कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७
ती दिन

जेलर बा

गलकोटको इतिहास बताउन सक्ने सम्भवतः एक्ला जीवित साक्षी हुन्, बमबहादुर (९३) । भन्छन्, ‘उसबेला जेलमा पुरुष मात्रै हुन्थे।’
प्रकाश बराल

बमबहादुर बस्नेत (९३) को विगत थाहा पाउनेले अक्सर उनीसँग गलकोट राज्यको सेनामा भर्ती भएर काम गर्दाको इतिहास कोट्याउँछन् । पर्वते राजा नारायण मल्लका जेठा छोरा जितारी मल्लले विसं १६३१ मा गलकोटलाई छुट्टै राज्य बनाएको इतिहास छ । विसं १८४४ सम्म २ सय १३ वर्ष स्वायत्त राज्य र त्यसपछि २००७ सम्म बिर्ता पाएको भुरेटाकुरे राज्यमा पर्ने गलकोटको इतिहास बताउने सम्भवतः एक्ला जीवित साक्षी हुन्, गलकोट नगरपालिका वडा नं ५ का बमबहादुर ।

जेलर बा

अनेक रोगहरूसँग जुधिरहेका बमबहादुर इतिहास सुनाउँदा थोरै हौसिन्छन् । रोगले गाले पनि फौजी स्वरमा बोल्छन् । भारतीय सेनाका सुवेदार बाबुको पछि लागेर गलकोट पुगेका बेला १४ वर्षीय बमबहादुरको भेट गलकोटे राजा भरतबम मल्लसँग भएको थियो । उनको अग्लो कद र खाइलाग्दो शरीर देखेर राजा भरतबमले उनलाई सेनामा भर्ती गराएका थिए । सुरुमा केही समय उनी दरबारको सुरक्षामा खटिए । लगत्तै गलकोट राज्यको जेलरको भूमिका पाए । सुनाउँछन्, ‘बहिदारले तोकेको सजायअनुसार कसुरदारलाई जेल पठाइन्थ्यो । जेलमा पुरुष मात्रै हुन्थे ।’

२००७ सालपछि गलकोटे राजा आफँं हटेर राजारजौटा हटाउने प्रस्ताव गरेकोदेखि गलकोटे राज्यका डिट्ठा, सुब्बा र मुखियाको नाम सुनाउँछन् उनी, स्मृतितिर पस्दै । उनले त्यतिबेलाको सजाय व्यवस्था सुनाए, ‘चोरी, डकैती गरेका, जग्गा मिचेका, छोइछिटो गर्नेजस्ता अपराधमा संलग्नलाई राजाले सल्लाहकारहरूसमेतको सहमतिमा जेलमा राख्ने व्यवस्था थियो ।’ जेलर भई बस्दा उनले दर्जनौं यस्ता मुद्दाबारे थाहा पाएका थिए । त्यतिबेला कैदीबन्दीलाई अँध्यारो कोठामा थुनेर राख्ने नियम भन्छन् उनी, ‘एकरात भित्र राखियो भने आफैं अपराध स्विकार्थे । कतिपय भने माफी मागेर विभिन्न सर्तमा छुट्थे ।’

इतिहासका प्राध्यापक कृष्णराज गौतमले २०४३ सालमा लेखेको शोधपत्र ‘गलकोट राज्यको ऐतिहासिक रूपरेखा’ मा पनि बमबहादुरले काम गरेको जेलघरबारे उल्लेख छ । उनका अनुसार पञ्चाबत (मान्छे र गाई हत्या, बलात्कार वा अन्य जघन्य अपराध) बाहेकका कसुरमा आफैं न्याय दिने र जेल पठाउने अधिकार भएकाले गलकोटे राजाले सैनिक राखेका थिए । गौतमका अनुसार, बिसं १९१२ मा पृथ्वीबम मल्लले तेस्रो नेपाल–तिब्बत युद्धमा नेपाल सरकारलाई सिपाही र हातहतियार सहयोग गरेका कारण राज श्रीपेच, रजौटा उपाधि र तीन सय नगद बिर्ता उठ्ने जग्गा पाएका थिए ।

इतिहास–शोधकर्ता डिनबहादुर थापाको किताब ‘गलकोटको राजनीतिक इतिहास’ मा बस्नेतको योगदानमाथि लेखिएको छ । थापा भन्छन्, ‘दरबारमा डिट्ठाले न्याय निसाफ गर्ने, सुब्बाले प्रशासनिक काम गर्ने, बैदारले लेखापढी र दण्ड तोक्ने, मुखियाले तिरो कर उठाउने र सिपाहीले सुरक्षा दिने काम गरेको इतिहास छ ।’

भरतबमका पनाती मन्जेष बममल्ल भन्छन्, ‘२०१७ सालसम्म पनि गलकोटे राजालाई मानाचामल र बिर्ता गरी ६ सय उठ्ती जग्गाको व्यवस्था थियो ।’ राज्य खोसिएपछि रजौटाको रूपमा जगतप्रताप बम मल्ल, राजप्रताप बममल्ल, पृथ्वीबम मल्ल, ललितबम मल्ल, नारायणबम मल्ल र भरतबम मल्लले राज्य चलाएको उनले बताए ।

अहिले पनि विसं १९७८ मा बनेका गलकोट दरबारको संरचना छँदै छ । बमबहादुर जेलर बसेको घरमा अहिले ८२ वर्षीय भीमकुमारी शेरचन बस्छिन् । भीमकुमारीका अनुसार, उतिबेला सोही घरको भुइँतलामा जेल सञ्चालन गरिएको थियो । मुस्ताङको थाकखोलाबाट झरेका भीमकुमारीको माइतीलाई गलकोटे राजाले यो घर बिर्ता दिएका थिए ।

गलकोटे राजाको भूमि पश्चिममा रमुवा, उत्तरमा म्याग्दीको रुम, पूर्वमा काठेखोला र दक्षिणमा सांकोटसम्म थियो । हालको गलकोट नगरपालिका, ताराखोला गाउँपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिका क्षेत्रलाई गलकोट नामले चिनिन्छ । त्यस भूमि रक्षा गर्ने काम र राज्यभित्रका सुरक्षाका लागि समेत राजाले सेना राखेको बताउँछन् बमबहादुर ।

बस्नेतले जेलर भएर चार वर्ष काम गरे । २००७ सालमा प्रजातन्त्र घोषणा भएपछि राजारजौटाले जेल सञ्चालन गर्ने अधिकार खारेज भएसँगै उनको जेलरको काम पनि बन्द भयो । त्यसपछिका वर्षमा भने उनले २०१५ सम्म गलकोट राजदरबारमै सेवा गरेर बसे । २०१५ को आम निर्वाचनमा भरतबम मल्लले राज्य त्यागेर निर्वाचनमा होमिए । क्षेत्र नं ८६ बाट जितेका भरतले संसद्मा पुगेर राजारजौटा हटाउने प्रस्ताव पेस गरे ।

राजारजौटा हटेपछिका वर्षहरूमा बमबहादुर सामाजिक सेवामा लागिपरे । उनी २०२१ मा हरिचौर गाउँ पञ्चायतको निर्विरोध र त्यसपछिका दुईवटा निर्वाचनमा वडाअध्यक्ष निर्वाचित भए । उनी गलकोटको एक मात्रै इतिहास–वाचक हुन् ।

प्रकाशित : भाद्र ९, २०८० ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?