‘गोर्खा वारियर’ को प्रिमियर बेलायतमा

कान्तिपुर संवाददाता

काठमाडौँ — गोर्खा सैनिकको वीरतामाथि बनेको फिल्म ‘गोर्खा वारियर’ को प्रिमियर बेलायतमा हुने भएको छ । मिलन चाम्स निर्देशित फिल्म भदौ २४ गते सिनेवर्ल्ड लेस्टर स्क्वायर आइम्याक्स हलमा प्रिमियर हुने निर्माण टिमले जनाएको छ ।

निर्देशक चाम्सले यो हलमा फिल्म प्रदर्शन गर्ने आफ्नो सपना पूरा हुन २० वर्ष लागेको बताए । गोर्खालीको कथा पर्दासम्म ल्याउन सहज थिएन । ‘जसरी गोर्खालीले लडाइँ लडे त्यसरी नै अहिले म संघर्ष गर्दै छु, हलिउडका कलाकारलाई प्रिमियरमा हिँडाउन,’ चाम्सले भने । प्रिमियरका लागि बेलायती राजपरिवारका सदस्यदेखि सांसद, स्थानीय निकायका प्रमुख, बेलायती सेनाका जनरल, गोर्खा रेजिमेन्ट अधिकृत, नेपाली दूतावास, सेलिब्रेटीसम्मलाई निम्तो दिएको उनले बताए ।

फिल्ममा बेलायती सेनाका गोर्खा सैनिकले सन् १९४९ मा मलाया जंगलमा लडेको लडाइँको कथा समेटिएको छ । नेपाली, अंग्रेजी र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी रहेको फिल्ममा कलाकारहरू रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर वाङ्देल, कविता आले, बिरूप घले, सारा राईले अभिनय गरेका छन् । फिल्मको कथा निर्देशक चाम्स र गिरिराज घिमिरेले लेखेका हुन् । सुदीप बरालको छायांकन रहेको फिल्म मिलन श्रेष्ठले सम्पादन गरेका हुन् ।

प्रकाशित : जेष्ठ १२, २०८० ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्

कलामा यौनजीवन

अनिश तिवारी

सिन्धुपाल्चोक — अमूर्त यौनजीवनलाई आफ्नो ढुंगा, जरादेखि चित्रकलामा उतार्ने चौतारा साँगाचोकगढी–५ का अमित घिमिरे झट्ट हेर्दा कुनै सन्तभन्दा फरक लाग्दैनन् ।

फलफूलसँग चित्रको समायोजनबाट मानिसको यौनजीवन झल्काउने र बगर कलाका पारखी उनी भन्छन्, ‘खोलामा खेर गएका कलात्मक ढुंगा र जरा प्रयोग गर्छु, क्यानभास पनि जरा, ढुंगाकै भएपछि यस्तो चित्र एकदमै आकर्षक देखिन्छ ।’

प्रकृतिले यौनलाई विभिन्न तरिकाले देखाएकाले अमूर्त चित्रसँग समायोजन गर्दा वास्तविक जीवन पाएको महसुस हुने बताउँछन् उनी । जराजुरी, फलफूल तथा तरकारी, बगरका ढुंगालाई कलामार्फत उनले रहस्यमयी यौनजीवन उतार्छन् । प्रकृतिका सबै वस्तुले यौनको झल्को दिने दाबी गर्छन् उनी ।


घिमिरेले एक दशकअघि जराजुरीबाट बनाइएका कला र अमूर्त चित्र प्रदर्शनी गरेका थिए । शिक्षण पेसाको सिलसिलामा पैदल जाँदै गर्दा बाटोमा फालिएका रूखका जराजुरी संकलन गरेर उनले आफ्नो कला प्रस्तुत गरेका थिए । जरामा उनले मानव आकृति देखाई यौन झल्काएका थिए । प्रदर्शनीलाई उनले नाम दिएका थिए, ‘कला र यौन’ । घिमिरेले प्रयोग गरेको फलफूलसँग चित्रको समायोजनबाट मानिसको यौनजीवन झल्काउने कला सम्भवतः नेपालकै पहिलो हो । ‘यो विल्कुलै नयाँ प्रयोग हो, सम्भवतः कसैले नगरेको हुन सक्छ,’ उनी भन्छन्, ‘अरू कलाको तुलनामा झट्ट हेर्दा केहीलाई यो अश्लीलजस्तो लाग्न सक्छ । तर यसले जीवनको आवश्यकता झल्काएको छ ।’


घिमिरेले हालै चुत्रोको दानालाई युवतीको वक्षस्थलसँग तुलना गरेर नयाँ कला पस्केका छन् । हालसम्म एक हजार जति अमूर्त चित्र कोरिसकेका घिमिरेका कला काठमाडौंका क्याफेहरूमा समेत राखिएको छ । कतिपय चित्रहरू साहित्यिक पुस्तकका कभर पनि बनेका छन् । आफैं साहित्यिक व्यक्ति भएकाले पुस्तकका लागि कोरेका चित्रको पारिश्रमिक पनि नलिने उनले बताए । घिमिरे सिन्धुपाल्चोकबाट प्रकाशित हुने ओखरेनी साप्ताहिकका सम्पादक, वकिल, साहित्यकार, चित्रकार, समाजसेवी अनि रेडियोका कार्यक्रम प्रस्तोतासमेत हुन् ।

कविता, गीत, मुक्तक, हाइकु, नाटकलगायतका विधामा उनको कलम चल्छ । साहित्यकार चन्द्रप्रसाद न्यौपानेको बृहत्तर महाकाव्य चन्द्रयुगको आवरण कलासमेत उनकै हो । फेरि, एकल अमूर्त चित्रको प्रदर्शनी तयारीमा जुटेका घिमिरे कला, साहित्यमा योगदान गरेबापत वेस्ट लिरिस एवार्ड, प्रगति कला सम्मान, सरस्वती कलासम्म दर्जनभन्दा बढी साहित्यिक उपाधि पाइसकेका छन् ।


उनका ‘तिम्रो यादमा’ कथासंग्रह, संयुक्त हाइकु संग्रह, सलह लघुकथा संग्रह प्रकाशित छन् । उनले लेखेको मौन व्यथा, निरंकुश प्रजातन्त्र, कालरात्रि, कालो सडक, जिन्दगी, त्रासलगायतका दर्जन नाटकको मञ्चन भइसकेको छ ।

प्रकाशित : जेष्ठ १२, २०८० ०७:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×