२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८३

कथाजस्तै बाँचेर मरी झिम्कीकी आमा

उसले यी रातहरू अनिदो काटेको कति भयो ? कि उसैलाई थाहा छ कि अँध्यारो रातलाई । बाहिर हुन्डरी थामिने छाँट छैन, भित्र मनको हुन्डरी छ । फरक यत्ति हो– बाहिरको आँधी केही समयमै थामिनेछ, तर कसोगरी थामिएला मनको आँधी ?
विमला तुम्खेवा

तिर्न नसक्नेले किन ऋण लिनुपर्‍यो ? माग्ने बेला मइन गरेर, खाने बेला चइन गरेर, तिर्ने बेला अइन खोज्ने ? आजको दिन नकटी मलाई मेरो सुन जस्ताको तस्तै चाहिन्छ ।’ यति भनेर झिम्कीकी आमाले देब्रे हातले छाती पिटी र निधारमा सोहोरिएको कपाल सम्याउँदै जुरो बनाई । बुढीऔंलासँगै उम्रिएको छैटौं औंलाले टाउको कन्याई र थचक्क फलैंचामा बसी । आँखामा आक्रोश थियो । अनुहारमा एक किसिमको तुफान । र, नीरस थियो आँखा ।

कथाजस्तै बाँचेर मरी झिम्कीकी आमा

उसको असली नाम के हो ? कहाँ जन्मिएकी थिई ? स्थायी घर कहाँ हो ? उसको आमाको नाम के हो ? के उसको आफ्नै नाम छैन ? के उसको आफ्नै पहिचान छैन ? तर, जीवनको यो मोडसम्म आइपुग्दा चार छोरी जन्माई । झिम्की कान्छी छोरीको नाम हो । त्यसैले चोकमा सबैले उसलाई झिम्कीको आमा भनेरै चिन्छन् । श्रीमान् सुँगुरको पाठा व्यापारी । हुनुपर्ने सुन व्यापारी हो– खै के तुकबन्दी मिलेन र उसले पाठा व्यापार गर्न थाल्यो, उसैले जानोस् ।

झुरुप्प उभिएका स–साना छाप्राहरू । देब्रेतिर सडक किनारमा एक्लै उभिएको बरको रूख र सखुवाको फ्याकले बनेको पुरानो फलैंचासँगै टाँसिएको त्यो चियापसल । गर्मी होस् कि हिउँद, घाम र शीतल ताप्न बांगेचोकको मान्छेको सुख–दुःखको चौतारा हो– बरालको चियापसल ।

हो, आजको दिन यहाँ सधैंझैं छैन । झिम्कीकी आमा कराएपछि चोक शून्य छ ।

‘लगेपछि तिर्नु पर्दैन भाइ ?’ सन्तेको बाउतिर फर्किएर कराई झिम्कीकी आमा । छेउमै रेडियो सुनिरहेको सन्तेको बाउ बोल्यो, ‘दिने बेला हामीले देखेनौं ।’ सन्तेको बाउको कुरा सुनेपछि झिम्कीकी आमा अझै जोडले कराई । चोकमा एकैछिनमा हल्ला फैलियो । काइली फुपू, कुमारकी आमा, सिबु साइँला, योङहांगी कान्छी, सुरेन्द्र, चेक्छु कान्छा सबै भेला भए, तर बरालले पसलबाटै सुनिरह्यो ।

झिम्कीकी आमाको चर्को आवाज चिर्दै–चिर्दै हावा निकै परसम्म पुग्यो । तर, पजिनाकी आमाको मुटुको गति त्यो हावाभन्दा तेज धड्किरहेको थियो । गरिब हुनुको नियति कति दुःखान्त हुन्छ ? त्यो बुझ्न पजिनाकी आमाको विवशता बुझ्नुपर्छ । उमेरभन्दा पहिले चाउरिइसकेको उसको अनुहारको मुजाले स्पष्ट झल्को दिन्थ्यो– गरिब हुनु कत्ति गाह्रो छ ! साँच्चै अभावले मान्छेलाई लाज मर्नु बनाउँछ कि सहनशील बनाउँछ ?

‘मेरो छाला काटेर लिए त हो दिदी, पर्ख न केही समय !’ यत्ति बोलेर ऊ चुपचाप फलैंचामा बसी । पजिनाकी आमाको जीवनमा दुःख पनि कति भने राई कान्छासँग मायामै परेर बिहे गरी । छोराछोरी जन्मिए, तिनको गु–मुत सोहोरेर ठूलो बनाई । रात–दिन नभनी दुःख गरिरही । उसको बैंस कतिखेर चिप्लियो, उसैलाई थाहा भएन । तर, अब अगाडिको उसको सारा जीवन संर्घषले भरिएको छ । उसलाई बिस्तारै आफ्नो दुःख सकिन्छ भन्ने ठूलो आड–भरोसा थियो, तर त्यस्तो भएन । झिम्कीकी आमा केही मत्थर भएझैं देखिई, तर उसको अनुहारमा रिस अझै देखिन्थ्यो । यो झगडा चैत–याममा जंगलमा आगो लागेझैं एकैछिनमा चोकभरि फैलियो ।

बरालको चियापसल रेडियो नेपालजस्तै हो, चोकका मान्छेहरूका लागि । बरालको आफ्नै विशेषता छ । कालो इस्टकोट र हाप जाँगे अनि अनुहारमा झुन्डिएको नाक । चिया खान, क्यारेमबोर्ड खेल्न नेता, सुंगुर व्यापारी, समाजसेवी सबै दिनमा एकपल्ट बरालको चिया पसल पुगेकै हुन्छन् । उसको किस्सा पनि मान्छेपिच्छे फरक । ऋण माग्दा जति पनि दिन्छ, तर ब्याज सौकडा दस छाड्दैन । चोकमा उसको बाँकी नखाएका मान्छे नै छैनन् । पछाडि घाँटीभन्दा अलि माथिसम्म तुर्लुंग झुन्डिएको टुप्पीले उसको व्यक्तित्वलाई खास देखाएको छ । रामे सुनारलाई बराल आफ्नो पसलमा चिया खान आउँदा राजा आएजस्तै स्वागत गर्छ, पैसाको तुजुक जो छ ।

छोरीहरूले साह्रै दुःखले बनाइदिएको त्यो मडवारी झिम्कीकी आमाका लागि खासमा खेलोफड्को थियो । अलिकता टोलछिमेकमा रवाफ थियो, समग्रमा उसको आत्मसम्मान थियो । तर, योपल्ट यस्तो भएन । मडवारी गएपछि फर्किएर आएन । सँगै उसका रहरहरू गए । उसको अनुहारको आभा हरायो, जसरी चैतमा रूखबाट पातहरू झरेर जान्छ र रूख नांगो हुन्छ । दुःखका परिदृश्यहरू निर्माण हुँदै गए । ऊ ओइलिएर झर्न लागेको बाबरी फूलझैं भई । त्यसो त झिम्कीकी आमा फलैंचामा बसेर कराएको यो दोस्रोपल्ट हो ।

लिम्बू कान्छा बांगो टोपी मिलाउँदै बोल्यो, ‘हाउ, पैसा र बैंस जतन गर्न जानेन भने गाह्रो पो हुन्छ त । तिर्न नसक्ने भएपछि ऋण नखानू । ऋण भनेको त घीन पो हो त ।’ यति बोलेर प्याच्च थुक्यो र फिस्स हाँस्यो ।

‘चोरेर खाएको होइन, एक दिन तिर्छु । छोराले खुट्टा टेकिदिएन र मेरो दुःख बढ्यो यति साह्रै बेइज्जत नगर न दिदी ।’

उसलाई कति–कति दुःखहरूले गिजोल्दा पनि यति दुःख लागेको थिएन ।

उहिले–उहिले बहुदल आउनुअघि यो बांगेचोक बिसाउनी थियो, बटुवाहरूको । अहिले बनेका घरहरूको ठाउँमा जंगल थियो । पछि हो बस्ती बसेको । सुरुका दिनहरूमा लहरै बाटोकिनारमा सेउलाले छाएका टहरा मात्रै थिए । चोकका मानिसहरूको एउटा विशेषता के हो भने गरिब छन्, तर परेको बेला छिमेकीलाई दिलो–ज्यानले सहयोग गर्छन् । अस्पताल जान नपाई कोही मर्दैनन् । बाझे, जुधे पनि परेका बेला एकअर्कालाई सहयोग गर्छन् ।

त्यसैले दुई वर्षअघि हिउँदको एक साँझ पजिनाकी आमाले झिम्कीकी आमालाई भनेकी थिई, ‘दिदी पन्ध्र दिनमा सौकडा दसको हिसाबसहित तपाईंको सुन जस्ताको तस्तै फर्काइदिन्छु । यो अड्को फुकाइदिनुपर्‍यो, लालीगुराँस सहकारीले गर्नसम्म गर्‍यो ।’ अलिकता वचन काट्न नसकेर, अलिकता ब्याजको लोभले अनि बाँकीचाहिँ रक्सीको सुरमा उसले थपक्क कानबाट खोलेर दिएकी हो मडवारी । तर, समयमा मडवारी फर्काउन सकिन । र, यस्तो दिन आइलाग्यो । त्यति मिल्ने छिमेकी अहिले गोमान र धामान भएका छन् ।

छोरीहरूले असाध्यै दुःख गरेर जम्मा गरेको पैसाले उसलाई यो मडवारी बनाइदिएका थिए । आज रिसको झोंकमा नाकैमा पजिनाकी आमालाई औंला लगेर घोचेपछि हातै हालाहालको अवस्था आयो ।

‘किस्ता तिर्न गाह्रो भयो भनेर थपक्क फुकालेर दिएको हुँ मैले,’ झिम्कीकी आमाको चर्किएको स्वर हावामा हरायो ।

बांगेचोकमा लालीगुँरास सहकारीले कतिलाई रुवायो, कतिलाई हँसायो ठेगान छैन, धेरैको हुँदाखाँदाको घरबार उजाड बनायो । सुरुवाती दिनहरूमा सहकारी आउँदा हरेक घरमा उल्लास नै थियो । भए खान पाइने नभए भोकै सुत्नुपर्ने नियति भोग्दै आएका यहाँका मानिसका निम्ति बिनाधितो तुरुन्तै ऋण पाइने भएपछि योभन्दा खुसीको कुरा अरू के हुन सक्थ्यो र ? तर, किस्ताले ल्याएको यो खुसी धेरै बेर टिक्न सकेन । बिस्तारै हरेक घरमा दुःखको आँधी ल्यायो । मान्छेको अनुहारबाट खुसी हराउँदै गयो ।

पजिनाकी आमाको घरसँगै जोडिएको पल्लो घरको सन्तुले चारतिर किस्ता लिएपछि वर्ष दिन भयो– ऋण तिर्न अरब भासिएको । सन्तुकी जहानले आफ्नै घरबाट यो सब हेरिरहेकी थिई ।

अघिदेखि सबै सुनेर सालको मुढामाथि बसिरहेको सुरेन्द्र बोल्यो, ‘नकराऊ है, माइजू दिने बेला दियौ !’

‘तँ मुलाको त के कुरा गर्नु र कि तैंले दिन्छस् मेरो मडवारी ?’

‘दिएर नै लगेको होला तिम्रो सुन, चोरेर लगेको होइन , निचोरे गुहु आउँछ काटे रगत ।’

झिम्कीकी आमा ऊतिरै फर्किएर कराई । ‘तँ नागाको त के कुरा !’

सुरेन्द्रको विषयमा भन्नुपर्दा उहिले कहिले चार नम्बर दिक्तेलबाट झरेको हो । यो चोकमा ऊ बसेको दशक बितिसक्यो । उबारे बुझ्नेहरूले भन्छन्– पहाडमा उसको छोरी र श्रीमती छ ।

सुरेन्द्र बम्क्यो, ‘आफ्नो त मुड्की सिरानी, करङ डन्लप, जिन्दगी जिन्दावाद ।’

झिम्कीकी आमाको रिस अझै मरेको थिएन । फतफताइरहेकी थिई । कम्मरबाट चुरोटको ठुटा निकालेर सल्काई । धूवाँले हावामा केही अमूर्त आकारहरू बनाएर विलीन भयो । साँझ झमक्क भइसकेको छ । तर, गर्मी महिना भएकाले पश्चिममा घाम डुब्नु र आकाशमा जून देखिनु एकैपल्ट भएको छ । प्रत्येक घरमा बलेको टुकीको उज्यालो बारको चेपबाट निस्कँदा भित्र के भइरहेछ, देख्न सकिन्छ ।

पजिनाकी आमाले यी रातहरूलाई अनिदो काटेको कति भयो ? उसलाई र यो अँध्यारो रातलाई थाहा छ । गरिबका निम्ति ऋण काल बनेर आउँछ भनेको त्यसै होइन रहेछ । ऋण सम्झिएरै जागै थिई । छेउकै खाटमा सुतिरहेको लोग्नेलाई हेरी र सोची, ‘यो लोग्ने भन्ने जात पनि बैंसकै साथी मात्र रहेछ ।’

बाहिर हुन्डरी थामिने छाँट छैन, भित्र मनको हुन्डरी । फरक यत्ति हो बाहिरको आँधी केही समयमा थामिनेछ, तर मनको आँधी कसोगरी थामिएला ? ‘यो मुर्दाङको सन्तानले मलाई धुरुक्क रुवाएर छोड्ने भो,’ मनमा यति कल्पेर ऊ फेरि कोल्टे फेरी । के मात्र गरिन उसले यो घरका लागि ? छोरा काम लागेन । गँजडिया भएर जेल पर्दा किस्ताकै ऋण काढेर, धरौटीमा छुटाएर उसैले हो ल्याएको । तर, छोरासँगै घरमा दुःख अझै बढेर आयो ।

भोलिपल्ट बिहान उठ्दा आठ बजिसकेको थियो । नौ बजे त साइटमै पुग्नुपर्छ । नत्र ठेकदारको गनगन सुनिसक्नुहुन्छ र ! निद्राले के छोडेको थियो, आँखाकै डिलमा आएर आँसु रोकियो– आफ्नो अवस्था सम्झिएर । भित्ताको काँटीमा झुन्डिरहेको झोला बोकी । एकफेर झिम्कीकी आमाको घरतर्फ हेरी र बाटो लागी ।

चित्रेको बाउ, घिसिङ बूढाबूढी र पजिनाको आमा चुपचाप हिँडिरहे । आज हँसीमजाक छैन, सन्नाटा मात्रै छ । दक्षिणतिर हुत्तिएका जबरजस्त बाटाहरू कति नीरस छ भने खन्ती, पास्नी, गाम्छा मिलिनियन बोटलमा भरेर बोकेको पानीको बोटलबाट निस्किएको आवाज मात्रै निकै पर–परसम्म सुनिन्छ ।

‘मेरो दुःख यो जुनीमा सकिँदैन, सासै फुत्केको दिन मात्रै मुक्ति पाउँछु है मैले,’ पजिनाकी आमा बाटोमा यति बोली ।

कानमा सिउरिएको देउराली चुरोट झिक्दै चित्रेको बाउ बोल्यो, ‘भनेको भाकामा तिर्न सकिँदैन, गरिब मुलाको त इमान पनि बेइमान हुन्छ हाउ, बैनी ।’

घिसिङनी झर्केर बोली, ‘छ्या, अलिक उता खाऊ न सुर्तीको धूवाँले मेरो टाउको दुख्छ !’

‘कसले छेउछेउ आऊ भनेको छ त, यत्रो फराकिलो बाटामा !’ जंगियो चित्रेको बाउ ।

‘हन के साह्रो सन्केको, यो दाजु !’

हाँस्दै चित्रेको बाउ बोल्यो, ‘कुरै त्यस्तो गर्छौ त !’

‘हाउ, पैसा र बैंस जतन गर्न जानेन भने गाह्रो पो हुन्छ त । तिर्न नसक्नेले ऋण नखानु ऋण भनेको त घीन पो हो त,’ यति बोलेर प्याच्च थुक्यो र फिस्स हाँस्यो घिसिङ बूढा ।

त्यसपछि दिल खोलेर हाँसेको हाँसोको गुन्जन यसरी हावामा गुन्जियो कि छेउका झाडीहरूमा बसिरहेका भँगेराहरू अत्तालिँदै उडेर गए ।

बिस्तारै बर्खा सुरु भयो । अझै पजिनाकी आमाले ऋण तिर्न सकिएको थिएन । सहकारीकै कारण घरमा बास थिएन । यही पीरले ऊ भित्रभित्रै मरिरहेकी थिई । चोकभरि नै सहकारीका कारण आतंकित थिए मान्छेहरू । पहिलाजस्तो थिएन, केही हराएजस्तो केही भएजस्तो, सहकारीकै कारण चोक आतंकित थियो । अचानक चोकमा झिम्कीकी आमा चर्को कराउनु, चोकवासीहरू चुपचाप सुनेको नसुनेझैं गर्नु अब स्वभाव भइसक्यो, जसरी सुरेन्द्र यही चौतारामा रातदिन बस्छ र रात–दिन कराइरहन्छ । यसरी उदास कहिल्यै थिएनन् यहाँका मानिसहरू । जे भइरहेको थियो लालीगुराँस सहकारीकै कारण भएको थियो । नत्र त बांगेचोकका मान्छे गरिब थिए, तर यति दुःखी र उदास कहिल्यै थिएनन् । ज्याला, मजदुरी गरेरै भए पनि छाकैपिच्छे मासु–भातै खान्थे र हाँसीखुसी थिए ।

धेरै महिनापछि फेरि आज के भयो कुन्नि ! एकफेर खकारैसरि थुकिराखेर पजिनाकी आमाको घरतिर हेरिपठाई झिम्कीकी आमाले । तर, अनुहारमा पहिलाजस्तो रिस थिएन । अम्बाको बोटमा चिचिला लाग्दै थियो । बाहिर आँगनमा जुठा भाँडा त्यसै लडिरहेका थिए । उसको रहरलाग्दो जिन्दगीलाई अलिकता रक्सीले अलिकता सुर्तीले अलिकता घरका मान्छेहरूको गनगनले र बाँकी मडवारीले भत्काई राखेर गयो, जसलाई अब सायद उसले कहिल्यै सम्याउन सक्दिन । उसको अनुहारमा कुनै आकांक्षा छैन । ऊ निकै कमजोर भइसकेकी थिई ।

करिब एक महिनापछि बिहानै झिसमिसेमा हल्ला चल्यो– झिम्कीकी आमा बिती । उसले आफ्ना सारा रिस र दुःखलाई स्मृतिमा छाडेर गई । ऊ अहिले सेतो कात्रोमा आँगनमा चुपचाप निदाइरहेकी थिई । फेरि सुनका मडवारी लगाउने रहर त्यसै रह्यो । छेउमा बसेर लोग्नेले उसको निधार सुम्सुम्याइरहेको थियो । लोग्नेको आँखाबाट झरेको आँसुले झिम्कीकी आमाको अनुहार पूरै भिजिसकेको थियो ।

बांगेचोक आज सुनसान छ । अब चोकमा पहिलाझैं कोही कराउने छैन । रातको अँध्यारोलाई चिर्दै पूर्वेली भाकामा कसैको लोकदोहोरी गीत सुनिनेछैन । जबसम्म ऊ जिउँदै थिई, चोक पनि रमाइलो थियो । आकाशमा धर्तीमै झरुँलाझैं फैलिएको सेतो बादल र जूनको उज्यालो कति रमाइलो लाग्थ्यो भने राति जूनको उज्यालोमा झुरुप्प बसेर गफ गरिएका ती पल अब सम्झनामा मात्रै रहे । पछिल्ला दिनमा झगडा गर्ने दुवैले सबै कुरा बिर्सिसकेका थिए । तर, मान्छेको जीवन घटनैघटनाहरूको परिघटना रहेछ । मर्ने त मरेर गइहाल्यो, तर पजिनाकी आमा आज पनि दुःख, अभाव र अपमानहरूबीच बाँचिरहेकी छे, यही चोकमा । गहिरो पीडाले ऊ बल्झिरहन्छे सधैं–सधैं । उसका सपनाहरू यो जीवनमा पूरा हुन्छ कि हुँदैन ? थाहा छैन, तर दुःख, अभाव र अपमानहरूले ऊ अझै जब्बर भएकी छे । झिम्कीकी आमा अब त चिहानमा माटो भइसकी, तर चौताराको पीपलबोटमा फेरि नयाँ मुनाहरू पलाएका छन् । त्यो लालीगुँरास सहकारीको बिल्डिङ चोकमा ठिंग उभिएकै छ ।

प्रकाशित : वैशाख २, २०८० १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?