एप्स बनाउने युवती

कम्प्युटर तथा सूचना प्रविधि अध्ययन गरे पनि युवतीहरु इनोभेटिभ काममा लाग्दैनन् भन्ने एकथरी सोचाइलाई युवतीहरुले च्यालेन्ज गरेका छन्– युवकहरुले जस्तै एप्स बनाएर ।
विष्णु पोखरेल

फेसनलाई कसले पछ्याउँदैन र ? युवा होस् या युवती, सहरीया हुन् वा गाउँले फेसनलाई सकेसम्म फलो गरिरहेकै हुन्छन् । नयाँ–नयाँ फेसनको केही न केही प्रभाव सबैमा परेकै हुन्छ । आफूलाई मन पर्ने डिजाइन छान्दै बजारका पसल–पसल चहार्नेमा युवाभन्दा युवती नै धेरै हुन्छन् ।

फेसनेबल पोसाक खोज्दै सपिङ मलदेखि सामान्य पसलसम्म चहार्नेमै पर्छिन्–क्याथफोर्ड इन्टरनेसनल कलेज अफ इन्जिनियरिङमा सीआईटी सातौं सेमेस्टरमा अध्ययनरत अञ्जना राउत । 

‘मलाई फेसन डिजाइनिङमा एकदमै इन्ट्रेस्ट छ, नयाँ फेसन आउनेबित्तिकै त्यसलाई फलो गरिहाल्छु,’ अञ्जना भन्छिन्, ‘मलाई मात्र होइन, कुरा गर्दा धेरै साथीहरूलाई फेसनमा निकै इन्ट्रेस्ट हुने रहेछ ।’ आईटी पढ्ने राउतलाई फेसनमा रुचि भएर के गर्नु ? ‘बरु फेसन डिजाइनिङ नै पढेको भए हुन्थ्यो नि त,’ कतिपयले जिस्क्याउँथे, उनी हाँसेर उडाइदिन्थिन् । 
राउत मात्र होइन, उनकै साथी सुष्मा गिरी पनि फेसनमा खुब चाख राख्थिन् । मनमा फेसन घुमिरहे पनि दिमागलाई भने लगाउनुपथ्र्यो– पढाइतिर । आईटी पढ्ने र कम्प्युटर, मोबाइल, ट्याब्लेटसँगै खेल्ने उनीहरूलाई फेसनको भूतले किन पो छाड्थ्यो र ? एकाएक दिमागमा आइडिया फुर्‍यो– ‘आईटीभित्रै फेसन खोज्ने, हेरेर र सेयर गरेर भए पनि मज्जा लिने ।’ कसरी ? ‘एप्स बनाएर त्यसमा आफूले भेटेका र आइडिया आएका नयाँ फेसन डिजाइन पोस्ट गर्न मिल्ने बनाउने,’ सुष्मा भन्छिन्, ‘सबै प्रयोगकर्ताले इन्स्टाग्राममा जस्तै पोस्ट गर्न मिल्ने सुविधा दिने ।’
जब गत वर्ष राउत र गिरीको जोडीले ‘वुमेन लिडर्स इन टेक्नोलोजी (डब्लूएलआईटी)’ बाट एप्स डेभलपमेन्ट’ सम्बन्धी एकवर्षे फेलोसिप पायो, तब उनीहरूको सपना साकार भयो । एक साताअघि मात्र उनीहरूले ‘कपास’ नामक नेपाली एप्स सुरु गरे । झट्ट हेर्दा इन्स्टाग्राम जस्तै लाग्ने ‘कपास’ मा भने फेसन मात्र सेयर गरिन्छ । ‘कसैले नयाँ फेसन देख्नेबित्तिकै फोटो खिचेर सेयर गरिहाल्न मिल्छ,’ गिरी भन्छिन्, ‘यो एप्स नै फेसनेबललाई फोकस गरेर बनाइएको हो ।’ 
राउत र गिरी मात्र होइन, आफ्ना इच्छा, चाहना र आवश्यकताअनुसारका मोबाइल एप्स बनाउने युवती बढ्न थालेका छन् । कम्प्युटर र सूचना प्रविधिको अध्ययन गरेका र अध्ययनरत युवतीले प्राक्टिकल गर्दा होस् वा प्रोजेक्ट बनाउँदा, एप्स डेभलपमेन्टलाई रोज्छन् । ‘म नक्साल डेरामा बस्छु, खानेपानीको समस्या छ, कहिले आउँछ थाहा हुँदैन,’ अमृत साइन्स क्याम्पस बीएस्सी सीएसआईटी अध्ययनरत इच्छा तामाङ भन्छिन्, ‘राति उठेर पानी थाप्नुपर्छ, कुनै दिन पानी आउने समय बिर्सियो भने भोलिपल्ट समस्या परिहाल्छ ।’ 
कुन बेला पानी आउँछ र कुन बेला जान्छ भन्ने थाहा नभएर धेरैपल्ट हैरानी खेपेपछि मोक्तानको मनमा अचानक आइडिया आयो– लोडसेडिङको जस्तै पानीको पनि तालिका निकाल्ने । तालिका त निकाल्ने, कसरी ?’ ‘काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले सार्वजनिक गर्ने तालिकाका आधारमा,’ मोक्तान भन्छिन्, ‘पहिले विद्युत् प्राधिकरणले लोडसेडिङ तालिका सार्वजनिक गरेजस्तै केयूकेएलले पनि गरिरहेकै हुन्छ, हामीले याद गर्दैनौं ।’ 
पत्रिकामा छापिने र केयूकेएलको वेबसाइटमा मात्र हुने खानेपानीको तालिकालाई सबैमाझ पुर्‍याउन मोक्तानले रिमा प्रजापतिसँग मिलेर ‘पानी आयो’ मोबाइल एप्स बनाइन् । यो एप्स एन्ड्रोइड अपरेटिङ सिस्टम भएका स्मार्टफोनमा चलाउन सकिन्छ । ‘लोडसेडिङको जानकारी दिन एप्स भएजस्तै हामीले पनि पानीको जानकारी दिने बनाएका हौं,’ मोक्तान भन्छिन्, ‘यसमा कुन बार कति बजे पानी आउँछ हेर्न मिल्छ, आफ्नो लोकेसनअनुसार सेट गरेर अलार्मसमेत राख्न सकिन्छ ।’ ‘पानी आयो’ मा अहिले केयूकेएलले सार्वजनिक गरेको तालिकाको आधारमा विवरण राखिएको हो । ‘भविष्यमा केयूकेयलसँगै सहकार्यमा तालिकालाई अपडेट गर्दै लाने सोच छ,’ मोक्तान भन्छिन् । 
एनसीआईटी कलेजकी मन्दिरा भट्टराई, नागार्जुन कलेज अफ आईटीकी नीलिमा श्रेष्ठ र क्याथफोर्डकी रूमी राजभण्डारीलाई भने एटीएमले दिएको हैरानीले एप्स बनाउने आइडिया फुराइदियो । ‘जहिले पनि एटीएम गयो बिग्रेकै हुन्छ, नजिकमा कहाँनेर त्यही बैंकको एटीएम छ भनेर खोज्दा पनि टाइम लाग्छ,’ मन्दिरा भन्छिन्, ‘कमसेकम यो लोकेसनको यो एटीएम बिग्रिएको छ भन्ने जानकारी भए त्यस्तो दु:ख त पाइँदैन थियो ।’ एटीएम बिग्रिएर पाइने हैरानी कम गर्ने खालको ‘एटीएम नेपाल’ एप्स उनीहरूले बनाएका हुन् । 
उनीहरूले बनाएको ‘एप्स’ को विशेषता भनेको एटीएमको लोकेसन दिने मात्र होइन, कुन बैंकको कुन एटीएम बिग्रिएको छ भन्ने देखाउने हो । ‘हाम्रो एप्समा गएर युजर बनाएपछि तपाईंले कुनै स्थानमा गएर एटीएमबाट पैसा निकाल्न खोज्दा एटीएम बिग्रिएको छ भने स्टाटस अपडेट गरेजस्तै गरी बिग्रिएको सूचना लेख्न सक्नुहुन्छ,’ भट्टराई भन्छिन्, ‘एक जनाले यस्तो जानकारी राखिदिएपछि अरू एप्स युजरले पनि त्यसबारे थाहा पाउँछन्, युजर बढ्दै गएपछि प्राय: सबै लोकेसनको एटीएमबारे जानकारी हुन्छ ।’
क्याथफोर्डकी प्रियंका ज्ञवाली, एनसीआईटीकी मनीषा भट्टराई र खोप इन्जिनियरिङ कलेजकी आकृति श्रेष्ठले भने घरपालुवा जनावरका समस्या समाधान गर्न मोबाइल एप्स बनाएका छन् । ‘पेटनेट’ नामको यो एप्स अहिले कुकुर पाल्नेहरूका लागि जानकारी समेटिएको छ । राजधानीमा कहाँ–कहाँ केनेल क्लबदेखि डग सेन्टर छन् भन्ने जानकारी यसमा पाइन्छ । यसैगरी सडकका कुकुरहरू घाइते भए वा मारिएको अवस्थामा कसलाई खबर गर्ने भन्ने जानकारी पनि एप्सले दिन्छ । कुकुर बिरामी भए सामान्य उपचार घरैमा गर्न सकिने खालका विभिन्न जानकारी पनि यसमा राखिएको छ । ‘बाटोमा हिँड्दा कतिपल्ट कुकुर घाइते भएको देखेर यस्तो एप्स बनाउन मल लागेको थियो,’ ज्ञवाली भन्छिन्, ‘हाम्रो एप्सले कुकुरको उद्धार गर्न चाहनेलाई पनि सहयोग गर्छ ।’
कम्प्युटर तथा सूचना प्रविधि अध्ययन गरे पनि युवतीहरू इनोभेटिभ काममा लाग्दैनन् भन्ने सामाजिक सोचाइलाई यी युवतीहरूले च्यालेन्ज गरेका छन्– युवकहरूले जस्तै एप्स बनाएर । युवतीहरू प्राविधिक शिक्षा लिएर पनि केही गर्न सक्दैनन् भन्ने मान्यता तोड्नका लागि नै आफूहरू जागरुक भएको उनीहरू बताउँछन् । ‘केटीहरू केही पनि गर्न सक्दैनन् भन्ने मान्यताबाट माथि उठ्न पनि हामी आफंैले केही गर्नुपर्छ,’ भट्टराई भन्छिन्, ‘हामीले बनाएको एप्सले सामाजिक सोचाइ परिवर्तन गर्न सहयोग गर्छ ।’ 
आफूसँग क्षमता र नयाँ सोच भएका युवतीहरूलाई अहिले विभिन्न संस्थाहरूले समेत सहयोग गरिरहेकाले अवसर पाउन सजिलो भएको छ । ‘हाम्रो मुख्य उद्देश्य भनेकै प्राविधिक शिक्षा लिँदै गरेका युवतीहरूलाई भविष्यमा युवकजत्तिकै क्षमतावान् बनाउनु हो,’ डब्लूएलआईटीकी को–फाउन्डर रश्मि वज्राचार्य भन्छिन्, ‘उनीहरूलाई ‘क्यापेबल’ बनाउनकै लागि हामीले एकवर्षे फेलोसिप दिएका छौं ।’ 
कसैको सहयोग लिएर होस् वा नलिइकन, फेसनलाई पछ्याउन होस् वा सडकको घाइते कुकुरदेखि मन पग्लिएर, एप्स निर्माता युवतीले परम्परागत सामाजिक सोचाइलाई चुनौती मात्र दिएका छैनन्, आफ्नो सिर्जनात्मक स्वभावलाई उजागर पनि गरेका छन् । अनि सिर्जनालाई समाजसम्म पुर्‍याउने सेतुका रूपमा चुनेका छन्, अहिलेको युगको सबैभन्दा शक्तिशाली माध्यम– सूचना प्रविधिलाई ।  

प्रकाशित : चैत्र १८, २०७३ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्

आठ महिनामा १५.५ अर्बको मोबाइल आयात

विष्णु पोखरेल

काठमाडौं — चालू आर्थिक वर्षको पहिलो ८ महिनामा साढे १५ अर्ब रुपैयाँ बराबरका मोबाइल फोन आयात भएका छन् ।

भन्सार विभागका अनुसार गत साउनदेखि फागुनसम्ममा आयात भएका दूरसञ्चार उपकरणमध्ये मोबाइल फोनको हिस्सा सबैभन्दा बढी छ । यस अवधिमा साढे २० अर्बका दूरसञ्चार उपकरण आयात भएका छन् । महँगा मोबाइल फोनको प्रयोग बढ्दै गएकाले आयात वृद्धि भएको हो ।
गत आर्थिक वर्षको यसै अवधिमा ११ अर्ब ४३ करोड बराबरका मोबाइल फोन आयात भएकामा यसपालि भने आयात बढेको हो । विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो ८ महिनाभित्र ४० लाख २३ हजार ८ सय ५८ मोबाइल नेपाल भित्रिएका छन् । गत वर्षको यसै अवधिमा भने ३३ लाख ७६ हजार १ सय ९१ मोबाइल सेट नेपाल भित्रिएका थिए ।
भन्सारमा घोषित मूल्यका आधारमा गत आठ महिनामा साढे १५ अर्बका मोबाइल फोन नेपाल भित्रिएको देखिए पनि बजार मूल्यका आधारमा भने मोबाइल कारोबार धेरै हुने आयातकर्ता बताउँछन् ।
मोबाइल फोन आयातकर्ता संघका महासचिव अमित अग्रवालका अनुसार साढे १५ अर्बका फोन आयात भए पनि नेपाली बजार मूल्यका आधारमा कारोबार भने ८ महिनामै २० अर्बभन्दा माथि भइसकेको बताउँछन् । ‘भन्सार मूल्यमा नाफा र कर जोडेर हेर्दा यस वर्ष मोबाइलको बजार ३० अर्बभन्दा बढीको हुने देखिन्छ,’ उनले भने ।
नेपालमा सबैभन्दा धेरै मोबाइल फोन चीनबाट आयात भएका छन् । गएको आठ महिनामा चीनबाट मात्र ३४ लाख ९० हजार मोबाइल फोन आयात भएका छन् । चीनपछि धेरै मोबाइल आयात हुने मुलुकमा भियतनाम पर्छ । त्यहाँबाट ८ महिनायता २ लाख ८८ हजार मोबाइल सेट आयात भएका छन् । भारतबाट भने २ लाख ३५ हजार थान मोबाइल आयात भएको विभागको तथ्यांक छ ।
विश्वस्तरीय सबै ब्रान्डका मोबाइलको उत्पादन हुने चीनबाट आयात धेरै देखिएको संघका अध्यक्ष एवं सामसङ मोबाइलका बिक्रेता दीपक मलहोत्रा बताउँछन् ।
‘सबैखाले ब्रान्ड चीनमा बन्छन्, हाम्रोमा आयात गर्न नजिक पनि छ, त्यसैले चीनबाट नै धेरै आउँछ,’ उनले भने । पछिल्लो समयमा नेपालमा स्मार्टफोनका प्रयोगकर्ता बढेकाले पनि आयात वृद्धि हुँदै गएको हो ।

प्रकाशित : चैत्र १८, २०७३ ०९:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्