कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उफ् ! गर्मी

गर्मीमा तापक्रमसँगै झिंगा, लामखुट्टे, उडुस, उपियाँको वृद्धिले विभिन्न संक्रामक रोग उत्पन्न हुन्छन् । धुलो धुवाँले आँखा र छालाको स्वास्थ्यमा पनि बढी समस्या हुन्छ । सरुवा रोग खास गरी, दूषित खाना र फोहोर पानीबाट सर्छ । फोहोर हात र सरसफाइ नगरिएका भाँडाकुँडाबाट पनि रोग सर्छ ।

उफ् ! गर्मी

झिँगा, लामखुट्टे आदिले रोगका जीवाणु संक्रमित व्यक्तिबाट निरोगी व्यक्तिमा सार्छन् । 
यस्ता संक्रामक रोगहरू ब्याक्टेरिया, भाइरस, प्रोटोजोआ आदिका कारणले लाग्छ । टाइफाइड (म्यादे ज्वरो), रगत मासी, हैजा, घाउ, खटिरा ब्याक्टेरियाका कारण लाग्ने सरुवा रोगहरू हुन् । दादुरा, मेनिन्गोइन्सेफलाइटिस, हेपाटाइटिस ए, रुघाखोकी र श्वासप्रश्वाससम्बन्धी संक्रमण भाइरसले गर्दा हुन्छ । मेनिन्जाइटिस, झाडापखाला तथा घाउ खटिरा जस्ता संक्रमण पनि सुुरुमा भाइरसकै कारण हुन्छन् । 
औलो, कालाज्वर, आउँजस्ता रोग प्रोटोजोआको कारणले लाग्ने सरुवा रोग हुन् । तराईको जस्तै उष्ण हावापानी भएका भित्री मधेस, टार र खोंचमा लामखुट्टेको टोकाइबाट औलो, इन्सेफलाइटिस र कालाज्वरजस्ता सरुवा रोगहरू पनि देखिन सक्छन् । 
आँखा पाक्ने : आँखालाई ढाक्ने एउटा पातलो पारदर्शी झिल्लीमा ब्याक्टेरिया, भाइरस, एलर्जीले संक्रमण हुँदा आँखा पाक्ने रोग लाग्छ । दूषित पानी र सरसफाइको कमीले वर्षा याममा यो समस्या बढी देखिन्छ । आँखा पाक्दा आँखा रातो हुनुको साथै चिप्रा लाग्ने, आँसु बग्ने, बिझाउने, आँखाको गेडा दुख्ने, टाउको दुख्ने, पातलो सिँगान आउने, उज्यालोमा हेर्न अप्ठयारो हुने हुन्छ ।
आँखा पाक्ने समस्या हुँदा आँखा छोइराख्नु हुँदैन । पटकपटक साबुनपानीले हात धुनुपर्छ । आँखा पाक्ने समस्या छिट्टै सर्न सक्ने भएकाले संक्रमित व्यक्तिले प्रयोग गरेका रुमाल, टावेल लगायत सामान अरूले प्रयोग गर्नुहुन्न । चर्को उज्यालोबाट बच्न कालो चस्मा लगाउनुपर्छ । दिनमा ३–४ पटक सफा पानीले आँखा पखालेर डाक्टरले भनेअनुसारको औषधि हाल्नुपर्छ । 
कीटजन्य सरुवा रोग : यस्तो सरुवा रोग संक्रमित व्यक्तिको शरीरमा रहेका जीवाणु वा परजीवीबाट निरोगी मानिसमा सर्छ । लामखुट्टे, भुसुना, टिक्स आदिले मानिस र जनावरमा यस्ता खाले रोग सार्छन् । लामखुट्टेले औलो, डेंगुका साथै हात्तीपाइले, चिकनगुनिया तथा ऐलो फिभर पनि गराउँछ । यीमध्ये औलो सबभन्दा डरदाग्दो कीटजन्य स्वास्थ्य समस्या हो ।
यस्ता रोगहरूबाट बच्न अभिभावकलाई भनेर घरवरिपरिको वातावरण सफा राख्नुपर्छ । खाल्डो, ड्रम र टायरमा पानी जम्न दिनु हुँदैन । लामखुट्टे र अन्य कीटहरूको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउनुपर्छ । लामखुट्टेबाट बच्न क्वाइल र लिक्विड बाल्नेभन्दा पनि झुलको प्रयोग गर्नु नै बुद्धिमानी हुन्छ ।
खाना/पानीजन्य सरुवा रोग: ब्याक्टेरिया, परजीवी, विषाणु र रासायानिक पदार्थ मिसिएर खाना र पानी दूषित हुन सक्छ । खाना/पानी प्रदूषित हुने सम्भावनाका धेरै चरणहरू छन् । खाद्य पदार्थको उत्पादन, प्रशोधन, ढुवानी, भण्डारण, वितरण, तयारी र ग्रहणका क्रममा प्रदूषित हुन सक्छ । त्यस्तो प्रदूषित खाना/पानी खाइयो भने रोग सर्छ । तिमीहरू जस्ता ससाना बालबालिका र अझै साना शिशुहरूलाई खानाजन्य संक्रमण ज्यादा हुन्छ । 
प्रदूषित खाना तथा पानीका कारण साल्मोनेल्ला, ई कोलाई, लिस्टेरिया, भिब्रिओ कोलेरा, नोरोभाइरस, हेपाटाइटिस ए भाइरस, विभिन्नखाले जुका, इन्टामोबिया हिस्टोलाइटिका, सिगेल्ला, जियारडिया, प्राओनजस्ता जीवाणु तथा प्राकृतिक तवरमै हुने टक्सिन (माइकोटक्सिन, बायोटक्सिन, एफ्लाटक्सिन) एवं हेभी मेटलले पछि गएर क्यान्सर, नसासम्बन्धी र मृगौला रोग राउन सक्छन् । साथै रोगसँग लड्न सक्ने क्षमता घटाइदिन्छन् । 
तिमीहरूमध्ये अधिकांशले चकलेट, आइसक्रिम तथा मिठाई पाउँदा चाटीचाटी खाने गर्छौ । खेल्दाखेल्दै, बाहिरबाट आउनेबित्तिकै खान हतारिने कतिको स्वभाव हुन्छ । खेलिसकेपछि, दिसा गरिसकेपछि, खाना खानुअघि र पछि साबुनपानीले हात धुने गर्नुपर्छ । हात धुने मामिलामा तिमीहरूलाई अलि बढी नै अल्छी लाग्न सक्छ । तर अल्छी नगर । बासी, सडेगलेका खानेकुरा कहिल्यै नखाऊ । उमालेर फिल्टर गरिएको पानी मात्र पिउने गर । नियमित रूपमा जुकाको औषधि खाने गर्नुपर्छ । हैजा, झाडापखाला लागि हालेमा जलवियोजनबाट बच्न जीवनजलजस्ता पुनर्जलीय उपचार थालिहाल्नुपर्छ । 
छालाको समस्या : गर्मी मौसम छालाको समस्या हुने मौसम पनि हो । गर्मीयाममा घाउ खटिरा, दाद, लुतो र पिलो आउने तथा जीउ चिलाउनेजस्ता समस्या देखिन्छन् । यसबाट बच्न हात, खुट्टा र पूरै शरीरको सफा राख्नु नै सबैभन्दा राम्रो उपाय हो । हप्तामा कम्तीमा पनि दुईपटक नुहाउनै पर्छ । स्कुलबाट फर्किनेबित्तिकै र खेलेर आइसकेपछि हातखुट्टा धुनुपर्छ । नुहाउने समय छैन भने टावेल भिजाएर जीउ पुछ्नुपर्छ । सुकिलो र सफा कपडा मात्र लगाउनुपर्छ । जुत्ता मोजाको सरसफाइमा पनि उत्तिकै ध्यान दिनुपर्छ । 

प्रकाशित : असार ४, २०७४ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?