कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

सौन्दर्य प्रतियोगितादेखि लोक सेवा आयोगसम्म

एकै पटक ६ समूहमा उपसचिवमा नाम निकाल्न सफल हाकिम
प्रशासनतन्त्र भ्रष्ट छ र कर्मचारी सबै भ्रष्ट छन् भन्ने आमबुझाइ पार्वतीलाई चित्त बुझेको छैन । उनको निचोड छ– कहीं पनि सबका सब भ्रष्ट हुँदैनन्, कर्मचारीतन्त्रमा योग्य र सदाचारी पनि धेरै छन्, तर केही थोरै बदनामहरूलाई हेरेर सबलाई एउटै भन्ने बुझाइ राम्रो होइन

काठमाडौँ — अल्बर्ट आइन्सटाइन भन्ने गर्थे– बाँच्नु भनेको साइकल चलाउनुजस्तै हो, अघि बढ्न पाइडल चलाइराख्नैपर्छ । पार्वती शर्मा काफ्लेलाई लाग्छ, जीवनको साइकल ठीक ढंगले चलाउनका लागि आइन्सटाइनले भनेझैं अलग–अलग क्षेत्रको पाइडल सन्तुलित तवरले चलाउनुपर्छ ।

सौन्दर्य प्रतियोगितादेखि लोक सेवा आयोगसम्म

हालै आन्तरिक राजस्व विभागको उपमहानिर्देशकको कार्यभार सम्हालेकी काफ्लेका विचारमा व्यक्तिगत, सामाजिक र पेसागत जीवनको सन्तुलनमा बाँच्नुको असली मजा छ । ‘गुणात्मक जीवनमा यो सन्तुलनको निकै जरुरी छ,’ उनले भनिन्, ‘परिवार, समाज, साथीभाइ र सहकर्मीसँगको साथ–सहयोग र उत्साह नै मेरो उपलब्धिको कारण हो ।’

सरकारले हालै गठन गरेको ६ सदस्यीय बजेट लेखन समितिकी सदस्य पार्वती अचेल आर्थिक वर्ष २०८१/८२ मा कुन क्षेत्रलाई कति बजेट छुट्याउने भन्ने हिसाबकिताबको माथापच्छीमा व्यस्त छिन् । कुनै समय उनको परिचय कर्मचारी कम, मोडलको बढी थियो । सौन्दर्य प्रतियोगितामा फर्स्ट रनर अप भएर पनि पार्वतीले करिअर भने मोडलिङमा होइन, कर्मचारी प्रशासनमा अघि बढाइन् । दुई बीस नकट्दै सहसचिव भइसकेकी उनीसँग उद्योग मन्त्रालयदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्ममा काम गरेको फराकिलो अनुभव छ ।

जागिर, परिवार, समाज र निजी सोखको अलग–अलग क्षेत्रबीच बाँडिएको आफ्नो समयलाई व्यवस्थापन गर्दै अचेल उनी पूर्वीय दर्शन, इतिहास र अर्थशास्त्रका पुस्तक पढिरहेकी छन् । अध्यात्म र दर्शनको रुझानबिना जति ठूलो पद र जिम्मेवारी पाए पनि सदाचारिता कायम गर्न मुस्किल पर्छ भन्ने मान्यता भएकी पार्वतीको एक टपरका रूपमा २०६६ सालमा कर्मचारीतन्त्रमा अधिकृतका रूपमा प्रवेश भएको थियो । करिब २८ हजार प्रतिस्पर्धीबाट आफू एक नम्बरमा सिफारिस हुँदाको खुसी भन्न सक्ने उपयुक्त शब्द आफूसँग नभएको पार्वतीले बताइन् । ‘सरकारी अधिकृत हुँदा जीवनमा निकै नै उथलपुथल भएजस्तो, के के नै भएँझैं ज्यादै खुसीको अनुभव भयो,’ उनले भनिन्, ‘त्यो खुसी, ठूलो सफलता हासिल गरेको कुनै गौरवको खुसी बराबर थियो मेरा लागि ।’

उनको खुसीमा थप खुसी तब थपिन्छ, जब परिवार र समाजमा फलानोको छोरी र फलानोकी बुहारी अधिकृत भई रे भन्नेहरू बढे । ‘टपर भएपछि उत्साह सगरमाथाझैं चुलिएका कारण प्रणाली नै सुधार गर्छु भन्ने आत्मविश्वास पलाएको थियो,’ उनले भनिन्, ‘लोक सेवामा मात्र टपर हैन, सेवा प्रवाह गरिने व्यवहारमा पनि सदैव टपर हुनुपर्छ भन्ने भावनाको विकास भएको थियो मभित्र, जो अझै छ ।’

टपर भएर नि यति काम पनि नजान्ने भन्लान् भन्ने डरले उनलाई सुरुवाती दिनमा सताउने गर्थ्यो । सेवा प्रवाहमा पनि राम्रो गर्नुपर्छ भन्ने भावले उनलाई अनुशासित र मर्यादित रहन सधैं घचघच्याइरह्यो । त्यसको साइड इफेक्ट के भयो भने, कर्मचारीतन्त्रमा बेलाबखत उनी आफूलाई एक्लो छु भन्ने महसुस गर्ने बिन्दुमा पुग्न थालिन् । र पनि, उनी विवेकले गलत ठानेको काममा संलग्न हुनुभन्दा मनले रुचाएको काम गर्दा एक्लै पर्न परे पनि जाती भन्ने सूत्रको प्रयोग गर्दै अघि बढिरहेकी छन् ।

शाखा अधिकृतका रूपमा उनले सुरुमा परराष्ट्र मन्त्रालयमा काम गरिन् । पछि उद्योगमा सरिन् र श्रम मन्त्रालयमा पुगिन् । औद्योगिक लगानी प्रवर्द्धनसम्बन्धी कार्य र द्विपक्षीय लगानीसम्बन्धी सम्झौताको मस्यौदा उनी आफैंले तयार पारेकी थिइन् उद्योग मन्त्रालयमा हुँदा । कार्यक्रम बनाउने र बजेट तर्जुमा गर्ने काममा सधैं उनी संलग्न हुन्थिन् । यी प्रारम्भिक वर्षमा बटुलिएको अनुभवले आफूलाई थप प्रेरणा दिएको उनले सुनाइन् । ‘मलाई अलग–अलग क्षेत्रको जानकारी सक्दो राख्न मन लाग्छ,’ उनी भन्छिन्, ‘यसले ज्ञानको दायरा फराकिलो पार्दो रहेछ ।’ भूकम्प आएकै वर्ष २०७२ वैशाखमा उनी लोक सेवाको खुला प्रतिस्पर्धाबाट उपसचिव हुन पुगिन् । यस पटक उनी लेखा समूहमा पुगिन् र महालेखा नियन्त्रकको कार्यालयमा एसियाली विकास बैंकको सहयोगमा सञ्चालित आयोजना र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा २०७८ माघ महिनासम्म काम गरिन् ।

महालेखा परीक्षकको कार्यालयमा हुँदा कर्मचारीतन्त्रमा बजेट कसरी कानुनविपरीत खर्च भइरहेको छ र बेरुजुको कुन हालत छ भन्ने वास्तविकताले उनलाई अत्यायो । त्यसबारे उनले आर्थिक अनुशासन बेरुजु फर्स्योट सम्परीक्षण आयोजना र लेखा तयारीजस्ता वित्तीय प्रतिवेदन तयार पार्ने काम गरेकी थिइन् ।

एकातिर जागिर र अर्कोतिर लोक सेवाको पढाइलाई सधैं जारी राख्ने पार्वतीको परिचय नै भइसकेको थियो । उपसचिव भएको ६ वर्ष पनि नबित्दै उनले सहसचिवका लागि खुला प्रतिस्पर्धाबाटै लोक सेवाको जाँच दिइन् । संरक्षणमा भन्दा योग्यतामा विश्वास गर्ने उनलाई नाम निकाल्न मानौं बानी नै परिसकेको थियो । खुला प्रतिस्पर्धाबाट सहसचिव हुने २०७८ को ब्याचमा उनको नाम पनि सामेल थियो । यस पटक उनी प्रशासन सेवाका लागि सिफारिसमा परिन् र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरास्थित गण्डकी प्रदेश कार्यालयको प्रमुखका रूपमा नियुक्त भइन् । त्यसपछि उनले आयोगको केन्द्रीय कार्यालयमा आई भ्रष्टाचारविरुद्धका ठूला फाइलहरूमा अनुसन्धान थालिन् ।

अख्तियारमा दुई वर्षभन्दा बढी बस्न नपाइने प्रावधान छ । आफ्नो दुईवर्षे अवधि सकेपछि काफ्ले हालै आन्तरिक राजस्व विभाग लाजिम्पाटमा उपमहानिर्देशकका रूपमा काम गर्दै छिन् । अन्तःशुल्क प्रशासन सम्हाल्नुका साथै नक्कली बिल बिजकको सूचना संकलन र विश्लेषण गर्ने उनको दैनन्दिनको काम हो । ‘भन्ने नै हो भने कामले फिटिक्कै फुर्सद हुँदैन,’ पार्वती भन्छिन्, ‘तर, व्यक्तिगत जीवन र पारिवारिक दायित्व पनि बिर्सन मिलेन, नत्र गुणात्मक जीवन सम्भव नै हुँदैन ।’

रामेछापको सालु गाउँमा जन्मेर मधेशको जनकपुरमा हुर्केकी पार्वतीको जीवनमा बाल्यकालदेखि नै विविधता थियो । जनकपुरको जानकी माविदेखि काठमाडौंका मीनभवन, पद्मकन्या, ल क्याम्पस, सेन्ट जेभियर्सलगायत कलेजबाट मानविकी, व्यवस्थापन र कानुनमा उच्च शिक्षा हासिल गरेकी पार्वतीसँग थाइल्यान्डदेखि जर्मनीसम्म पढेको पनि अनुभव छ ।

एक मध्यम वर्गीय शिक्षित र जागिरे परिवारको एक्ली छोरी उनले परिवारमा छोरी भएकामा विभेद होइन, ज्यादा माया पाएको अनुभव सम्हालेकी छन् । ‘मेरा पिताजी र दाजु दुवै सरकारी कर्मचारी हुनुहुन्थ्यो र उहाँहरूबाट मैले सधैं हौसला र माया पाइरहें,’ उनी भन्छिन्, ‘सायद त्यही प्रेरणाले होला, मलाई पनि सरकारी जागिर नै खान मन लाग्यो ।’

पहाड र मधेशको संस्कारको सम्मिश्रणले आफू एक सशक्त र मजबुत छोरी र बुहारी मात्रै होइन, सम्पूर्ण नारी हुन सहयोग पुगेको उनको अनुभव छ । विवाहपछि थपिएको पारिवारिक जिम्मेवारीले करिअरमा अघि बढ्न पाइनँ भन्ने धेरैको गुनासो हुन्छ । तर, पार्वतीसँग यस मामिलामा पनि सुखद अनुभव छ । माइतमा जस्तै घरमा पनि उनले जागिर र पढाइ दुवैमा मनग्य सहयोग पाइन् ।

‘जीवनको अमूल्य उपहार मेरा दुई छोरीलाई हुर्काउँदै मैले लोक सेवाको तयारी र जागिर सँगसँगै अघि बढाएँ,’ उनी भन्छिन्, ‘ती दिनहरू साह्रै नै संघर्षपूर्ण थिए । तथापि श्रीमान्को निरन्तरको साथ र सहयोगले पढाइमा पूर्णविराम लगाउन कहिल्यै परेन ।’ उनलाई लाग्छ, पेसागत जिम्मेवारीलाई पारिवारिक जीवन, व्यक्तिगत आकांक्षा र सामाजिक भूमिकामा सन्तुलित रूपले निर्वाह गर्नु आफैंमा एक कला हो । र, जागिरे जीवनको डेढ दशकभन्दा बढीको अनुभवले यो कलामा उनलाई निपुण पारिसकेको छ ।

एकपछि अर्को गर्दै मिलिरहेका सफलता र कामको चापले व्यस्त बनाएका बेला कहिलेकाहीँ उनी पुराना दिन सम्झेर अवाक् हुन्छिन् । स्नातक पढ्दाका दिनहरूमा अरू साथीहरू पाठ्यक्रमकै पुस्तकमा केन्द्रित थिए, उनको ध्यानचाहिँ आधाउधी लोक सेवाको तयारीमा थियो । यतिका मिहिनेतले दिएको लोक सेवाको जाँच पास गरिएन भने गर्ने के होला भन्ने प्रश्न बेलाबखत मनको अन्तरकुन्तरमा चिहाउँथ्यो । अनि उत्तर नपाएर उनी बिलखबन्दमा पर्थिन् । उनका दाजुले सरकारी जागिर खाइसकेका थिए र माथिल्लो तहका लागि लोक सेवाको तयारी गर्दै थिए घरमा । ‘हामी सँगसँगै पढ्ने गर्थ्यौं,’ उनी भन्छिन्, ‘कहिलेकाहीं दाजु र मबीच प्रतिस्पर्धा पनि हुने गर्थ्यो, तयारीका ती दिनहरू वास्तवमै स्वर्णिम थिए ।’

लोक सेवाका हरेक विषयका लागि समय निर्धारण गर्दा उनको भागमा निन्द्रा पहिलेभन्दा कम पर्नु स्वाभाविकै थियो । त्यसैले राति परिवारका सदस्य सबै सुतेपछि पनि पार्वती पुस्तकहरू पल्टाउँथिन् सुस्तरी र महत्त्वपूर्ण बुँदाहरू अमूल्य सम्पत्तिझैं नोट गरेर राख्थिन् । जाँगरलाई बरकरार राख्न उनी उत्प्रेरणात्मक पुस्तक पनि पढ्थिन् । जाँचमा राम्रो गर्न तथ्य–तथ्यांक संकलन गर्ने छुट्टै टिप्पणी पुस्तिका तयार पार्थिन् । समय व्यवस्थापन भए नभएको यकिन गर्न पहिलो मास्टर आफैं हो भन्ने सोची सयौं पटक विगतका प्रश्नको उत्तर लेख्ने गर्थिन् र त्यसलाई आफैं जाँच्ने पनि गर्थिन् उनी ।

यतिले नपुगेर, तयारी गरिरहेका ३/४ जनाको समूह बनाएर एकल अध्ययनमा सिके जानेका कुरा सामूहिक छलफलमा ल्याउँथिन् । रातका अलावा उनी साँझ–बिहान ३–३ घण्टा पढाइमा लगाउँथिन् । समयलाई रोक्न सकिन्न तर समयको व्यवस्थापन त गर्न सकिन्छ भन्ने मन्त्रलाई जपिरहन्थिन् । अनि भान्सामा काम गर्दा होस् कि नानीहरूको हेरचाह गर्दा, मनलाई लोक सेवाको तयारीमा नै केन्द्रित पार्थिन् । यो परम्परालाई आजको मितिसम्म धानिरहेकी छन् उनले । ‘ट्युसन सेन्टरमा प्रतिस्पर्धी साथीहरू हजारौं देख्दा र उनीहरूले गरेको सवाल–जवाफ सुन्दा ओहो पढ्ने विषय अझै रैछ र पास हुन निकै मिहिनेत गर्नुपर्छ भन्ने लाग्थ्यो,’ उनी भन्छिन्, ‘अनि जे भए पनि आफूलाई चाहिएको एक सिट मात्र त हो नि भन्ने ठानेर पहिलेझैं पढाइमै मन फर्काउँथें ।’

अधिकृत हुनुभन्दा पहिले उनी महालेखा परीक्षकको कार्यालयमा लेखापरीक्षण अधिक्षक थिइन् । सहायक तहका परीक्षामा मिलेका सफलताको परिणाम थियो त्यो । हरेक तहको परीक्षामा सफलता हात पार्दै आएकी उनी अधिकृतमा टपर त थिइन् नै उपसचिवमा ६ वटा सेवा समूहमा एकै पटक नाम निकालेर कर्मचारी प्रशासनमा चर्चाको पात्र पनि बन्न पुगिन् । पटक–पटक लोक सेवाको परीक्षा दिएकी पार्वतीको सम्झनामा त्यसको तयारीको चरण कुनै युद्ध मैदानमा भिडिरहेको सिपाहीको भन्दा कम थिएन । हजारौं प्रतिस्पर्धीमा पहिलो हुन पुगेपछि उनको हौसला मानौं अकासिएको थियो ।

तयारीका क्रममा आइलाग्ने चिन्ता र दबाबलाई उनी उन्नतिका लागि खुराक भनेर स्वीकार गर्थिन् । तयारीका बीच भावमा ताजापन ल्याउन परिवारसँग समय व्यतित गर्ने, चलचित्र हेर्ने र गीत गाउने मात्रै होइन, योग अनि ध्यानको सहायता पनि उनले लिइन् । ट्युसन सेन्टरले लिएको परीक्षामा कपी चेक गर्ने सरले भन्थे, ‘टपर भएर तपाईंको नाम १ नम्बरमा निस्कन्छ ।’ नभन्दै, हजारौंको बीचबाट आफ्नो नाम एक नम्बरमै निस्केको देख्दा उनको खुसीको सीमा थिएन । कैयौं पटक उनी परीक्षा केन्द्र पत्ता नलागेर परीक्षा हलमा समयमा पुग्न सकिनन्, परीक्षा बिग्रियो । कति पटक नानी बिरामी भएर अस्पताल बस्दा परीक्षा छुट्यो । र, कति पटक एमफिलको परीक्षाका कारण लोक सेवाको परीक्षा दिन नपाउँदा उनलाई हुनुसम्मको पीडा भयो । र पनि, यी सबै अवरोधलाई उनले पार लगाउँदै सहसचिवसम्मको यात्रा तय गरिन्, जो कम्ता भावपूर्ण छैन उनका लागि ।

लोक सेवाको परीक्षा पार लगाउने उनको आफ्नै मौलिक ढाँचाको अभ्यास थियो । त्यो के भने, ५ मिनेट प्रश्नको अध्ययन र विश्लेषणमा छुट्याउने, उत्तर लेख्दा तथ्य–तथ्यांक र उदाहरण प्रस्तुत गर्ने, अन्तर्राष्ट्रिय अभ्यास उल्लेख गर्ने, प्रश्नले के मागेको छ पटक–पटक हेर्ने अनि हरेक प्रश्नको उत्तरमा विषय प्रवेश र निष्कर्ष लेख्न नछुटाउने । अन्त्यमा, ५/७ मिनेट आफूले लेखेको विषय एक पटक आफैंले जाँच गर्ने । लोक सेवाको तयारी गर्नेहरूलाई उनी यही ढाँचा अनुभवका रूपमा सुनाउँछिन् । ‘सार्वजनिक सेवामा जोडिरहँदा म खुसी भएर काम गर्न सक्छु कि सक्दिनँ भनेर आफैंलाई प्रश्न गर्नुस्,’ उनले भनिन्, ‘यदि सक्छु भन्ने लागे मात्रै लोक सेवामा अघि बढ्नुस् ।’

यहाँसम्मको यात्रामा उनले अनेकौं चुनौतीको सामना गर्नुपर्‍यो । कार्यालय समयबाहेक अधिकांश समय तयारी र पढाइमै लागेकाले पारिवारिक जमघट, विवाह, व्रतबन्ध इत्यादिमा उनी सामेल हुन सकिनन् । ‘कसैको नभाको पढाइ, बच्चा छाडेर खाली पढाइ पढाइ भनेको छ’ भन्नेहरूको कटु वचन अझै पनि उनको कानमा गुन्जिन्छन् । तर उनले यसलाई नराम्रो रूपमा लिइनन् । बरु, तीनै शब्द उनका लागि प्रेरणाका स्रोत बने । ‘मेराबारेमा नराम्रो टिप्पणी गर्नेहरू मेरा आदर्शका पात्र हुन्,’ उनी भन्छिन्, ‘तिनकै टिप्पणीले सदैव राम्रो काम गर्न हौसला दिइरहन्छ ।’

सार्वजनिक सेवा प्रवाहको काममा कर्मचारीले हरपल हर समय समस्या र चुनौतीको सामना गर्नुपर्छ भन्ने उनको अनुभवसिद्ध विश्लेषण छ । त्यसको समाधानका लागि नेतृत्व लिने र टिमलाई परिचालन गर्ने उनको बानी छ । ‘जसको जुन विषयमा क्षमता छ, सोही अनुसारको जिम्मेवारी दिने र नियमित फलोअप गर्‍यो भने काम बन्छ,’ उनी भन्छिन्, ‘सबभन्दा ठूलो साथ सत्यको हो, यसलाई रोज्दा एक्लो भए पनि बाधा पर्दैन ।’ सार्वजनिक प्रशासनमा हुने भ्रष्टाचारलाई सामना गर्न यही सत्यको बाटो अख्तियार गरेको उनले बताइन् । आफू इमानदार हुने र संगठनका हरेक पात्र र प्रवृत्तिलाई इमानदार बनाउन प्रयत्न गर्ने उनको बानी छ । ‘तथापि यो कार्य एकल प्रयासबाट सम्भव छैन,’ उनले भनिन्, ‘संस्थालाई मजबुत बनाउने व्यक्ति हैन, प्रणालीलाई मुख्य बनाउन प्रयत्न गर्नुपर्छ, सम्पूर्ण सार्वजनिक संगठन इथिकल भए निर्णय प्रक्रिया पनि इथिकल अवश्य हुन्छ ।’

प्रशासनतन्त्र भ्रष्ट छ र कर्मचारी सबै भ्रष्ट छन् भन्ने आमबुझाइ पार्वतीलाई चित्त बुझेको छैन । ‘सरकारी कर्मचारीप्रति गलत भाष्य निर्माण गरिएको छ, जुन परिवर्तन गर्न समय लाग्ने देख्छु,’ उनको निचोड छ, ‘कहीं पनि सबका सब भ्रष्ट हुँदैनन्, कर्मचारीतन्त्रमा योग्य र सदाचारी पनि धेरै छन्, तर केही थोरै बदनामहरूलाई हेरेर सबलाई एउटै भन्ने बुझाइ राम्रो होइन ।’ समाजको परिवर्तनशील आवश्यकता र त्यसलाई प्रशासन संयन्त्रले हल गर्ने विधिको शासनअनुसार सरकारको नीति र कानुन कार्यान्वयन गर्नुपर्छ भन्ने उनी ठान्छिन् । ‘सरकार परिवर्तन भए पनि कर्मचारीतन्त्र परिवर्तन हुन्न,’ उनी भन्छिन्, ‘निरन्तर चलिरहने संस्थागत संरचना हुने हुनाले प्रशासन संयन्त्रका पात्र सरकारको विज्ञ सल्लाहकारका रूपमा रहन्छन् ।’

प्रकाशित : वैशाख ३, २०८१ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१७ महिनामा प्रधानमन्त्रीले ४ पटक विश्वासको मत लिने अवस्था किन आएको होला ?