१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

एक लडाकुको आख्यान

लेखक स्वयम् अफगानिस्तानमै युद्ध लडेका लडाकु हुन्, किताब एक योद्धाको जीवनीझैं लाग्छ
प्रगति राई

अफगानिस्तान गृहयुद्धको चरम अवस्थामा गुज्रिरहेका बेला अफगानिस्तानमै अमेरिकी सुरक्षा कम्पनीको तर्फबाट प्रत्यक्ष युद्ध लडेका लडाकु र लेखक केदार संकेतको उपन्यास ‘अफगानी रणमैदान’ ले पाठकलाई पात्रसँगै विभिन्न ठाउँमा पुर्‍याउँछ । परम्परागत लेखाइभन्दा बिलकुलै फरक शैली समातेको छ किताबले ।

एक लडाकुको आख्यान

किताबको भूमिकामा गोविन्दराज भट्टराई लेख्छन्, ‘यो कृति नेपाली युद्धसाहित्यको गम्भीर र महत्त्वपूर्ण उपन्यासको रूपमा देखा परेको छ ।’ कुमारप्रसाद कोइरालाले लेखेका छन्, ‘युद्धसाहित्य अध्येताका निम्ति यो एउटा महत्त्वपूर्ण अभिलेख हो ।’

‘युद्ध साहित्य पुरस्कार’ कोषद्वारा पुरस्कृत यो किताबलाई शुद्ध युद्धसाहित्य भन्न मिल्दैन । युद्धसाहित्य सिद्धान्तकार त्रय काङ्माङ नरेश, अप्जसे कान्छा र गणेश राईका अनुसार, युद्धसाहित्यको विशेषता भनेकै योद्धा जीवनको विभिन्न अवस्थितिको सही र साँचो टिपोट पेस गरी समाजलाई युद्ध विभीषिकाबारे अपडेट गराउनु हो । सिद्धान्तको उदेश्यमा उल्लेख छ– सैन्य दैनिकी, युद्धको तयारी, अनिश्चित भविष्यको चिन्ता र चिन्तन, सैन्य संकृति र विकृति आदि । माथिका सिद्धान्त मानिहेर्दा भन्न सकिन्छ– यो किताब थोरै ‘युद्धसाहित्य’ हो, समग्रमा होइन ।

उपन्यासमा अफगानिस्तानको युद्ध वर्णन छ र लेखक यही युद्धका योद्धा पनि हुन् । सरसर्ती यो योद्धाका जीवनीजस्तो लाग्छ । इस्लामहरूको अन्तर्राष्ट्रिय संगठन, त्यसले चालेको आत्मघाती आक्रमण, अमेरिकी आक्रोश र विगत तीन दशकदेखि अफगानिस्तानमा चलेको युद्ध उपन्यासको मुख्य कथा हो । ‘उपन्यास युद्धकै पेरिफेरीमा जन्मिएको हो’ भन्छन् लेखक । तर, उपन्यासका धेरै भाग युद्धसँग सम्बन्धित छैन । युद्धसाहित्य सिद्धान्तकारहरूले यो उपन्यास पूर्ण रूपमा युद्धसाहित्य हो कि होइन भनी कुनै टिप्पणी भने गरेका छैनन् ।

‘अफगानी रणमैदान’ युद्धसाहित्य हो कि होइन भनेर बुझ्न युद्धमाथि लेखिएका केही प्रख्यात उपन्यासलाई लिन सकिन्छ । इटालीमा स्वास्थ्यकर्मी भएर पहिलो विश्वयुद्ध लडेका अमेरिकी लेखक अर्नेस्ट हेमिङ्वेको ‘फेयरवेल टु आर्म्स’ वा टोल्स्टोयको ‘वार एन्ड पिस’ वा क्रिमिया युद्ध चलिरहेका बेला बेलायती कवि लर्ड टेनिसनको ‘द चार्ज अफ् द लाइट ब्रिगेड’ उपन्यासहरू युद्धकै पेरिफेरीमा लेखिएका छन् । तर, ‘अफगानी रणमैदान’ मा युद्धइतरका धेरै कथा समाहित छन् । किताबको कभर फोटोले पनि युद्धकै पहिचान दिने भएकाले पाठकलाई यो युद्धसाहित्य लाग्न सक्छ । धेरैले ‘संस्मरण’ भन्ने गरेको पनि सुनिन्छ । पाठक अलमलमा परिरहेका बेला यो किताब कुन सिद्धान्त वा शैलीमा लेखिएको हो ? लेखकले स्पष्ट पार्नुपर्छ ।

बरु यसलाई ‘यात्रा स्पर्श’ सिद्धान्तमा लेखिएको पहिलो किताब मान्न सकिन्छ । कातिच उकुसु, रामकृष्ण आँकला र केदार सुनुवारले प्रतिपादन गरेको ‘यात्रा स्पर्श’ सिद्धान्तमा उल्लेख छ, ‘लेखन घरबाट निस्कँदाको कथाभन्दा पहिले लेखनबारे केही परिभाषा लेखिनुपर्छ । पाठकले कोरा कथा पढेजस्तो मात्र नभएर ऊ आफैं उपस्थित भएको अनुभूत गराउन सक्नुपर्छ । मूल कथाबाहेक केही कविता, केही संस्मरण, दैनिकी र अन्य कथा पनि समावेश गरिनुपर्छ ।’ किताब ‘यात्रा स्पर्श’ सिद्धान्तमा छ भन्नु उपयुक्त हुन्छ । ‘लन्डन अन्तर्वार्ता’ शीर्षकमुनि दैनिकी शैलीमा लेखिएको छ, ‘दिनांक : ६ जुन सन् २००९, समय : बिहान १०ः०० बजे’ कथा यसरी सुरु हुन्छ– ‘हेल्लो ! इज दिस मिस्टर केदार ?’

स्पिकिङ, हु इज अन द लाइन प्लिज !’ यो अमेरिकी सुरक्षा क्याम्प अफगानिस्तानस्थित अल्भाराडोमा सुरक्षा गार्डका लागि अमेरिकी अफिसरले लेखक केदार संकेतसँग गरेको संवाद हो । लन्डननिवासी लेखकले उपन्यासको पहिलो भाग लन्डनदेखि अफगानिस्तान पुग्दासम्मको विवरणलाई समेटेका छन् । पाँच भागमा विभाजित उपन्यासमा केही युद्धकथा र अरू सामाजिक कथा छन् ।

‘बारस्ती भट्टीकी परी र पेरोनी’ शीर्षकमा दुबईका रात्रि मनोरञ्जनबारे खुलाइएको छ । लेखक र उनका साथीहरू लडाइँतिर जाँदै गर्दा टर्मिनलमा एक रात भए पनि बडो मस्तीको जीवन बिताउँछन्, ‘गिलासमा भएको पेरोनी (बियर) नसकिँदै फेरि थपनी आइहाल्थ्यो । तनतनी पिइयो । स्वादको त कुरै नगरौं, निरन्तर निलिरहूँजस्तो लाग्ने पेरोनी । पेट फुल्लिएर फुट्लाजस्तो भएको थियो । तर, बाँसका ढुङ्ग्राजस्तो अग्लो न अग्लो गिलासमा बाँसकै तामाजस्ता सोल्टिनीहरूले मस्किँदै बियर सारिदिएपछि नाइँ भन्न मुखै लाग्दैन । लकपकी गइन्छ । आँखाको लोभ कति चर्को हुँदोरहेछ ।’

मोजमस्तीका पाना पल्टाउँदा एक्कासि मुटु चिसो पार्ने कथा सुरु हुन्छ, ‘१७ जुन सन् २०१०, सातौं दिन । हामीलाई लिन चारवटा सेता मिनीबस हामी बसेको क्याम्पको हाताभित्र छिर्‍यो । बसको झ्यालमा खैरो पर्दा लगाइएको थियो । बसका चालक सबै अफगानी नै थिए । लामा–लामा दाह्री पालेका । पाकोल (अफगानी फेटा) गुथेका । आतंककारीजस्ता लाग्ने यी ड्राइभरका चालामालाले मनै चिसो बनायो । तर, हामीसँग पनि जियाको एकेक पेस्तोल थियो, जसलाई युनिफर्मभित्र लुकाएर राखेका थियौं, जतिबेला जे पनि हुन सक्थ्यो ।’

अब कथा बिस्तारै लडाइँको घेराभित्र पस्छ । ‘भाग : दुई’ नाम दिएर विभिन्न शीर्षकमा अफगानिस्तानमा चलेको लडाइँबारे वृत्तान्त पढ्न पाइन्छ । ‘अफगानिस्तानको युद्धबारे व्याख्यान, अलकायदाको क्रियाकलाप, अफगानिस्तानमा गृहयुद्धको सुरुवात, टोराबोराको लडाइँ, टाकुरघारको लडाइँ, आत्मघाती पत्र–१’ आदि युद्धमाथिबारे मात्र लेखिएका छन् । किताब छापिँदा झुक्किएर अर्कै किताबको पेज टाँसिन पुगेजस्तो लाग्नेगरी प्रसंगै नमिल्ने एउटा कथा छ– ‘बेनाम प्रेम’ ।

त्यसपछिका पृष्ठहरूमा युद्धका कथा स्वाट्टै हराउँछ । बरु आउँछ– विदेशी तरुनीका कुरा, मन्दिरमा पण्डित दलित रहेको थाहा पाएर गैरदलित पूजामा सरिक नभएको कुरा आदि ।

‘भाग : तीन’ मा फेरि लडाइँको कथा आउँछ । ‘उत्ति नै खेर क्याम्पको बिग भ्वाइस साइरन बज्न थाल्यो, डक एन्ड कभर, डक एन्ड कभर, क्लोज अल डोर एन्ड विन्डोज ।’ ‘लडाइँपछिको हल्ला’ शीर्षकले तालिवानले अमेरिकी मुख्य क्याम्पमा आक्रमण गरे पनि ‘बीबीसी न्युज’ मा अन्तै कतै आक्रमण गरेको भनी झूटो समाचार प्रसारण गरेको तथ्य खोलेको छ । अब, फेरि कथा लडाइँबाट मनोञ्जन, यात्रा आदितिर मोडिन्छ ।

युद्ध साहित्यको सिद्धान्तबाट हेर्दा अपूर्ण लागे पनि यात्रा स्पर्शको सिद्धान्तमा किताब परिपक्व लाग्छ ।

प्रकाशित : श्रावण २०, २०८० ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?