कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नाक

आँखामा पट्टी बाँधे पनि तिमी फूलको मीठो सुवास वा ढलको दुर्गन्ध सजिलै थाहा पाउन सक्छौ । भान्सामा पस्नेबित्तिकै धनियाँ र हिङको गन्ध छुट्टयाउन सक्छौ । यो कसरी थाहा पाउँछौं होला ? नाककै कारण यो सम्भव भएको हो ।

 नाक


नाकले अनुहारको पहिचान पनि दिलाउने काम गर्छ । बाह्य वातावरणमा जतिसुकै चिसो वा तातो भए पनि फोक्सोमा पुग्ने वायु ठिक्क तापक्रमको हुनुपर्छ । नाकको पोराभित्रको सतहमा हुने पातला रक्तनलीहरूले फोक्सोतिर जाने हावा न्यानो बनाउँछन् । त्यसैले कसैको नाक कोट्याउने बानी छ भने त्यसो गर्नु हुन्न । किनभने ती पातला रक्तनलीमा चोट पुगी नाथ्री फुट्न सक्छ । मानिसको टाउको गह्रौं हुन नदिन पनि नाकको भूमिका छ । नाकको वरिपरि हावा भरिएका कोष्ठ (साइनस) हरू हुन्छन् र तिनको मुख नाकको भित्री तहमै खुल्छ ।

नाकबाट कसरी सास फेरिन्छ ?
नाकभित्र ससाना रौं हुन्छन् । तिनले बाहिरबाट आएका धुलो कसिंगरजस्ता वस्तु रोक्छ । नाकले यसभित्र बहेको हावालाई न्यानो र ओसिलो बनाइदिन्छ । त्यहाँको ओसमा हानिकारक तत्त्व टाँसिन्छ र भित्र जान पाउँदैन । यसै कारण मुखबाट भन्दा नाकबाट सास फेर्नु राम्रो हुन्छ ।

कसरी सुघ्छौं हामी ?
कतिपय वस्तुका हावामा बहने अणुले छोड्ने संकेत नाकको उच्च भागमा रहेको अल्फ्याक्टरी इपिथेलियम नामक घ्राण रिसेप्टरको तहले ग्राहय गरी मस्तिष्कमा पठाउँछ र थप विश्लेषण हुन्छ । त्यसैले कुनै पनि गन्ध हामी सुँघेरै थाहा पाउँछौं । पफ्र्युम तथा कुनै कुनै खाद्यवस्तुले भने गन्धयुक्त अणु बढ्ता हावामा प्रक्षेपण गर्ने हुनाले टाढैबाट थाहा पाउँछौं । तर कतिपय बेला हामी जानाजानी सुँघ्छौं । यसरी जानाजानी गरने सँुघाइले गन्धयुक्त पदार्थ माथिसम्म ल्याउन मद्दत गरी बास्ना वा गन्ध थाहा पाउन सहज हुन्छ । ओठभित्र, जिब्रोमुनि जस्तै नाकभित्रका यी रिसेप्टरबाट हावामा तैरिएको वस्तु सोस्ने पनि हुनाले कतिपय लागूपदार्थ सुँघेर लिने गछ । जसलाई स्निफिङ भनिन्छ ।

रुघा लाग्दा किन गन्ध थाहा पाउँदैनौं ?
कुनै वस्तुबाट निस्केको अणुले हाम्रो नाकभित्रको विशेष खालको स्नायुलाई उत्तेजित पारेको खण्डमा त्यो सूचना स्नायुका माध्यमबाट मस्तिष्कमा पुर्‍याउँछ र हामी बास्ना वा दुर्गन्ध थाहा पाउँछौं । रुघा लाग्दा निरन्तर पानीजस्तो पातलो सिँगान बग्ने कारण तथा नाकभित्र निकै सुक्खा वा सिँगानको पाप्रा बन्न गई गन्ध थाहा पाउने प्रक्रियामा अवरोध पुग्छ । चोट वा कुनै संक्रमणका कारण नाकभित्रको स्नायुमा असर पुग्न गयो भने पनि गन्ध थाहा पाउँदैनौं ।

नाक बन्द हुँदा किन स्वाद थाहा हुँदैन ?
खाना खाँदै गर्दा स्वादका साथै बास्ना पनि ग्रहण गर्छौं । तर रुघाका कारण नाकको भित्री भाग म्युकस (बाक्लो स्राव) ले ढाकिएपछि राम्रोसँग बास्ना थाहा हुँदैन र खाना पनि कम स्वादिलो भएको महसुस हुन्छ ।

हाच्छिउँ किन आउँछ ?
श्वासप्रश्वास क्रियाको क्रममा नाकभित्र कुनै खालको अवरोध हुनु हुँदैन । कुनै बाहय वस्तु नाकभित्र अड्किएमा वा कुनै संक्रमणका कारण उत्पादन हुने चिडचिडाहटपूर्ण स्राव निकाल्नको लागि हाच्छिउँ आउँछ । हाच्छिउँ आउँदा फोक्सोभित्रको वायु एक्कासि घाँटी एवं नाकको बाटो भई बाहिर आउँछ । जस्तै खुर्सानीको खारको चिडचिडाहटले नाकभित्रको झिल्लीलाई चिडचिड्याई हाच्छिउँ आउँछ ।

प्रकाशित : जेष्ठ ७, २०७४ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?