोक नृत्य तथा दोहोरी गीत प्रतियोगिता’ मा । त्यति बेला उहाँ मुस्ताङ जिल्लाको स्थानीय विकास अधिकारी, सभापति थिए विष्णु हिराचन । यो प्रतियोगिताको स्थानीय व्यवस्थापनको जिम्मा जिल्ला विकास समितिको थियो । म भने राष्ट्रिय खेलकुद सांस्कृतिक परिषद्को अध्यक्षका हैसियतले पहिलो पटक जोमसोम पुगेको थिएँ ।

जोशी दाइलाई जोमसोममा देख्दा म त पहिले अचम्ममा परेँ । दाजुभाइको भेटमा धेरै लामालामा कुरा भए । मैले कुरैकुरामा भोजपुरका ‘मनचरी’ का प्रसङ्गहरू कोट्याउँदा उहाँले मज्जाले हाँस्दै भन्नुभयो, ‘ककसले तपाईंलाई यस्तो वाहियात कुरा सुनाउँछ होउ भाइ, अचम्म लाग्छ !’

उहाँ त्यो समय नरिसाउनुभएको देख्दा ‘दाल में कुछ काला है’ भन्ने पुष्टिचाहिँ मलाई भएकै हो । तर ती रहस्यमय कुराहरू रहस्यमै रहनु राम्रो देखिन्छ, सुन्दर पनि देखिन्छ । २०४६ सालको जनआन्दोलनपछि पञ्चायतकालीन धेरै जना जागिरबाट निवृत्त भए, उहाँको पनि अवकाश भएको खबर सुनें । फाटफुट्ट कार्यक्रमहरूमा भेट्नेबाहेक त्यस्तो लामो कुराकानी हुन पाएन । तर उहाँ र मलाई जोड्ने पुलको काम भने प्रद्युम्नजीले गर्नुभयो वासु शशी स्मृति परिषद्मा, जसमा जोशी दाइ अध्यक्ष र म सदस्यका रूपमा जोडिन पुग्यौँ ।

मलाई कतै पढेको सम्झना छ— मान्छेका जीवनमा तीन अभिन्न मित्र हुन्छन् । पहिलो मित्र भनेको आफूले कमाएको धनसम्पत्ति हो, जसले बाँचुन्जेल साथ दिन्छ । दोस्रो मित्र भनेका घरपरिवार र इष्टमित्र हुन् जसले मृत्युपछि घाटसम्म पुर्‍याउँछन्, दाहसंस्कार गर्छन् र विभिन्न कर्म पूरा गर्छन् । तेस्रो मित्रले मात्र मृत्युपर्यन्त पनि साथ दिइरहन्छन् र ती भनेका आफ्ना सिर्जना हुन् । जोशी दाइ कथा, कविता, उपन्यास, गीतका गरी आफ्ना दश साहित्यिक कृतिमा बाँचिरहनुहुनेछ ।

जोशी दाइलाई यति छिटो मर्छु भन्ने पटक्कै थिएन । बाहिर रोग नदेखिने हट्टाकट्टा मान्छे, खानपिन पनि कुनै तन्नेरीको भन्दा कम थिएन, तर भित्रभित्रै मक्किसकेको रहेछ ज्यान । ठूलो पीपलको सद्दे रूख, हुरी चलेको थिएन, एक्कासि ढलेसरि गर्ल्याम्म ढल्नुभयो । आफ्नो कुरा भन्न पाउनुभएन । घरमा भाउजूसँग सरसल्लाह पनि हुन पाएनछ । हामीले पनि केही कुरा सोध्नै पाएनौँ । यति चाँडै जानुहोला भनी सोचेका पनि थिएनौँ ।

जोशी दाइ मेरो नाता–सम्बन्धले सानी मुवाकी मितिनीका दाजु, यस नाताले म उहाँको मीत भान्जा, तर मामा–भान्जाको सम्बन्ध कहिल्यै रहेन । सधैँ दाजु–भाइको आत्मीयता रह्यो । अब त उहाँ केवल हाम्रो सम्झनामा रहनुभएको छ, माया र श्रद्धामा रहनुभएको छ ।

प्रकाशित : माघ २०, २०८० १६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार अभियुक्तसँग आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्याललाई अब के गर्नुपर्छ ?