कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२४

केकीकै लागि बनेको 'बोक्सीको घर'

सुलक्षण भारतीद्वारा निर्देशित नाटक ‘बोक्सीको घर’ ले केकीमा यतिसम्म छाप छोड्यो कि लामो समय उनी त्यसले उठाएका विषयमा अल्झिरहिन् । लकडाउनबीच त्यही नाटकमाथि फिल्म बनाउने निर्णयमा पुगिन् र मुख्य पात्रको अभिनय पनि गरिन् । 
रीना मोक्तान

कोभिड-१९ कति समय लम्बिएला ? के जीवन फेरि सामान्य दैनिकीमा फर्केला ? लकडाउनबीच धेरैजसोले यसैगरी भविष्यको चिन्ता गरे । तर, अभिनेत्री केकी अधिकारी भने विगततिर फर्किन् । आफूले गरेको कामको मूल्यांकन र समीक्षा गरिन् । अब एउटै फिल्म बनाउने मौका पाए कुन विषयवस्तु उठाउने होला ? यही प्रश्नको उत्तर खोजिरहँदा केकीले झट्ट सम्झिइन्, ‘बोक्सीको घर’ । 

केकीकै लागि बनेको 'बोक्सीको घर'

सन् २०१५ तिर सुलक्षण भारतीद्वारा निर्देशित यो नाटक हेर्दा केकीलाई निकै मनोरञ्जनात्मक लाग्यो । कलाकार सरिता गिरीको एकल अभिनय दमदार । नाटकले उठाएको विषयले केकीमा यतिसम्म छाप छोड्यो कि लामो समय उनी त्यही मुद्दामा अल्झिरहिन् । हरेक दिन एउटा फिल्म हेर्ने दैनिकीमा ब्रेक लाग्यो, उनी यही विषयमाथि घोत्लिरहन्थिन् । लकडाउनबीच त्यही विषय झल्यास्स सम्झिएपछि नाटकमाथि फिल्म बनाउने निर्णयमा पुगिन् । ‘त्यतिबेला दुःख गरेर कमाएको पैसा अन्य ठाउँमा लगानी गर्न सक्थें । तर, यो विषयमाथि फिल्म बन्नुपर्छ भनेर आफ्नो बचतलाई खर्च गर्ने सोचें,’ केकीले फिल्म निर्माणको सुरुवाती चरण सम्झिइन् ।

रंगकर्मी भारतीले सुरुमा नाटकमाथि फिल्म बनाउने प्रस्तावलाई अस्वीकार गरे । त्यतिबेला उनमा फिल्म बनाउँछु भन्ने आँट थिएन । तर, उनले केकीको आँखामा यो प्रोजेक्टका लागि ‘भोक’ देखे । ‘फिल्म बनाउँछु भनेपछि डर लाग्दो रहेछ, फिल्म भनेपछि ठूलो प्रोजेक्ट । तर, केकीले सुरुमै तपाईंले मात्र यो कथामा फिल्म बनाउन सक्नुहुन्छ भनेर उत्साह दिनुभयो,’ सुलक्षण सम्झिन्छन् । नाटकमाथि फिल्म बनाउने चर्चापछि त्यतिबेला स्वर्गीय समीक्षक/पत्रकार गोकर्ण गौतमले सुलक्षणलाई सोधेका थिए, ‘नाटकजस्तो बनाउन सक्छौ त ?’ जवाफमा सुलक्षणले ‘सक्छु’ भनिदिए ।

केकीले ‘बोक्सीको घर’ को जस्तो पात्रमा कहिल्यै अभिनय गर्न पाएकी थिइनन् । त्यसैले उनलाई भित्र मनमा कतै लोभ थियो, उक्त पात्रको अभिनय आफूले गर्ने । महिलालाई पर्दामा चित्रण गर्दा जुन पक्षहरूको अभाव लेखनमा खट्किन्छ, बोक्सीको घरको चरित्रमा ती सबै पक्षमाथि ध्यान पुर्‍याइएको थियो । तर, केकीले उक्त पात्रको अभिनय आफूले गर्छु भन्ने चाहना कहिल्यै व्यक्त गरिनन् । फिल्म गर्ने तय भइसकेपछि निर्देशक भारतीले केकीलाई प्रश्न गरे, ‘यो फिल्ममा बोक्सीको एकदमै बलियो चरित्र छ । अडिसन कहिले सुरु गर्ने त ?’

निर्देशकबाट अप्रत्याशित रूपमा यस्तो प्रश्न आएपछि केकीले उक्त चरित्रप्रतिको आफ्नो भोक देखाउनै पाइनन् । मुखबाट फुत्त फुस्कियो, ‘तपाईंलाई जसलाई कास्ट गर्न मन लाग्छ, त्यसैलाई लिनुस्’ । त्यतिबेला सुलक्षणले नै केकीलाई उक्त पात्र गर्न हौस्याए, त्यसका लागि केही सर्त पूरा गर्नुपर्ने थियो । अडिसन दिनुपर्ने, चरित्र निर्माणमा ३–४ महिना खर्चनुपर्ने । त्यो पात्रले कपाल खौरनुपर्ने, अनि वर्कसप लिनुपर्ने । ‘उहाँले मलाई सबै सर्तहरू राखिरहँदा सत्य घटनामा आधारित यो कथामा पात्रले समाजमा भोगेका भोगाइ छन् । त्यो भोगाइ फिल्ममा तपाईंले भोग्न सक्नुभएन भने त्यसको औचित्य नै छैन भन्ने कुरा गर्नुभएपछि त्यसले मनन गर्न लगायो,’ केकीले भनिन् ।

‘बोक्सीको घर’ गरिरहँदा केकीले सुलक्षणबाट ‘मेथड एक्टिङ’ सिक्न पाइन् । उनी त्रिभुवन विश्वविद्यालयको चौरमा बिहानको साढे पाँच बजे पुग्नुपर्थ्यो । आँखामा पट्टी बाँधेर रूखको वरपर हिँड्थिन् । त्यसरी हिँड्दै गर्दा निर्देशक भारती केकीलाई पछ्याउँथे । कहिले उनलाई ध्यान गर्न लगाउँथे । १५ वर्षको फिल्म करिअरमा ३३ फिल्म गर्दा केकीले कहिल्यै यसरी काम गरिनन् । हुन त हरेक फिल्मका चरित्र बेग्लै हुन्छ । तर, हरेक फिल्ममा केकीको अभिनयमा एउटै कुरा दोहोरिन्थ्यो । बोल्ने शैली, शारीरिक हाउभाउ सधैं उस्तै । हिँडाइ त्यस्तै ।

निर्देशक सुलक्षण भारती र केकी अधिकारी । तस्बिर : अंगद ढकाल/कान्तिपुर

अभिनयमा आफू कहाँ छु भन्ने केकीलाई राम्रोसँग थाहा थियो । त्यसैले यस किसिमको अभिनयको अभ्यास गर्न उनी तयार भइन् । ‘मानिसको जीवनमा एउटा टर्निङ प्वाइन्ट आउँछ । जसबाट अगाडि र पछाडिको जिन्दगीलाई उसले दुई भाग गरेर हेर्छ । बोक्सीको घरलाई मैले त्यसरी नै लिएको छु । बोक्सीको घरभन्दा अगाडिको मेरो अभिनय जीवन र यो फिल्मपछाडिको अभिनय भनेर छुट्याएर हेर्छु ।’ यसअघि केकीले चरित्र निर्माणमा यति लामो समय खर्चेकी थिइनन् । स्क्रिप्ट पढ्थिन्, झट्ट अभिनय गरिदिन्थिन् । सेटमा ताली बज्थ्यो, हलमा दर्शकले रुचाइदिएकै थिए । तर, यो फिल्ममा अभिनयको फरक प्रक्रिया उनले समातेकी छन् ।

फिल्ममा बोक्सीको आरोप लगाइएको एक पात्रको कथा छ । त्यही पात्रको ‍चरित्र निर्माणमा केकीलाई ६ महिना लाग्यो । केकी अभिनय पढेर आएकी होइनन्, परेर अभिनय सिकिन् । मेथोड एक्टिङलाई निर्देशक भारतीमार्फत छुन पाएकोमा उनी दंग छिन् । उनले आफ्नो स्वरमा, ‘बडी ल्याङ्वेज’ मा काम गरिन् । तीन महिना भारतीसँग अभिनयको वर्कसप लिइन् । त्यसपछि बाँकीको तीन महिना चरित्र चित्रणमा खर्चिन् । यो चरित्रमा केकीले गरेको अभिनय सबैका लागि ‘सरप्राइजिङ’ रहेको निर्देशक भारतीको भनाइ छ । ‘फिल्म कस्तो बन्यो ? अहिल्यै भन्न सक्दिन । तर, यो फिल्म हेरिसकेपछि केकीको अभिनयले हामीलाई अचम्ममा पार्नेछ,’ भारतीले भने ।

फिल्म क्षेत्रमा यस किसिमको चरित्रका लागि अझै पनि अभिनेत्रीहरूलाई विश्वास गर्दैनन् । त्यसमाथि महिला केन्द्रित मुद्दामा कमै फिल्म बन्छन् । हातमा गन्न सकिने केही फिल्ममा मात्रै महिला चरित्रको बलियो भूमिका पाइन्छ । किन अझै निर्माण टोलीले महिला चरित्रलाई विश्वास गर्दैनन् ? बजारको गलत धारणाले अझै पनि महिलाहरूका लागि यस किसिमको चरित्र नलेखिएको प्रस्ट्याउँछन्, निर्देशक भारती । भारती यो फिल्ममार्फत केकीले पुरुषले प्रभुत्व जमाएको फिल्म क्षेत्रलाई चुनौती दिने धारणा राख्छन् ।

टोखा बस्दा सुलक्षणको साथीको आमालाई धेरैले ‘बोक्सी’ भन्ने गर्थे । साथी त्यसबारे अनविज्ञ । साथीकी आमाले सुलक्षणलाई पनि असाध्यै माया गर्थिन् । तर, भित्रबाट कतै डर लाग्थ्यो । सिनामंगलमा हुर्केका भारतीले त्यहाँको ठूलो पिपलको बोटमा तारन्तार देखिरहने पात्रलाई धेरै समय नियाले । उनलाई पनि धेरैले बोक्सीको आरोप लगाउँथे । ‘म उहाँको पछिपछि लाग्थें, पातहरू टिपेर भगवान्लाई चढाउनुहुन्थ्यो । अनि भगवान्लाई गाली गर्नुहुन्थ्यो,’ सुलक्षण सुनाउँछन्, ‘यस्ता घटना देख्दै आएँ । अनि पत्रपत्रिकामा छापिने बोक्सीको आरोप लगाउँदै आएको समाचार पढेपछि साथीको आमा याद आयो । त्यसपछि यो कथा भन्छु भनेर लेखें ।’

नेपाली समाजको यस्तो गम्भीर मुद्दालाई धेरै मानिससम्म पुर्‍याउन नाटकलाई फिल्ममा रूपान्तरण गरिएको भारती र अधिकारीको भनाइ छ । ‘त्यतिबेला ३ हजारले नाटक हेरे होलान् । अब यो कथा कम्तीमा ३ लाखलाई देखाउँछु,’ भारतीले भने, ‘म फिल्मलाई व्यापारसँग जोड्दिनँ । तर, केकीको पैसा उठोस् । फिल्म चल्नलाई चाहिने कथा र अभिनय छ, त्यसैले चल्छजस्तो लाग्छ ।’ एकल नाटकलाई पटकथामा उतार्न निर्देशक भारतीलाई चुनौती थियो । तर, नाट्य लेखक भारतीले यही चुनौती मोल्दै पटकथा लेखेका छन् । ‘म सन्देश दिने फिल्मको लेखक परिनँ । प्रश्न सोध्ने लेखक हुँ । यो फिल्ममार्फत पनि प्रश्न सोधेको छु,’ भारतीले भने ।

प्रकाशित : चैत्र २०, २०८० ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?