कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

दुःखी छु– मान्छेहरू मेरो चेतनामाथि नै प्रश्न गरिरहेका छन्

म यही समाजको उपज हुँ, यही समाजको उत्पादन । त्यसैले आफैंलाई ‘म खतरै हुँ, क्रान्तिकारी हुँ, एकदमै फरक हुँ’ भन्न सक्दिनँ । मेरो चेतना, दृष्टिकोण यही समाजले निर्माण गरेको हो ।
प्रकाश सपुत

कुनै ‘ठूलै’ वा ‘भव्य’ उद्देश्य राखेर गीत ल्याइँदैन । त्यस्तो हुँदैन पनि । म एक व्यावसायिक सर्जक हुँ, एक व्यावसायिक कलाकार । बेला–बेला गीत सार्वजनिक गर्नु, दर्शक–श्रोतासँग आफूलाई अपडेट राख्नु मेरो काम–कर्तव्य हो ।

दुःखी छु– मान्छेहरू मेरो चेतनामाथि नै प्रश्न गरिरहेका छन्

‘सकम्बरी’ गीत ल्याउनुमा मेरो कुनै पनि गलत मनसाय छैन । आफ्नो सिर्जनाले प्रभाव पारोस्, व्यावसायिक रूपमा सफल होस्, त्यसले केही न केही छाप छाडोस् भन्ने उद्देश्य हुन्छ नै– एक सचेत व्यावसायिक सर्जकको । त्यस्तै उद्देश्यअनुकूल ल्याइएको हो यो गीत पनि । आफूबाहेक अरूले बाँचिरहेको जीवन, वर्तमान समाज, मान्छेका भोगाइ, परिस्थितिप्रति पनि मेरा केही चासो हुन्छन् । केही आफूले पढेका, केही आफूले देखेका, केही आफूले बाँचेका समयसँगै विभिन्न पात्रसँग मेरो साक्षात्कार हुन्छ । ती पात्रले थाहा पाऊन् या नपाऊन् !

...

म मान्छेहरूलाई व्यक्तिगत रूपमा मूल्यांकन गर्दिनँ । उनीहरूलाई कुनै पनि प्रकारको हस्तक्षेप गर्दिनँ । मान्छेहरू बाँचिरहेको समय र जीवन हेर्न रुचाउँछु । उनीहरू कसरी सोच्छन् ? कसरी बाँच्छन् ? त्यो विषयतिर पसिहेरे त्यहाँ देखिन्छ– हाम्रोजस्तो अस्थिर र मिश्रित समाजका विभिन्न रंगहरू । ती रंगहरू बटुल्न मलाई मन लाग्छ । र, यसरी रङहरू बटुलेर ‘सकम्बरी’ मा मैले एउटा समाज खडा गरेको छु । हाम्रो समाजकै बिम्बहरू सापटी लिएर, तिनै बिम्ब र समाजका पात्रहरूमार्फत मैले एउटा अर्को समाज निर्माण गरेको छु– ‘सकम्बरी’ मा ।

मानिसहरूले ‘सकम्बरी’ लाई मेरै निजी विचार वा व्यक्तिगत भनाइजस्तो मानेर, मेरो चेतनासँग जोडेर हेरिरहेका छन् । तर, ‘सकम्बरी’ मा मेरो निजी विचार छैन । मेरो व्यक्तिगत दृष्टिकोण छैन । सायद समाजमा बाँचिरहेका पात्र ल्याउँदा, समाज बुझ्दा समग्र समाजलाई नै मैले गलत रूपमा बुझें भन्ने मान्छेको बुझाइ हो भने त्यसलाई म स्वीकार गर्छु । र, त्यसमा म आत्मालोचना पनि गर्न चाहन्छु । तर, मैले गीतमा जुन समाजबाट पात्र उठाएर, तिनलाई एकै ठाउँ जम्मा गरेर कथा भनेको छु, त्यस विषयमा म प्रस्ट छु ।

सोचें– त्यसमा मान्छे होस्, उसको चेतना होस्, ‘फूलमाया’ प्रतिको उसको व्यवहार होस् । ‘फूलमाया’ होस् वा ‘सकम्बरी’, तर, उसले भोगेका परिस्थिति होस्, उसको पारिवारिक पृष्ठभूमि होस्, चाहे उसले आफ्नै निजी यात्रामा भेटेका पुरुष हुन् । समाजको एउटा अंग हो त्यो । ‘फूलमाया’ वा ‘सकम्बरी’– उसलाई हेरिने दृष्टिकोण, उसलाई गरिने व्यवहार सबै समाजका उपज हुन् । ती सबै पात्र मैले समाजबाटै टिपेको हुँ । सायद मैले बुझेको मेरो समाज गलत हुन सक्छ । सायद समाजले छोरी मान्छेप्रति राख्ने दृष्टिकोण, छोरीले भोग्ने परिस्थितिलाई मैले गलत रूपमा बुझेको हुन सक्छु । यदि मैले ती सबै गलत रूपमा बुझेको रहेछु भने समाजले नै मलाई गलत रूपमा बुझाइरहेको छ । यदि यस्तो छैन भने समाजलाई नै मैले गलत रूपमा बुझिरहेको छु । होइन भने हामीले इमानदारीसाथ भन्नुपर्छ, हो समाजमा त्यस्तो परिस्थिति छ । र, त्यस्तो दृष्टिकोण छ । त्यसैले महिलालाई प्रश्न सोध्ने गरिन्छ । प्रश्न सोध्ने तिनै पात्रहरू, ती पात्रका बुझाइ र जसलाई प्रश्न सोधिएको छ सबैलाई एकै ठाउँ जम्मा गरेर मैले यो गीत सिर्जना गरेको हुँ । गीतको निर्माण–कथा हो यो ।

कथाको डोरो समाते धेरै वर्षअघि पुगिन्छ । ‘पीर’ सँगै रात्रिकालीन संसारमा काम गरिरहँदा त्यस्ता विभिन्न पात्रबारे मैले नोट गरेको थिएँ । र, यो गीत एक पात्रको कथा हो, जसले धेरैलाई प्रतिनिधित्व गर्न पनि सक्ला वा नसक्ला । यदि यो गीतले एक प्रतिशतलाई मात्रै पनि प्रतिनिधित्व गर्छ भने त्यो उनीहरूकै कथा हो । कला बुझ्नेहरूले बुझ्नुभएकै छ । कथा बुझ्नेहरूले बुझ्नुभएकै छ । तर, केही मानिसले जबर्जस्ती यस गीतलाई मेरो चेतनासँग वा मुद्दासँग जोड्नुभएको छ ।

असलमा मलाई दुःख लागेको विषय के भने मान्छेहरूले मेरो चेतनामाथि नै प्रश्न गरिरहेका छन् । मेरो दृष्टिकोणमाथि, मेरो ‘पितृसत्तात्मक’ सोचमाथि नै प्रश्न गरिरहेका छन् । सायद म पनि यही समाजको उपज हुँ । म यही समाजको उत्पादन हुँ । यही समाजमा मेरो चेतना निर्माण भएको हुनाले म आफैंलाई ‘खतरै’ हुँ, ‘क्रान्तिकारी’ हुँ, एकदमै ‘फरक’ हुँ भन्न सक्दिनँ । कहीं न कहीं मेरो दृष्टिकोण एकपक्षीय हुन सक्छ । मेरो दृष्टिकोण पितृसत्तात्मक हुन सक्छ । यसमा म अछुतो छु भन्दिनँ । गीतमा जति प्रस्तुतीकरण छ, जति दृष्टिकोण छन्, जति प्रश्न महिलाको चरित्रमा उठाइएको छ, त्यो सबै समाजको शैली हो, समाजको दृष्टिकोण हो । हामीले कहीं न कहीं त्यो दृष्टिकोण मस्तिष्कमा राखेकै छौं, देखेकै छौं, भोगेकै छौं । यिनै विषयलाई एउटा ऐनाजसरी देखाएको मात्रै हुँ मैले । र, यसमा मेरो आफ्नै व्यक्तिगत धारणा छैन । यो ‘इगो हर्ट’ होइन, इगोमा यस्ता राम्रा सिर्जना बन्दैनन् ।

...

धेरैले ममाथि पैसाका लागि गीतमा भावना र यौन बेचिरहेको भन्नेखालको एकदमै तल्लो स्तरको प्रतिक्रिया दिइरहेका छन् । कतिले व्यक्तिगत रूपमै आक्षेप लगाएर राम्रै लेखहरू लेखिरहेका छन् ।

पैसाकै लागि मैले यो काम गरिरहेको भन्ने विषयबाटै कुरा गरौं । नेपालबाट युट्युबमा हेरिएको कन्टेन्टको पैसै आउँदैन । खासमा नेपालबाट चलाइएका युट्युबको औसत आम्दानी नै छैन । यदि युट्युब–कन्टेन्टको मनग्गे आम्दानी हुन्थ्यो भने, कि त थुप्रै मान्छेले युट्युबमा लगानी गर्थे र अझै राम्रा–राम्रा कन्टेन्ट आउँथे । न्यूनस्तरको हामीले हेर्नै नसक्ने कन्टेन्टको निर्माण किन हुन्थ्यो होला र ? युट्युबले नेपाललाई औसत पैसा मात्रै दिन्छ । यस्तो हुँदा पनि नेपालमा युट्युब व्यवसाय फस्टाएकै छ । तर पनि हेर्नै नसक्ने कन्टेन्ट बनिरहेकै छन् । र, युट्युबबाट कस्ता पात्र स्थापित भए, तपाईंहरूले देखिरहनुभएकै छ । अझै आम्दानी हुन्थ्यो भने सोच्नुस् त कस्ता–कस्ता कन्टेन्ट निर्माण हुन्थे होलान् ! युट्युबको खेती राम्रो होइन है भन्ने बोध भएरै अहिले धेरैले छाडिसके । नेपालमा धेरै बेरोजगारी, आर्थिक अभाव भएरै वैकल्पिक आयस्रोतका रूपमा युट्युबमा कन्टेन्ट निर्माण भइरहेको देखिन्छ ।

मैले युट्युब प्लेटफर्ममा मात्रै हो– गीत राख्ने । अहिले करिब दुई करोड भ्युज हुँदै गरेको मेरो १५ मिनेटको गीत ‘सकम्बरी’ को कमाइ १५ लाख पनि छैन । जबकि यो गीत निर्माण हुनै १८–२० लाख रुपैयाँ खर्च भएको छ । त्यसैले मैले पैसाकै लागि यो गीत बनाएँ भन्ने मान्छेहरूको तर्क मप्रतिको व्यक्तिगत आरोप हो, ईर्ष्या हो ।

मेरो आम्दानी देश–विदेशका कार्यक्रम र म्युजिक भिडियो नै हुन् । म जति धेरै आरोप र वादविवादमा फस्छु र मेरो चर्चा बराबर विवाद हुन्छ, त्यसले त कसरी रमाइलो हुन्छ र ? कसरी मजा आउँछ र ? अघिल्लो पटक ‘पीर’ को विवादले मैले दुई/तीनवटा राम्रा–राम्रा ब्रान्डसँग एम्बासडर भएर काम गर्ने सम्झौता तोड्नुपर्‍यो ।

यदि म दर्शकबीच साँच्चै विवादमा पर्ने हो, सस्तो लोकप्रियता र चर्चामा दौडने हो भने मैले कार्यक्रमै पाउँदिनँ, अडिएन्ससम्म पुग्नै सक्दिनँ । त्यसपछि कसरी मेरो कमाइ हुन्छ ? त्यसैले मैले अडियन्समा राम्रो छाप छोड्नैपर्छ । आफ्नो नामको ब्रान्ड जोगाउनुपर्छ, राम्रो भ्यालु छोड्नुपर्छ । यो क्षेत्रलाई सफा बनाउनुपर्छ भन्नेमा म व्यक्तिगत र व्यावसायिक हिसाबले पनि सधैं सचेत रहन्छु । सस्तो लोकप्रियताका लागि वा विवादमै आउनुपर्छ भनेर यो काम गरेकै होइन । यो कुरो भनिरहनुपर्ने थिएन, तर, मान्छेहरूले व्यक्तिगत तवरमै ओर्लेर ममाथि अनेक आरोप लगाइरहेका छन् । ‘सकम्बरी’ गीत निर्माणमा लगाउने जोडबल वा त्यो समयलाई मैले देश–विदेशका कार्यक्रम र अरूका म्युजिक भिडियोका लागि दिने हो भने म मनग्गे पैसा कमाउँछु । सिर्जनात्मक हुटहुटी, कथाहरूले हिर्काउँदा र व्यावसायिक हिसाबले वर्षमा एक–दुई गीत बनाउँ भनेर काम गर्छु म । कन्टेन्ट निर्माणमा आफ्नो राम्रो ब्रान्ड भ्यालु बनाएको छु मैले । एउटा गीतलाई ६ महिना समय लगाउनुभन्दा अरूको म्युजिक भिडियो खेलेर, देश–विदेशका कार्यक्रमबाट र ब्रान्डहरूको ‘इन्डोर्स्समेन्ट’ बाटै म प्रशस्त पैसा कमाउन सक्छु । मलाई लामो समय लगाएर, गाली खाएर, विवादमा फसेर यस्तो कन्टेन्ट बनाउनुपर्ने जरुरी नै छैन । यो मेरो रुचिको विषय हो, मैले समाजलाई प्रश्न गर्नु छ, केही भन्नु छ र सुसूचित गराउनु छ । यस्तै आदि–इत्यादि कारणले म कन्टेन्ट बनाउँछु, गीत बनाउँछु, कथा निर्माण गर्छु । त्यसलाई कथानक रूपमा नबुझेर मान्छेले मलाई व्यक्तिगत रूपमा गाली गरिरहेका छन् ।

यद्यपि के हो भने मैले गरेको सिर्जना, सिर्जनाका पात्र वा मेरा अघिल्ला गीतका केही विवादमाथि मात्रै टिप्पणी गर्नेहरूलाई लाग्छ होला– यसले त केही पनि बुझ्दैन ! म सिर्जना गर्ने, त्यति धेरै पात्र र चरित्र निर्माण गर्ने, तिनको ‘साइकोलोजी’ हालिदिने, उनीहरूको परिस्थिति, संवाद, संगीत भर्ने मान्छे हुँ ।

ममाथि लेखिएका आलेखहरूमा कसले सिर्जनामाथि समीक्षा गरिरहेको छ ? कसले व्यक्तिगत प्रहार गरिरहेको छ ? कसले ईर्ष्याले लेखिरहेको छ ? वा साँच्चिकै विषयवस्तु बुझेर लेखिरहेको छ ? उसले समाजलाई सुसूचित गर्न लेखिरहेको छ ? वा मप्रतिको नकारात्मक भाव प्रकट गर्न लेखिरहेको छ ? त्यति कुरा म कि बुझ्दिनँ होला र ?

पहिले मलाई यस्ता विषयले खुब प्रभाव पार्थे । अहिले यी कुरा फिल्टर गर्न सक्छु । हामी क्लासिक उपन्यासहरूका पात्र र चरित्रमाथि पनि समीक्षा गर्ने गर्छौं । म प्रशंसाको भोको होइन । मेरा सिर्जनामाथि जति गाली आऊन्, मेरा सिर्जनाका पात्रमाथि समीक्षा गरून्, सकम्बरीका ती पात्र, चरित्र, निष्कर्षका विषयमा मज्जाले चर्चा गरून्, यो भएन, त्यो भएन भनुन् । तर, मान्छेहरूले व्यक्तिगत रूपमा ‘पहिले पनि विवादमा आएको मान्छे, यो यस्तो, यो उस्तो’ भनेर शान्त मानिसलाई जसरी प्रहार गरिरहेका छन्, त्यसले देखाउँछ– उनीहरूको उद्देश्य निरुत्साहित गर्नु हो । अब म अलमलिनुहुन्न, निरुत्साहित हुनुहुन्न भन्नेमा सचेत भइसकेको छु । म अरूको विचारलाई सम्मान गर्छु । तर, व्यक्तिगत तवरमा उत्रिएर मलाई नकारात्मक प्रहार गर्न थाल्नुभयो, निरुत्साहित गर्न थाल्नुभयो भने त्यसले तपाईंलाई, मलाई, हाम्रो समाजलाई नै एकखाले घाटा पुर्‍याउँछ ।

...

खासमा ‘दोहोरी ब्याटल–थ्री’ को प्लान गरेर प्रीति आले र मैले तयारी गरिसकेका थियौं । गीतलाई एरेन्जमा दिइसकेका थियौं । संगीतको काम अघि बढिसकेको थियो । सायद अहिले प्रीतिजी मसँग रिसाउनुभएको होला, अर्को गीत पो निकालेर भाइले ‘सरप्राइज’ दियो भन्दै ! तर, ‘पीर’ आएपछिको एक वर्ष म अलि बढी डिस्टर्ब भएँ । ‘पीर’ मा उठाइएको मुद्दा अर्कै थियो । अरू पात्र नै प्रमुख थिए । तर, मान्छेहरूले सानो अंशमा मात्रै देखिएकी एक पात्रलाई नोटिस गरे । तिनै पात्रलाई मात्रै मान्छेले बहस–छलफलको विषय बनाए । ‘पीर’ का अरू सबै पात्र ओझेल परे ।

र, एकै पात्र मात्रै मान्छेहरूको मस्तिष्कमा बस्यो– यौनकर्ममा लागेकी पात्र । राम्रो तरिकाले बुझियोस् या नराम्रो, तर मान्छेहरूले त्यही एक पात्रलाई एकदमै धेरै फोकस गरे । गीतको त्यो दृश्यलाई मैले हटाउनुपर्‍यो । त्यसका थुप्रै कारण छन् । यसबारे पछि कुनै बेला कुरा गरौंला । तर, मेरो मस्तिष्कमा एउटा प्रश्न छँदै छ– केवल त्यही पात्रलाई किन मान्छेहरूले फोकस गरे ? ‘पीर’ मा मुख्य पात्र त अरू नै थिए । मुख्य कथा त अर्कै थियो । यो मलाई महसुस भइरहेको, सधैं हिर्काइरहेको विषय हो ।

गीत हटाउनुपरेको पीडा मसँग छँदै छ । सर्जकीय हिसाबले हामीले ‘पीर’ मा निर्माण गरेका पात्र र परिस्थितिलाई नजरअन्दाज गरियो । म यसरी डिस्टर्ब भएँ कि मैले ‘दोहोरी ब्याटल थ्री’ मा काम गर्नै सकिनँ । त्यसमा कनेक्ट हुनै सकिनँ । किनकि ‘पीर’ को त्यो एउटा पात्रले मलाई लामो समयसम्म पछ्याइरह्यो । मेरो अचेतन दिमागमा पहिल्यैदेखि बसिरहेको ‘फूलमाया’ र ‘सकम्बरी’ का कथा ‘पीर’ को भिडियोबाट हटेकी त्यही पात्रसँग कहीं न कहीं ‘कनेक्ट’ भएर आयो । यसरी एक वर्षसम्म अरू कुनै पनि सिर्जना र कथा मैले मस्तिष्कमा राख्नै सकिनँ ।

...

खासमा मेरो काम गर्ने शैली केही फरक छ । म आजको भोलि नै गीत तयार गर्न सक्दिनँ । मेरो मस्तिष्कमा एउटा कथा बस्छ, विषयवस्तु बस्छ र त्यही विषयवस्तु अनुसार शब्द, लय र सिन टिप्दै अघि बढ्छु । ५/६ महिना वा एक वर्षको अवधिमा बल्ल एउटा गीत निस्कन्छ ।

अलि बढी नै विवादित बनेको ‘पीर’ को बढी फोकस गरिएको त्यो पात्रको कथा कहीं न कहीं मेरो दिमागमा कनेक्ट हुँदै आएर म ‘सकम्बरी’ को कथाबाट बाहिर जानै सकिनँ । र, अहिले यो गीत आयो ।

अघिल्लो पटक त्यही पात्रमाथि विवाद भएको, अहिले पनि मुख्य पात्र कहीं न कहीं त्यो पात्रसँग मिल्न गएझैं भएर मान्छेहरूले सोचे– मेरो चेतना त्यति मात्रै हो त ? मैले यौनका कथा मात्रै लेखिरहेको छु, महिलालाई त्यही दृष्टिकोणमा मात्रै प्रस्तुत गरिरहेको छु भनेर मान्छेहरू त्यही दृश्यमा बढी फोकस भए ।

‘पीर’ मा त्यो पात्रको चर्चा यति धेरै नभइदिएको भए, मान्छेहरू त्यो पात्रमा मात्रै फोकस नभइदिएको भए पनि ‘सकम्बरी’ निस्कन त निस्कन्थ्यो । यसको लय, शब्द, कथा बुनिसकेकै थिएँ । तर, त्यसमा यति छिट्टै काम गर्दिनथें होला । ‘पीर’ पात्रको इगो हर्ट, मान्छेहरूले मलाई हेर्ने दृष्टिकोण र कहीं न कहीं त्यसले ममाथि पारेको प्रभावले यो कथामा म काम गर्न बाध्य भएँजस्तो लाग्छ । ‘पीर’ को त्यो पात्र बढी चर्चित हुनु र अहिले ‘सकम्बरी’ को मुख्य पात्र नै त्यो पात्रसँग मिल्दोजुल्दो हुनुले मानिसहरूले मेरो चेतनामाथि निरन्तर प्रहार गरेझैं लाग्छ । तर, यस्ता पात्रहरू र कथा मसँग अझै छन् ।

सपुतको गीत 'सकम्बरी'बारे कान्तिपुरमा प्रकाशित विचारहरू :

प्रकाशित : वैशाख १६, २०८० १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?