२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

चीनदेखि रुससम्म घुमेको ‘आवारा’

ध्रुवचन्द्र गौतम

‘आग’, ‘बरसात’, ‘आवारा’, ‘बुट पालिश’ फिल्मबाट भारतमा मात्रै होइन रुस, चीन र मध्यपूर्वमा पनि प्रसिद्ध थिए– राज कपूर । रुसमा उनी यति लोकप्रिय थिए कि कम्युनिस्ट नेताहरू मञ्चमा ‘आवारा हुँ’ गाउँथे । राष्ट्रपति बोरिस येल्तसिनले लेखेका छन्, ‘म राज कपूरसँग विछट्टै प्रेममा थिएँ ।’ आज पनि ‘आवारा हुँ’ को रुसी–भर्सन बेलाबेला गाइन्छ । यता चीनमा माओ पनि गुनगुनाउँथे– ‘आवारा हुँ’ । राज कपूर स्मृति दिवस (जून–२) को सन्दर्भमा उनको सम्झना :

चीनदेखि रुससम्म घुमेको ‘आवारा’

एक दिन राज कपूरले आफ्नी श्रीमती कृष्णा कपूरसँग भने— ‘थानेमा दुई दिनको सुटिङ छ, आज र भोलि, पर्सिसम्म फर्कन्छु ।’

बिहानको समय थियो । हुन त कृष्णा कपूरका लागि यो कुनै नयाँ कुरो थिएन । कलाकारको परिवार थियो, ‘आउट–डोर सुटिङ’ गर्न घरबाहिर निस्किरहन्थे । त्यसमाथि राज कपूर त अभिनेता, निर्देशक र निर्माता पनि थिए । यस्तो भइरहन्थ्यो । तैपनि कृष्णा एक असल गृहिणी थिइन् । उनले हतारहतार आफ्नै हातले राज कपूरका लागि ब्रेकफास्ट बनाइन् । कफी दिइन् र भनिन्— ‘पर्सिभन्दा बढी त जाँदैन ?’

राज कपूर मुसुक्क हाँसे— ‘आइहाल्छु नि, सुटिङपछि कहाँ जान्छु र ?’

कृष्णा हलुको मुडमा निस्किँदै भनिन्— ‘कुन्नि त ? बम्बईमा कति घर छन्, मैले गनेको छु र ?’

यसमा अलिकति व्यंग्य पनि मिसिएको हुँदो हो, राज कपूरको रसिक बानी–बेहोराप्रति । तर, राज कपूर हाँसिरहे । उनले कृष्णाको चिउँडो समाउँदै भने— ‘आज अपने चाँद से दो दिन के लिये दूर जा रहा हुँ, क्यों आज मुझे बादलों की तलाश है !’

कृष्णाले राज कपूरको कुरो बुझिन्/बुझिनन्, तर उनको भनाइ सत्य थियो । राज कपूर ‘आग’, ‘बरसात’, ‘आवारा’, ‘बुट पालिश’ फिल्म बनाएर र खेलेर देश मात्रै होइन, विदेशमा पनि प्रसिद्ध भइसकेका थिए । यी सबमा ‘आवारा’ त ‘रुस’, ‘चीन’ आदि कैयौं ठाउँमा प्रसिद्ध भइसकेको थियो । ‘आवारा’ बन्दा रुसमा स्टालिनको बोलवाला थियो । रुसलाई बलियो कम्युनिस्ट राष्ट्र बनाउन उनको ठूलो योगदान मानिन्थ्यो त्यतिखेर ।

फिल्म ‘बरसात’ का समयमा नेपालमा पुष्पलालको नेतृत्वमा ‘नेपाल कम्युनिस्ट पार्टी’ को गठन भएको थियो । ‘आवारा’ आउन्जेलमा त नेपाल कम्युनिस्ट पार्टी एक शक्ति बनिसकेको थियो ।

राज कपूरले सन् १९५२ मा रुसको भ्रमण गरेका थिए । त्यसबखत ‘आवारा’ यति लोकप्रिय भएको रहेछ, रुसका ठूलठूला पदाधिकारी आम जनतासम्म ‘आवारा हुँ’ भन्ने ‘टाइटल सङ’ गाउँथे । मञ्चमा राज कपूरको स्वागत गर्दा, उनले गाएको मुकेश स्वरित एकल गीत सारा स्टेडियमले सामूहिक रूपमा गाएको थियो, सम्भवतः रसियन भाषामा । आजसम्म पनि रुसमा ‘आवारा हुँ’ को रुसी भर्सन बेलाबेला गाइन्छ रे !

पछिसम्म रुसका राष्ट्रपति बोरिस येल्तसिनसमेत त्यो गीत गाउँथे, मन पराउँथे मात्रै होइन, उनी त राज कपूरका पक्का प्रशंसक पनि थिए । येल्तसिनले राज कपूरमाथि श्रद्धाञ्जली दिँदै लेखेका थिए, ‘आई वाज इन लभ विथ राज कपूर, आई रिमेम्बर हिम इभन टुडे ।’ (२१–१–१९९३), बोरिस येल्तसिन, हस्ताक्षर) ।

येल्तसिनले धेरै लेखेका–बोलेका थिए, राज कपूरको बहुमुखी प्रतिभाबारे । राज कपूरसित भेटेर उनी निकै प्रभावित भएका थिए ।

स्टालिनकै समयमा रुस–भ्रमणमा थिए– जवाहरलाल नेहरू । स्टालिनको आमन्त्रण थियो । भारत फर्केर आएपछि एक दिन उनको भेट भयो– पृथ्वीराज कपूरसँग । नेहरू फिल्म कम हेर्थे, तर पृथ्वीराजसँग उनको परिचय थियो । नेहरूले भीडमा भएका पृथ्वीराजलाई एक कुनामा पुर्‍याएर सोधे– ‘यो आवारा कस्तो फिल्म हो, तिम्रो छोराले बनाएको ? स्टालिनले सारा समय त्यसकै कुरा गरिरहे ।’ राज कपूरकी छोरी रीतु नन्दाका अनुसार, माओत्से तुङ पनि ‘आवारा हुँ’ गीत मन पराउँथे र गुनगुनाउँथे पनि ।

सन् पचासको दशकमा तीन जनाको बोलवाला थियो– ‘दिलीप–देव–राज’ । यिनलाई ‘थ्री बिग’ भनिन्थ्यो । यहाँ राज कपूरकै कुरा गरौं ।

नेपालमा पनि राज कपूरका धेरै प्रशंसक भए । नेपालका सारा वामपन्थी राज कपूरका ‘डाइ–हार्ट’ फ्यान थिए । ती राज कपूरका अगाडि कसैलाई मान्दैनथे । मेरै घरमा पनि म मात्र थिएँ, दिलीप कुमारको प्रशंसक । हाम्रोबीच बहस पनि भइरहन्थ्यो । मेरा बालसखा विनोद दीक्षित पनि राज कपूरका चर्का प्रशंसक थिए ।

म हरेक फिल्म हेर्थें । ‘आवारा’ को समयमा एउटा गन्जी खुब चलेको थियो, ‘आवारा’को नाममा । राज कपूरले उक्त फिल्ममा लगाएकाले । मैले पितालाई कर गरेरै त्यस्तो गन्जी किन्न मनाएको थिएँ । गन्जी भिरेपछि मेरो पहिलो उच्चारण थियो :

‘आवारा हुँ, आवारा हुँ

या गर्दिश में हुँ, आसमान का तारा हुँ

आवारा हुँ ।’

त्यति मात्रै होइन, त्यसबखत गीतबीच आउने वाद्य–धुन पनि गीतको अनिवार्य हिस्सा थियो । र, हामी नाकले वाद्य–धुन निकालेर गाउँदै हिँड्थ्यौं । ‘गली–कूचा–मुहल्ला’ मा नेपाल र भारतमा ‘आवारा हुँ’ गाउँदै–सुन्दै हिँड्थे म । एउटा घटना अरू सम्झूँ !

वीरगन्जको हाम्रो टोल कुमालटोलको एक घरको कोठामा केही किशोर र युवाहरू जम्मा भएका थिए । ती कुनै नाटकको रिहर्सल गर्दै थिए । निर्देशक थिए– दुर्गा मुखिया, नाटकका गुरु । हामी त त्यसै रमाइलो हेर्नै गएका थियौं, सन् १९५५ तिर हुनुपर्छ ।

त्यो ‘रिहर्सल’ थालिने समय थिएन, त्यस कारण कलाकारहरू ‘मस्ती’ मा थिए । कोही कुनै फिल्मको संवाद बोलिरहेका थिए, कोही गीत गाइरहेका थिए । अहिले सम्झँदा आश्चर्य लाग्छ, त्यसबखत संवाद बोलून् कि गीत, ती सबै राज कपूरकै फिल्मका थिए ।

‘जीया बेकरार है, छाई बहार है’, अथवा ‘बरसात में’, कसैले भन्थ्यो, अरू धेरैले भन्थे, ‘ताक्धिनाधिन् ।’ यो त रमाइलो ध्वनि भएर पनि भनेका हुन् । कोही फेरि गाउन थाल्थ्यो । र, एक जनाले त म्युजिकसहित पूरै गीतै गाइदियो । अन्तिमतिर त्यो गायकलाई के लागेछ कुन्नि, ‘फर अ चेन्ज’ होला, ‘दुनियाँ ओ दुनियाँ, मै तेरे तीरका या तकदीकार मारा हुँ’ गाउँदागाउँदै, बिगारेर अर्थात् भद्दा प्यारोडी गरेर गायो, ‘लुइयाँ, ओ लुइयाँ...!’

अर्को राम्रै गायकले हपार्‍यो, ‘एक त गला छैन, त्यसमाथि यस्तरी बिगार्ने ? पागल !’

अर्को एक किशोरले भने राम्रै गायो, ‘रमैया वत्ता वैचा, रमैया वत्ता वैचा, मैं ने दिल तुझ को दिया ।’ अनि विनाका गीत–मालमा वर्ष दिन बजेको गीत :

मेरा जूता है जापानी, ये पतलून इङ्लिस्तानी

सर पे लाल टोपी रुसी, फिर भी दिल है हिन्दुस्तानी ।

पछिका दुई गीत राज कपूरको सन् १९५५ मा प्रदर्शित फिल्म ‘श्री ४२०’ को हो । अनि एकदम थालनीमा राज कपूरले पत्नी कृष्णा कपूरसँग— ‘पर्सि आउँछु’ भनेर सुटिङ गरेको घटना पनि ‘श्री ४२०’ फिल्मसँगै सम्बन्धित घटना हो ।

पाठकहरूको रमाइलोका लागि भनिदिऊँ, उक्त फिल्मको पहिलो गीत, ‘मेरा जूता है जापानी’ कै सुटिङको हो, त्यसमा पनि भनूँ, गीतको अन्तिम पंक्तिको मात्र सुटिङ गर्न जान लाग्दाखेरिको हो ।

राज कपूर चाहन्थे, गीतको अन्तिम स्टान्जा फिल्मांकन गर्दा आकाशमा एक खास किसिमको बादल लागेको होस् । त्यही गीत फिल्मको अन्त्य पनि थियो । थानामा पाइन्छ कि भनेर पहिले थाना गए राज कपूर, आफ्ना सरसामान र पूरा युनिटसहित । बादल त थियो, तर राज कपूरलाई चित्त बुझ्दो थिएन । त्यसपछि आकाश पछ्याउँदै, आकाशमा राज कपूरलाई चाहिने बादल खोज्दै ती पुगे लोनावली, अलि टाढा हिल स्टेसन नै भनूँ । सबै देख्छन् र ठान्छन्– यो बादलले त राज कपूरलाई पक्कै लोभ्याउनेछ, तर उनको चित्त बुझेन । अझ गए परतिर भन्नाले, अर्को नगर कोल्हापुर । घुमीघुमी हेरे, सबैको मुन्टे आकाशतिर ।

बादल जताततै छ । सबलाई लाग्यो, यहाँ हुन्छ । तर, राज कपूरको छटपट त्यहाँ पनि शान्त भएन । भने— ‘यस्तो खोजेको होइन ।’

‘यस्तो’ भन्ने, तर ‘कस्तो खोजेको’, त्यो भनेनन् कि उनी पनि भन्न नसक्ने थिए । युनिट त्यसपछि बेलगाम भन्ने ठाउँमा गए, अझै पर त्यहाँ पनि भएन । के खोजेका थिए, बादलमा राज कपूरले, त्यो पनि भन्न सकिरहेका थिएनन् । सेटको बयानजस्तो हुँदैन, बादलको बयान । ऊटी भन्ने हिल स्टेसनको नाउँ त हामीले फिल्ममार्फत् वा प्रत्यक्ष थाहा पाएको हुनसक्छ । त्यहाँ पुगेपछि थकित युनिटले निर्देशक राज कपूरतर्फ हेरे, शून्य आँखाले, ‘अब ?’ प्रश्नका साथ । सब खोज्न थाले– हे बादल, तिमी कहाँ छौ ?

युनिटको लाचार पुकार बादलले सुन्यो क्यार र भन्यो— यी म यहाँ छु । राज कपूरको मनोवाञ्छित बादल ऊटीको आकाशमा एक ठाउँमा देखियो । अनि ‘मेरा जूता है जापानी’ को गीतको अन्तिम र सिंगै फिल्मको पनि अन्तिम भाग त्यहीँको सडकमाथि र बादलमुन्तिर फिल्माइयो । त्यहाँ राज कपूर र नर्गिस मिलेर गाउँछन् ।

सुटिङ सकेर घर फर्किंदा दिन बितिसकेको थियो । थाकेका राज कपूर आफ्नो मन पर्ने ब्रान्ड ‘ब्ल्याक लेबल’ लिएर बसिहाले । कृष्णाले हतारमा केही चमेना बनाइन् र प्लेट राज कपूरअघिल्तिर राख्दै हाँसेर सोधिन्– ‘पर्सि भनेको आज हो ?’

कृष्णाको त्यो मीठो ‘छेडखानी’ राज कपूरलाई मन पर्‍यो र उनको दुवै काँध समाएर आफ्ना अघिल्तिर बसाएर भन्न थाले वा सफाई दिन थाले— ‘हेर कृष्णा, यस्तो भो...!’

कारण ? पर्सि आउँछु भनेर हिँडेका राज कपूर, आज दसौं दिनमा फर्केका थिए ।

पाठकहरू, यो बयान विस्तारमा दिनुको कारण हो, एउटा गीतको अन्तिम लाइन फिल्माउन कुनै निर्देशक यति परिश्रम गर्छ भने, त्यो फिल्मप्रति ऊ कति समर्पित होला ? त्यो बुझाउने मोहले ।

साँच्चिकै राज कपूरको जीवन व्यक्तिगत रूपमा जस्तो होस्, फिल्मकारका रूपमा वा सर्जकका रूपमा एक अनुपम उदाहरणीय जीवन रह्यो ।

नर्गिस र राज कपुर ।

‘आग’ बनाउँदा (उनको पहिलो फिल्म, निर्देशकका रूपमा) कृष्णाले, सम्भवतः नर्गिसले पनि गहना–रुपियाँ आदि दिएका थिए । नर्गिस र राज कपूरको साथ सुरुदेखि एक दशक अलि नपुगसम्म अविच्छिन्न रह्यो । नर्गिस पूरा रूपमा ‘राज कपूर क्याम्प’ की नायिका भइन् । ‘चोरी–चोरी’ (सन् १८५६) नायक–नायिकाका रूपमा अन्तिम फिल्म थियो । त्यसका कारण विभिन्न हुन सक्छन् । सबभन्दा बलियो कारण थियो, राज कपूर विवाहित थिए ।

सन् १९५७ मा आएको फिल्म ‘जागते रहो’ मा अन्त्यमा एक महत्त्वपूर्ण दृश्यमा देखिन्छिन् नर्गिस । फिल्मको अन्त्य पनि त्यसै दृश्यसाथ हुन्छ । तर, यस्तो लाग्छ, राज कपूरले त्यो दृश्य अघि नै फिल्मांकित गरेजस्तो छ । सन् ५७ मा आएको ‘मदर इन्डिया’ पछि, उनले त्यसका पात्र सुनील दत्तसँग विवाह गरिन् ।

...

ती दिनहरूमा त्यसबखतको सबभन्दा चर्चित जोडी थियो– नर्गिस र राज कपूरको । नर्गिस त्यस बेलाका केटीहरूकी आदर्श नायिका थिइन् । नर्गिसको फेसन, उनीहरूको पनि फेसन बन्यो । रुस जाँदा राज कपूरसँग नर्गिस पनि साथै थिइन् । त्यसबखतका पत्रपत्रिकाअनुसार, रुसमा कतिले उनलाई पति–पत्नी नै ठानेका थिए ।

नर्गिसको विवाहका दिन, राज कपूर नर्गिससँगको फिल्मको आफ्नै एउटा गीत, ‘छोड गए बालम, मुझे हाय अकेला छोड गए’ सुनेर बसेका थिए रे ! कैयौं वर्षअघि जद्दन बाईलाई भेट्न गएका थिए– राज कपूर । ढोका एउटी किशोरीले खोलिन् । उनी सम्भवतः किचनमा पकौडा बनाउन बेसन मुछिरहेकी थिइन् । उनको कपालका केस्राहरू निधारसम्म झुलिरहेका थिए । आफ्नो केश सम्याउन उनले दाहिने हात निधारमा लगिन् । उनको निधारमा बेसन लाग्यो । ती नर्गिस थिइन् । जद्दन बाई नर्गिसकी आमा थिइन्, जोसँग भेट्न राज कपूर गएका थिए । त्यही थियो राज कपूर र नर्गिसको प्रथम भेट, जुन पछि एक ऐतिहासिक भेट प्रमाणित भयो । राज कपूरले त्यो भेट र नर्गिसलाई कहिल्यै बिर्सन सकेनन् ।

कालान्तरमा अर्थात् सन् १९७२ मा ‘बबी’ बनाउँदा, ऋषि कपूर र डिम्पलको प्रथम भेटलाई राज कपूरले आफ्नो नर्गिससँगको प्रथम भेटका रूपमा पुनर्सिर्जन गर्न चाहे । किशोरी डिम्पल, त्यसै गरी बेसनसहित ऋषि कपूरका लागि दैलो उघार्छिन् । यो यी दुवै कलाकारको नायक–नायिकाका रूपमा पहिलो फिल्म थियो । नायक–नायिकाको प्रथम भेटलाई राज कपूरले हुबहु त्यसैगरी फिल्मांकित गरे, जसरी उनको नर्गिससँग अंकित भयो, त्यो उनको नर्गिसको सम्झनाको एक ठूलो आधार बन्यो ।

नर्गिसको बिहे भयो, सन्तान भयो, तर राज कपूरले नर्गिससँगको प्रथम भेट बिर्सन सक्दै सकेनन् । त्यही हृदयमा अंकित दृश्यलाई उनले जस्ताको तस्तै ‘बबी’ मा उतारे । त्यो एक दृश्यमा राज कपूरले यति परिश्रम गरे कि ठीक आफ्नो सम्झना अनुरूप सट नखिचिउन्जेल उनले ‘कट’ गर्दै गए । सारा ‘क्रू’ अचम्ममा ! डिम्पल अचम्भित, ऋषि कपूरसेमत अचम्भित ! यो कस्तो ‘जुनून’ हो राज कपूरको, जसले एक सजिलो दृश्यलाई यति मेहनतिलो बनाइरहेका छन् ? डिम्पल बेसन मुछेको हातले ढोका खोल्छिन्, बेसनकै हातले कपाल सम्याउँछिन् । निधार र केशमा त्यसैगरी बेसन लाग्छ, जसरी नर्गिसको लागेको थियो । डिम्पल हतारमै भन्छिन्— ‘बाबा, मेरा तेल जल रहा है ।’

राज कपूर भन्छन्— ‘कट । वन मोर सट ।’

डिम्पल भित्र जान्छिन्, कपाल पखाल्छिन् र फेरि बेसनको हात लिएर आउँछिन् । गर्दागर्दा, डिम्पलले त्यस दिन २७ पटक कपाल पखालेकी थिइन्, किनभने त्यो एक सट २७ औं पटकमा ओके भएको थियो । र, राज कपूर खुसी भएका थिए । उनले डिम्पललाई अंकमाल गरे । डिम्पल खुसी, राज कपूरको चाहना अनुसार सट दिन सकिन् उनले । क्यामेराम्यान, सारा युनिट खुसी– अब ‘राज साहब’ अघि बढ्छन् ।

‘बबी’ को निर्माणमा अनेक कठिनाइ भए । ऋषि कपूर र डिम्पलको सम्बन्धका कुरा, कुनै अन्य बेला लेखौंला । एउटा कुरा जरुरी छ । त्यसबखत राजेश खन्ना (भारतका प्रथम घोषित ‘सुपरस्टार’) र डिम्पलको विवाहको घोषणा भयो । यो सन् ७२ कै कुरा थियो ।

‘बबी’ का सारा फिल्म–यूनिटले यसलाई एक अचानकको ‘झट्का’ माने । तैपनि विवाह भइसकेको थियो । ‘बबी’ को अन्तिम, क्लाइमेक्स दृश्य खिचिनु थियो । पाठकहरूले ‘बबी’ हेर्नुभएको भए, देख्नुभएको छ । अन्त्यमा ऋषि र डिम्पल उचाइबाट नदीमा हाम फाल्छन् । त्यो त ‘डबल’ बाट गराइयो । तर, राज कपूरले यथार्थ लागोस् भनेर दुवै हाम फाल्ने एक साढे दुई फिटको ढिस्को बनाए, जहाँबाट ऋषि र डिम्पलले हाम फाल्नु थियो । दुवैलाई यो कुरा बताइयो । दुवै राजीझैं देखिए । तर, ठीक हाम फाल्ने बेलामा डिम्पलले अचानक भनिन्— ‘म हाम फाल्दिनँ ।’

त्यस्ती आज्ञाकारी डिम्पलले ‘नाइँ’ भन्दा सबैलाई अचम्म लाग्ने नै भयो । भनियो— ‘केवल अढाई फिट छ बेटी, भेरी सेफ ।’

तैपनि डिम्पलले भनिन्— ‘मै नहीं कुदुंगी ।’

‘क्युँ ?’

एक छिन डिम्पल चुप लागिन् । त्यसपछि मसिनो स्वरमा टाउको निहुराउँदै भनिन्— ‘आई एम प्रेग्नेन्ट ।’

जे होस् ‘बबी’ ले इतिहास बनायो । बबी सैलुन, बबी ड्रेसेज, बबी क्याफे, बबी टेलर्स, बबी पान–भण्डार केके हो केके, यहाँसम्म कि बबी मोटरसाइकल पनि, त्यही मोटरसाइकल, जसमा ऋषि र डिम्पल भागेका थिए । त्यो अर्कै कम्पनीको बाइक थियो, स्पेसल रूपमा ‘बबी’ फिल्मका लागि बनाइएको थियो, त्यसैलाई ‘बबी’ बाइक भन्थे ।

राज कपूरले फिल्म असफलता पनि देखे । तर, उनको सफलता धेरै ठूलो छ, लामो छ । फिल्मप्रति उनको समर्पण महान थियो, स्मरणीय ।

...

फिल्ममा राज कपूरको प्राथमिकता थियो– मनोरञ्जन, केवल ‘मनोरञ्जन’ । त्यही मनोरञ्जनको सन्देश दिनुपर्छ भन्थे उनी । त्यसैले उनका फिल्मले रोमान्स साथै सामाजिकताको सन्देश दिन्छ, कालजयी संगीतका साथ । त्यसैले उनलाई विदेशमा पनि लोकप्रिय बनायो । नेहरूको समाजवादको प्रभाव थियो त्यसबखत भारतमा । ‘नेहरू युग’ भन्थे । राज कपूरका फिल्ममा त्यो समाजवाद देख्न सकिन्छ ।

राज कपूर प्रख्यात अभिनेता हुँदै ख्वाजा अहमद अब्बासले ‘आवारा’ को कथा र स्क्रिप्ट लेखेका थिए । पहिले महबुब खानलाई सुनाए, तिनले तुरुन्त निर्णय दिएनन् । राज कपूरलाई सुनाउँदा उनले तत्काल बनाउने फैसला गरे । उनी चाहन्थे, पृथ्वीराज (पिता) पनि त्यसमा खेलून । ख्वाजाले पृथ्वीराजलाई सुनाए । उनले भने— ‘पृथ्वीराज नायकको बाबुको रोल गर्दैन ।’

अब्बासले भने— ‘होइन, ‘आवारा’ मा राज कपूर नायकको छोरोको रोल गर्दै छ ।’

परिणाम के भयो भने ‘आवारा’ फिल्ममा राज कपूरका तीन पुस्ता अर्थात् राज कपूर, उनका पिता पृथ्वीराज कपूर, उनका पनि पिता वशेशरनाथ कपूरले काम गरेका छन् । सम्भवतः हिन्दी फिल्ममा यस्तो पहिलो पटक भएको थियो । ‘आवारा’ को परिणाम माथि उल्लेख भइसकेको छ ।

‘आवारा’ मा नर्गिसले स्विमिङ–सुट लगाएर नुहाउनु थियो । नर्गिसले सार्वजनिक रूपमा त्यसो गर्न मानिनन् । राज कपूरले स्टुडियोकै हातामा एउटा खाल्डो खनाएर त्यसलाई स्वाभाविक रूप दिँदै सेट बनाए । ‘आवारा’ मा नर्गिसले त्यही सेटको पोखरीमा स्विमिङ सुट लगाएर नुहाएकी छन् ।

‘श्री ४२०’ को एउटा गीत ‘प्यार हुआ इकरार हुआ’ को सुटिङ थियो– सडकमा, झमझम पानी परेको दृश्य । त्यसमा राज कपूरका चारै छोराछोरी प्लास्टिकको रेनकोट लगाएर एउटा ‘पासिङ सट’ दिन्छन्, जसमा रणधीर र ऋषि पनि छन् । यसरी उनले आफ्ना सारा सन्तानलाई खेलाएर उनीहरूको भविष्यको कलाकारिताको संकेत दिए । त्यो गीत आजको पुस्तासम्म पनि लोकप्रिय छ र रोमान्सको एक अब्बल नमुना–गीत बनेको छ । पाठकहरूलाई यो सुन्दा आश्चर्य लाग्ला, जसरी मलाई लागेको थियो, गीतमा त्यो सडक, पुल, झमझम पानी, सबै सेट बनाएर फिल्माइएको हो, जुन साँच्चिकै लाग्छ ।

नर्गिसको पुत्र सञ्जयदत्त जन्मिँदा बेस्सरी उपहार र खेलौना लिएर राज कपूर नर्गिसलाई बधाई दिन जाँदै थिए । बारीमा एउटा साथी भेट भयो । भन्यो, यो उचित हुन्न । राज कपूरले उदास मन लिएर कार घुमाए ।

राज कपूरलाई अक्सर फिल्ममा ‘नग्नता–प्रदर्शन’ को आरोप लगाइएको छ । त्यसमा उनले एक ठाउँमा लेखेका छन्, ‘केटाकेटीमा म र मेरी आमा सँगै नुहाउँथ्यौं । त्यसको प्रभावले नग्नता मलाई ‘पवित्र नग्नता’ लाग्छ ।’

उनले वक्ष–प्रदर्शन गराएकोमा पनि कोहीकोही आलोचना गर्छन् । धेरै पहिले एक पत्रिकामा उनले भनेका थिए– किशोरावस्थामा एक दिन कुनै घरमा जाँदा एक युवतीले निद्रालु आँखाले ढोका खोल्दा झ्वास्झ्वास्ती तिनको वक्षमा उनको ध्यान गयो । त्यसको प्रभाव फिल्म बनाउँदा पनि रह्यो, मनोवैज्ञानिक रूपमा ।

राज कपूरले आफ्ना कलाकारसँग काम लिन जानेका थिए । ‘संगम’ बनाउँदा वैजयन्ती माला दक्षिणमा सुटिङ गर्दै थिइन् । उनलाई नायिका लिएको कुरो त थाहा थियो, तर उनको जवाफ आइपुगेको थिएन ।

समय बित्नै लागेपछि एक दिन राज कपूरले तार पठाए वैजयन्ती मालालाई, अलिक फरक पारामा— ‘बोल राधा, बोल, संगम होगा कि नहीँ ?’

‘संगम’ मा नायिकाको नाउँ राधा हो । भोलिपल्टै राधाको छोटो तार आयो— ‘होगा, होगा, होगा ।’

यही ‘संगम’ फिल्मको शीर्षगीत बन्यो— ‘बोल राधा बोल संगम होगा कि नहीं !’

गीतको अन्त्यमा राधा तारमा लेखेकै बोल्छे— ‘होगा, होगा, होगा ।’

‘संगम’ मा उनी आफ्नो मित्र दिलीपकुमारलाई लिन चाहन्थे तर, दिलीपले खेलेनन् । त्यो रोल पछि राजेन्द्र कुमारले गरे । ‘डायमन्ड जुबली हिट’ साबित भयो– ‘संगम’ ।

राज कपूरको सबैभन्दा महत्त्वाकांक्षी फिल्म थियो— ‘मेरा नाम जोकर’ । त्यसको असफलताले राज कपूरलाई आर्थिक क्षति मात्रै पुर्‍याएन, मनोवैज्ञानिक रूपमा पनि उनी आहत भए । तर, राज कपूरको मृत्युपछि ‘जोकर’ ले धेरै सफलता पायो, प्रदर्शनहरूमा । उनका सन्तानलाई आर्थिक लाभ पनि भयो, जुन राज कपूरले भने देख्न पाएनन् । तर, ‘जोकर’ को एउटा भनाइ ‘शो मस्ट गो अन’ लाई आज पनि मान्छे राज कपूरकै भनाइ मान्छन् ।

‘जोकर’ बारे प्रख्यात लेखक कमलेश्वरले लेखेका थिए, ‘फिल्मको प्रथम भागले सत्यजित रेलाई समेत पछि पारेको छ । दोस्रो भागमा उनी कैयौं ठूला निर्देशकभन्दा अघि छन् । तेस्रोमा उनी आफैंदेखि भागेका छन् ।’ अर्थात् तेस्रो भाग कमजोर छ भनेका हुन् । जे होस् राज कपूरलाई भारतको प्रथम ‘शोम्यान’ उपाधि दिइएको छ । फिल्ममाथिको उनको समर्पण, ‘म्याडनेस’ माथि सबै जानकारहरू चर्चा गर्छन् ।

...

भनिन्छ— राज कपूरले धेरै नयाँ कुरा दिएका छन्, हिन्दी फिल्म–जगत्लाई । उदाहरण लिऊँ, ‘आवारा’ फिल्मको स्वप्न–दृश्य । त्यो देखेपछि गुरुदत्तजस्ता निर्देशकले, ‘प्यासा’ मा त्यसैबाट प्रभावित भएर एउटा स्वप्न–दृश्य फिल्माए । त्योभन्दा बढी ‘स्वर्ग’ हिन्दी फिल्मलाई राज कपूरले नै दिए भनिन्छ । ‘आवारा’ को स्वप्न–दृश्यअघि धार्मिक फिल्महरूमा जुन स्वर्ग देखाइन्थ्यो, त्यो कपासको बादलको खात ठाउँठाउँमा राखेर निर्मित गरिन्थ्यो । ‘आवारा’ को ‘स्वर्ग–दृश्य’ पछि हिन्दी सिनेमामा स्वर्गको स्वरूप बदलियो । यस्ता अरू देन पनि छन् राज कपूरले हिन्दी सिनेमालाई दिएका, सबै त म लेख्न भ्याउँदिनँ पनि, जान्दिनँ पनि ।

अन्तिममा महत्त्वपूर्ण विषय । कुनै बखत चीन र रुसका सम्बन्धमा केही अल्झो आयो । चीन छिमेकी हुनाले चीन–समर्थक नेपालमा धेरै थिए । केही रुस समर्थक पनि थिए । दुवै पक्षको नेपालमा आलोचना चल्थ्यो । सन् ६० तिर सबथोक बदलियो । त्यसताका पनि एउटा कुरा बदलिएन– राज कपूरप्रति दुवै पक्षको धारणा ।

राज कपूरको जीवनका केही व्यक्तिगत पक्ष सम्झौं । उनको वास्तविक नाउँ हो– रणवीर कपूर । पछि ऋषि कपूरले यही नाउँ आफ्ना छोरालाई दिए, जो आजका नायक रणवीर कपूर हुन् । पृथ्वीराजअघि, उनीहरूको मध्य नाउँ ‘नाथ’ थियो । पृथ्वीको पिताको नाउँ वशेशरनाथ कपूर थियो । पृथ्वीले ‘नाथ’ हटाएर पृथ्वीराज राखे । राज कपूरले रणवीर पनि हटाएर राज कपूर राखे । तर, एउटा कुरा कतिलाई थाहा छ कुन्नि ? सुरुमा ज्योतिषीले मिलाएर राखेको नाउँ अर्कै थियो । त्यस हिसाबले राज कपूरको पहिलो नाउँ थियो– सृष्टिनाथ कपूर । पहिलो नाउँ त रहेन, तर राज कपूरले फिल्ममा एउटा युग सृष्टि गरेकै हुन्, हिन्दी फिल्ममा कोही पनि यसमा दुईमत राख्दैन ।

त्यसकारण ‘सृष्टिनाथ कपूर’ लाई फिल्ममा अनेकौं सृष्टि गरेकामा हिन्दी सिनेमाका एक प्रेरक र अमर स्रष्टा मानिएको छ ।

प्रकाशित : जेष्ठ २७, २०८० ११:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?