कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जसले भित्र्याइन् खुसी 

विमल खतिवडा

काठमाडौँ — चितवनको सबै भन्दा विकट ठाउँमध्ये पर्छ– कान्दा गाउँ । भौतिक पूर्वाधार तयार नभई यो गाउँलाई नगरपालिकामा राखियो । अहिले यो गाउँ राप्ती नगरपालिकाको १३ नम्बर वडामा पर्छ । यो ठाउँ पुग्न सदरमुकामबाट एक दिन लाग्छ ।

जसले भित्र्याइन् खुसी 

गाउँमा सबैभन्दा बढी चेपाङ समुदायको बसोबास छ । तामाङ समुदायको बसोबास फाट्टफुट्ट छ । विकट बस्ती, त्यसमाथि भौतिक पूर्वाधारले पछि परेको गाउँमा कमै खुसीको खबर सुन्न पाइन्छ । कष्ट सहेर दैनिकी चलाउनुपर्ने बाध्यता छ । जति कष्ट सहे पनि त्यसलाई भुलाउने काम भने गाउँकै १२ वर्षीया सावित्री तामाङले गरिन् । कान्देश्वरी आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत सावित्रीको सफलताले यति बेला यो गाउँमा बडो खुसियाली छाएको छ ।

सावित्रीले गाउँमा पहिलो पटक स्वर्ण पदक भित्र्याउने इतिहास रचेकी छन् । गत पुस १७ र १८ गते सुनसरीको इटहरीमा १२ औं खुला अन्तर्राष्ट्रिय मैत्री तेक्वान्दो भएको थियो । उनीसहित प्रतियोगितामा ५ जना साथी भाग लिन गएका थिए । तर उनले स्वर्ण पदक नै जितिन् । उनले जितेको स्वर्ण पदकले सिंगो गाउँमा खुसी छाएको छ भने सँगै पढ्ने साथी दङ्ग छन् । अहिले उनी गाउँमा सेलेब्रिटीसरह भएकी छन् ।

सावित्रीले २९ देखि ३३ किलो तौलसमूहमा प्रतिस्पर्धा गर्दै स्वर्ण पदक हात पारेकी हुन् । ‘स्वर्ण पदक जित्छु नै भनेर गएकी थिएँ,’ सावित्रीले खुसी हुँदै भनिन्, ‘मेरो मिहिनेत र सबैको हौसलाले सोचेको कुरा पूरा गर्न सकेँ ।’ उनलाई तेक्वान्दो खेलाडीमा संगीना वैद्य मन पर्छ । भविष्यमा संगीनाजस्तै खेलाडी बन्ने उनको सपना छ । ‘मलाई राम्रो खेलाडी बन्ने मन छ,’ उनी भन्छिन्,‘ राम्रो खेलाडी बनेर राष्ट्रको नाममा खेल्ने मन छ, विकटमा रहेको गाउँलाई चिनाउन मन छ ।’

सावित्री बिहानै उठ्छिन् । तेक्वान्दो खेलका लागि तयार हुन्छिन् । गाउँकै कुमार–बलराम स्मृति छात्रावासमा बसेर कान्देश्वरी आधारभूत विद्यालयमा पढ्छिन् । तेक्वान्दो खेलेर विद्यालय जान तयार हुन्छिन् । शिक्षकले दिएको गृहकार्य भने बेलुका नै गर्छिन् । फुर्सद हुँदा पढ्न बस्छिन् ।

सावित्रीलाई अहिलेसम्म पनि टाढाबाट छात्रावासमा आएर गाउँले बधाई दिइरहेका छन् । ‘साथीहरू कसरी स्वर्ण जित्न सक्यौ भन्दै सोध्छन्,’ उनी भन्छिन्, ‘आफूले जानेको कुरा सबैलाई सिकाउँछु ।’ सावित्रीले सहभागिता जनाएको प्रतियोगितामा नेपालसहित १३ देशका खेलाडी सहभागी थिए । नेपालका २५ जिल्लाका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

सावित्रीका घरमा बुवाआमा, २ दिदी, २ दाजु र २ भाइ छन् । छोरीमा उनी कान्छी हुन् । परिवारको पाखोबारीमा फल्ने कोदो र मकैले जेनतेन वर्ष दिन खान पुग्छ ।

त्यसो त उनीसँगै गएका अन्य २ जनाले पनि कास्य पदक जिते । बुद्धिबहादुर चेपाङ र राममाया चेपाङले ३३ किलोभन्दा कम तौलसमूहमा कास्य पदक जितेका हुन् । उनीहरूलाई पनि बधाई आउने क्रम जारी छ । बुवाआमा दङ्ग छन् । बुद्धिबहादुर कक्षा ६ र राममाया कक्षा ५ मा पढ्छन् । सँगै गएका विनोद तामाङ र मंगलसिंह चेपाङले पदक हात पार्न नसके पनि कडा प्रतिस्पर्धा गरेका थिए ।

छात्रावासमा तेक्वान्दो सिकाउन थालेको डेढ वर्ष भयो । प्रशिक्षक सुमन दाहाल कक्षा ३ देखि ७ सम्म पढ्ने विद्यार्थीलाई तेक्वान्दो सिकाउँछन् । ‘सबैको खेलमा रुचि छ,’ उनी भन्छन्, ‘गाउँमा स्वर्ण पदक भित्रिएपछि तेक्वान्दो सिक्न विद्यार्थी झन् बढी उत्साहित छन् ।’

प्रकाशित : माघ ७, २०७४ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?