१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३०६

म एक जकडिएको, स्वतन्त्र मान्छे

भाग्यवादले जन्मेका हुन्– पुनर्जन्म, चौरासी जुनी, जन्म–मरण ! मेरो समयमा सारा समाज भाग्यको शरणमा थियो । मान्छेलाई ज्ञान थिएन– आस्था, विश्वास र अन्धविश्वासका सीमाहरू कहाँ जोडिन्छन् र कहाँ छुट्टिन्छन् ?
आमा दीपवती भोजपुरी समाजमा हुर्कनुभएको थियो । उहाँ फर्राटाले भोजपुरी बोल्नुहुन्थ्यो । आमाभन्दा केही कम, तर त्यस्तै भाषिक पालनपोषणमा हुर्कियौं हामी । 

हालै म वीरगन्ज गएको थिएँ । कुमालटोल पुगें भने म त्यो अखडा जरुर हेर्न चाहन्छु । त्यही मेरो प्रथम पाठशाला थियो । केशवप्रसाद आचार्य मेरा प्रथम शिक्षक ! हामी उनलाई ‘गुरु’ भन्थ्यौं । उनी झ्यालखानबाट पढाउन आउँथे । उनका गोडामा पहिले–पहिले पातलो नेल लगाइएको हुन्थ्यो, पछि त्यो काटियो । 

म एक जकडिएको, स्वतन्त्र मान्छे

हामी गुरुको अदब राख्थ्यौं । उनी यति आत्मीय भए कि पछि हाम्रै छेउमा बसोबास गर्न थाले । त्यही घरबाट उनको विवाह भयो । त्यहीँ सन्तान भए । पछिसम्मै उनलाई सारा वीरगन्जले ‘गुरु’ भन्थ्यो । हाम्रा त वास्तविक गुरु नै थिए । हातमा बेत लिएरै पढाउँथे, तर गुरुले बेत मारेको घटना भने छैन वा मलाई याद छैन । तैपनि हामी उनीसँग डर र अदब राखेरै बोल्थ्यौं ।

जेलमा गुरुको सानो भान्सा थियो, एउटै लामो कोठाको एक लङको एकछेउ । अरू कैदीका पनि लहरै आ–आफ्ना चुल्हा थिए, स–साना थुम्काजस्ता । गुरु त्यसैमा भात पकाएर खान्थे । त्यहाँ स–साना बटलोही, कर्छुल हुन्थे माझेर राखिएका । सबै मिनी खेलौनाजस्ता ।

गुरुले कमिला पालेका थिए, जो पूजा गरेको घण्टीको आवाजले आफ्नो बिलबाट लाम लागेर निस्कन्थे र प्रसाद चढाएको मिठ्ठामा झुम्मिन्थे । त्यसै मिठ्ठाबाट अलिकति म पनि पाउँछु भन्ने लोभ थियो मलाई । त्यसैले म लगभग रोजै गुरुले सानो घण्टी बजाउने बेला त्यहाँ पुग्थेँ । कमिला घण्टीपछि, म घण्टीअघि । लगभग कमिलाको र मेरो स्थिति उस्तै थियो ।

कहिलेकाहीं कमिलाहरू मिलेर सानो मिठ्ठाको गोली लुड्काउँदै–लुड्काउँदै बिलभित्र लैजान्थे । घर पुर्‍याएर पछि आरामसँग खान होला । निकै समय लाग्थ्यो तिनलाई, त्यो मिठ्ठाको गोली आफ्नो बिलसम्म पुर्‍याउन । ४–५ अम्मलको दूरी थियो, तर ती मसिना कमिला तैपनि छाड्दैनथे । क्रमशः त्यो मिठ्ठाको केराउजस्तो गोली ससरिँदै जान्थ्यो । अन्त्यमा बिलको मुखछेउ लगेर मिठ्ठालाई बिलमा लुड्काइदिन्थे । त्यसपछि लहरै ती सारा कमिला बिलमा पस्ने होडमा हुन्थे । अनुशासित भएर लाम लागेको मैले पहिलो पटक तिनै कमिलालाई मात्रै देखेँ । हामीले त लाम लाग्ने संस्कार सिक्नै बाँकी थियो । त्यसको उदाहरण थियो, सिनेमा–हलको टिकट काउन्टर ।

म खिड्कीको सानो दुलोबाट हात छिराएर टिकट किन्थेँ । एक वा ज्यादा से ज्यादा दुई हात छिर्न सक्थ्यो । तर, त्यहाँ त जति सक्यो त्यति हात ! औंलो छिर्ने ठाउँ छ भने कुनै बालकको हातै छिराइदिन्थे मान्छेहरू । लाम त हुँदै हुँदैनथ्यो । त दुलोमा जसले सक्यो, उसको हात । बुई चढेर वा कमिज उतारेर, कट्टु मात्रै लगाएर वा अन्य टिकटार्थीको काँध–शिरमाथि लम्पसार परेर, हनुमानजीजस्तै हावामा तैरिँदै–टेक्दै, टिकट–खिड्कीमा हात छिराउँदै, दस–बाह्र टिकट माग्नेहरू पनि देखिन्थे । मनोरञ्जक नजारा हुन्थ्यो त्यो । अन्यको गाली खाँदै टिकट प्राप्त गर्ने त्यो व्यक्ति हाँस्दै उत्रिन्थ्यो । गाली पनि सब ‘बाई’ प्रकारका । बाई स्क्वायर, बाई क्युब, हर प्रकारका ! अरू बेला त्यस्तो गालीमा लड्न, मर्न उद्यत व्यक्ति पनि त्यसबखत टिकट हात लागेको खुसीमा हँसी–खुसी नै ल्यान्ड गर्थ्यो । उसको मुठीमा फिर्ता आएको नोट र टिकट यसरी च्यापिएको हुन्थ्यो, जसलाई डल्लोबाट फुकाएर बल्ल–बल्ल टिकट वा नोटको साइजको ल्याउनुपर्थ्यो ।

जनाना खिड्की अलग हुन्थ्यो । तर, मान्छे नभएर वा अन्य कुनै कारणवश त्यो नखुल्दा ग्रुपमा गएका केटीहरू पनि त्यही नायकलाई टिकटको पैसा थमाएर निश्चिन्त भई पर्खिन्थे । नायक आएर केटीहरूको टिकट र पैसा एक–एकलाई वा एकैलाई हिसाबसहित बुझाइदिन्थ्यो । अनि मुसुक्क हाँस्दै केटीहरूतर्फ हेर्थ्यो । केटीहरू मुखले त केही बोल्ने होइन, बढीमा नजरले एक पटक त्यसलाई हेरिसम्म दिन्थे र नायकलाई कृतार्थ पार्थे । जनाना खिड्की खुलेको बखत उति भीडभाड हुँदैनथ्यो । त्यसमा समानता थियो । अलिकति परिचित केटी छे भने कुनै पनि केटो ‘हाम्रो पनि लिइदेऊ न’ भनेर पैसा थमाउँथ्यो । ती टिकट ल्याइदिन्थे पनि ।

यी सब घटना हुने एक कारण के पनि थियो भने ‘फर्स्ट डे, फर्स्ट शो’ को धारणा हामी सबैमा घरजम गरेरै बसेको थियो । अब त परिस्थिति फरक छ, तर मिल्यो भने सिनेमा हेर्न ‘फर्स्ट डे, फर्स्ट शो’ ले अझै नघचघच्याउने होइन ।

कहिलेकाहीं केटाहरूले पैसा फर्काउँदा केटीहरू खुद्रा नहुँदा के गर्ने ? को प्रश्नवाचक मुद्रामा उभिन्थे । त्यसबखत, केटो ‘पछि हेर्दा मिलाउँला नि’ भनेर उदार हुँदै हिँड्थ्यो । वास्तवमा त त्यस क्षण त्यो झन् बढी कृतार्थ र प्रसन्नता अनुभव गर्थ्यो । त्यसबखत ऊ सिनेमाको मज्जा चौगुना अनुभव हुन्थ्यो ।

गुरुकहाँ र अन्त पनि देखेको कमिलाको अनुशासित लाम हामीमा आउन अझै कत्ति वर्ष बाँकी थियो !

...

गुरुको स्कुलमा पढ्ने कत्ति साथीहरूको नाम त अझै याद छ– चम्पा, रुपिया, सिउवा, मोहम्मद अली, मनी, मनोरमा, जनकलाल, मानिकलाल, आनन्दे आदि । मणि र म त छँदै थियौं । यिनलाई दोलखाबाट आएकाले होला, दोलखे पनि भनिन्थ्यो । एउटा बस्ती नै थियो, दोलखेहरूको । घरहरू लहरै थिए, ती ऐलानी जग्गामा बस्थे । बस्तीको थालनी मणिको घरदेखि थियो, जुन मेरो ढोकाबाट बामे सरेर वा ताँती गरेर पनि जान सकिन्थ्यो । त्यही बेलादेखि म त्यहाँ जान्थेँ । त्यही बेलादेखिको संगत हो, उसको परिवारसित ।

‘फर्स्ट बुक’ बाहेक अरू के–के पढिन्थ्यो, ठ्याक्कै याद भएन अहिले । तर, अरू पनि पढिन्थ्यो । ‘फर्स्ट बुक’ मै ‘राम’ माने भेडा पढ्दा हँसो छुटेको थियो मलाई । ‘राम’ त मान्छेको नाम भनेर बुझेको थिएँ मैले । अब त्यही लङको ‘राम’ भेडाको अर्थमा देख्दा त्यस्तो भएको थियो ।

गुरुकहाँ पनि पाटी–पिल्सिन नै प्रयोग गरिन्थ्यो । हामी किताब भए किताब, नभए पाटी–पिल्सिन नै लिएर जान्थ्यौं । कलमको प्रयोग थिएन सुरुमा । पाटीका अक्षर हातले मिट्काएर अर्को लेख्थ्यौं । मिट्काउन पानीले पनि पुछ्थ्यौं । विद्यार्थीहरू भिजेको पाटी वा सिलोट (जुन काठको एउटा फ्रेमभित्र हुन्थ्यो) लाई हावामा लहराउँदै ‘मेरो पाटी सुकिजा’ भन्थे । हात वा कमीजको फेरले पुछ्थे पनि । थुक लगाउन मनाही थियो विद्यामा । बरु मुखको साससम्म चल्थ्यो । तर, नजर बचाएर थुकले पनि मेट्थेँ म, अरू पनि त्यस्तै गर्थे ।

त्यसअघि वा तिनैताक हो, मेरो परिचय, ‘कल्याण’ सँग भएको, जसमा भएका सारा पौराणिक कथाहरूलाई मैले चाटेको थिएँ । खासगरी तिनका विशेषांक । तिनमा रामायण–महाभारत, शिव पुराणबाट लिइएका कथा हुन्थे । मेरो ‘वर्णमाला’ अवधि सकिइसकेको थियो, गुरुकहाँ जाँदा नै । गएपछि पनि हो कि ? किनभने, गुरु अहिलेजस्तो नभएर बिर्कन्ने ‘क’, कान्दानी ‘का’, बाइमात्रा ‘कि’, दाहिन्ने ‘कु’, तर्कुल्ले ‘कू’, एकलखे ‘के’, दोलखे ‘कै’, लक्कानो ‘को’ (कौ आएन मलाई) शिरबिन्दु ‘कं’, दवा शिरबिन्दु ‘कः’ । वा कपुरी ‘क’, आँखे ‘ख’, गाईगोडे ‘ग’, घरजस्तो ‘घ’, नाकथोप्ली ‘ङ’ आदि पढाउँथे ।

तर, म भन्न सक्दिनँ, गुरुकहीँ कपुरी ‘क’ पढेको हो कि होइन ? मेरो अक्षरारम्भ मलाई याद छैन । केहीअघि नै भएको होला । गुरुकै पाठशालामा ‘फर्स्ट बुक’ थियो । त्यस बेलासम्म म ‘कल्याण’, ‘स्वस्थानी’ सबै पढ्थेँ । अलि पछि ‘गायत्रीमन्त्र’ सँग पनि मेरो परिचय भयो, लुकीलुकी । सबैले भन्थे– वर्तमन नभएकाले पढ्नु हुँदैन, बहुलाउँछ । तर, अहिले त गायत्री मन्त्र छ्यासछ्यास्ती छ । मेरै डोरबेल बजाउँदा पनि गायत्री मन्त्र बज्छ । भूत–प्रेतको भयले मैले हनुमानचालीसा कण्ठ पारेको थिएँ । त्यसमा एउटा श्लोक छ :

भूत–प्रेत निकट नहीं आवे

महावीर जब नाम सुनावे ।

बाँसघारी आउनासाथ यो लाइन म जोडजोडले उच्चारण गर्न थाल्थेँ । त्यस स्थानका लागि यो सटीक लाग्थ्यो । बाँसघारीमा केवल बाँस थिएन, अन्य विभिन्न प्रकारका वृक्ष–लतादि थिए । दुई चीजले लोभ्याउँथ्यो पनि, भोक लाग्दा । भटकोइयाँ (एक सानो गोलभेंडा जस्तो फल्ने, तर कालो दाखजस्तो) मा खटमिठ्ठी स्वाद हुन्थ्यो । त्यो त हातैले टिपेर खान सकिन्थ्यो । अर्को जिलेबी भन्थे, जुन केही पाकेपछि रातो बोक्राको हुन्थ्यो । अलिकति घुम्रेको सिमीजस्तो । त्यति घुम्रेकाले नै त्यसको नाम जिलेबी भयो होला । त्यो टिप्न नजिक भए ठीक, झाङभित्र हुँदा कठिन थियो । त्यसलाई लग्गी लगाएर तोड्नुपर्थ्यो ।

त्यसमा पनि सबैभन्दा अँध्यारो थप्ने झाङ टैरीको हुन्थ्यो । टैरी सिपीको आकारको झुस भएको एक फल थियो, तर त्यो खान हुन्न भन्थे । त्यसको आकर्षण के भने त्यो फल सुकेपछि खैरो रङको हुन्थ्यो, काँचोमा हरियो । सुकेपछि त्यसभित्र गुच्चाजस्ता दुइटा गेडा हुन्थे, स्लेटी र खैरो मिसिएको रङको । त्यसको खोपी खेल्थे मान्छेहरू । त्यो टिप्न पनि कठिन थियो । त्यसले बाँस र अन्य गाछीहरूका साथ गल्लीलाई ‘डरावना’ बनाउँथ्यो, वास्तवमा बाँसघारीलाई । अन्धकार र डरलाग्दो बनाउने काम त्यसैले गर्थ्यो । त्यहीँ म सबैभन्दा बढी डराउँथे ।

...

‘त्रिजुद्ध हाई इङ्लिस स्कुल’ त बनिसकेको थियो । तर, त्यसबखत हामीकहाँ एक शिक्षककै स्कुल पनि धेरै थिए । त्यस्तो स्कुलमा एउटै शिक्षक हुन्थे, जसले सबै विषय पढाउँथे । एलकेजीदेखि ५ क्लाससम्म होला । ती प्राइमरी स्कुल थिए । स्थानीय प्रकारका स्कुल प्रायः मोहल्लामा सीमित हुन्थे, तैपनि कुनै–कुनै त्यस्ता स्कुलको नाम निकै चलेको हुन्थ्यो । तिनमा श्यामलाल स्कुल प्रसिद्ध थियो । यस्ता स्कुलमा मोहल्लाबाहिरका विद्यार्थी पनि आउँथे वा एउटा स्कुलमा फेल भएर, क्लास चढेर पढ्नेहरू पनि आउँथे । मैले धेरै स्कुल चहारिनँ । गुरु दशरथ मास्टर अनि सोझै त्रिजुद्ध !

कुर्मी मास्टरको स्कुल पनि राम्रो मानिन्थ्यो । तर, बढी नाम श्यामलालकै थियो । तिनलाई देखेको थिएँ– वृद्ध, फुलेको मुठे जुँगा र रोबिलो व्यक्तित्व ।

त्यस्तो स्कुलको चलन वीरगन्जमा अब भएजस्तो लागेन । त्यस्तो स्कुल प्राचीन गुरुकुल परम्पराको अवशेष थियो भने अहिले त्यसको पनि अवशेष प्राइभेट ट्युसनका रूपमा देख्न सकिन्छ । हामीले पढ्ने ट्युसनमा एक शिक्षकले सारा विषय हेर्थे । आजझैं स्पेसल शिक्षकको थालनी पनि भइसकेको थियो । शास्त्रीजी नेपाली र पण्डितजी संस्कृत पढाउँथे, अच्युतजी अंग्रेजी, मिश्राजी म्याथ । तर, यी पनि अरू विषय वर्जित गर्दैनथे, माने कम पढाए पनि सबै विषयको पाठ दिने–लिने गर्थे । मैले यीमध्ये आधा दर्जन मास्टरसँग ट्युसन पढेको छु । हामी ट्युसनियाको पढ्नेभन्दा बढी उद्देश्य हुन्थ्यो– कसले पास गराइदिन्छ ? गुरुको स्कुलदेखि थालिएको मेरो अध्ययन एकैचोटि पुनाको डेक्कन कलेजमा गएर टुंगिएको थियो, विद्यावारिधिपछि ।

स्कुलका साथीहरू अब उस्तो भेटिँदैनन्, सम्झनामा बाहेक । यदाकदा भेटिन्छन् पनि । एक पटक चम्पालाई उसकै घरमा, उसको पतिसहित भेटेको थिएँ । उनीहरू पनि कुम्हालटोलमै बसेकाले । मनी, मनोरमासँग पनि भेट भएन । आनन्दे, रामकृष्ण, जनकलाल, मानिकलालसँग पनि भेट भइरहन्थ्यो कुम्हालटोलमा, एकदम छिमेकी हुनाले ।

...

चम्पा, रुपिया, मनी, मनोरमा र सिउवा– यी सारा केटी गुरुको स्कुलमा पढ्थे । रुपियाको नाम रुपा होला, सबै रुपिया नै भन्थे । चम्पाकी बहिनी थिई भन्ने लाग्छ– रुपिया । मनी मणि होली, सबैले मनी भन्थे । त्यो मनोरमाकी बहिनी थिई । चम्पा–रुपिया बरई थिए । तिनीहरूसँग म भोजपुरी नै बोल्थेँ, स्कुलदेखि नै । सिउवाले पनि केही पद धारण गरेकी थिई । ऊ भने नेपाली नै बोल्थी । उनीहरू सबै कुमाल टोलमै बस्थे । मनोरमा र मनी वीरगन्जको पोस्टमास्टरका बहिनी थिए । मनोरमा दिदी थिई र लगभग किशोरीबाट युवती हुने तरखर गर्दै थिई । अलिक कम उचाइ हुनाले मलाई उस्तै लाग्थे ती ।

मनी सानी थिई, दुब्ली पातली गोरी, तर बोल्नमा तेज तर्रार ! बेलाबेला हामीसित झगडै पनि गर्थी । चम्पा र रुपियाको मातृभाषा भोजपुरी थियो । मेरो मातृभाषा नभए पनि, हाम्री आमा दीपवती पूरै भोजपुरी समाज र वातावरणमा जन्मनु–हुर्कनुभएको थियो । जाहिर छ– उहाँ भोजपुरी फर्राटाले बोल्नुहुन्थ्यो । नेपालीभन्दा उहाँलाई भोजपुरी बोल्न सहज हुन्थ्यो । भोजपुरी उहाँको दोस्रो भाषा हो, भन्न गाह्रो हुन्थ्यो । त्यस्तोमा एकपटक ध.च. ले भोजपुरीलाई ‘मातृभाषा’ भनेर भाषण गर्नुभयो, त्यो स्वाभाविक रूपमा आएको थियो । पछि मात्रै मनमा आयो होला, भोजपुरी त हाम्रो दोस्रो भाषा पो ! आमाभन्दा केही कम तर हामी लगभग त्यस्तै भाषिक वातावरण, पालनपोषणमा हुर्कंदै थियौं ।

एक बेला यस्तो थियो, हामी दैनिक तीन भाषा अनिवार्य बोल्थ्यौं । घरमा नेपाली, टोल गाउँमा भोजपुरी/नेपाली, स्कुलमा पूरै हिन्दी ! हाम्रो क्लासमा पढ्ने/पढाउने/जनाउने, लेख्ने सबै हिन्दी । सुरुदेखि आईएसम्म मेरो परीक्षाको माध्यम हिन्दी नै थियो । यसरी यी तीनै भाषा हाम्रा नजिक भए र अझै छन् । अंग्रेजी उबेला पनि करको भाषा थियो, आज पनि छ । सामान्य जानिन्छ/लेखिन्छ/पढिन्छ, त्यति हो ।

गुरुले मलाई बिर्कन्ने ‘क’, कान्दानी ‘का’, बाइमात्रा ‘कि’ आदि सिकाएका थिए, यसरी नै मुजबानी पनि । तर, पछिका स्कुलमा यस्तो थिएन । अब त ‘यसरी पनि पढिन्थ्यो/पढाइन्थ्यो’ भनेर कसैलाई ज्ञात होला कि नहोला ?

यी सबैको अर्थ हो– समाजमा अलिकति फ्युजन, परिवर्तनको सुरुवात हुन थालेको थियो । यथार्थ, यो जुनसुकै कालमा पनि हुन्छ । समाजमा परिवर्तन र विकास यसैगरी आउँछ । डार्विनको ‘इभोल्युसन’ अथवा ‘ओरिजिन अफ स्पेसिज’ न मैले पढेको थिएँ, न मेरो समाजले नै । तर, ‘पढाइ भनेको राम्रो हो’ भन्ने परिवर्तन समाजमा हामीले नपढेरै हुँदै जान्छ । त्यसबखत भाषिक र अन्य ‘फ्युजन’ हाम्रो समाजमा भइरहेको अहिले म अनुभव गर्छु ।

एकातिर चरम अन्धविश्वास, अर्कातिर नजानिँदो गरी त्यसलाई फाँड्ने/भत्काउने छोटोमोटो प्रवृत्ति । तर, त्यसबखत विश्वास र आस्थामाथि पनि अन्धविश्वास हावी थियो । भोरको लक्षण पनि होइन त्यो, शुक्रताराको अँजोत एकदम मिहिन रूपमा आउन थालेको आभास हुन थालेको थियो । ‘भोर–भिन्सार’ त अहिले कता हो कता ? पढाइले पछि केही फरक बाटो लियो । ठूलो वर्णमालाका साथ, ‘मनोहर पोथी’ पनि पढ्ने भयौं । कपुरी ‘क’, आँखे ‘ख’, गाईगोडे ‘ग’, घरजस्तो ‘घ’, नाकथोप्ली ‘ङ’ आदि–आदि र ‘ख’ माने खराहा आदि पनि पढिन्थ्यो ।

हामी नेपालीमा कुरा गर्थ्यौं, तर यसमा भोजपुरी–हिन्दी भरमार मिसिएका हुन्थे । भोजपुरी, हिन्दीका मुहावराहरू मुखबाट फुहाराजस्तो निक्लिन्थ्यो । ती सबको प्रभाव आज पनि मेरो बोली, व्यवहार र लेखनमा समेत केही न केही देखिन्छ भने त्यो स्वाभाविक छ ।

स्कुलका सबै केटीहरूको हार्मोनिक परिवर्तन त्यस्तरी नभइसकेको र उमेर निकटताका कारण ग्रन्थिहरूसँग सरोकार राख्ने समय पनि भएको थिएन । कोहीकोही उमेरमा ठूला पनि हुन्थे, सम्पन्न पनि । चम्पा सम्भवतः सबैभन्दा राम्री थिई । उसको र रुपियाको घर बरई टोलमा थियो । चम्पा एक–दुई पटक, पछि पनि भेट भई, बिहेपछि । संयोगले उसको घर पनि अलि पर त्यतै पर्थ्यो । भलादमी थिई । राम्री उस्तै, लजालु अलि बढी देखिई त्यसबखत । भोजपुरीमै बोल्यौं । तर, लवज अलि आदरार्थी थियो । अहिले वीरगन्ज कम जान्छु र हो कि, यिनीहरूसित भेट भएको छैन ।

गुरुको स्कुलमा हरेक बिहीबार ‘बिफैया’ भनेर दाल–चामल लैजान्थ्यौं दक्षिणास्वरूप । मौका परे ‘अपना हाथ जगन्नाथ’ गरी बढी लैजान्थ्यौं अनि ढक्कीमा हालेर गुरुलाई दिन्थ्यौं, गुरु प्रसन्न हुन् भनी । रमाइलो के भने त्यस दिन प्रार्थनापछि स्कुल छुट्टी हुन्थ्यो । त्यो दिन अन्यभन्दा फरक हुन्थ्यो, बिहानै स्कुल लाग्थ्यो । त्यसपछि छुट्टी याने दिनभर मौज–मस्ती, धमाचौकडी । शनिबार त छुट्टी छँदै थियो । पछि दशरथ मास्टरको स्कुलमा पनि ‘बिफैया’ लगेँ । हाईस्कुल गएपछि यो सबै बन्द भयो ।

सरस्वती–पूजा पनि गरिन्थ्यो, तर त्यहाँ मूर्ति नभएर कतैबाट ल्याएको सरस्वतीको फोटोलाई धूपदीप गरिन्थ्यो । गुरु र गोपाल दाइको मित्रता थियो । हाम्रो सरल अखडालाई अघिल्लो दिन बेलुकीदेखि नै बजाफ्ता ध्वजापताकाले सजाइन्थ्यो । घरको चारैतिर पताकाहरू बेरिन्थ्यो । गोपालचन्द्र केही मन्त्र बुदबुदाउँदै, चारैतिर घुमेर अछेता छर्थे, अखडालाई मन्त्रले बाँधेको रे ! रातभरि सुरक्षित होस् भनेर । के मन्त्र, थाहा भएन । त्यो मन्त्र पनि थियो कि थिएन, त्यो पनि कहिल्यै थाहा भएन । तर, अखडा सुरक्षित त सिपाहीको पहराले त्यसै पनि रहन्थ्यो नै । भूतप्रेतबाट सुरक्षा होला त्यसो भए । मलाई भने त्यो मनोरञ्जक, तर भँवाटी नै लाग्थ्यो । सिपाही त्यस रात एकदम एहतिपातले पहरा दिन्थ्यो । या त बाहिरै बस्थ्यो या अखडाको कुनै कुनामा लुकेर बस्थ्यो । तर, पूजा र पर्सादीसम्म त हुन्थ्यो, भोज हुँदैन थियो । पैसा भने चढाइन्थ्यो ।

...

यही समय थियो म अन्धविश्वास, विश्वास र आस्थाहरूका बीच हुर्कन थालेँ । एक विचित्रको बन्चक, कन्फ्युजन अनि त्यसैबीच तर्क र कल्पना । यस्तो घोल, जुन कहिले सोल्युबल, कहिले इनसोल्युबल भएर तयार हुन्थ्यो मभित्र ।

एक दिन बा बाहिर निस्कँदा मैले छिंकिदिएँ । बाले गाली गर्नुभयो— ‘हिँड्ने बेलामा छिंक्छस् ?’ केहीबेर पर्खेर मात्रै फेरि निस्कनुभयो । बा यस्ता कुरालाई मान्नुहुन्थ्यो । प्रायः सबै मान्थे । सम्भव भए, छिंकले आउन बेर गर्‍यो भने दौडेर पर गएर छिंक्थेँ, बाले नसुन्ने गरी । यसको एउटा उपायचाहिँ थियो । फेरि दोस्रो अर्थात् जोड छिंक लगातार आयो भने हिँड्न हुन्छ रे ! हामी कहिलेकाहीँ त बा हिँड्ने बेला छ भने हातमा एउटा सुतरी राख्थ्यौं र छिंक आएपछि तुरुन्त सुतरी नाकमा घुसेडेर जोडा छिंक निकाल्ने कोसिसमा हुन्थ्यौं ।

यो प्रयासमा कहिले सफल हुन्थ्यौं, कहिले असफल । असफल हुँदा बाको गाली खाइन्थ्यो । यस्ता जोङटोङको मात्रा यति प्रबल थियो कि हाम्रो सारा नगर त्यसकै कुहिरोले टम्म भएर सधैं बस्थ्यो । तीन जना सँगै यात्रा गर्नु हुँदैन भन्थे । यस्तो भनिन्थ्यो– तीन टिकट महाविकट । त हामी प्रायः सिनेमा हेर्न जाँदा दुई जना जान्थ्यौं । तीन जना भए चौथो साथी खोजेरै छाड्थ्यौं । त्यसको अर्को एउटा व्यावहारिक कारण पनि थियो । चार जना भयो भए फुल एक्का हुन्थ्यो, हाम्रो एकलौटी । नत्र एउटा अर्को सवारीको खोजमा हाँक्नेले हामीलाई भट्काइरहन्थ्यो ।

‘तीन तिगाडा काम बिगाडा’ भन्ने भनाइ पनि प्रबल थियो । ‘तीन जना यात्रा नगर्नु’ भन्दा अझ प्रबल थियो, ‘तीन बास’ । त्यो त वर्जित नै थियो । आजसम्म पनि त्यसको अवशेष देख्न पाइन्छ । दिक्शूल झन् कडा मानिन्थ्यो । शनिबार प्रायः यात्रा गरिन्नथ्यो । भनिथ्यो– ‘सोम, शनिचर पुरव नचालु/रवि, शुक्र पश्चिम दिशि कालु, मंगल, बुध उत्तर अहितालु/वीफे दक्षिण करे पयाना/फिर नही समझो ताको आना । ’ यिनमा मलाई सबैभन्दा डर, बिहीबार दक्षिणतिर यात्रा गर्न हुन्थ्यो । किनभने मान्छेहरू भन्थे– यसले त सोझै मृत्युको हिसाबकिताब गर्छ । कुनै दिन कसैले भन्यो, ‘होइन मर्ने नै भन्ने पनि होइन, नफर्किने भनेको हो ।’ जे होस्, म बिहीबार दक्षिण यात्राबाट कतराउँथेँ । पछि मेरो यात्रा काठमाडौं–वीरगन्ज, बिहीबारै पर्थ्यो, त्यो पनि दक्षिणतिरै । अर्को ‘नौ दिनमा फर्किनु हुँदैन’ भन्ने थियो । ९ को संख्या यसमा अन्त चलेको १३ दिनको संख्याजस्तै थियो फर्किन । ९ दिन मात्र होइन, ९ महिना, ९ वर्ष पनि वर्जित थियो ।

भाग्यवादले यी सब जन्मेका हुन् । जन्म–मरण, पुनर्जन्म, चौरासी जुनी, सब भाग्य र आत्माका खेल हुन् । सबै समस्याको हल पनि भाग्यमै खोजिन्थ्यो । अचम्म के भने मान्छे भाग्यबाट हल पनि पाउँथे । अथवा पाएँ भन्ने मान्थे । झारफुक, भगता खेल्ने, जादु–टोना–टोटका, जोङटोङ, झारफुक, जान्ने, धामी–झाँक्री, भूत–प्रेत, चुरइन, डाइन, सबको सार भाग्य, आत्मा–जन्म–मरण, पुनर्जन्म, अवतारवाद आदिमा खोजिन्थ्यो । यसको जड यति जब्बड थियो कि सारा समाज यसैको शरणमा थियो । यो यति प्लास्टर्ड थियो कि उम्कने बाटै थिएन, अहिले पनि छैन । यसले एउटा दुविधा पनि दिएको छ ।

हामीलाई यो ज्ञान पाउन अत्यन्त दुष्कर छ कि आस्था, विश्वास र अन्धविश्वासका सीमाहरू कहाँकहाँ जोडिन्छन्, कहाँकहाँ छुट्टिन्छन् ? कहाँदेखि एउटा थालिन्छ, कहाँदेखि अर्को ? यो जान्नु लगभग असम्भव छ, अहिले पनि । पहिले त झन् । पहिले त कसैलाई प्रश्न गर्ने आवश्यकता पनि थिएन । लोक–व्यवहार, आध्यात्मिक आचार आदि शब्दहरू छताछुल्ल थिए र अझै छन् । यी कुरामा अनुसन्धान हुँदैन, लीकमा हिँड्नु मात्र साध्य हुन्थ्यो । त्यही व्यक्ति पूर्ण मानिन्थ्यो, जो बढीमा बढी आचार–विचार, धर्म र भाग्य–फलमाथि विश्वास गर्दै आचरण गर्थ्यो ।

त्यो समाज एक यस्तो जालो थियो, जसमा मेरो सारा बाल्यकाल पूर्णतः अल्झेको, हुर्केको थियो । एक थिएँ– एक जकडिएको, स्वतन्त्र व्यक्ति । थिएँ त्यही समाजको सामूहिक अवचेतन ।

प्रकाशित : पुस ७, २०८० ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?