कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९
कविता

बिस्का : जात्रा मनाइने देशमा एक मिथकीय प्रेम

रामगोपाल आशुतोष

सुन्नेबित्तिकै
तिमी आउने खबर
ढकमक्क फुल्न हतार भयो लिली फूललाई

बिस्का : जात्रा मनाइने देशमा एक मिथकीय प्रेम

सँगै बसेर झोक्राइरहेका

जिरेनियमका

कानजस्ता पातहरू उठे हरियाली बोकेर

केही लजाउँदै फुले

र, हिमालको घामले छोएको

शेर्पिनी छोरीको गुलाबी गालाजस्तै फक्रिए


त्यसपछि सुनाइदिएँ तिम्रो नाम

पहोलो–सेतो फुलिरहने जाहीजुहीलाई पनि

भुइँभरि छरिएर आतुर भए

तिमी आउने बाटोमा स्वागतालु बन्न ।


आँगन वरपरका

असरल्ल फैलिएको जिद्दी धूलो

सुनिरहेको थियो जूनकीरीहरूको गन्थन

सायद लाजले होला

सहयोग माग्यो छिमेकी हनुमतीको पानीसँग

र, अनुरोध गर्‍यो पखालिदिन आफूलाई


कुनाकाप्चामा

बिनाअनुमति उम्रिन आउने झारहरूले पनि

बेसोमती मानेर होला

गुहारे घाँसीलाई र सिनित्त पारिदिन अनुरोध गरे ।


तिमी आउने अक्षांशले

मनाइरहेको थियो– विस्काः जात्रा ।


पाँचतले र सिद्धपोखरी वरपर सूचना टाँसेर

सार्वजनिक गरो तिम्रो नाम र तस्बिर ।

जुजु धौको देशका

कानकानमा पुगेपछि तिमी आउने खबर

बेताललाई अघि लगाएर

भैरवले

धिमे, खिं, दाफा भजन, सांस्कृतिक टोलीसहित

तिम्रो स्वागतार्थ आउने प्रेस विज्ञप्ति सार्वजनिक गरे ।


मेरो भूगोलको मूःस्वाँले

तिमीलाई

आफ्नो सुगन्धको अत्तर अर्पिने जिम्मा लियो ।


तिमी आउने थाहा पाएर नाय्खिंमार्फत

नाचहरूको देशका

सम्पूर्ण कलाकारहरू लामबद्ध भए नृत्यमुद्रामा


विश्वकै अग्लो ध्वजामाथि चढे

वसन्तको बताससँग बयली खेलिरहेका नागनागिनी


व्यग्र प्रतीक्षामा थिए इन्द्रकमल फूलहरू,

सङ्गै थिए अङ्गरक्षक बेताल,

सहकालका देउता भैरव, भैरवी र यसिंद्यो ।


सहकाल प्रतीक्षित

हजारौं किसान, मजदुर, श्रमिक र जनसाधारण

हलिंपतको इसारा पर्खिरहेका थिए

गाउन

तिमी आउनेबित्तिकै राग भैरवी ।


तिम्रो बाटो हेर्दाहेर्दै थाक्यो विश्वध्वजा– यसिंद्यः

पूर्व, पश्चिम, उत्तर, दक्षिण दिशातिर– झकाउन थाल्यो

तिम्रो आगमनको पहिलो पाइला पर्खंदा पर्खंदा

निदायो विश्वध्वज र ढल्यो जमिनमा  !


त्यसपछि

रिसाएर फर्किइन् भैरवी

निदाएर लडेको विश्वध्वजलाई एक्लै छोडेर

निराश फर्किए

भैरव आफ्नै बासस्थान टौमढीतिर ।



धिमे, बाँसुरी, मादल आदिको धुन मधुरो हुँदै गयो

कलाकारहरूको मुद्रा परिवर्तन भयो

सबैको पर्यावरणमा छायो मौनता  !


मैले प्रायः सपनामा देखिरहने

भोकको समाधान,

समता, समान–समृद्धि, सहकाल वा समाजवाद

कोही पनि आएनन्

त्यो वर्ष  !


सबैले ढाँटेका रहेछन्

तिमीले जस्तै  !

प्रकाशित : असार ३०, २०८० ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?