कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

प्रतीक्षित बलिउड फिल्म

सुशील पौडेल

बलिउडका लागि २०१६ मध्यम रह्यो । ‘पिंक’, ‘उड्ता पञ्जाब’, ‘नीरजा’, ‘मदारी’, ‘सरबजीत’ जस्ता फिल्मले बलिउडको साख जोगाए भने ‘एयरलिफ्ट’, ‘फ्यान’, ‘डियर जिन्दगी’, ‘एमएस धोनी : द अनटोल्ड स्टोरी’, ‘सुल्तान’ जस्ता फिल्मले बक्सअफिसलाई जगाइरहे ।

प्रतीक्षित बलिउड फिल्म

बलिउडका लागि वर्ष २०१७ पनि केही फिल्मका कारण खास हुने अनुमान गरिएको छ । 

शाहरूख खान पहिलो पटक निर्देशक इम्तियाज अलिसँग सहकार्य गर्दैछन्, फिल्म ‘द रिंग’ मा । फिल्ममा शाहरुखको जोडी ‘रब ने बनादी जोडी’ की अनुष्का शर्मासँग हुनेछ । रोमान्टिक ड्रामा भनिएको यस फिल्मलाई यतिबेलादेखि नै सलमान खानले प्रोमोट गरिदिएका छन् । कुनै बेला जानी दुश्मन मानिने शाहरुख र सलमानको नजिकिँदो सम्बन्धले पनि ‘द रिंग’ लाई प्रतीक्षित बनाएको छ ।
त्यसो त शाहरुखकै अर्को फिल्म ‘रइस’ पनि २०१७ मै रिलिज हुँदैछ । ट्रेलरले यतिबेला फिल्मप्रति अपेक्षा ह्वात्तै बढाएको छ । जनवरी २५ मा रिलिज हुने यसै फिल्मबाट शाहरुखको नयाँ वर्षको भविष्य पनि निर्धारण गर्नेछ ।
बलिउडमा बक्सअफिस कलेक्सनमा तीन खान आमिर, शाहरुख र सलमानबीच तीव्र प्रतिस्पर्धा चलिरहन्छ । वर्षान्तमा रिलिज आमिरको ‘दंगल’ ले यतिबेला व्यापारमा बाजी मारिरहँदा सलमान फेरि ‘टाइगर जिन्दा है’ भन्दै एक्सन अवतारमा आउन तम्तयार छन् । यसपटक उनी कबिर खानसँग नभई अली अब्बास जफरसँग वर्षको अन्त्यमा आउँदैछन् । उक्त फिल्म ‘एक था टाइगर’ कै सिक्वेल भएकाले पनि बिगेस्ट एक्सन फिल्म बन्ने अपेक्षा गरिएको छ ।
अक्षय कुमारलाई बक्सअफिसका सदाबहार नायक मानिन्छ । उनका प्राय: फिल्म सय करोड क्लबमा पुगिरहेका बेला तीन वर्षअघि राष्ट्रिय अवार्ड नै जितेको ‘जोली एलएलबी’ को सिक्वेलमा लिड रोलसहित देखा पर्दैछन् । फेब्रुअरी १० मा आउन लागेको फिल्ममा अक्षयलाई हुमा कुरेसीले साथ दिएकी छन् ।
विवाहपछि फेरि चम्केका नायक शाहिद कपुरको ‘रंगुन’ पनि अर्को प्रतीक्षित फिल्म मानिएको छ । विशाल भारद्वाजको पिरियड रोमान्स फिल्ममा शाहिदलाई कंगना रनौत र सैफअलि खानले साथ दिएका छन् । दोस्रो विश्वयुद्धको कथा भन्ने यस फिल्म पनि फेब्रुअरीको तेस्रो साता रिलिज हुँदैछ ।
यस वर्ष ‘डियर जिन्दगी’ र ‘उड्ता पञ्जाब’ बाट आलिया भट्ट झन् शानदार एक्टरमा दरिएकी छन् । उनै आलियाको डेब्यु फिल्म ‘स्टुडेन्ट अफ दि इयर’ को स्टार बरुण धवनसँग नयाँ फिल्म आउँदैछ, ‘बद्रीनाथकी दुल्हनियाँ’ । यसअघिको सफल फिल्म ‘हम्प्टी शर्माकी दुल्हनियाँ’ ले राम्रो चर्चा पाएकाले पनि सिक्वेल फिल्म र कास्टका कारण प्रतीक्षित बनेको हो ।
सलमानकै निर्देशक कवीर खानसँगको ‘ट्युबलाइट’ वर्ष २०१७ को अर्को अपेक्षा गरिएको फिल्म हो । जुन फिल्ममा सलमान चाइनिज एक्टर जुजुसँग स्क्रिन सेयर गरेका छन् भने फिल्मले ५० वर्षअघिको कथा भन्नेछ । फिल्म इदमा रिलिज हुँदैछ ।
सञ्जयलीला भन्साली पिरियड रोमान्टिक ड्रामाका लागि पर्फेक्ट मानिन्छन् । उनले फेरि एकपटक ‘राम–लीला’ र ‘बाजिराव मस्तानी’ कै जोडी दीपिका पादुकोण र रनवीर सिंहलाई लिएर ‘पद्मावती’ मा धमाका मच्चाउने ठानिएको छ । यसपटक भन्सालीले बिग बजेट फिल्ममा शाहिद कपुरलाई पनि समेटेका छन् । फिल्म नोभेम्बरमा रिलिज हुनेछ ।
र, वर्षको सबैभन्दा प्रतीक्षित फिल्म भने ‘बाहुबली : द कन्क्लुजन’ नै हुनेछ । यसअघि ‘बाहुबली : द बिगिनिङ’ ले पाएको तारिफ र सफलताले यसको सिक्वेललाई अत्यधिक प्रतीक्षित बनाइदिएको छ । फिल्मको सम्भावित क्लाइमेक्सको ६ मिनेटको फुटेज अनलाइन लिक भएपछि फिल्मप्रतिको चासो झनै बढेर गएको छ ।
त्यसैगरी पछिल्लो समय सफलता चाख्न नसकिरहेका रणवीर कपुर वर्ष २०१७ मा ‘जग्गा जासुस’ लिएर आउँदैछन् । उनको अपोजिटमा कट्रिना कैफ रहेकाले पनि फिल्मप्रति दर्शक चासो बढी छ । आफ्नो हराइरहेको बाबुको खोजीमा जासुसी शैलीमा निस्केका रणवीरले फिल्ममा दिने कमेडीले दर्शक रिझाउने ठानिएको छ ।
त्यसबाहेक रजनीकान्तको ‘रोबोट २’, ऋतिक रोशनको ‘काबिल’ र सलमानकै ‘दबंग ३’ पनि स्टारकास्टका कारण प्रतीक्षित हुनेछन् । 

 

प्रकाशित : पुस १५, २०७३ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?