१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

नङमा पनि पर्छ ढुसी

अतुल मिश्र

तपाईंका खुट्टाका नङ फोहोर त देखिँदैनन् ? तिनमा प्राकृतिक चमक हराएको छ कि ? नङको छेउ कालो हुँदै छ कि ? नङ कडा भएर भाँचिने वा चर्किने गरेको पो छ कि ?

नङमा पनि पर्छ ढुसी

यस्तै भइरहेको छ भने, सचेत भइहाल्नुस् । नङको स्वास्थ्यका लागि यो राम्रो कुरा होइन ।

उपर्युक्त लक्षण देखिएका नङबाट कहिलेकाहीँ दुर्गन्ध पनि आउने गर्छ । यस्तो समस्या नङको भित्री भागमा लाग्ने ढुसीका कारण हुने गर्छ । के थाहा पाइराख्नुस् भने— ढुसीको संक्रमण छालामा मात्र हुन्न, नङमा पनि हुन्छ ।

नङमा हुने ढुसीको संक्रमणलाई चिकित्सकीय भाषामा ‘ओनिकोमाइकोसिस’ भनिन्छ । ढुसी उत्पन्न हुनुको प्रमुख कारण फोहोर नै हो । ढुसी प्राय: सुक्खा नभएको ठाउँमा, भिजेको अंगको कापमा हुने गर्छ ।

छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्णका अनुसार, ढुसी धेरैजसो भिजेकै ठाउँमा हुने भए पनि यो संक्रमण शरीरको एक ठाउँबाट सुरु भएर अन्य ठाउँमा समेत फैलिन सक्छ, त्यसैले यसलाई बेवास्ता गर्नु हुँदैन । यो खुट्टाको नङमा मात्र सीमित नभई हातको नङमा समेत फैलिन सक्छ । मोजा र जुत्ता बढी लगाउने भएकोले पुरुषलाई यस्तो समस्याले महिलाको तुलनामा बढी सताउने गर्छ ।

नङमा हुने ढुसीको संक्रमण स्वास्थ्यका लागि हानिकारक नै मानिन्छ । यो हुनुका मुख्य कारण हुन्– फोहोर, प्रदूषण, सरसफाइको कमी, कृत्रिम रेसाको मोजा लगाउने बानी, खुट्टामा सुकेको पसिना । शरीरमा रोगप्रतिरोधक क्षमताको कमी हुँदा पनि ढुसीजस्तो समस्याले दु:ख दिन थाल्छ ।

अमेरिकन पोडियाट्रिक मेडिकल एसोसिएसन (एपीएमए) का अनुसार, नङको यस्तो समस्या हटाउन महिनौँसम्म दिनहुँ खुट्टाको सरसफाइ गर्नुपर्छ । तैपनि यो स्थायी रूपमा हटै्दन । अस्थायी रूपमा केही समयसम्मका लागि यो संक्रमणलाई दबाउन सकिन्छ । नङको सतहमा देखिने सेतो दाग तरल एन्टिफंगल औषधिले हटाउन त सकिन्छ, तर यस्तो औषधि चिकित्सकको प्रेस्क्रिप्सनबिना पाइन्न । प्रेस्क्रिप्सनबिना पनि पाइन्छ यस्तो औषधि, तर त्यो जति लगाए पनि ढुसीको संक्रमण सधैँका लागि हट्छ भन्ने ग्यारेन्टी हुन्न ।

एपीएमएको सुझाव छ– तपाईंको खुट्टाको नङमा कुनै प्रकारको विकृति वा नङको वास्तविक रंगमा परिवर्तन देखिए विशेषज्ञकहाँ गइहाल्नु राम्रो हुन्छ । जति छिटो उचित उपचार सुरु हुन्छ, त्यति नै छिटो यो समस्या निको हुने गर्छ ।

यसको उपचार संक्रमणको तीव्रतामा भर पर्छ । यसअन्तर्गत ढुसीविरोधी क्रिमको उपयोग गर्नेदेखि ढुसीविरुद्घ खाने औषधिसम्म उपयोग गर्न सकिन्छ । कहिलेकाहीँ संक्रमित नङ शल्यक्रियाका माध्यमले निकाल्नुपर्ने पनि हुन सक्छ ।

संक्रमणको अवस्थाअनुसार प्रभावित व्यक्तिलाई ६ देखि १२ सातासम्म ढुसीविरुद्घ औषधि खानुपर्ने आवश्यकता हुन सक्छ । केही ढुसीविरुद्घका औषधि कलेजोसम्बन्धी समस्या र हार्ट फेल्योर भएका व्यक्तिहरूका लागि सुरक्षित नमानिने भएकाले बिरामीको चिकित्सकीय इतिहासलगायत विभिन्न परीक्षणपछि मात्र यस्ता औषधि प्रस्तावित गरिने डा. कर्ण बताउँछन् ।

कसलाई बढी हुन्छ ?

जोसुकै व्यक्तिको नङमा ढुसीको संक्रमण हुन सक्छ । तैपनि यो ६० वर्षमाथिका व्यक्तिहरूलाई बढी हुने गर्छ । यो समस्या सामान्यत: मधुमेह वा रक्तसञ्चारसम्बन्धी समस्या भएकाहरूमा देखिने गर्छ, अन्य व्यक्तिको दाँजोमा ।

घरेलु उपचार

नङमा लाग्ने ढुसीमा सामान्य घरेलु उपचारसमेत गर्न सकिन्छ । तर यो उपचारले निको नभए तुरुन्त छाला रोग विशेषज्ञको सल्लाहमा उपचार थालिहाल्नुपर्छ ।

लसुनमा ब्याक्टेरियालाई मार्ने क्षमता हुन्छ । यसमा ढुसीविरुद्घको गुण हुन्छ । त्यसैले लसुनको पोटी पिसेर नङमा लगाउँदा फाइदा हुन्छ । कागतीको रसको उपयोगसमेत गर्न सकिन्छ । कागतीमा भएको सिट्रस अम्लले संक्रमण उत्पन्न गर्ने ब्याक्टेरियालाई मार्छ । यसैले कागतीको रस ढुसी परेको नङमा लगाउँदा राम्रो हुन सक्छ ।

एपल साइडर भिनेगरमा भएको एसिटिक एसिडले नङको संक्रमणमा वृद्घि हुन दिँदैन । योसँगै बराबर मात्रामा पानी मिसाएर हातखुट्टा भिजाउँदा फाइदा हुन्छ ।

हामीले उपयोग गर्ने माउथ वाससमेत औँला र नङमा लगाउँदा फाइदै हुन्छ । यसमा एन्टिफंगलसँगै एन्टिसेप्टिक गुणसमेत भएकोले ढुसीको संक्रमण हटाउन फाइदा पुग्छ ।

लक्षण

- नङको प्राकृतिक रंग गुम्नु

- नङ पहेंलो हुँदै जानु

- नङ कमजोर हुँदै भाँचिनु

- नङको किनारा बाक्लो हुनु

- नङ हँसियाको धार जस्तो हुनु

- नङको आकार परिवर्तन हुनु

- नङ दुख्न थाल्नु

बचाउ

- सकेसम्म लामो नङ नपाल्नुस्

- नङ सधै सफा गर्ने गर्नुस्

- कस्सिएका जुत्ता नलगाउनुस्

- हावा ओहोरदोहोर गर्ने खुला जुत्ता उपयोग गर्नुस्

- खुट्टा दिनहुँ साबुनपानीले सफा गर्नुस्

- खुट्टा धोएपछि तौलियाले नङ सुकाउनुस्

- दिनहुँ एक पटकभन्दा बढी मोजा वा जुत्ता बदल्नुस्

- खुट्टाका नङ मिलाएर काट्ने गर्नुुस्

- नङ काट्नुअघि नेलकटरलाई संक्रमणविहीन पार्नुस्

- संक्रमणको आशंका भए नङमा नेलपालिस नलगाउनुस्

- धेरै कस्सिएको मोजा नलगाउनुस्

प्रकाशित : असार १७, २०७४ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?