१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०७

‘नेतृत्वपंक्तिमा कलाबोध र कलाप्रेमको खडेरी छ’ 

कलाकार चन्द्रमान मास्केका कलाहरू यति धेरै छन् कि मलाई अभिलेखीकरण गरेर राख्नसमेत धौधौ परिरहेको छ । ‘हात धुने दिवस’ समेत मनाइने यस मुलुकमा सिङ्गो नेपाल चिनाउने एउटा बलियो विधा कलाचाहिँ बेवास्तामा परेको छ । -प्राध्यापक सन्तोषमान मास्के
गुरुङ सुशान्त

साढे दुई दशक विश्वविद्यालयमा गणितशास्त्र पढाएका र आधा दर्जन प्राज्ञिक पुस्तक लेखेका सन्तोषमान मास्केले कला–इतिहाससम्बन्धी  किताब लेखेका छन्– ‘मास्केवंश’,  पुस्तककै सेरोफेरोमा प्राध्यापक मास्केसँग गुरुङ सुशान्तले गरेको कुराकानी :

‘नेतृत्वपंक्तिमा कलाबोध र कलाप्रेमको खडेरी छ’ 

लामो समय मैले विश्वविद्यालयमा गणित अध्यापन गरेँ, अनुसन्धान गरेँ र गराएँ पनि । तर, मेरो बुबा चन्द्रमान सिंह मास्के प्रसिद्ध कलाकार भएका कारण मलाई कलाप्रति चासो हुनु स्वाभाविक नै थियो । पारिवारिक स्तरमै कलाकारहरूको आउजाउ भइरहने र बुबाको असाध्यै निकट रहने अवसर पाएका कारण म नेपाली चित्रकलाका साथै अरू कलाबारे पनि धेरथोर जिज्ञासु रहेँ । घरमा स्वदेशी तथा विदेशी कलाकारहरू आउँदा बुबा भन्ने गर्नुहुन्थ्यो, ‘आज तिमी बाहिर नजाऊ है, पाहुनाहरू आउँदै छन् ।’

ती कलाप्रेमी पाहुना र बुबाको सान्निध्यबाट मलाई के अनुभूति भयो भने कला क्षेत्र निकै महत्त्वपूर्ण र गम्भीर रहेछ । यद्यपि, कला र कलाको गाम्भीर्यबारे बोध भए पनि म कलामा लागिनँ । चित्रकला, मास्केवंश र कुलायनी परम्पराबारे भने म रुचिपूर्वक अध्ययन गरिरहन्थेँ । तर, किताबै लेख्छु भन्ने अठोट पालेको थिइनँ ।

केही वर्षअघि मेरा मित्र प्राध्यापक रामकुमार पाण्डे र संस्कृतिविद् सत्यमोहन जोशीले मेरा बुबा चन्द्रमान मास्केका बारेमा मैले केही न केही लेख्नुपर्‍यो भन्ने आग्रह गर्नुभएको थियो । उहाँहरूको प्रस्ताव मनासिब लागेपछि सन्दर्भसामग्री जुटाउने क्रममा मलाई लाग्यो कि बुबाको जीवनीभन्दा अघि ‘मास्केवंश’ लेख्नु उपयुक्त होला । आफूले अध्यापन गर्ने विषयमा केही किताब लेखिसकेको मलाई यो किताब लेख्न भने १० वर्ष लाग्यो ।

हामी आफ्नो नामसँगै वंश, कुल या खलक जोडेर परिचय त दिन्छौँ । तर, दुःखको कुरा– आफ्नो वंशको इतिहास केही बताउन सक्दैनौँ । आफू उभिएको जमिन र समयको महत्त्व बुझ्न पनि आफ्नो इतिहास जान्नु जरुरी छ । यही किताब लेख्ने सन्दर्भमा मास्केवंश, हाम्रो कुलायनी परम्परा र चन्द्रमान मास्केका कलाकारिताबारे थप अध्ययन गर्ने मौका पाएँ ।

यही अध्ययनकै कारण मैले यस किताबमा दक्षिण एसियाली सभ्यता, नेवार सभ्यता, मास्केवंश, मध्यकालिक मास्केवंश, कुलायनी परम्परा, मास्केहरूको धार्मिक आस्था र कीर्तिदेखि शाहकालिक मास्के भारदारबारे लेख्ने मेसो मिल्यो । बजारमा मारामार बिक्री होला भनेर मैले यो किताब लेखेको होइन, मैले आफ्नो कर्तव्यबोध गरेर प्रकाशित गरेको हुँ । लाग्छ, अहिलेभन्दा ५० वर्षपछि यस पुस्तकको महत्त्व अझ बढेर जानेछ ।

विसं १९९२ मा सजीव अध्ययनबाट चन्द्रमान सिंह मास्केले बनाएको राजा त्रिभुवनको चित्र ।

इतिहासले भन्छ, विसं १३८१ मा दिल्लीका सुल्तान गयासुद्दीन तुगलकको आक्रमणबाट सिम्रोनगढ ध्वस्त भएपछि राजा हरसिंहदेव १३८२ मा नेपालतिर लागे । सपरिवार हिँडेका राजासँग त्रिभुवनसिंह नामका एक भारदार पनि नेपाल आएका थिए । हामी उनै भारदारका सन्तान रहेछौँ ।

त्यसपछिका ३/४ सय वर्षको हाम्रो इतिहास अझै पनि खोजीको विषय रहेको छ । मास्केवंशले नेपाली समाजको कला–संस्कृतिमा ठूलो योगदान पुर्‍याएका कारण त्यस योगदानको कदर गर्न पनि इतिहासलाई लिपिबद्ध गर्नु आफ्नो कर्तव्य सम्झेर यो किताब लेखेको हुँ । मैले सभ्यताको संक्षिप्त इतिहासबाट यस किताबको उठान गरेको छु । अरूभन्दा नेवाः सभ्यता अहिलेसम्म कमबेसी जोगिएर आएको देखिन्छ । तर, हाम्रो सभ्यता जोगाउने संस्कृतिभित्रको कुलायनी परम्परा र वंशको इतिहासलाई राम्ररी अभिलिखित गर्न सकिएन भने भोलि निकै अबेर

हुन सक्छ । दुःखलाग्दो कुरा के भने हामी संस्कृतिमा निकै धनी भएर पनि आफ्नो संस्कृतिको अध्ययनमा विदेशी इतिहासकार र संस्कृतिकर्मीको दाँजोमा साह्रै कमजोर छौँ । आफैँलाई प्रश्न गरौँ– सगर्व नेपाल मण्डलको कुरा गरे पनि यहाँको संस्कृति संरक्षणमा हामी सबै गम्भीर छौँ त ? भक्तपुरको सन्दर्भमा ‘जर्मन प्रोजेक्ट’ को समीक्षा गर्नुपर्ने होला ।

सांस्कृतिक–धार्मिक दृष्टिकोणले हेर्दा नेवार समुदायभित्र फरक–फरक स्वरूप र शैली भए पनि एकअर्कामा मिलेर बसेका छन् । नेपाल मण्डलको विहारमा प्रवेश गर्दा प्यागोडा शैलीका मन्दिर भेटिन्छ भने प्यागोडा शैलीका भवनसँगै चैतेहरू ठडिएका हुन्छन् । यस्ता दृश्यले प्रमाणित गर्छन् कि नेवाः समुदायमा बौद्धमार्गी र शैवमार्गीहरूबीच अन्योन्याश्रित सम्बन्ध छ । विहार होस् या मन्दिर, यहाँ नेवार समुदायभित्र परम्परागत गुठीद्वारा सञ्चालन गरिएको हुन्छ । कुलायनी परम्परामा अन्तर्निहित सामूहिक भावनाले गर्दा पनि अहिलेसम्म नेवा सभ्यता धानिरहेको होला । कुलायनी परम्परालाई जोगाउने गुठीबाट हामीले संस्कृति संरक्षणबारे धेरै पाठ सिक्नुपर्ने हो । तर, पछिल्लो समय आधुनिकीकरणका कारण कतिपय मौलिक संस्कृतिहरू जोगाउन मुस्किल परिरहेको देखिन्छ । सबैभन्दा खुसीको पाटो यो छ कि नयाँ पुस्ताका युवाले हाम्रा बाजाहरू बजाउन अग्रसरता देखाइरहेका छन् ।

इतिहासदेखि नै नेवारहरूले कलामा योगदान गरेको देखिन्छ । मध्यकालमा वज्राचार्य खलकले पौभा चित्र बनाउँथे । नेपाली चित्रकारितामा मेरो बुवाको विशिष्ट देन छ भनेर सम्झिन पाउँदा पनि गर्व लाग्छ । मेरो बुबा सानो छँदा रुने बेलामा मेरो हजुरबाले भुइँमा कमेरो, गोल या खरीले चराका चित्र बनाएर फकाउने–फुलाउने गर्नुहुन्थ्यो रे ।

बालमस्तिष्कमा बनेको चित्रप्रतिको प्रभावकै कारण दरबार स्कुलमा पढ्दाताका पनि बुबा नियमित गृहकार्य गर्नुभन्दा चित्र बनाउनमा तल्लीन हुनुहुन्थ्यो रे । लगाव र साधनाकै कारण उहाँले कला क्षेत्रमा ठूलो योगदान गर्नुभयो । र, स्थापित पनि हुनुभयो । म बुबासँग निकै निकट थिएँ । उहाँको कला साधनालाई मैले नजिकबाट महसुस गर्न पाएँ । र, कलालाई निकै सम्मानपूर्वक ग्रहण पनि गरेँ । तर, उहाँ स्थापित कलाकार भइसकेपछि पनि हामीलाई चित्रकलामा लाग्न उत्प्रेरित गर्नुभएन । अहिले यस्सो बुझ्दा के पाएँ भने परम्परागत हिसाबले मात्रै चित्रकलाको उन्नयन नहुने र नेपालमा राज्यस्तरको संस्थागत प्राज्ञिक अध्ययन कमजोर रहेको यथार्थ बुझेर नै हामीलाई बुबाले कलातिर लाग्न जोड गर्नुभएन, सायद ।

समकालीन यथार्थवादी कलामा मेरो बुबा चन्द्रमान मास्केको जुन योगदान छ, त्यो साँचो अर्थमा अतुलनीय नै छ । मेरो बुबा भएकै कारण म पूर्वाग्रही भएको पनि हुन सक्छु । तर, विदेशी कला–मर्मज्ञहरूले कलाकार चन्द्रमान मास्केलाई ‘कला इतिहासमा नयाँ युगको प्रवर्तक’ रूपमा व्याख्या गरिदिँदा खुसी लाग्छ ।

चित्रकारहरू र दरबारको सम्बन्ध त लामै देखिन्छ । तर, मेरो खोज–अनुसन्धानले के देखायो भने भीमशमशेरको पालादेखि हाम्रो खलकको दरबारियाहरूसँग राम्रै रहे पनि मेरो बुबाको कामबाट प्रभावित भएपछि जुद्धशमशेरले नै मास्केहरूलाई दरबारमा सहज पहुँच दिएका हुन् । दरबारले मेरो बुबालाई काम दिइसकेपछि राजा त्रिभुवनको गद्दी बैठकको ‘पोट्रेट’ बनाउनुभयो । त्यतिबेलासम्म जीवित राजाको ‘पोट्रेट’ नभएको बुझिन्छ । कुनै तस्बिर हेरेर नबनाई ‘लाइभ स्टडी’ को आधारमा कोरिएको उक्त ‘पोट्रेट’ ‘फाइनल’ हुन दुई वर्ष लागेको देखिन्छ । यही ‘पोट्रेट’ को चर्चापछि नै चन्द्रमान मास्केलाई दरबारिया चित्रकारको परिचय मिलेको थियो । तर, मेरो बुबाले आफू र आफ्नो पारिवारिक स्वार्थका लागि कुनै वैयक्तिक सिफारिस गरेको जानकारी छैन ।

तर, उहाँको कलाकारितालाई भविष्यसम्म जोगाएर लैजानका लागि राज्यले कुनै पहलकदमी लिएन । कलाकार चन्द्रमान मास्केका कलाहरू यति धेरै छन् कि मलाई अभिलेखीकरण गरेर राख्नसमेत धौधौ परिरहेको छ । ‘हात धुने दिवस’ समेत मनाइने यस मुलुकमा सिङ्गो नेपाल चिनाउने एउटा बलियो विधा कलाचाहिँ बेवास्तामा परेको छ ।

मनमा प्रश्न उठ्छ– ‘कला दिवस’ खोइ ? कलाका दृष्टिले ‘खुला विश्वविद्यालय’ जस्तो रहेको नेपाल मण्डलका कलालाई संरक्षण गर्न राज्यले उदासीनता प्रदर्शन गर्नु उदेकलाग्दो दृश्य हो । देशका प्रतिष्ठित व्यक्तित्व र नेतृत्वमा कलाबोध, सौन्दर्यमूल्य र कलाप्रेमको खडेरी देखिन्छ । अतः कलाकार भएरै बाँच्न नेपालमा निकै कठिन छ । यस्तो दुरवस्थाबीच पनि कोही चित्रकार निरन्तर लागिपरिरहेको छ भने त्यस्तो कलाकारलाई तपस्वी भने हुन्छ ।

प्रकाशित : आश्विन १३, २०८० १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?