कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोयल सेलिब्रिटी

काठमाडौं — डोरिया रगल्यान्डको अगाडिको ढोकामा दुई साताअघि रातो र कालो अक्षरमा ‘नो ट्रेसपासिङ’ (अनुमतिबिना प्रवेश निषेध) लेखिएर झुन्ड्याएको थियो । त्यो आदेशभन्दा पनि अनुरोध थियो ।

रोयल सेलिब्रिटी

अघिल्लो दिन आइतबारसम्म अमेरिकाको लस एन्जलस (एलए) मा सामाजिक कार्यकर्ताका रूपमा जीवन बिताइरहेकी रगल्यान्डको घर अगाडि भोलिपल्ट विश्वभरका पत्रकारहरू झुम्मिएका थिए । ढोका अगाडि गाडीमा बसिरहेका एक सुरक्षा गार्ड केनसिङ्टन दरबारको लेटरहेडमा लेखिएको पत्र वितरण गर्दै थिए ।
सोमबार रगल्यान्ड बेलायतका राजकुमार ह्यारीकी सासू बन्ने पक्का भएको थियो । साढे एक वर्षदेखि एकअर्कासँग प्रेमिल भेटघाट गरिरहेका ह्यारी र मिगेन मार्केलको जोडीले यसै महिना विवाह गर्ने घोषणा गरे । एलएमा हुर्के–बढेकी मिगेनको बेलायतको राजपरिवारसँग नाता जोडिने पक्कापक्की भएपछि त्यहाँ उनीसँग सम्बन्धित धेरै स्थान सबैको नजरमा पर्नु अस्वाभाविक थिएन । त्यसमा पनि उनको आमा बसिरहेको घरले धेरै चर्चा पाउने नै भयो ।
रगल्यान्डकी छिमेकी ६६ वर्षीया भलेरी गुडलोले भनिन्, ‘मार्केलकी आमा सोमबार बिहानसम्म साधारण व्यक्ति मात्रै थिइन् ।’ मार्केल र ह्यारी गत वर्षदेखि बेलायती पत्रिकाको नजरमा परिरहे । डेली मेलले गत वर्ष उनीहरूबीचको भेटघाटबारे समाचार बनाएपछि पत्रकारहरूको ओइरो रगल्यान्डको घरमा पनि लाग्न थालेको थियो । उनीहरूको प्रश्न हुन्थ्यो– ‘कहिले आउँछन् त उनी चियाका लागि ?’
मार्केल र ह्यारीको सम्बन्ध सार्वजनिक भएसँगै मार्केलको पारिवारिक पृष्ठभूमिलाई लिएर थुप्रै टीकाटिप्पणी भए । त्यसैले ह्यारीले वक्तव्य नै जारी गरेर आफ्नी प्रेमिकाको प्रतिरक्षा गर्नुपरेको थियो । मार्केलले पिता युरोपियन अमेरिकी र आमा अफ्रिकी अमेरिकी भएको स्पष्ट पारिरहँदा उनका आमा र बाबुको काम र रहनसहनलाई लिएर थुप्रै समाचार प्रकाशित भए ।
हलिउडको टीभी सिनिम्याटोग्राफर बुबा र सामाजिक कार्यकर्ता आमाकी छोरी मार्केल हलिउडका लागि परिचित नाम हो । उनी अभिनीत चर्चित सिरिजहरूमा ‘सुट्स’, ‘फ्रिन्ज’, ‘सीएसआई : मायामी’, ‘क्यासल’ र फिल्म ‘हरिबल बोसेस’ पर्छन् । उनी संयुक्त राष्ट्रसंघमा आबद्ध भएर लैंगिक समानता र महिला सशक्तीकरणका लागि वकालत गर्छिन् ।
लन्डन इभिनिङ स्ट्यान्डर्डका राजकीय सम्पादक रोबर्ट जब्सनका भनाइमा ह्यारीसँग विवाहपश्चात् मार्केलको पद ‘प्रिन्सेस हेनरी अफ वेल्स’ हुन्छ । राजकुमार ह्यारी युवराज भएपछि मात्रै उनी युवराज्ञी हुने छिन् । उनले बेलायतमा जे पद पाए पनि एलएको उनको उतारचढावपूर्ण जीवन भने सधंै चर्चाको विषय हुनेछ । ‘उनको अभिनय अब शाही परिवारको सदस्यका रूपमा विश्वले हेर्नेछ,’ जब्सनले भने, ‘उनको अन–स्क्रिन अभिनयका दिन सकिएका छन् ।’
यद्यपि चर्चा र भाग्यका पछाडि दौडिनेहरूको भीड रहेको सहरको एक स्थानीय महिला बेलायती राजकुमारको जीवनसंगिनी हुन लागेको विषयलाई त्यहाँ गर्व र बेवास्ता गर्नेहरू दुवै छन् ।

बेलायती शाही नातेदार, जो हलिउडमा छन् :


हिलेरी डफ
हिलेरी डफ बेलायतकी महारानी एलिजाबेथ द्वितीयसँग सबैभन्दा नजिकको नाता पर्ने अमेरिकी सेलिब्रिटी हुन् । उनी महारानीको अठारौं तहमा नाता पर्छिन् । उनी एडवर्ड तेस्रोका सन्तति हुन् ।

टम ह्याङ्क्स
५७ वर्षीय ह्याङ्क्सका नाममा थुप्रै सुपरिचित चलचित्रहरू छन् । जसमा थिंक फरेस्ट गम्प, अपोलो १३ र सेभिङ प्राइभेट रायनको नाम अग्रपंक्तिमा आउँछ । उनी किङ जोन अफ इंग्ल्यान्ड जसले ११९९ देखि १२१६ सम्म शासन गरे, तिनका सन्तान हुन् ।

बियोन्से
बेलायती महारानीको एक पुस्तान्तरणपछि पच्चिसौं तहमा नाता पर्छिन् । उनमा रहेको शाही रगतका कारण पनि राजकीय सान देखापर्ने चर्चा हलिउडमा हुने गरेको छ ।

जोनी डेप्प
जोन र महारानी दुवै एडवार्ड तेस्रोका सन्तान हुन् । उनी बेलायती राजपरिवारको बीसौं तहमा नाता पर्छन् ।

किट ह्यारिङ्टन
गेम अफ थ्रोन्समा थाहा हुन नसकेको राजकीय नातामा जेलिएका जोन स्नो, वास्तविक जीवनमा भने चाल्र्स द्वितीयका सन्तान हुन् । 
–एजेन्सीहरूको सहयोगमा

प्रकाशित : मंसिर २९, २०७४ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?