कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पानी चरा गन्न खटिए साढे तीन सय जना

मनोज पौडेल

कपिलवस्तु — फुत्त उडेर छिनमै टाढा पुग्न सक्ने चञ्चले प्राणी चराकाे गणना कसरी गरिन्छ होला ? जानकार र सीप भएकाले टाढा-टाढाका र उडिरहेका चरा पनि गणनामा ल्याउँछन् । यतिबेला विश्वभर पानी चरा गणनाको समय सुरु भएको छ ।

पानी चरा गन्न खटिए साढे तीन सय जना

नेपालमा पनि शनिबारबाट झण्डै साढे तीन सय जना चराविद्, नेचरगाइड र स्वयंसेवी पानी चराको गणनामा खटिएका छन् । हिउँद लागेयता उच्च हिमाली भेगबाट मानिस भेंडीगोठ लिएर बेंसी झरे जस्तै यो सिजनमा चरा पनि जाडो छल्न तराईका ताल र खोलानालातिर आउँछन् । यही मेसोमा चरा गणना गर्ने सिप भएका ३ सय ५० जना भन्दा बढी चराविद्, नेचरगाइड र स्वयंसेवी शनिबारबाट परिचालन भएका छन् ।

मध्य हिउँदमा पानी र सिमसार क्षेत्रमा पाइने चराको अवस्था पत्ता लगाउन गणना गरिँदै आएको छ । वेटल्याण्ड ईन्टरनेशनलको संयोजनमा हिमाली प्रकृतिको समन्वयमा गणनाको काम भइरहेको छ । गणनामा चरा संरक्षणको क्षेत्रमा काम गर्ने पन्छी संरक्षण संघ (बीसिएन), बर्ड एजुकेशन सोसाइटी, पोखरा बर्ड सोसाइटी र कोशी बर्ड सोसाइटीलगायत देशका विभिन्न ठाउँमा क्रियाशील संघसंस्था संलग्न छन् ।

नेपालसहित विश्वभर एकैपटक जलपन्छी गणना भइरहेको हो । माघ ७ गतेसम्म सकिने गणनाको प्रतिवेदन आउँदो वैशाखमा सार्वजनिक गरिनेछ । शनिबार पहिलो दिन काठमाडौंको मनोहरा, वाग्मती नदी र टौदह पोखरीमा चराविद् र नेचर गाईडले गणना थालेको पानी चरा गणना राष्ट्रिय संयोजक वरिष्ठ चराविद् हेमसागर बरालले बताए ।

त्यस्तै चितवनका १५ ठाउँमा, कोशीका दर्जन बढी ठाउँ र पोखराका १० ठाउँमा गणना सुरु भएको छ । नवलपुरका ५, बर्दियाका ३ र सुदूरपश्चिमको शुक्लाफाँटाका ६ ठाउँमा चरा गणना गरिनेछ । ‘शनिबारदेखि सुरु भएको गणना अनूकुलता मिलाएर सबै क्षेत्रमा गरिनेछ,’ संयोजक बरालले भने, ‘पानी चरा पाइने क्षेत्र छुट्याएर पन्छी संरक्षणमा क्रियाशील संस्थालाई गणनाका लागि जिम्मेवारी दिइएको छ ।’

यस लगत्तै विश्व सिमसार क्षेत्रमा सूचिकृत जगदीशपुर, बिसहजारी र घोडाघोडी तालमा गणना गरिनेछ । त्यस्तै सौरहा, लुम्बिनी क्षेत्र र राप्ती नदीमा गणना गरिनेछ । हेटौंडा, दाङ, धुनषा, पश्चिम चितवन र रुपन्देहीको गैडहवा र गजेडीलगायतका ठाउँमा पनि गणना हुनेछ । नदी, खोला सिमसार, ताल र पोखरी गरि ५० बढी ठाउँमा गणनाको लक्ष्य छ ।

चरा गणनाले दिने परिणाम विश्लेषणले सरंक्षण नीति कार्यक्रम बनाउन सहयोग पुर्‍याउने अर्का चराविद् हठन चौधरीले बताए । ‘चराको संख्या घढेबढेको थाहा हुँदा जलवायु परिवर्तनको असर र पारिस्थितिकीय प्रणाली जाँच्न पनि सहयोग पुग्छ,’ उनले भने, ‘यसले चरा पर्यटन उकास्न सहयोग पुग्छ ।’

बालीनाली तथा फलफूलमा परागसेचनका लागि चराको महत्वपूर्ण भूमिका हुन्छ भने नेपालमा पछिल्लो समय चरा पर्यटन पनि फस्टयाइरहेको चौधरीले बताए । यहा आउने पर्यटक मध्ये ८ प्रतिशत भन्दा बढी चराप्रतिनै लालायित भइ आउने गरेको उनको भनाइ छ ।

पाहुना चरा आगमन घट्दै गएकाले बेलैमा सर्तक हुनुपर्ने चराविद् बरालले बताए । सिमसार क्षेत्रमा आश्रित हिउँदे जलपन्छी पछिल्ला वर्षमा सिमसार क्षेत्र संकुचित र नाँसिदै जाँदा घट्दै गएका छन् । बढ्दो रासायनिक मलको प्रयोग र उडान मार्गमा हुने अवरोधले पनि चरा जोखिममा पर्दै गएको चराविद् कृष्णप्रसाद भुसालले बताए ।

‘पानी, खेतमा विषादीको प्रयोग र जलवायु परिवर्तनले पनि समस्या थपेको छ,’ उनले भने, ‘असुरक्षित विद्युतीय तार र अबैध चोरीसिकारीले पनि समस्या थपेको छ ।’

बसाइँ सरेर आउने चरा लामोदूरीको यात्राले थकित हुने तथा आश्रयस्थल नयाँ हुने हुँदा प्राकृतिक तथा मानवीय सिकारको जोखिम बढेको छ । सन् १९८७ देखि वर्षेनी सिमसारमा आश्रित पानीचराको गणना गरिँदै आएकोछ । गणनाले पानी चराको अवस्था खतरा उन्मुख देखाएको छ । नेपालमा पाइने विश्वका दुर्लभ चरामध्ये १३ प्रजाति जलपन्छी नै छन् ।

बसाइँ सरेर आएका पानीमा आश्रित चरा अन्य रैथाने चराजस्तो भरर्र उड्ने खालका हुँदैनन् । जहाँ पायो त्यहीँ बस्दैनन् । लेउ र माछा राम्रो पाइने पानीमा झुण्ड बनाएर बस्ने चराविद् डीबी चौधरीले बताए । ‘पानीचरा मुख्य रूपमा कुन क्षेत्रमा बस्छन् भन्ने जानकारी भएपछि निश्चित दूरीबाट गणना सुरु गर्छौं । अगाडि दखिने चराको संख्या र प्रजाति टिपोट गर्दै जान्छौं । कुनै चराले हामीलाई पछाडिबाट नाघेर अगाडि जान्छन्, संख्या नदोहोरियोस् भनेर त्यसलाई घटाउँछौं ।’ चराको रङ, बनोट र आवाजका बारेमा जानकारी भएका चराविज्ञ नेचरगाईड दूरबिन र वाईनाकुलर लिएर गणनामा खट्छन् ।

किन आउँछन् नेपाल ?
उत्तरी ध्रुवमा हिमपात सुरुवात सुरु भएसँगै चरा बसाइँ सर्न थाल्छन् । बढी चिसोले उता आहारविहार र खानपानमा समस्या भएपछि जाडो छल्न यता आउँछन् । त्यस क्रममा तल्लो हिमाली भेग, पहाड र तराईका सिमसार, धाप, तालतलैया र नदी आसपास हजारौं चरा बसाइँ सरी आउने गर्छन् । कतिपयले बच्चा कोरलेर हुर्काइ फर्कने गर्छन् ।

रूस, चीन, मंगोलियाका साथै युरोप, कोरिया तथा तिब्बती क्षेत्रबाट हिउँदे आगन्तुक चरा नेपालमा आउने गर्छन् । त्यस्तै मध्य एसियाका तुर्केमिनिस्तान, किर्किस्तान र साइबेरियाबाट यहाँ चरा आउँछन् । यहाँ वषेर्नी १ सय ५० बढी प्रजातिका चरा आउँछन् । ४ देखि ५ हजार माईल उडेर चरा सातादेखि १० दिनमै यहाँ आइपुग्छन् । ‘धेरै चरा सिंधै उडेर ३/४ दिनमै पुग्छन्,’ चराविद् बरालले भने, ‘कतिपय रोकिँदै बीच–बीचमा बास बस्दै साता लगाएर पुग्छन् ।’

चरा उडेर हजारौं माइलको यात्रामा अनेकौं जोखिम पार गर्दै नेपाल आउँछन् । यता आउँदा यिनीहरुले गन्तव्यसम्म पुग्ने दिशा र बाटो पहिचानकालागि सूर्य तथा ताराको सहारा लिँदै आउँने अर्का चराविद् टीकाराम गिरीले बताए । त्यस्तै नदी, भौगोलिक श्रृंखला, चुम्बकीय दिशा आदि हेर्छन् । चराले बसाइँ–सराइका बेला प्रयोग गर्ने बाटोलाई ‘फ्लाई वे’ भनिन्छ । विश्वमा ८ वटा यस्ता बाटा छन् । तीमध्ये नेपाल मध्य एसिया बाटोमा पर्छ ।

प्रकाशित : पुस २२, २०८० १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?